तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


बारा बछनपुर्वाका शोभाकर पराजुलीलाई यतिबेला मुलुकले संविधानसभाको सदस्यका रूपमा चिन्दछ । संविधानसभामा उहाँको सारपूर्ण, प्रखर तथा ओजिलो प्रस्तुतिले उहाँलाई सयौँ सभासद्माझ पनि विशेष स्थान दिलाएको छ । २०३३ सालदेखि नै नेपाल विद्यार्थी सङ्घमार्फत राजनीतिक सक्रियता दर्शाउनुहुने काङ्ग्रेस नेता पराजुली ०४८ देखि हालसम्म नेका महासमिति सदस्य हुनुहुन्छ । नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक एवम् काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवको जिम्मेवारीसमेत उहाँले निर्वाह गरिसक्नुभएको छ । तर, पार्टीगत जिम्मेवारीको पेरिफेरीमा मात्र उहाँको परिचय सीमित छैन । मुलुकका विभिन्न सङ्घ-संस्थाहरूमा महाप्रबन्धक, सल्लाहकारलगायतका शीर्ष जिम्मेवारी कुशलताका साथ बहन गरिसक्नुभएका उहाँ सञ्चार एवम् मानवाधिकारका क्षेत्रमा पनि विशेष पहिचान स्थापित गर्न सफल व्यक्तित्व हुनुहुन्छ । विश्वका लगभग डेढ दर्जन मुलुकको भ्रमण गरेर विविध अनुभव संगाल्नुका साथै विगत २५ वर्षदेखि राजनीतिक तथा समसामयिक विषयमा लेख-रचना, कार्यपत्रलेखनलगायतका सिर्जनात्मक कार्यमा निरन्तर क्रियाशील शोभाकर पराजुली जीवन-जगत्सँग सम्बन्धित घटना र विचारका सवालमा यसरी प्रस्तुत हुनुभयो ।
० जीवन के हो ?
– वैज्ञानिक रूपले जानकारी दिइएअनुसार- सूर्य, पृथ्वीको गुरुत्वाकर्षण, अन्य उपयुक्त अवस्थासमेतको सह-उत्पादन जीवन हो । मेरो बढी विश्वास यसैमा छ । जहाँसम्म सांसारिक विषय छ, जीवन प्रकृतिको सुन्दर रचना हो । हामीले अरूलाई जस्तो व्यवहार गर्दछौँ त्यही व्यवहार अरूबाट पनि पाइयोस् भनेर सोच्दै अगाडि बढ्ने माध्यम हो । राजनीतिक रूपमा भन्ने हो भने यो कर्तव्यको पुञ्ज हो र हामी अरूको सेवामा लाग्न सक्नुपर्छ । अरू भनेको नै आफ्नो हो भन्ने सोचौँ भन्ने मेरो मान्यता छ ।
० प्रेम के हो ?
– यो प्रकृतिले दिएको स्वाभाविकता हो । प्रेमले जीवन सुन्दर हुन्छ, संसार चल्दछ । यसलाई अत्यन्त स्वाभाविक रूपमा हेर्नुपर्छ । न यो असामान्य ठूलो विषय हो न तुच्छ विषय । प्रेम नै सदुपयोग गरेर जीव्ानलाई अझ सुन्दर बनाउने एउटा माध्यम एवम् प्रकृतिको अनमोल उपहार पनि हो ।
० सुन्दरता के हो ?
– प्रकृतिका सबै रचना सुन्दर छन् । तिनलाई सकारात्मक रूपमा प्रयोग गर्ने र त्यसबाट निस्कने परिणाम नै सुन्दरता हो । सुन्दरता स्थुल र वैचारिक गरेर मोटामोटी दुई भागमा विभक्त हुन सक्दछ ।
० मन के हो ?
– मन त मनै हो, सम्हाल्न गाह्रो छ तर सम्हालेपछि यसले साह्रै सकारात्मक परिणाम दिन्छ । विवेकले मनलाई बाँध्न र ठीक ठाउँमा राख्न सकिन्छ । कतिपय विषयहरूमा मन सम्हाल्न नसकिने पनि हुन्छ । अरूले सम्हाल्दिनुपर्ने हुन्छ । कहिलेकाहीँ मन तरङ्गित हुँदा राम्रो-नराम्रो जे भए पनि कसैले सम्हालिदिए आनन्द आउँछ । यसले समाजलाई हानि नपुगे हुन्छ ।
० भावना के हो ?
– यो मनको उपज हो, यसले के-के सोच्न पुग्छ कुन्नि ? मैले सुनेको- मानिस कुनै कुरालाई बाहिर प्रकट गरेभन्दा धेरै गुना बढी मन खुसी हुने भावना पाल्दछ । प्रेम, राजनीति आदिमा पनि यो लागू हुँदैन र ?
० विवाह के हो ?
– मैले एउटा किताबमा पढेको थिएँ कि- यो अनन्त रूपमा विपरीत लिङ्गीहरूबीचको सम्भावित सम्बन्धलाई औपचारिक रूपमा सीमित गर्ने माध्यम हो, अनौपचारिक कुरा त अलग्गै छ । सम्बन्धभन्दा पनि संसारलाई अगाडि बढाउने माध्यम पनि यसलाई मानिन्छ नै ।
० बन्धन के हो ?
– बन्धन नचाहेको कुरालाई पनि स्वीकार गर्नुपर्ने अवस्था वा परिवेश पनि हो ।
० अपमान के हो ?
– राम्रो विचारलाई कसैले अस्वीकार गर्नु त्यो विचार र सोचको अपमान हो र अन्ततोगत्वा त्यो समाजको पनि अपमान हो । नराम्रो कार्य गरेर पाइएको परिणामलाई म अपमान भन्न तयार छैन, त्यो त स्वाभाविक नै हो ।
० इज्जत के हो ?
– असल कार्य गरेर पाइने सम्मान नै इज्जत हो र डरको आधारमा पाउने सम्मान भने सुन्निएर मोटाएजस्तै हो । परम्परा र आवश्यकताको पनि यसमा स्थान छ ।
० बेइज्जती के हो ?
– इज्जतको उल्टो । कसैले मेरा गोरुका बाह्रै टक्का भन्छ र अरूको कुरै सुन्दैन भने यो के हुन्छ ? राजनीतिमा पनि यस्तो हुन्छ नि ।
० मिलन के हो ?
– लोकतन्त्र र समाजवादको मिलनले सुन्दर समाज दिन्छ, शान्ति दिन्छ र जनताको अधिकारको संरक्षण गर्छ । प्रेमी र प्रेमिकाको मिलनले रोमान्टिक उपन्यासमा लेखेजस्तो गरेर खुसी प्रदान गर्छ । लक्ष्यको प्राप्ति मिलन हो भन्नुपर्ला ।
० विछोड के हो ?
– तृष्णा बाँकी रहँदै तृष्णा पूरा हुने माध्यमको अन्त्य वा त्यो माध्यम पहुँचभन्दा बाहिर हुनु विछोड हो । परिवार, साथी, समाजसमेत धेरै ठाउँमा यो नियम लागू हुन्छ ।
० जवानी के हो ?
– जोस, जाँगर, उत्साह र विवेकको साझा रूप जवानी हो । यो जीवनको ऊर्जाशील चरण पनि हो ।
० बालपन के हो ?
– बालकले देखाउने स्व्ााभाविक पन हो र ठूलाले देखाए यो अस्वाभाविक हुन जान्छ । राजनीतिमा भने बालपन वैचारिक हठलाई मान्ने गरिन्छ ।
० तृष्णा के हो ?
– तृष्णा मनको नै उपज हो, केही पाउने गहिरो चाहना हो । यसलाई भावनाजस्तै मान्दा हुन्छ तर एक स्टेप अगाडि र यसमा माया-प्रेमको कुराले अझ बढी स्थान पाउने गरेको छ ।
० रिस के हो ?
– इच्छा भएपछि लोभ हुन्छ । लोभ पूरा नभएपछि रिस उठ्छ । रिसलाई सही दिशा दिन सकिएन भने सर्वनास पनि हुन सक्दछ । राजनीतिमा रिसभन्दा पनि जनतालाई आप\mनो हित केमा छ भन्ने बुझाउन सकिएन भने पीडा हुन्छ ।
० जोस के हो ?
– आफूमा भएको शक्तिलाई सकारात्मक रूपमा बदल्नु र त्यसका लागि अगाडि बढ्नु जोस हो ।
० नसा के हो ?
– कुनै पनि विषयप्रतिको अनावश्यक लगाव ।
० यौन के हो ?
– संसार चलाउन प्रकृत्रि्रदत्त आधार हो । यो स्त्री र पुरुष भएको आधारमा हुने फरक तर सामूहिक पक्षसँग सम्बन्धित विषय हो । यसको आनन्ददायक गुणले नै प्राणीहरूलाई लामो समयसम्म यस पृथ्वीमा रहन सहयोग गर्छ भन्ने वैज्ञानिक तथ्य हो । अहिले विज्ञानले यौनलाई समेत मात्र आत्मसन्तुष्टि र शारीरिक चाहना परिपूर्तिको विषय पनि बनाइदिएको छ ।
० सन्तुष्टि के हो ?
– लक्ष्य प्राप्तिपछिको अनुभूति । लक्ष्य उपयुक्त र जनहितकारी हुन आवश्यक छ ।
०र् कर्तव्य के हो ?
– आफू, परिवार, समाज, चराचरसमेतप्रति स्थापित र परिस्थितिअनुसार सर्वमान्य तथा परिवर्तित आधारलाई समायोजन गरेर गरिनुपर्ने कार्य । कर्तव्य समाजको अग्रगमनबाट निर्देशित हुनुपर्छ । शान्तिपूर्ण सहअस्तित्व्ालाई समाहित गर्ने कार्यलाई कर्तव्यशीलहरूले आत्मसात् गर्न सक्नुपर्छ ।
० विश्वास के हो ?
– पहिलादेखि प्राप्त भएको अनुभूति, परम्परा तथा विभिन्न माध्यमबाट प्राप्त ज्ञानको आधारमा कुनै विषय यस्तो हो भनोर बनाइएको धारणा विश्वास हो । विश्वास लिनुपर्छ तर बीपीले भन्नुभएजस्तै- केहीमा विश्वास गरिरहँदा पनि आफ्ना कान र आँखा खुला राख्नुपर्छ ।
० असल के हो ?
– विश्वासका सर्न्दर्भमा मैले दिएको जवाफ अनुरूप आत्मसात् गरेर हिँड्ने मानिस नै असल हो भन्ने मेरो मान्यता छ । सर्वजनहिताय भन्ने सोच्ने र व्यवहारमा लागू गर्ने मानिस असल हो । सर्वजनहिताय त हुनै सक्दैन भन्ने पनि कुरा आउला तर प्राकृतिक स्रोत सबैको साझा हो भन्ने जगमा अडिएपछि त्यसको उत्तर पनि आउँछ । कल्पना र लोभको चस्मा लगाएर असलको परिभाषा खोज्न र पहिल्याउन भने कठिन हुन्छ ।
० खराब के हो ?
– समाजको हित नसोच्ने र समाज विकासको नियमलाई स्वाभाविक रूपमा आत्मसात् नगर्नेहरू खराब हुन् । अरूको विचारलाई अस्वीकार गर्ने र शान्तिपूर्ण परिवर्तनमा विश्वास नगर्नेहरू राजनीतिक रूपमा खराब हुन् । लोकतन्त्र र बहुलवादलाई नमान्दा यस्तो अवस्था आउँछ ।
० सबभन्दा ठूलो धोखा के हो ?
– चर्का नारा दिएर सत्तामा नपुग्दासम्म हामी बराबर हौँ भन्ने तर सत्तामा पुगेपछि बन्दुक बोक्नेहरू, परिवार बिचल्ली हुनेहरूलाई भाषणले नै चित्त बुझाउन लगाउनु र आफू सुखसुविधा भोग गर्नु धोखा हो भनेर सञ्चारमा आएको सुनेको थिएँ । सिद्धान्तलाई व्यवहारमा जनहितको पक्षमा प्रयोग नगर्नु ठूलो राजनीतिक धोखा हो ।
० दु:ख के हो ?
– सोचेको कुरा नपुग्नु तर त्यो सोच राम्रो हुनुपर्छ । जहाँ पुगेर जे गर्दछु भनिएको हुन्छ त्यो गर्न नपाएको अवस्थामा मलाई दु:ख हुन्छ ।
० सुख के हो ?
– लक्ष्य प्राप्ति । लक्ष्य त मानवीय हुनुपर्छ नै । अन्यथा प्राप्त हुने सुख भ्रम हुन्छ । त्यो क्षणिक पनि हुन्छ र पछि पश्च्ाात्तापको विषय पनि हुन्छ, त्यस्तोमा सुखी छु भनेर पीडा लुकाउनुपर्ने पनि हुन्छ ।
० खुसी के हो ?
– लक्ष्य राम्रो लिऊँ र त्यो पूरा हुँदा कसै-कसैका आँखासमेत रसाउँछन्, त्यो अधिकतम् खुसी पनि हो । क्षणिक रूपमा त राम्रो फूल टिपेर लिन पाउँदा पनि खुसी प्राप्त हुन्छ । मलाई लक्ष्य पूरा होस् वा नहोस् असल लक्ष्यप्रतिको र्समर्पण नै सच्चा र सल्टिएको खुसी हो भन्ने लाग्छ ।
० आनन्द केमा छ ?
– केही मानिसहरू जेमा आनन्द मान्यो त्यसैमा आनन्द छ भन्ने गर्छन् । यसमा पनि सत्यता छ । रुचिको परिपूर्ति आनन्द हो भने रुचि समाजलाई र अवसर नपाएकाहरूलाई समेट्ने किसिमको हुनुपर्ने तथ्य राजनीतिक र सामाजिक मात्र होइन आध्यात्मिक कुरा पनि हो ।
० मित्र को हो ?
– सहयोगी व्यक्तित्व जस्ाले राम्रो कार्य गर्न प्रोत्साहन गरोस् र गलत गर्नबाट रोकोस् । बहुलवादप्रतिको सम्मानले मित्रतालाई प्रबल आधार दिन्छ । व्यक्तिहरूबीच मित्रताको गाढापन स्वभाव आदिले पनि फरक हुन्छ ।
० शत्रु को हो ?
– गल्ती गर्ने र गल्ती गर्न उकास्ने व्यक्ति शत्रु हो । समाजको विकासमा कुनै पनि किसिमले रोकावट गर्न चाहने वा गर्ने सोच अरूको र आफैंभित्र रहेमा भित्रको शत्रु हो । समस्त प्रकृति प्राणीमात्रको साझा हो भन्ने सोचले शत्रुतालाई मित्रतामा बदल्न सक्दछ ।
० सङ्घर्ष के हो ?
– उपयुक्त लक्ष्यका लागि त्यो लक्ष्य पूरा नभएको अवस्थामा गरिने बलिदानी कार्य सङ्घर्ष हो । लक्ष्य उपयुक्त छ कि छैन ? भन्नेबारे पनि आफैंभित्र विचारको सङ्घर्ष हुनुपर्छ । लोकतन्त्रमा यस्तो हुन्छ र नचाहे पनि परिस्थितिले बाध्य पार्छ ।
० प्राप्ति के हो ?
– चाहनाको परिपूर्तिलाई प्राप्ति भनिन्छ । कहिलेकाहीँ बौलाहा कुकुर मरेर समाजलाई शान्ति र सुस्वास्थ्य प्राप्ति हुन्छ । प्राप्ति सकारात्मक परिणाम र नकारात्मक अवस्थाको अन्त्यलाई पनि मान्न सकिन्छ ।
० आस्था के हो ?
– मेरो विचारमा समाज उपयोगी विचारसँगको लगाव र त्यसमा र्समर्पण आस्था हो वा हुनुपर्छ । समाजको विकाससँगै समाज उपयोगी भन्ने विषय पनि बदलिने हुँदा आस्थालाई बदल्नेभन्दा पनि परिस्कृत गर्न सक्नुपर्छ । यसका लागि वातावरणको जगर्ेना पनि हुनुपर्छ । त्यो विविधताको सम्मानमा आधारित हुनुपर्छ र यसले नै सही निकास दिन सक्छ ।
० धर्म के हो ?
– पहिला धर्म ईश्वरको इच्छाअनुसार चल्नु थियो । पछि त्योईश्वरको आदेश यो हो भनेर पालना गर्नु हुन पुग्यो । पछि एउटा विश्वास हुन पुगेको छ । धर्म, धर्म हुनभन्दा पहिला विज्ञान हो, धर्म भएपछि विज्ञान नपुगेको स्थानमा हुने वा कल्पना गरिएको विषय हो । विज्ञानको क्षेत्र विस्तार हुँदै गएपछि धर्मको क्षेत्र साँघुरो हुन्छ । अझै यो अनन्त ब्रह्माण्डमा मानिसको र विज्ञानको पूर्ण पहुँच असम्भव नै भएकोले मान्नेहरूलाई धर्म छ भन्ने आधार प्रसस्त बाँकी रहन्छ ।
० नैतिकता के हो ?
– सामाजिक मान्यता- कहीँ गाईको मासु खानु अनैतिकता र अधार्मिक, कहीँ सुंगुर छुनु अनैतिक र अधार्मिक, कतै दाज्यू मरेपछि भाउजूलाई बिहे गर्नु वा देवरसँग भाउजूले बिहे गर्नु नैतिकता, किनभने परिवारको इज्जत परिवारमा नै रह्यो । कतै देवर-भाउजूको बिहे गर्नु ठूलो अपराध, किनभने त्यो पशुसरह भयो । अब हामीलो नैतिकता समानता र मानवतामा आधारित हुनुपर्छ भन्ने मान्यतालाई अगाडि बढाउनुपर्छ ।
० चरित्र के हो ?
– चरित्र पनि सामाजिक कुरा नै हो । केही धार्मिक कुरा पनि हो । त्यस्तै, संस्कारबाट निर्देशित विषय पनि हो । मलाई चरित्र भनेको कुनै पनि मानिसका बारे समाजले ध्यान दिने विषयमा वा अरू मानिसले हेर्ने कुरामा कुनै पनि मानिसले गर्ने व्यवहारको मूल्याङ्कन हो ज्ास्तो लाग्दछ । चरित्रको कुरा आर्थिक, यौन तथा सामाजिक व्यवहारका आधारमा मूल्याङ्कन गरिने गर्दछ । यसलाई पनि नैतिकतासँग तुलना गर्न सकिन्छ ।
० ज्ञान के हो ?
– जानकारी ज्ञान हो । त्यो जानकारीलाई विवेकले परिस्कृत गरियो र प्रयोगमा ल्याइयो भने समाज उपयोगी हुन्छ ।
० बुद्धि के हो ?
– ज्ञानलाई पारख गरेर प्रयोग गर्नु बुद्धि हो । विवेक लगाएपछि र समय-समयमा यसलाई अपडेट गरेपछि सधैं समयसापेक्ष बनाउन सकिन्छ ।
० सम्झौता के हो ?
– उद्देश्य पूरा गर्ने बाटोमा गिलास केही खाली वा केही भरिएको भन्ने जस्तै हो । राजनीति, युद्ध, प्रेम आदिमा सम्झौताका कुरा बढी सुनिन्छन् ।
० सृष्टि के हो ?
– त्यसको बारेमा वैज्ञानिकहरू ब्ाढी जानिफकार हुन्छन् । सबै सवालहरूको सटिक उत्तर गाह्रो विषय हो । भन्नैपर्ने हो भने तपाईं-हामीले जे देखेका छौँ र थियौँ तथा देख्ने छौँ, सृष्टि यस्तै कुरा हो । विविध वस्तुहरूको विशिष्ट संयोगको सहउत्पादन सृष्टि हो जस्तो लाग्दछ ।
० गुरु को हो ?
– ज्ञान र त्यसको सम्बोधन अर्थात् फैलाउने कार्यको संयुक्त नाम गुरु हो ।
० राजनीति के हो ?
– राज्य चलाउने नीति भएकोले यसको ठूलो महत्त्व छ । यो देश र समाजलाई कहाँ लग्ने भन्ने माध्यम पनि हो ।
० देश के हो ?
– देखिने रूपमा भौगोलिक सिमाना र मानसिक रूपमा त्यस क्षेत्रका जनताको भावनात्मक एकता र मिलेर विकास तथा समानताको पथमा जाने माध्यम देश हो ।
० समाज के हो ?
– भौतिक र मानसिक आवश्यकता तथा उन्नतिको लागि मानिसहरू स्थायी रूपमा मिलेर बसेको अवस्थालाई समाज भनिन्छ ।
० पद के हो ?
– लगाएको काम गर्नका लागि जिम्मेवारी नै पद हो । संविधानसभाले संविधान बनाउनुपर्ने हो । विभिन्न अहम्का कारण ढिलो भएको छ । कहिलेकाहीँ पदमा रहेर पनि अन्य शक्तिको कारणले पदअनुसारको कार्य गर्न नसकिने रहेछ ।
० विकास के हो ?
– मानसिक, भौतिकसमेत विभिन्न क्षेत्रमा पहिलाभन्दा सकारात्मक सुधार हो जुन विश्वव्यापी मान्यताका आधारमा समेत मूल्याङ्कन हुन्छ । यसले समग्र हिसाबले जनताको जीवनस्तर उठाउने कार्यलाई परिणामको रूपमा लिनुपर्छ ।
० व्यापार के हो ?
– जनताको आवश्यकता इमान्दारीसाथ पूरा गर्ने माध्यम हो र यसभन्दा बढी व्यापारीहरूले नै बताउनुहुनेछ ।
० अनुशासन के हो ?
– लक्ष्यका लागि अविचलित प्रतिबद्धतापूर्ण अनुशासन हुन्छ ।