स्वर्णपदक विजेता सेनाको टोली सुशोभित

स्वर्णपदक विजेता सेनाको टोली सुशोभित


प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको अभ्यास क्याम्ब्रियन गस्तीका स्वर्णपदक विजेता नेपाली सेनाको टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा एक व्यवस्थापकसहित प्रतियोगितामा सहभागी १० सैनिकलाई प्रशंसा पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुऱ्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सेनाले उहाँहरुलाई सम्मान गरेको हो । गत असोज १८ देखि २७ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित अभ्यासमा ३७ राष्ट्रका एक सय २१ टोलीको सहभागिता थियो ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । सेनाले यसअघि सन् २०१७ र सन् २०१९ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।