बैँक भौचर बेच्न घरधनीसँग साँठगाँठ

बैँक भौचर बेच्न घरधनीसँग साँठगाँठ


pathakmanchवैदेशिक विभाग परिसरमा रहेको एभरेष्ट बैंकका म्यानेजर सरोज श्रेष्ठ र सो स्थानमा रहेको सडक–पुलछेउका घरधनी अग्नि भन्ने व्यक्ति मिलेर निःशुल्क प्राप्त हुने बैंक भौचरलाई अवैध रकम लिएर बिक्री–वितरण भइरहँदा नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायले पत्तो पाउन सकेको छैन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बसेको घरधनी प्रहरीको जागिर छाडेर बसेका रहस्यमयी पात्र हुन् । अग्नि नामक ती घरधनीले दैनिक लाखाँै रकम अनियमित तरिकाले भ्रष्टाचार गरिरहँदा वैदेशिक रोजगार विभाग र सम्बन्धित निकाय मौनप्रायः बसेका छन् ।
घरधनी अग्निको ट्राभल्स, होटल, गेस्टहाउससँग राम्रो सम्बन्ध रहेको र उनीमार्फत विभागमा अवैध धन्दा हुँदै आएको करिब चार वर्ष पुग्नै लागेको छ । यो अवधिमा उनले करिब १० करोडको हाराहारीमा अवैध रकम कमाएको चर्चा वैदेशिक रोजगार विभागवरपर चल्ने गरेको छ । एभरेष्टका घरधनी अग्निले बैंक म्यानेजर श्रेष्ठसँगको मिलेमतोमा दैनिक पाँच सयको हाराहारीमा राजस्वका भौचर वितरण गर्ने गरेका छन् । म्यानेजर श्रेष्ठको ठाडो निर्देशनमा अग्निमार्फत आएकाको भन्दा बाहिरका व्यक्तिबाट आएकाको बैँक भौचर बुभ्mदै नबुझ्ने (राजस्व नकाट्ने) गरिएको छ । व्यक्तिगत नयाँ, पहिलोपटक श्रम स्वीकृति, नवीकरण र फाइल सबैखाले श्रम स्वीकृतिको काम गर्दै आएका अग्नि म्यानपावर व्यवसायीसँग मिलेर अवैध रूपमा मानव ओसारपसारमा लागेको पनि बुझिन्छ । उनको विभागदेखि अध्यागमनसम्म च्यानल÷लिङ्क भएका कारण अवैध धन्दामा सक्रिय रहेको स्पष्ट बुझ्न सकिन्छ । उनी स्वयम्ले प्रहरीको जागिर छाडेका हुन् वा कारबाहीमा परेका हुन्, चासोको विषय बनेको छ । बैंक म्यानेजर खाजा खाने निहुँ बनाएर उनकै घरमा रहेको खाजाघर जाने र त्यही मौकामा ठेलीका ठेली व्यक्तिगत राजस्वका भौचर घरधनी अग्निसम्म पु-याउने गरेका छन् ।
वैदेशिक रोजगारीमा जान हिँडेका व्यक्तिहरूको पहिलो वासस्थान होटल, गेस्टहाउस र टिकटको मात्र काम गर्न स्वीकृति लिएका ट्राभल्सहरूले सम्बन्धित व्यक्तिसँग श्रमस्वीकृति निकाल्ने निहँुमा मोटो रकम असुल्दै उनीहरूलाई वैदेशिक रोजगार विभागसम्म पु-याएर ठगिरहँदा सम्बद्ध निकायले यसलाई कन्ट्रोल गर्ने साहस गरेका छैनन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहँदादेखि श्रमस्वीकृति निकाल्न सम्बन्धित व्यक्ति नै लाइनमा बसेर कल्याणकारी राजस्व, विमालगायतका व्यवस्था विभागले गरेको थियो । वैदेशिक रोजगारीमा जानुअघि कल्याणकारी राजस्व, बिमा र श्रमस्वीकृति अनिवार्य सर्त हुन् भने राजस्व र बिमा नभई श्रमस्वीकृति निस्कँदैन । सेटिङद्वारा वैदेशिक रोजगारीमा पठाउँदा या जाँदा भने यी सबै प्रक्रिया पूरा गर्नुपर्दैन ।
त्यसैगरी विश्वहिन्दू युवा सङ्घको नाम बेचेर साइकलयात्री ओमभक्त मैनालीले मानव तस्करी गरिरहेका छन् । मानव तस्करीको सिलसिलामा अप्ठ्यारो पर्दा आपूm विश्वहिन्दू युवा सङ्घ र शिवसेना नेपालको सदस्य भएको बताउने अन्यथा तराईलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा पासपोर्ट सङ्कलन गरेर म्यानपावरमा बुझाउने र प्रतिपासपोर्ट १० हजारका दरले कमिसन लिने अनि व्यक्तिगत रूपमा भिजा निकालेर सर्वसाधारणलाई वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् उनले । आफू साइकलयात्री भएको बताउने मैनालीले साइकलयात्रालाई मानव तस्करीको रूपमा प्रयोग गर्दै आएका छन् ।
– अरुण श्रेष्ठ, काठमाडौं

पसिनाको मूल्य खोज्न म कहाँ जाऊँ ?
गोर्खा सञ्चार सहकारी संस्था लि.का अध्यक्षले संस्थाद्वारा प्रकाशित हुने ‘द गोर्खाज’ नामको साप्ताहिक पत्रिकामा बिक्री–वितरणको काम गर्नेगरी गत ०६८ पुस १० मा मलाई तलबी कर्मचारी नियुक्त गरेका थिए । पटक–पटक सो संस्थाको कार्यालयमा व्यवस्थापक परिवर्तन भएको कारण दर्शाउँदै तलब दिने कार्यमा ढिलाइ गर्न थालियो । व्यवस्थापक हरि लिम्बूको समयमा त्यहाँबाट मैले ०६९ मङ्सिरसम्मको तलब रु. २० हजार ५ सय ७७ लिनुपर्नेछ । गत पुसदेखि नयाँ व्यवस्थापकका रूपमा गजेन्द्र नेम्वाङ देखापरेका छन् । त्यसयताको थप १५ हजार गरी हुन आउने जम्माजम्मी ३५ हजार आजसम्म जति धाउँदा पनि दिइएको छैन । उनी पनि आफू वित्तीय कारोबार हेर्ने व्यक्ति होइन भन्दै पन्छिने गरेका छन् । मलाई बिक्री–वितरणको जिम्मा दिने प्रेमबहादुर बेघालाई सम्पर्क गर्न खोज्दा फोन नउठाउने र भेट भइहाले पनि त्यत्तिकै आलटाल गर्ने गरेका छन् । हुँदाहुँदा बेघाले ‘तिमी जहाँ जानुपर्छ जाऊ’ भन्दै धम्क्याउन पो थालेका छन् । अब उनको धम्की र पसिनाको मूल्य नपाएको पीडा बोकेर म कहाँ जाऊँ ?
– विकास सिवाकोटी, ९८०३४१९८२१

कहिले चेत्ला खैरेनी उमाविले ?
खैरेनी उमाविका प्राचार्य माधव पौडेलले आफू प्रअ रहँदा पदको दुरुपयोग गरी लिएको दोहोरो सुविधा असुलउपर गरी विद्यालयको खातामा जम्मा गर्नुपर्ने भएको छ । सो विद्यालयका तत्कालीन प्रअ पौडेलले ०६५ साउनदेखि ०६६ असारसम्म एकै समयमा दोहोरो हाजिर कपी राखी खाएको दोहोरो तलब फिर्ता गर्ने गरी अख्तियारले ०७० जेठ २३ को निर्णयमा ‘माधव पौडेललगायत सो विद्यालयको शिक्षकहरूबाट दोहोरो लिएको रकम असुली गरी विद्यालयको खातामा जम्मा गराई सोको जानकारी आयोगलाई गराउन जिशिका तनहुँलाई दिर्नेशन दिने’ निर्णय भएको थियो ।
खैरेनी उमावि प्रकरणले देशभरका दोहोरो सुविधा लिने दिने विद्यालयको अनुगमन गरी एकै कार्यकालका दोहोरो सुविधा लिएकाहरूबाट असुलउपर गराई कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । यो प्रकरणले समग्र मुलुकभित्र हुने अनियमिततालाई रोक्ने अनुकरणीय कार्य भएको बताइएको छ । खैरेनी उमाविमा भएको आर्थिक घोटाला प्रकरणले देशभरका दोहोरो तलब सुविधा लिने विद्यालयलाई छानबिन र कारबाही हुने भएपछि राज्यकोषले न्याय महसुस गर्ने अवस्था आएको छ भने पदको दुरुपयोग गरी आर्थिक अपचलन गर्नेहरूमा फिर्ता गर्ने रकमको जोहो गर्न ऋण खोज्दै भौँतारिएको पाइएको छ ।
उमेर हदमा अवकाश पाइसकेका प्रअ पौडेल प्रपञ्च मिलाएर सोही विद्यालयमा उमावि कोअर्डिनेटर बन्न सफल भएका थिए । यी प्रकरणहरू पदीय मर्यादा र कानुनसम्मत नरहेकोबारे पटक–पटक समाचार सार्वजनिक भइसक्दा पनि उनले टेरपुच्छार लगाएका थिएनन् । यस्तै खैरेनी उमाविले गत वर्ष असारका अङ्ग्रेजी विषयका पूर्णकालीन शिक्षक हीरामणि पौडेललाई अवकाश दिएको विषयमा पनि अख्तियारले ‘दुष्परिणाम’ सच्याउन र पौडेललाई यथावत् हाजिर गराउन भनेको थियो । जताबाट पनि पराजित मात्र हुने गरी निर्णय हुन थालेपछि खैरेनी उमावि हारगुहार गर्न दौडधुप गर्दै रहेको बुझिएको छ । शिक्षक हीरामणि पौडेललाई यथावत् हाजिर नगराउने बरु तालुक अड्डालाई स्पष्टीकरण लेखेर मुद्दा खेप्ने मनस्थितिमा पुगेको खैरेनी उमावि स्रोतले बताएको छ । पटक–पटक विवादमा मुछिएको खैरेनी उमाविले अझै पनि चेत पाएको छैन ।
– यदुनाथ बञ्जारा, पोखरा