सेनाका जवानले चलाए आफैंमाथि गोली

सेनाका जवानले चलाए आफैंमाथि गोली


नेपाली सेनाका एक जवान आफैंले चलाएको गोली लागेर सख्त घाइते भएका छन् । घटना डोल्पाको हो ।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले हिजो विहिबार असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैंले गोली चलाई घाइते भएका थिए ।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समाललाई उद्धृत गर्दै राससले जनाएको छ ।

डा. अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने अवस्था रहेको भन्दैकाठमाडौं लैजान सल्लाह दिएका थिए । उनका अनुसार घाइते सैनिकको अवस्था गम्भीर छ तर काठमाडौंमा उपचार हुन्छ, बिरामीको होस् गुमेको छैन ।

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हुँदै काठमाडौं लगिएको छ ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए ।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ । घाइते जवानको अवस्था गम्भीर भए पनि होस्मा नै रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए । घाइते सैनिक जवान ध्रुव लेखेर नै आफ्ना भनाइ राख्छन् ।