दुर्घटनामा परेका पत्रकार खनालको निधन

दुर्घटनामा परेका पत्रकार खनालको निधन


झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ ।

नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवम् नेपाल पत्रकार संघका पूर्वअध्यक्ष खनाल ७१ वर्षका थिए ।

बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा गएराति खनालको निधन भएको उनका भतिजा भानुभक्त खनालले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे.१ज ६५८ नम्बरको जिपले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने जिपका चालक र सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

मृतकको शवलाई कन्काई नदीमा आजै दिउँसो अन्त्येष्टि गरिने भएको छ ।

२००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ– ९ सामथाङमा जन्मिएका खनाल बिर्तामोड–४ बसोवास गर्दै आएका थिए ।

उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गरे भने मेरो अमेरिका यात्रा र बेलाबेलाको बोली नामक दुईवटा कृति प्रकाशित गरेका थिए । उनका एक श्रीमती र दुई छोरा छन् ।