गाउँमा बिजुली पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

गाउँमा बिजुली पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’


झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ राखिएको छ ।

मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कन्काई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

उक्त गाउँमा दुई घरधुरी रहेका छन् । तीमध्ये सय घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । ‘बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए,’ चोक नामकरण समितिका अध्यक्ष श्याम ओलीले भने, ‘कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युतको समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भनेलगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।’

विद्युत् समस्याका विषयमा स्थानीयले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’अन्तर्गत २२ लाख रुपैयाँको लागतमा सय केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुंगाबाट ६ किलोमिटर दक्षिण रहेको यो गाउँमा कुलमान घिसिङकै फोटोअंकित बोर्डसमेत राखिएको छ ।

पर्याप्त भोल्टेज भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेको साँवाले बताए ।