देशको सीमाभित्र प्रजातन्त्र सीमित नहोस् :: अभय कुमार

देशको सीमाभित्र प्रजातन्त्र सीमित नहोस् :: अभय कुमार


antarbicharअभय कुमार औपचारिक जिम्मेवारीका दृष्टिले नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव हुनुहुन्छ । उहाँले दूतावासमा रहेर एक कूटनीतिकका रूपमा पे्रस, सूचना, संस्कृति र शिक्षा विभागको काम हेर्ने गर्नुभएको छ । तर, अभयको परिचय एक कूटनीतिज्ञका रूपमा मात्र सीमित छैन । दार्शनिक गुणका उहाँ कवि हुनुहुन्छ, चित्रकारितासमेत गर्नुहुन्छ र एक बहुप्रतिभाशाली व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । अभयले साठीभन्दा बढी चित्रको सिर्जना गर्नुभएको छ । उहाँका अधिकांश चित्र अमूर्त छन् र सबै चित्र पृथ्वी र पृथ्वीको सुन्दरतालाई केन्द्र बनाएर सिर्जना गरिएका छन् । केही प्राकृतिक सुन्दरतालाई पनि उहाँले आफ्नो क्यानभासमा उतार्नुभएको छ । सन् १९८० मा भारत बिहारको नालन्दा जिल्लामा जन्मनुभएका अभयले भूगोल विषयमा जवाहरलाल विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । २००३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएका उहाँले हालै सार्वजनिक गर्नुभएको पृथ्वीगीत चर्चामा रहेको छ । यसै परिवेशमा अभय कुमारसँग गरिएको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० अभयजी, तपाईं कूटनीतिक सेवामा हुनुहुन्छ, पेन्टिङ पनि गर्नुहुन्छ र गीत, कविता पनि लेख्ने गर्नुहुन्छ, वास्तवमा तपाईं आफूलाई के ठान्नुहुन्छ ?
– कवि र कूटनीतिज्ञको काम एकै प्रकारको हुन्छ । कविले भविष्यको कल्पना गर्छन्, कूटनीतिज्ञले पनि भविष्य व्यवस्थापनका लागि परिणाममुखी भएर काम गर्नुपर्ने हुन्छ । कवि र कूटनीतिज्ञबीच एक दुर्लभ ‘कम्बिनेसन’ हुन्छ । यस्तो निकै कम हुन्छ । मलाई कवि र कूटनीतिज्ञ दुवै हुने मौका मिल्यो । यस कुराले मलाई निकै खुशी तुल्याएको छ ।
० आममानिसभन्दा तपाईं केही भिन्न र विशेष प्रतिभाशाली देखिनुहुन्छ, तपार्इं आफूलाई त्यस्तो लाग्छ कि लाग्दैन ?
– आममानिस पनि सबै मैजस्ता हुन् र हुन्छन् भन्ने मलाई लाग्छ । सबै मानिस मैले जस्तै सोच्न सक्छन् र सोच्नु पनि पर्छ । मेरो जुन कल्पना हुन्छ आममानिसलाई केन्द्रबिन्दुमै राखेर सोच्ने गर्छु म । पृथ्वीगीतको जो मैले कल्पना गरेँ । मानिसहरू म यस जातिको हुँ, यस गाउँ या शहरको हुँ, यो धर्म र संस्कृतिको हुँ, यो देशको हुँ भन्ने सोच्ने गर्दछन् । यिनै आधारमा मानिसले आफ्नो पहिचान बनाएका हुन्छन् । यिनै मानिसमध्येमा म एक हुँ, मलाई सबै मानिसभन्दा धेरै भिन्न छु भन्ने लाग्दैन ।
० यो पृथ्वीगीत जुन तपाईंले रचना गर्नुभयो, कस्तो, कुन परिवेशमा कसरी यो गीत रच्नुभयो र कहिले ?
– यो गीत मैले सन् २००९ मा मस्कोको सेन्टपिटर्सबर्गमा रहँदा रचेको हुँ । पृथ्वीको चाल र अन्तरिक्ष जुन छ यो मलाई पवित्र नीलो बूँदजस्तो लाग्छ । पृथ्वी यति लचकदार, सुन्दर र मनमोहक छ, यहीँ सबै कुराहरू छन् । यही हाम्रो सारा इतिहास, सभ्यता, कला, संस्कृति र कल्पनाको सुन्दर केन्द्रस्थल बनेको छ । सारा प्राणीको इतिहास र भविष्य पनि यही पृथ्वीमा छ । कति सुन्दर ग्रहका हामी बासिन्दा हौँ भन्ने कुराले मलाई प्रभावित गरिरहन्छ ।
० यसको मतलब तपाईं पृथ्वीवासी हुन पाएकोमा निकै गौरव महसुस गर्नुहुन्छ ?
– मलाई लाग्छ कि पूरै ब्रह्माण्डमा पृथ्वीजस्तो सुन्दर अरू कुनै ग्रह नै छैन । प्राणी जगत् सबैको आश्रयस्थल यो पृथ्वीप्रति हामी सबैले गौरव महसुस गर्न सक्छौँ ।
० यही सुन्दर पृथ्वीप्रति नतमस्तक हुँदै पृथ्वीगीतको रचना तपाईंले गर्नुभएको रहेछ, होइन त ?
– मैले पहिला कविता रचना गरेको हुँ, शीर्षक थियो ‘अर्थ एन्थम’ । मैले यो गीत पनि बन्न सक्छ भनेर पहिले कहिल्यै सोचेको थिइनँ । यो हदसम्म गीत बनेर चल्न सक्छ भन्ने मलाई लागेकै थिएन । यो त नेपाल आएपछि मेरो भेट जब सपना घिमिरेसँग भयो, तब मैले उहाँलाई मेरो कविता देखाएको थिएँ । यस कवितालाई सङ्गीतबद्ध गर्न सकिन्छ कि भनेर मैले उहाँलाई देखाएको थिएँ । दुई/तीन हप्तापछि उहाँ मकहाँ आउनुभयो र यसलाई यसरी गाउन सकिन्छ भनेर गुनगुनाउनुभयो । उहाँले कवितालाई गीतमा लैजान केही शब्दहरू परिमार्जन या परिवर्तन गर्न आवश्यक भएको सुझाव दिनुभयो । उहाँको सुझावअनुरूप कवितामा केही शब्द परिवर्तन गरेर यसलाई गीत बनाइयो ।
० पृथ्वीगीतको चर्चा ज्यादै धेरै भयो, तपाईंले यस किसिमको चर्चा पाइएला भन्ने सोच्नुभएको थियो ?
– होइन, मैले यसरी चर्चा पाइएला भन्ने सोचेकै थिइनँ । यो त नसोचेकै कुरा भइरहेको छ ।
० यो गीतको माध्यमबाट तपाईं मानिसलाई के सन्देश दिनुहुन्छ ?
– हाम्रो पृथ्वी जुन छ यो निकै सुन्दर ग्रह हो । यस ब्रह्माण्डमा हाम्रो एक मात्र घर छ, हामीले आफ्नो घरको प्रशंसा गर्नुपर्छ, हामी सबैले यसलाई माया गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको छु मैले गीतबाट । पृथ्वीमा अनेक तरहका प्राणी रहन्छन्, केवल मानवको मात्र यो पृथ्वी होइन । जो हावामा उड्छन्, समुद्रमा रहन्छन् र सतहमा बस्छन्, सबैको बराबरी हक र ममता पृथ्वीप्रति हुन्छ र रहनुपर्छ भन्ने मेरो मान्यता हो । हामी मानिस काला, गोरा या पहेँला जुन–जस्ता रङ्गका भए पनि यही एक पृथ्वी हाम्रो घर हो, यस कुरामा हाम्रो ध्यान रहनुपर्छ । हामी जतिसुकै भाषा, संस्कृति, वर्ण र जुनसुकै देशका भए पनि ‘अल फर वन र वन फर अल’को भावनाअनुरूप हामी चल्नुपर्छ भन्ने सन्देश पनि मैले गीतमार्फत दिन चाहेको छु । हामी सबै मिलेर नीलो झन्डा फहराउनुपर्छ । पृथ्वीको उच्च सम्मान र माया गर्नुपर्छ ।
० तपाईं निकट भविष्यमा अरू कुनै रचना पनि सार्वजनिक गर्दै हुनुहुन्छ ?
– एउटा अर्को रचना छ, त्यसमा पनि सपना घिमिरेजी सङ्गीत भर्दै हुनुहुन्छ । त्यसको शीर्षक ‘जागो मानव’ भन्ने रहेको छ । ‘जागो मानव करो विश्व निर्माण’ भन्ने भाव मेरो गीतमा रहेको छ ।
० तपाईंले एक कविका रूपमा भन्नुभयो– यो पृथ्वी एउटा घर हो, हामी सबै मानव एक हुनुपर्छ र यसलाई सजाउनुपर्छ, समुन्नत पृथ्वीको निर्माणका लागि मानिस एक हुनुपर्छ, तर साम्यवादी (कम्युनिस्ट)हरू पनि एक पृथ्वीको अवधारणा राख्दछन्, उनीहरू पनि विश्वभरिका मानिस एक हुनुपर्छ भन्छन् । उनीहरू पनि झन्डा फहराउने कुरा गर्छन्, फरक यति हो कि तपाईं नीलो भन्नुहुन्छ उनीहरू रातो । कतै तपाईं पनि साम्यवादीहरूको यस्तै धारणाबाट अभिप्रेरित त हुनुहुन्न ?
– होइन, म त्यस विचारबाट प्रभावित छैन । म साम्यवादी अवधारणाबाट धेरै टाढा छु । केवल पृथ्वीको सुन्दरताको रक्षा हामी सबैले गर्नुपर्छ भन्ने मेरो चाहना हो । पृथ्वी र व्यक्तिको बीचमा सीधा सम्पर्क स्थापित होस्, त्यो म चाहन्छु । मेरो राजनीतिक परिकल्पना वैश्विक प्रजातन्त्रको छ । किन प्रजातन्त्र राष्ट्रको सीमाभित्र मात्र सीमित हुन्छ ? हरेक देश प्रजातन्त्रको प्रशंसा त गर्छन् तर वैश्विक प्रजातन्त्रको वकालत कतैबाट भइरहेको छैन । हामी गाउँ पञ्चायतस्तरको चुनावमा भाग लिन सक्छौँ, स्टेटस्तरको चुनावमा भाग लिन सक्छौँ, राष्ट्रियस्तरमा पनि चुनावमा भाग लिन सक्छौँ तर यसभन्दा माथिको प्रजातन्त्रको कल्पना हामी मानवले किन गरिरहेका छैनौँ, मलाई आश्चर्य लाग्छ ।
० यसको मतलब तपाईं वैश्विक प्रजातन्त्रको नयाँ दर्शन स्थापित हुनुपर्छ भन्ने चाहनुहुन्छ ?
– हो, म प्रजातन्त्र सर्वव्यापक होस् भन्ने चाहन्छु । मेरो धारणा छ कि हामी मानिसलाई एक विश्व संसद्को जरुरत छ । विश्वव्यापी रूपमा चुनिएका मानिसको नियन्त्रण यस विश्वमा हुनु वाञ्छनीय हुन्छ भन्ने मलाई लाग्छ ।
० देशको सीमा पनि मेटिनुपर्छ भन्ने तपाईंको धारणा हो ?
– होइन, देशको सीमा यथावत् रहनुपर्छ र देशको सीमा कायम राखेर पनि हामी वैश्विक प्रजातन्त्रको अभ्यास गर्न सक्दछौँ । विश्वस्तरको एक इन्स्टिच्युसन बन्यो भने त्यसले पृथ्वीको रक्षा गर्ने कार्यलाई सहज तुल्याउन सक्छ भन्ने मेरो मान्यता हो ।
० सन्दर्भ बदलौँ, पहिलोपटक तपाईं नेपाल कहिले आउनुभएको थियो ?
– म सन् २००४ मा पहिलोपल्ट नेपाल आएको थिएँ, त्यसबेला म भारतीय विदेश सेवाको तालिममा थिएँ, एक टे«नीको रूपमा मैले यहाँ आउने मौका पाएको थिएँ । मसँगै मेरा ब्याचका सबै साथीहरू नेपाल आएर होटल ह्यातमा बसेका थियौँ ।
० पहिलोपल्ट नेपाल आउँदा कस्तो महसुस भएको थियो ?
– मलाई ज्यादै राम्रो लागेको थियो । त्यसबेला हामी काठमाडौं, पाटन, भक्तपुर र पोखरा गएका थियौँ । काठमाडौं मलाई निकै राम्रो लागेको थियो ।
० त्यसबेला र अहिले आउँदा कुनै अन्तर महसुस भयो कि ?
– यसपटक त अरू राम्रो महसुस भइरेको छ । त्यसबेला केही दिनका लागि मात्रै आइएको थियो, अहिले यहाँका मानिससँग पनि घुलमिल हुन पाइयो । नेपालका मानिस निकै मिलनसार र आत्मीयताले भरिपूर्ण भएको मैले पाएको छु । यहाँ मित्र बनाउन निकै सजिलो भएको छ । हाम्रो सांस्कृतिक समानता छ, भाषामा पनि धेरै समानता पाएको छु । म नेपाली बुझ्न पनि सक्छु, नेपाली भाषा सिक्न मलाई कुनै कठिनाइ महसुस भइरहेको छैन । नेपाली पढ्न सक्छु, बोल्नका लागि पनि प्रयास गरिरहेको छु । मलाई नेपाल आफ्नै दोस्रो घरजस्तै लागिरहेको छ ।
० नेपालीहरूको समस्याचाहिँ तपाईंले के देख्नुभयो ?
– मैले कुनै समस्या देखेको छैन ।
० यो त कूटनीतिक जवाफ भयो, कविका रूपमा भन्नुहोस् न ।
– (लामो हाँसो) होइन, त्यस्तो केही छैन, मानिस केही पाउन चाहन्छन्, नपाउँदा समस्या उत्पन्न भएजस्तो लाग्छ, यो आमकुरा हो । यहाँको समस्या यहीँका मानिसलाई थाहा हुन्छ, हामी त साथ दिनका लागि मात्र यहाँ छौँ ।
० यस अखबारको माध्यमबाट तपाईंलाई थप केही भन्नु छ ?
– हामी सबैले आ–आफ्नो राष्ट्रहितको काम गर्दागर्दै विश्व हितका लागि पनि काम गर्नुपर्छ ।

‘शान्त, शीतल र पवित्र मनका लागि शुभ चिन्तन आवश्यक’
ब्रह्मकुमारी लक्ष्मी नारायणगढस्थित ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रकी प्रमुख सञ्चालिका हुनुहुन्छ । मानवलगायत संसारका हरेक प्राणीका हित चिन्तकका रूपमा प्रख्यात ब्रह्मकुमारी लक्ष्मीको विचार दु:खी मानव समुदायका लागि ‘औषधि’ सावित हुने विश्वासका साथ प्रकाशित गरिएको छ ।
० ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र कहिले स्थापना भयो, कसले र किन स्थापना गरेको हो ?
– यस राजयोग सेवा केन्द्रको स्थापना वि.सं. १९९४ मा भएको हो । यस संसारलाई स्वर्णीम संसार बनाउन मानव आत्मामा दैवी संस्कारको वीजारोपण गर्न स्वयम् यस सृष्टिका रचयिता, सर्वआत्माहरूका पिता नीराकार ज्योतिस्वरूप परमात्माले एक मानवीय तन दादा लेखराज जसलाई प्रजापिता ब्रह्मा भनेर सम्बोधन गरिन्छ । उहाँको शरीरको माध्यमबाट यस संस्थाको स्थापना गर्नुभएको हो ।
० नेपालमा ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रका कति शाखा र उपशाखा छन् ? कति देशमा यो संस्थाको शाखाहरू रहेका छन् ?
– नेपालमा करिब हजारभन्दा बढी शाखा–उपशाखा छन् । विश्वको एक सय ४२ राष्ट्रमा सेवा केन्द्रहरू स्थापना भइसकेका छन् ।
० तपार्इंहरूलाई हिन्दूधर्म प्रचार गर्ने मान्छेहरू भन्ने गरिएको सुनिन्छ । कति सत्यता छ यो भनाइमा ?
– हामी त केवल यो ईश्वरीय ज्ञान सबै आत्मालाई प्रदान गरेर नैतिक एवम् चारित्रिक उत्थान गर्ने सेवाका लागि निमित्त मात्र हौँ । समाजमा हामीलाई कसैले के, कसैले के आ–आफ्नो दृष्टिकोणले सम्बोधन गर्ने गर्नुभएको पाइन्छ ।
० विश्वभरि कुल मिलाएर कति जना मानिस अटुट रूपमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आबद्ध छन् ?
– अहिले विश्वभरि करिब ११ लाखभन्दा बढी मानिस यस राजयोग सेवा केन्द्रद्वारा दिइने ज्ञान नियमित रूपमा श्रवण तथा ग्रहण गरिरहनुभएको छ ।
० ब्रह्मकुमार, ब्रह्मकुमारी बन्न कति समयसम्म ज्ञान हासिल गर्नुपर्छ वा कति र कस्तो अभ्यास गर्नुपर्छ ?
– त्यसका लागि कुनै निश्चित समयको सीमा छैन । केवल यो ईश्वरीय ज्ञान लिने तथा राजयोगको साधना गर्दै जाँदा जीवनमा सकारात्मक परिवर्तन स्वत: आउँदै गएको कुरा महसुस आफूलगायत अन्यलाई पनि हुँदै गएपछि गौरव अनुभव हुन्छ ।
० कुनै–कुनै व्यक्तिलाई यो संस्थामा आबद्ध भएको लामो समयसम्म पनि रिस र अहंकार कमी नहुने रहेछ नि, किन होला ?
– ज्ञान भनेको कुरा केवल श्रवण गर्ने मात्र नभएर त्यसलाई जीवनमा ग्रहण गर्ने कुरा महत्वपूर्ण हुन्छ । श्रवण गर्न त सजिलो छ तर ग्रहण गर्न राजयोगको साधना अर्थात् ध्यान पनि गर्नुपर्ने हुन्छ । जसले योग साधना गर्दैन उसलाई आफ्नो पुरानो स्वभाव–संस्कारमा परिवर्तन ल्याउन गाह्रो हुन्छ । यो ज्ञान र योगको पढाइ भएकाले कुनै–कुनै फेल हुन पनि सक्छ ।
० ब्रह्मकुमार, ब्रह्मकुमारीहरू ईश्वरीय ज्ञान प्राप्त नगरेका व्यक्तिहरूभन्दा कुन–कुन कुरामा फरक हुन्छन् ?
– यो ईश्वरीय ज्ञान सुन्ने र राजयोगको साधना गर्नेहरूको आहार, विचार र व्यवहारमा अलौकिकता अवश्य नै देखापर्छ । त्यसैलाई नै भिन्नता भनिएको हुनुपर्छ ।
० एक–आपसमा सम्बोधन गर्दा तपाईंहरू भाइजी र बहेनजी भन्नुहुँदोरहेछ, नेपाली भाषामै बहिनी, दिदी, भाइ, दाइ, आमा, बा, काका भन्न मिल्दैन र ?
– आफ्नो लौकिक व्यवहारमा त जो सम्बन्ध छ त्यो नै सम्बोधन गर्नुपर्ने हुन्छ । यहाँ समानताको भावलाई प्राथमिकता दिइने भएकाले नेपाली भाषामा भाइ–बहिनी भन्न मिल्छ ।
० तपाईंहरू सात्विक भोजन ग्रहण गर्नुहुन्छ भन्ने सुनिन्छ । सात्विक भोजन भनेको कस्तो भोजन हो ? यो भोजनबाट के फाइदा मिल्छ ?
– सात्विक भोजनको प्रभाव तन र मन दुवैमा राम्रो पर्ने भएकोले नै हामीले सात्विक भोजन ग्रहण गर्छौं । तामसिक भोजनले शरीरमा रोग त निम्त्याउँछ नै त्यसको साथसाथै मनलाई आलसी, उत्तेजित, हिंसात्मक बनाउने भएकाले त्यसलाई ग्रहण नगर्नु नै सबैका लागि उचित हुन्छ ।
० ईश्वरीय ज्ञान प्राप्त गर्न कुुन उमेर उपयुक्त हुन्छ ?
– ज्ञान भनेको जीवन जिउने कला हो । त्यसैले यसमा उमेरको कुनै हदबन्दी छैन ।
० बिहे नगर्नेहरू नर्क जान्छन्, बिहे गरेर छोराछोरी जन्माएर नातिनातिनीको मुख हेरेर मर्दा पो स्वर्ग गइन्छ भन्नेहरू प्रशस्तै छन्, के जवाफ दिनुहुन्छ ?
– सुख–दु:ख, नर्क–स्वर्ग त आफ्नो कर्मअनुसार पाइने प्रतिफलको नाम हो । मान्यताहरू अनेक भए पनि वास्तविकता भने एउटै हुन्छ ।
० धेरैजसो मान्छे एकपटक अवश्व माउन्ट आबु जानुपर्छ भन्छन् । के छ माउन्ट आबुमा, किन जानैपर्ने हो त्यहाँ ?
– माउन्ट आबु त्यसै पनि एक दर्शनीय स्थल मानिन्छ । र, अर्को कुरा यस ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय पनि भएकाले त्यहाँ भौतिकता र आध्यात्मिकताको सुन्दर समायोजनबाट व्यवस्थापन गरिएको उदाहरणीय नमुनाको दर्शन गर्दा जीवन र जगत्प्रति हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आउने भएकाले त्यहाँ पुग्नु अवश्य पनि राम्रो कुरा हो ।
० सेवाकेन्द्रहरूमा पुरुषभन्दा महिलाको ज्यादा सहभागिता देखिन्छ, किन होला ?
– ज्ञान त सबैलाई समान रूपमा दिइएको हुन्छ तर यस ईश्वरीय ज्ञानमा महिलाको अलि बढी नै सहभागिता रहेको पाइन्छ ।
० अरू प्राणीहरूमा भन्दा मानव समाजमा अपराधका शृङ्खलाहरू बढ्दै गएका छन्, किन होला ? यसप्रकारको अपराधको अन्त्य कहिले, कसरी हुन सक्ला ?
– अन्य प्राणीहरूले आफ्नो आहारमा परिवर्तन ल्याएको छैन । तर, मानवको आहारमा तामसिकता बढेको छ । आहारमा परिवर्तनका लागि विचारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । वास्तवमा विचारमा स्थायी परिवर्तन ल्याउनका लागि नै ज्ञान र ध्यानको आवश्यकता छ ।
० तुलनात्मक रूपमा अरू मानिसभन्दा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रसँग आबद्ध मानिस केही दयालु, सहयोगी र अनुशासित देखिएका छन्, यसो हुनुमा के कारण बुझ्नुहुन्छ ?
– विचारको प्रभाव व्यवहारमा पर्छ । शुभचिन्तन, श्रेष्ठ चिन्तनको अभ्यासले मन स्वाभाविक रूपले शान्त, शीतल र पवित्र बन्न पुग्छ ।
प्रस्तुति : वीरेन्द्रमणि पौडेल