त्रिशुलीमा ट्रक खस्दा दुईजना बेपत्ता

त्रिशुलीमा ट्रक खस्दा दुईजना बेपत्ता


पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१०, जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा ट्रक खस्दा दुईजना बेपत्ता भएका छन् । नदिमा ट्रक खसेपछि पानीमा दुई व्यक्ति बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना ५ ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा खसेको गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । बेपत्ता हुनेमा सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल छन् ।

नदीमा ट्रक डुबेको अवस्थामा छ । दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । बेपत्ता दुबै जनाको त्रिशुली नदिमा खोजी कार्य जारी रहेको प्रहरीले जनायो ।