‘राती बसौं न’ पनि भन्छन्

‘राती बसौं न’ पनि भन्छन्


funtimeसोनिया शर्मा । काम थोरै तर चर्चा धेरै । एउटै चलचित्र एटीएमबाट चर्चामा आएकी सोनिया तस्बिर पनि निकै हट खिच्छिन् । अहिले केही चलचित्र र म्युजिक भिडियोमा काम गरिरहेकी सोनियालाई यो हप्ता एक कार्यक्रममा भेटियो । निकै ग्ल्यामर्स देखिएकी थिइन् उनी ।
० तस्बिर त निकै हट खिचिएको रहेछ नि ?
– तस्बिर मात्र त्यस्तो हो । म त्यस्ती त छैन नि ।
० यस्तो तस्बिर खिच्नलाई कसरी आउँछ नि जोस ?
– जोस होइन, यो त समयको माग हो ।
० समयले मागेको हो कि फोटोग्राफरले ?
– फोटोग्राफरले माग्ने होइन, समयले नै मागेको हो । यस्तो खालको खिच्नुप-यो भनेपछि उहाँहरूले खिच्ने हो । पोज, स्टाइल अनि कति खुल्ने भन्ने कुरा त हामीमा भर पर्छ नि ।
० तस्बिर हेर्दा र बाहिर देख्दा झुक्किएका छन् मानिस ?
– किन नझुक्किनु नि, मलाई बाहिर देख्नेहरूले त चिन्दै चिन्दैनन् । ए हो र भन्छन् ।
० तस्बिरको भरमा घुम्न जाने र आँखा लगाउनेहरू कत्तिको छन् नि ?
– कुरै नगर्नुस् । गलत सोचले घुम्न जाउँ अनि नाइट बसौँ भन्नेहरू त कति–कति । तस्बिरको भरमा ज्यान दिन्छु भन्नेहरूको सङ्ख्या धेरै छ ।
० उसो भए एउटा राम्रो केटा च्यापेर घरजम गरे भैगो नि त ?
– अहिले नै त्यतातिर सोचिएको छैन । एक दिन त्यो गर्ने दिन पनि आइहाल्छ नि ।
० चलचित्र एटीएम त प्रतिबन्ध भयो नि कस्तो लागिरहेछ ?
– साह्रै दु:ख । निकै मिहिनेत गरिएको थियो तर बजारमा आउन पाएन ।
० फिल्म त भयङ्करै अश्लील र छाडा थियो भन्छन् नि ?
– बजारमा हल्ला भएजस्तोचाहिँ थिएन । यो फिल्मबारे हल्ला अलि बढी नै
भएको थियो ।

चलचित्रकर्मीहरू अख्तियार गए

उद्देश्य, कर्तव्य र गन्तव्य भुलेर आफ्नै शान, मान र इज्जतको पछि लाग्दा चलचित्र विकास बोर्ड र यसलाई हाँक्ने अध्यक्ष धर्मेन्द्र मरवैता विवादमा परेका छन् । यति मात्र होइन कि गत साता धरानमा सम्पन्न चलचित्र विकास बोर्डको महोत्सव यति धेरै आलोचित हुन पुग्यो कि त्यो महोत्सव गर्नुको तुक खासै रहेन । अस्तव्यस्त कार्यक्रम र सीमित स्वार्थीहरूको बाहुल्य तथा कलाकर्मीको अपमानजस्ता क्रियाकलापले मर्यादित हुनुपर्ने महोत्सव आलोचित र असफल हुन पुग्यो । समग्र चलचित्र उद्योग र कलाकारिता क्षेत्रमा बद्नाम बन्न पुगेको यसपटकको महोत्सवमा भएको आर्थिक चलखेलको हिसाबकिताबका लागि अब चलचित्रकर्मी आन्दोलनमा जाने भएका छन् ।
चलचित्र क्षेत्रसँग आबद्ध दर्जनौँ संस्थाका अध्यक्षलाई बाहिर राखेर नितान्त व्यक्तिगत निर्णयमा गरिएको महोत्सव बजेट कुम्ल्याउन मात्र गरिएको हो भन्दा अब फरक नपर्ने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष मरवैताको यही व्यवहार अनि चलचित्रको अत्यधिक विरोध भएपछि चलचित्रकर्मीहरूलाई गरिने सम्मान र वितरण गरिन लागिएको ‘अवार्ड’ पनि नहुने भएको छ ।
राष्ट्रपतिको प्रमुख आतिथ्यमा सम्पन्न हुने करिब निश्चित भइसकेको अवार्ड कार्यक्रमबाट अब चलचित्रकर्मी विमुख हुने भएका छन् । पहिलोपटक राष्ट्रपतिनिवासमा नै आयोजना गरेर चलचित्रकर्मीलाई सम्मान गरिन लागिएको थियो । तर, धरान महोत्सवको चौतर्फी विरोध र विवादपछि यो अवार्ड वितरणमा राष्ट्रपतिको उपस्थिति नहुने निश्चित भएको छ । चलचित्र उद्योग र चलचित्रकर्मीले यसलाई ठूलो क्षतिको रूपमा लिएका छन् । ‘एउटा व्यक्तिको गलत सोच र कार्यक्रमले गर्दा हामी ठूलो सम्मानबाट वञ्चित
हुनुपरेको छ,’ चलचित्रकर्मीहरूको रोष छ ।
विवादका कारण राष्ट्रपतिबाट अवार्ड समारोहमा उपस्थित हुन असमर्थता जनाउनुमा मुख्य कारण चलचित्रकर्मीहरूले चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैतालाई मानेका छन् । ‘अध्यक्षकै कारण एउटा बृहत् र सम्मानित कार्यक्रम हुने भएन, यो साहै्र दु:खलाग्दो कुरा हो,’ चलचित्रकर्मीहरूको भनाइ छ ।
जतिबेला सरकारले चलचित्र विकास बोर्डमा धर्मेन्द्र मरवैतालाई अध्यक्षको रूपमा नियुक्त गरेको थियो, त्यतिबेला उनको समर्थन र विरोधमा चलचित्रकर्मीहरू दुई चिरा भएका थिए । तर, अहिले धरान महोत्सवमा आफूहरूलाई प्रयोग गरेर अध्यक्षले विकास बोर्डको ढुकुटी रित्याउन खोजेको आरोप लगाउँदै उनीहरू एकढिक्का भएका छन् । बोर्डबाट अध्यक्षलाई हटाउन यसै हप्ता चलचित्र क्षेत्रसँग आबद्ध सङ्घ/संस्थाहरूको मिटिङ बस्दै छ भने चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताको राजीनामा माग्दै आन्दोलन गर्ने तयारीमा चालचित्रकर्मी रहेका छन् । उनीहरूको माग छ– धरान महोत्सवमा भएको खर्चको हिसाबकिताब दुरुस्त पार्नुप-यो भने गल्ती भएको ठानेर अध्यक्षले क्षमा माग्नुप-यो ।’
यसैबीच चलचित्रकर्मीले २६ गते आइतबार अख्तियार गएर विकास बोर्डमा भएको आर्थिक चलखेलबारे सम्बन्धित निकायलाई जानकारी गराएका छन् । महोत्सवको नाममा भएको आर्थिक लेनदेन स्पष्ट हुन सकेन भने भोलि विकास बोर्डको जिम्मेवार पदमा बसेका अध्यक्षले बोर्डबाट राजीनामा मात्र होइन कि सजाय पनि पाउन सक्नेछन् । यता चलचित्रकर्मीहरूले भने चलचित्र विकास बोर्डमा महोत्सवको नाममा भएको आर्थिक चलखेलबारे सम्बन्धित सबैको ढोका चहार्ने कुरा बताउँदै आएका छन् ।