वाहन खरीद गर्न रकम संकलन

वाहन खरीद गर्न रकम संकलन


विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ ।

सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले देशका १० स्थानमा आश्रम स्थापना गरी ५०० जनालाई आश्रय दिएको छ । विसं २०८२ भित्र नेपालभरका सडकमा मगन्ते नरहने गरी आश्रम स्थापना गर्ने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइयो ।

उपत्यकाका पाटन, सामाखुसी र बूढानीलकण्ठमा गरी तीन आश्रम छन् । यी आश्रमका नागरिकलाई सेवा दिन वाहन खरीद गर्न सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा टिकट खरीदबाट रु तीन लाख र सहभागीबाट रु ७० हजार गरी रु तीन लाख ७० हजार सहयोग जुटेको संस्थाका संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले राससलाई जानकारी दिए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले राज्यले गर्नुपर्ने काम आश्रमले गरेकाले मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाइन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वाहन खरीदका लागि नगर परिषद्बाटै बजेट छुट्याएर खरीदको पहल गर्ने वाचा गरे राससका अनुसार
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले कोषले आगामी वर्षको बजेटमा सहयोगापेक्षी रहित पशुपति बनाउन रकमको व्यवस्था गर्ने बताए ।

सो अवसरमा जीवन विज्ञानका एलपी भानु शर्माले मानवीय अभियानमा साथ रहने सुनाए । संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीले बाबु आमाको महत्व बुझाउन ‘आमा’ शीर्षकको प्रस्तुति गरे । उनको प्रस्तुति हेरेर दर्शक सबैको आँखा रसाएका थिए ।

आश्रमले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउन सहयोग गरेको थियो । पशुपतिका मगन्ते हाल उपत्यकाका आश्रममा आश्रय लिइरहेका छन् । आश्रमको पहलमा गोरखा नगरपालिकाले गोरखा जिल्लालाई सहयोगापेक्षी रहित जिल्ला घोषणा गरेको छ । हेटौँडा र चितवनमा पनि यस्तो घोषणाको तयारी भएको संरक्षक डा टण्डनले सुनाए ।

अर्थमन्त्री डा युवराज खतिवडाले शनिबार अपराह्न सामाखुसीस्थित आश्रमको निरीक्षण गरेका थिए । आश्रमले गरेको कामको प्रसंशा गर्दे उनले सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वाचा गरेको पनि उनले जानकारी दिए ।