जियाको भागाभाग

जियाको भागाभाग


funtime‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै’ भन्ने नेपाली उखान निकै लोकप्रिय छ । अनि यो उखानलाई चरितार्थ गराउनेहरूको उपस्थिति पनि समय–समयमा भइदिँदा उखानले झनै व्यापकता पाउने गरेको छ । अरू कस–कसको जीवनमा यो उखान चरिचार्थ भएको छ ? त्यसको लेखाजोखा राख्न नसकिए तापनि जिया केसीको जीवनमा भने यो उखानले सार्थकता पाएको छ । झापाकी जिया पहिले जानकीको नामले चिनिन्थिन् र सिनेमामा आएपछि उनी भइन् जिया । तर, विडम्बना † नाम फेरेर मात्र केही हुँदैन रहेछ । सोच, मानसिकता अनि परिवेश त्यस्तै भएपछि नामले के नै गर्दो रहेछ र ? पहिरनमा जानकीबाट जिया भएपछि केही फरक त देखियो तर मानसिकतामा भने उनमा खासै परिवर्तन आएन ।
एटीएम नामक फिल्म खेलेपछि जिन्दगीमा पुग्ने बद्नामी त जियाले हात पारिसकेकी नै थिइन् । निकै विवाद र आलोचना खेप्नुप-यो उनले । कुनै सामाजिक कार्यक्रममा पनि जान सकिनन् जिया त्यतिबेला । लगभग सामाजिक बहिष्कारको अवस्थामा पुग्दा बल्ल उनले आफूले गल्ती गरेको महसुस गरेकी थिइन् र यस्ता फिल्महरू पछि नखेल्ने कुरा पनि बताइन् । आत्मालोचना गरेकी जियाकै एटीएमका कारण चलचित्र ‘हो यही माया हो’ को युनिट पनि तनावमा थियो । यो चलचित्रमा सभ्य र शालीन भूमिकामा देखापरेकी जिया एटीएमका कारण बद्नाम भएकी थिइन् भने ‘हो यही हो माया हो’को प्रचारप्रसारमा जियालाई लिएर जाँदा एटीएमका कारण विवाद खडा हुने र दर्शकहरूले बहिष्कार गर्ने त होइनन् ? भन्ने डर पनि यो चलचित्रको युनिटलाई थियो । तर यसो हुन पाएन । हो यही माया होको प्रचारप्रसारको क्रममा ‘अबदेखि एटीएमजस्तो फिल्म खेल्दिनँ । मैले यो बद्नामबाट ठूलो शिक्षा पाएकी छु’ भनेर खोक्ने जियाले यो बोलेको सात दिनमा नै एटीएमलाई पनि माथ खुवाउने गरी अश्लील सम्वाद बोल्दै अश्लील दृश्यहरू पस्कने भूमिकामा खेल्न पुगिन् चलचित्र ‘रङ वे’ मा । गल्ती भएको महसुस गर्दै मिडियामार्फत आत्मालोचना गरेकी जियाले आफ्नो बोली एक हप्तामा नै फेरेपछि ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै’ भन्ने उखान मेल खान पुगेको छ । अहिले ‘सी गे्रड’को चलचित्र ‘रङ वे’का केही दृश्य अन लाइन र ‘यू ट्युब’मा छ्यापछ्याप्ती हुन थालेपछि अब जियाले एटीएमबाट भन्दा पनि ‘रङ वे’बाट बद्नाम, छिःछिः र बहिष्कृत हुनुपर्ने अवस्था आउने निश्चित छ ।
आफ्नो बोलीको वजन राख्न नसक्ने अनि पैसा पाइने र फिल्म खेल्ने लोभमा जस्तो पनि दृश्य दिन पछि नसर्ने जियाको क्यारियरमा अब भने खिया लाग्ने निश्चित छ । ‘यू ट्युब’मा चलचित्र ‘रङ वे’को दृश्य हेर्ने जोकोही पनि जियालाई गाली गर्छन् र तथानाम भन्न पछि पर्दैनन् । नेपाली सिनेमामा राम्री, असल र सफल कलाकार बन्ने सपना बोकेर झापाबाट काठमाडौं हानिएकी जियाले नाम त होइन थोरै समयमा बद्नामी भने कमाइन् । एकचोटिको गल्तीलाई माफ दिन सकिन्छ तर बारम्बार गल्ती दोहो-याइरहने जियाको क्यारियरमा अब बद्नामीको ठूलै दाग लाग्ने निश्चित छ । जियाले त यस्तो दृश्यमा खुलेर अभिनय गरिन्, तर यस्तो सिनेमा बनाउने निर्माता अनि निर्देशक पनि यतिबेला बद्नाम नै हुने गर्छन् । यस्तो फिल्म बनाएमा धेरै पैसा कमाइने सपना देखेका निर्मातालाई सम्झाउन सक्ने निर्देशक दीपक श्रेष्ठलाई पनि मान्नैपर्छ । आफ्नो नाम, इज्जत र सम्मानलाई दाउमा राखेर ‘सी गे्रड’को सिनेमा बनाउन निर्देशक दीपक श्रेष्ठलाई कसले पे्ररणा दियो या कहाँबाट उत्साह मिल्यो उनलाई । अहिलेसम्म राम्रो सिनेमामेकरको रूपमा चिनिएका दीपकले पनि आफ्नो हैसियत बिर्सिएर अश्लील सिनेमा बनाएपछि उनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । राम्रा फिल्ममेकरको रूपमा हेरिने दीपक श्रेष्ठले पनि अश्लील फिल्मको आड लिन थालेपछि उनलाई प्रश्न गर्न थालिएको छ कि ‘के परिवारसँग बसेर उनले रङ वे हेर्न सक्छन् त ?’
आफूले बनाएको सिनेमाको नाम लिन आफैँलाई असजिलो हुने गरेको छ दीपक श्रेष्ठलाई । आमाको आशीर्वाद, दुःख, अजम्बरी माया, हिम्मत जस्ता एक से एक फिल्म बनाएका पुराना सञ्चारकर्मी अनि निर्देशक दीपक श्रेष्ठ अनि ‘रङ वे’का कारण ज्यादै आलोचित हुने निश्चित छ । यता यस्तो फिल्ममा लगानी गर्ने निर्माता आर्थिक रूपमा मारमा पर्ने कुरा पनि निश्चित छ । महिला चलचित्रकर्मी सङ्घले त ‘रङ वे’लगायतका अश्लील सिनेमालाई बन्द गर्नुपर्ने मागसहित बृहत् दबाबमूलक कार्यक्रमको आयोजना गर्ने भएको छ देशभर । ‘रङ वे’सँगै यसका निर्देशक र नायिकाविरुद्ध बजारमा खराब प्रतिक्रिया सुरु भएपछि जिया यतिबेला गुप्तबासमा छिन् ।
पर्दामा खुलेर प्रस्तुत हुने जिया अहिले खुलेर हिँड्न सकेकी छैनन् । आफैंलाई लज्जित बनाउने यस्तो फिल्म किन खेल्छिन् जिया अनि किन बनाउँछन् निर्देशक दीपक श्रेष्ठ ? कुरा बुझिसक्नु छैन । अहिले भागाभागको अवस्थामा छिन् जिया ।

सुमन ‘क्यासिनो’मा देखिए
नेपालीहरूलाई क्यासिनोमा प्रवेश निषेध छ । तर, यो कुराको जानकारी हुँदाहुँदै पनि अटेर गर्दै धेरै नेपाली क्यासिनेमा छिर्छन् र अन्ततः प्रहरीको फन्दामा पर्छन् ।
केही दिनअघि मात्र नियमको वास्ता नगर्दा गायक यम बराल प्रहरीको फन्दामा पर्न पुगे । गलत क्रियाकलापका कारण मिडियाहरूमा बद्नामी कमाउन पुगे यम । गायक यमको यो चर्चा सेलाउन नपाउँदै नायक सुमन सिंह पनि क्यासिनोतिर धाउन थालेको समाचारले यतिबेला सिनेमा बजार गरम भइरहेको छ । उनलाई क्यासिनेमामा प्रवेश गराउने भने रमेश बुढाथोकी र यादव गुरुङ पो रहेछन् । बजारको हल्लाअनुसार बुझ्दै जाँदा त सुमन आफ्नो मर्जीले क्यासिनो गएका रहेनछन् । उनी त चलचित्र ‘ग्याम्बलर’का लागि यो क्यासिनो गएका रहेछन् । ‘म त कलाकार हुँ । निर्माता–निर्देशकले सुम्पेको चरित्र निभाउनु मेरो कर्तव्य हो । म क्यासिनेमा जुवा खेल्न होइन । जुन खेलेको अभिनय गर्न गएको हुँ,’ सुमनले वास्तविकता बताए । भदौ ७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ग्याम्बलर’को छायाङ्कनका लागि क्यासिनोमा जाँदा धेरैले सुमन क्यासिनो छि-यो भनेर हल्ला गर्दा सुमनलाई चित्त दुखेको छ । उनले भने, ‘सुटिङबाहेक म अहिलेसम्म क्यासिनो गएको छैन । तर, यो चलचित्र क्यासिनोका जुवाडेदेखि ग्याम्बलरसम्मको कथा–व्यथा समेटिएको छ । वास्तवमा म जुवाडे होइन, फिल्मको चरित्र जुवाडे हो,’ सुमनले भने ।

बेलायतमा थकालीहरूले भूपिलाई सम्झने
थकाली वेलफेयर सोसाइटी यूकेको आयोजनामा राष्ट्रिय कवि स्वर्गीय भूपि शेरचन स्मृति खुला तारा प्रतियोगिता, फालो तथा ग्रीष्मकालीन बीबीक्यू हुने भएको छ । उक्त कार्यक्रममा विभिन्न सङ्घ÷संस्था तथा थकाली वेलफेयर सोसाइटी यूकेको अनुषधरहरूमध्ये करिब १२ टिमले भाग लिने भएका छन् । उक्त दिन भूपि कप, थासाङ कप, विभिन्न स्थानमा रहेका थकालीहरूबीच अन्तरक्षेत्र प्रतियोगिताका लागि कोषाध्यक्ष कप बडो प्रतिस्पर्धात्मक ढङ्गसँग भिडन्त हुने भएको छ । गत वर्षको भूपि कप तथा थासाङ कपका विजेता मगर सङ्घ यूके र थकालीहरूबीचको कोषाध्यक्ष कप अल्दर्शत थकाली टिमले हात पार्न सफल भएको थियो । त्यस्तै गरेर पम्परागतमा म्याग्दी, झिँ गाउँ हाल फानबोरो इङ्ग्ल्यान्ड बस्नुहुने यामबहादुर पुन र रिकर्भतर्फ प्यूठान जिल्ला सेउलीवाङ गाउँ आश, इङ्ग्ल्यन्ड बस्नुहुने जित शेरचन क्रमशः सर्वोकृष्ट धनुषधर भएका थिए । यो वर्षको दाबेदार मगर सङ्घ यूकेको ए टिम हुने चर्चा चले तापनि त्यस दिनको खेलको परिणामले निर्णय दिनेछ । सम्पूर्ण धनुषेहरूलाई आफूले चाहेको नतिजा ल्याउन थकाली वेलफेयर सोसाइटी यूकेले बधाई दिएको छ ।