नेपाल प्रहरीलाई बर्बाद पार्ने को ?-वसन्तराज कुँवर

नेपाल प्रहरीलाई बर्बाद पार्ने को ?-वसन्तराज कुँवर


प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी अख्तियारबाट बयान दिँदै र्फकनुभएको दृश्य टेलिभिजनमा देख्दा पङ्क्तिकार दु:खी बन्यो । प्रहरी सङ्गठनको एक पूर्वसदस्यको हैसियतले पनि आफूले काम गरेको सङ्गठनको मर्यादामा आँच आएको म देख्न चाहन्नँ । तर पनि यथार्थ त हेर्नै पर्दोरहेछ । त्यो दृश्यले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अनुहार सम्झायो मलाई जसले धेरै प्रहरी कर्मचारीलाई अख्तियार जान वाध्य तुल्यायो ।
जतिबला मैले प्रहरी सेवा प्रवेश गरेको थिएँ त्यतिबेला यस सङ्गठनको मर्यादा थियो । समाजमा इज्जत थियो । एउटा हवल्दार बिनाहतियार तीन दिनको बाटो गएर पाँच अपराधीलाई डोरीले बाँधेर कार्यालय ल्याउन सक्थ्यो । त्यस्तो सङ्गठनका सङ्गठन प्रमुखहरूलाई नै बयानमा जानुपर्ने स्थिति देखिनु दु:खद् यथार्थ हो ।
जब म आज प्रहरी महानिरीक्षकहरू असुरक्षित भएको दृश्य देख्छु तब यसको कारण खोतल्ने प्रयास गर्छु । म के निष्कर्षमा पुग्छु भने प्रहरी सङ्गठनमा क्याडरिङ पद्धति मासिनु नै यो दुरि्दन आउनुको कारण हो । पहिला-पहिला प्रहरीमा डीएसपीदेखि नै कुनै अधिकृत प्रहरी महानिरीक्षक हुने क्याडर हो भनेर चिनिन्थ्यो । ऊ तालिममा अब्बल हुन्थ्यो । उसले फिल्डमा नाम कमाउँथ्यो । उसको नेतृत्वक्षमता तल्ला तहका लागि प्रेरणाको स्रोत बन्दथ्यो । प्रहरी अधिकृतहरूको हुलमा उसलाई प्रहरी प्रमुखहरूले विशेष कामहरू दिने गर्दथे । जब २०४८ सालपछि बहुदल आयो र पार्टीहरूबाटै गृहमन्त्री आउन थाले त्यसपछि तिनले पुलिसलाई आफ्नो पार्टीको दास बनाउन चाहे । तिनले प्रहरीलाई पैसा बटुल्ने साधन बनाए । गृहमन्त्री र पार्टीको पैसाप्रतिको आशक्ति बुझेर केही खुराफाती अधिकृतले क्याडरिङ गरिएका अधिकृतहरूभन्दा आफूले पार्टी र गृहमन्त्रीको ज्यादा सेवा गर्ने प्रस्ताव राख्न थाले । सुरक्षा इकाइको महत्त्व र त्यसलाई कमजोर बनाउँदा दूरगामी असर कस्तो पर्छ भन्ने नबुझेका गृहमन्त्रीहरूले त्यस्ता लोभीपापी अधिकृतहरूलाई प्रहरी प्रमुख बनाएर आफ्नो स्वार्थ सिद्धि गर्ने रणनीति बनाए र सङ्गठन प्रमुखसमेत परिवर्तन गर्न थाले । यसरी परिवर्तन गर्ने क्रममा कल्पनै नगरेका लुते अधिकृतहरू पनि प्रहरी महानिरीक्षक बन्न सफल भए । लुतेलाम्रे प्रहरी महानिरीक्षक हुनु नै आज हरेक प्रहरी महानिरीक्षकको दशाका कारण बन्न पुग्यो । अहिले रमेश चन्द ठकुरीजीदेखि लिएर विगतमा थुप्रै प्रहरी महानिरीक्षकहरूलाई जसरी भ्रष्टाचारको आरोप खेप्नुपर्ने अवस्था आयो त्यसको पछाडिको मुख्य कारकतत्त्व लुते, लाम्रे, लोभी, पापी प्रहरी महानिरीक्षकको आगमन नै थियो ।
को थिए त ती लुते-लाम्रे प्रहरी महानिरीक्षकहरू? भन्दा मेरो अनुभवले यही भन्छ कि ती व्यक्तिहरू विगतमा हेमबहादुर सिंह र अहिलेकोमा श्यामभक्त थापा र ओमविक्रम राणा थिए । श्यामभक्त थापा राजाले प्रत्यक्ष शासन लिन ल्याएका लुते-लाम्रे प्रहरीप्रमुख मात्र थिए । तिनको स्वास्थ्य, योजना गर्ने क्षमता, फिल्डमा नेतृत्व गर्न सक्ने खुवी प्रहरी महानिरीक्षकका लागि कुनै पनि हिसाबले योग्य थिएन । ती केवल दारु खान र बिरामी हुन मात्र प्रहरी महानिरीक्षक भएझैं लाग्थ्यो । जब तिनी आए प्रहरी सङ्गठनलाई ध्वस्त पार्ने तत्कालीन दरबारको राणनीतिअन्तर्गत मोहरा भएर काम गर्न थाले । तिनले आफ्नै प्रहरी अधिकृतहरूविरुद्ध नै अर्का प्रहरीहरू परिचालन गर्न थाले । उनले षड्यन्त्रमूलक ढङ्गले थुप्रै क्याडरिङ गरिएका अधिकृतहरूलाई अवकाश दिलाउनेदेखि मुद्दामा पार्ने काम गरे । कुनै खतरा आयो भने ती कि बिरामी हुन्थे कि बेहोस नै । श्यामभक्त थापाले षड्यन्त्रमूलक ढङ्गले प्रहरीलाई बद्नाम गर्ने क्रममा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा दरबारलाई साथ दिँदै गए । त्यसैले उनलाई विश्वास गर्ने राजाको शासन पनि गयो । उनको पालामा थुप्रै प्रहरीको मृत्यु भयो । प्रहरी कर्मचारीहरू झुटा भ्रष्टाचारको मुद्दामा फसाइए । नेपाल प्रहरीको दुर्गतिमा श्यामभक्त थापाको भूमिका इतिहासमा ज्यादै घृणित प्रकारको थियो । उनको पालामा धेरै होनहार अधिकृत मासिएर गए । पूर्वप्रहरीहरूविरुद्ध मुद्दा लगाइयो । श्यामभक्त थापाको पतनपछि ओमविक्रम राणा आईजीपी हुन पुगे । उनी कुनै हालतमा आईजीपी हुन लायक थिएनन् । उनी आईजीपी केवल कृष्णप्रसाद सिटौलाको दयाले भएका थिए र सिटौलाको सेवा नै उनको एक मात्र लक्ष्य थियो । भनिन्छ, ओमविक्रम राणालाई प्रहरी प्रमुख बनाउन अच्युतकृष्ण खरेलले महत्त्वपूर्ण भूमिका निभाएका थिए रे । ओमविक्रमभन्दा आनुपातिक रूपमा सङ्गठनलाई केही दिन सक्ने बरु त्यसबेलामा अमरसिंह शाह थिए तर सिटौला एण्ड कम्पनीलाई राम्रो आईजीपी चाहिएको थिएन बल्की प्रहरी सङ्गठनबाट सक्ने जति हसुरेर सिटौला र कोइराला परिवारमा धन पुर्‍याउने जवान चाहिएको थियो । यस्तो स्वार्थ सिद्ध गर्न सक्ने आईजीपी स्वाभिमान भएको व्यक्ति हुनै सक्दैन थिए । यसका लागि लुते-लाम्रे प्रहरी महानिरीक्षकको आवश्यकता थियो । ओमविक्रम राणाको रूपमा तिनले लुते-लाम्रे अधिकृत रेडिमेट रूपमै भेटे र प्रहरी महानिरीक्षक बनाए ।
श्यामभक्त थापा र ओमविक्रम राणा दुवै लुते-लाम्रे गुणकै कारण प्रहरी प्रमुखमा ल्याइएका व्यक्ति भएका कारण त्यतिबेला बहालमा रहेका प्रतिद्वन्द्वी अधिकृतहरू यिनका लागि लघुताभाषका कारण बने । त्यसैले आफूभन्दा बढी योग्य अनन्तराम भट्टराईदेखि अमरसिंहजस्ता अधिकृतहरूलाई यिनले बिलकुलै निष्क्रिय बनाएर राखे । यी दुवै आईजीपीहरूले केवल आफ्नावरिपरि डीएसपी, इन्सपेक्टर र एसपीसम्म राखेर प्रहरी चलाए । बाँकी ठूला अधिकृतहरूलाई लगभग निष्क्रिय नै पारे । लौ त भन्ने हो भने ओमविक्रम राणासम्म आइपुग्दा माथिल्ला तहका क्षमतावान अधिकृतहरू सखाप नै भइसकेका थिए । बाँकी बचेका केवल एस म्यानहरू मात्र थिए । तिनीहरूबाट यी आईजीपीहरू आफूलाई खतरा ठान्दैनथे ।
जब लुते-लाम्रे अधिकृतहरू आईजीपी बने प्रहरीको सम्पूर्ण शक्ति गृहमन्त्रीको दरबारमा पुग्यो । गृहमन्त्रीहरूले मनखुसी तरिकाले प्रहरीका शोषण गरे, इज्जत लुटे, प्रहरीलाई ढोके बनाए । आईजी नै लुते भएपछि सम्पूर्ण प्रहरी निरीह बन्यो र ओरालो लागेको बाछोलाई मृगले पनि खेदेझैं प्रहरी कर्मचारीहरूलाई सबले खेद्न थाले । गृहमन्त्रीहरू प्रहरीको ढाडमा चढेर भ्रष्टाचारमा लिप्त हुन थाले । लुते आईजीपीहरूले ढाड थापिदिए । त्यसैको एक परिणाम हो सुडान घोटला काण्ड ।
वास्तवमा सुडान घोटला सबैभन्दा ठूलो भ्रष्टाचार कोइराला परिवार र गृहमन्त्री सिटौलाबाटै भएको छ तर लुते ओमविक्रमले ढाड थापेर भ्रष्टाचार गर्न दिएका कारण पूरै सङ्गठन आरोपी बन्यो । हुँदाहुँदा तिनले गरेका कमजोरीले रमेश चन्द ठकुरीसम्मलाई अख्तियार पुर्‍यायो । रमेश चन्द मात्र होइन अरू धेरै निर्दोष अधिकृतको पनि यसै काण्डमा मानमर्दन हुँदै छ । यो हामीजस्ता बुझ्नेका लागि दु:खद् घटना हो ।
त्यसबेला सशस्त्र प्रहरीमा अलि बहादुर प्रकृतिका सहवीर थापा प्रहरी प्रमुख भएकाले त्यो सङ्गठनविरुद्ध अख्तियार लागेन तर नेपाल प्रहरीमा लुते आईजीपीहरूले दरबारको स्वार्थका लागि आफूभन्दा पहिलाका आईजीहरूलाई भ्रष्टाचारमा पार्न भित्रभित्रै खुवै साथ दिए तर तिनले त्यतिबेला यो बुझ्न सकेनन् कि यही षड्यन्त्र उनीहरूतर्फ पनि एक दिन र्फकन सक्छ ।
आज सुडान घोटालाले समग्र प्रहरी सङ्गठनको शिर निहुराएको छ । अहिले प्रहरी कर्मचारीहरू यतिविधि स्वार्थी र विवेकहीन भइसकेका छन् कि यो काण्डले समग्र सङ्गठनको शाख कति गुम्छ भन्नेतर्फ ध्यान दिनुभन्दा पनि यही काण्डलाई भजाएर कसरी एक तह पदोन्नति लिने भन्नेमा नै अधिकांश प्रहरीको चिन्ता र चासो रहेको हुन सक्छ तर तिनले पनि के बुझ्नुपर्छ भने यही स्थिति रहे नयाँ प्रहरी प्रमुख बन्नेहरू पनि जेल जानेछन् ।
अख्तियारको छानबिनले एउटा मोड लेला । कोही कारबाहीमा पर्लान् वा कोही नपर्लान् । मेरा लागि कसैमाथि कारबाहीभन्दा पनि भविष्यमा प्रहरीको छविमा कस्तो असर पर्ला र यसरी जताततै अराजकता बढिरहेको अवस्थामा शाख गिरेको प्रहरीले कसरी चुनौतीपूर्ण शान्ति सुरक्षा देला भन्ने विषयले बढी चिन्ता जगाएको छ ।
कुनै बेला मलाई पनि प्रहरी महानिरीक्षक बन्ने सपना हुन्थ्यो तर लुते आईजीपीहरूले प्रहरी महानिरीक्षकको शान र जनविश्वासलाई कायम राख्न सकेनन् । लुतेहरूले प्रहरीको क्याडरिङ पद्धतिलाई समाप्त पारे । क्षमतावानहरूलाई षड्यन्त्र गरी उडाए । प्रहरीको शक्ति र स्रोत गृह मन्त्रालय र बालुवाटारमा लगी बुझाए । प्रहरी सङ्गठनको खम्बा तिनले ढाले र खम्बामाथि बसेका आफू पनि झरे । मलाई तिनीहरू झरेकोभन्दा पनि तिनले खम्बा भत्काएका कारण अरू हजारौँ निर्दोष प्रहरी त्यसभित्र पुरिएकोमा चिन्ता छ । ओमविक्रम राणाले ढालेका खम्बाले हेम गुरुङ र रमेश चन्दलाई पनि आज किचेको मात्र हो ।
प्रहरी कर्मचारीहरूले बुझ्नुपर्छ कि लुते-लाम्रे र षड्यन्त्रकारी प्रहरी महानिरीक्षक हुनु भनेको सङ्गठनका लागि दर्ुभाग्य हो । आज कैयौँ प्रहरी जसरी अख्तियार धाउँदै छन् त्यस्तो स्थिति ल्याउने व्यक्तिहरू भनेको श्यामभक्त थापा र ओमविक्रम राणा नै हुन् । कारण तिनीहरू हुन् प्रभाव आज रमेश चन्दहरू देखिएका छन् ।
हुन त को बिग्रला र म एक तह उक्लिउँला भनेर अरूको दुर्गतिमै आफ्नो प्रगति देख्ने अरू लुते-लाम्रेहरूको पनि यो अवस्थामा आ-आफ्नै सपना देख्दै होलान् तर पनि सङ्गठनको हित सोच्नेहरूले भने प्रहरी सङ्गठनको यो दु:खद् क्षणलाई भजाएर सङ्गठनको छविलाई अरू बद्नाम गर्न प्रयास गर्नुहुँदैन । वास्तवमा लुते र फटाहाहरूलाई प्रहरी नेतृत्वमा जान दिनु पनि हुँदैन । ओमविक्रमको दशा अहिले प्रहरीलाई लागिरहेछ । मेरो मान्यता यही हो कि लुते आईजीपी राणाको ढाडमा चढेर सिटौलाले थुप्रै प्रहरीलाई टाउकोमा गोली हाने । यो काण्ड सिटौलाले ओमविक्रमको ढाडमा चढेर प्रहरी सङ्गठनको टाउकोमा गोली हानेको एक ऐतिहासिक घटना हो । सिटौलाले प्रहरीलाई डुबाए ।