रत्ननगरका सुत्केरी गाईलाई पाँच सय भत्ता

रत्ननगरका सुत्केरी गाईलाई पाँच सय भत्ता


चितवनको रत्ननगर नगरपालिकाले चालू आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।

नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।

‘अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ, तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ,’ पौडेलले भने ।

भत्तास्वरूप प्रतिगाईले पाँच सय रुपैयाँ पाउनेछन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउनेबित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकारी दिएको छ ।

प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले पाँच सय रुपैयाँ मात्रै दिन लागिएको हो ।

रत्ननगर नगरपालिका क्षेत्रमा करिब ३५ हजार गाई छन् भने व्यावसायिक रूपमा सयवटा गाई फार्म छन् । तर, स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।

रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार दुई सय छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छन् भन्ने अनुमानले करिब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनको भनाइ थियो ।

यसका लागि रु. ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले रु. २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए । थोरै गाईपालन गर्ने किसानले समेत भत्तास्वरूपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशीराम भुसालले बताए ।

‘यो रकमले केही हुने त होइन, तर पनि सम्बोधन ग¥यो, सम्झ्यो भन्ने हुन्छ नि,’ उनले थपे । सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिन नसक्दा धेरै व्यवसायी पलायन भइरहेकोसमेत भुसालले बताए ।

रत्ननगर जिरौनामा चारवटा गाईपालन गर्दै आएका डोलबहादुर बस्नेतका दुईवटा गाई ब्याउने छन् । ‘अब गाई ब्याउनेबित्तिकै खबर गर्छु,’ उनले खुसी व्यक्त गर्दै भने । रत्ननगरको पिठवास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउने छन् ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भए पनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिए ।

रत्ननगमा प्रतिलिटर दूधको एक रुपैयाँ अनुदानका कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर रु. एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ ।

यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले आठ लाख रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ ।