दुईतिहाइ बहुमतको सरकारले कर र महँगीबाहेक केही नदिएको आरोप

दुईतिहाइ बहुमतको सरकारले कर र महँगीबाहेक केही नदिएको आरोप


– चन्द्रकान्त खनाल

रूपन्देही २६ जेठ काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले दुईतिहाइ बहुमतकोे सरकारले जनतालाई कर र महँगी बढाउनेबाहेक कुनै काम गर्न नसकेको वताएका छन् । उनले मुद्रास्फीतिलाई ६ प्रतिशत कायम गर्ने नीति लिएको सरकारले जनताले थेग्न नसक्ने गरी मूल्य र कर बढाएर कसरी आफ्नो नीति पूरा गर्न सक्छ खाणले भने ।

नेसनल कोअपरेटर्स एलायन्स रूपन्देहीले आज बुटवलमा आयोजना गरेको सहकारीमा प्रविधि र दिगो व्यवस्थापनसम्बन्धी एकदिने तालिमको उद्घाटन गर्दै खाणले सरकारले लगाउने र बढाउने नाममा सहकारीलाई पनि नछाडेको बताए । पूर्वमन्त्रीसमेत रहेका खाणले सहकारीले गाउँगाउँमा उत्पादन बढाउनुका साथै महिला सशक्तीकरणमा समेत विशेष भूमिका निर्वाह गरेकाले सहकारीको सुरक्षा र संरक्षण सरकारले गर्नुपर्ने बताए ।

सहकारीमा बचत भएको सानोसानो रकमलाई उत्पादन र रोजगारमूलक क्षेत्रमा लगानी गरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने खाणको भनाइ थियो । काङ्ग्रेस र अन्य पार्टीका नेता कार्यकर्ताहरूलाई सहकारीमा सहभागी भई सहकारीमा प्रविधिको विकास र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे ।

काङ्ग्रेस नेता खाणले पार्टीका नेता कार्यकर्तालाई विगतमा जस्तो झोला बोकेर मात्र नहिँडी आत्मनिर्भर हुने गरी उद्योग व्यापार व्यवसायमा लगानी गरी ठीक ढङ्गले चलाउन सुझाव दिए ।
एलायन्स रूपन्देहीका अध्यक्ष रामकृष्ण खाण, जिल्ला सहकारी सङ्घ लिमिटेड रूपन्देहीका सञ्चालक दामोदर पँगेनी सहकारी सङ्घ रूपन्देहीका उपाध्यक्ष डोलप्रसाद अर्यालले बचत तथा ऋण सहकारी सङ्घका केन्द्रीय महासचिव चन्द्र ढकाल, एलायन्सका सचिव राजेन्द्र पौडेल, प्रभु म्यानेजमेन्टका प्रोजेक्ट म्यानेजर केशवराज आचार्यलगायतले बोलेका थिए । तालिममा रूपन्देहीका करिब २ सय सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।