जाजरकोटमा पहिरोमा पुरिएर दुईको मृत्यु

जाजरकोटमा पहिरोमा पुरिएर दुईको मृत्यु


अविरल वर्षापछि आएको पहिरोमा परेर जाजरकोटमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ६ गर्खाकोट छिर्कका ५५ वर्षीया लली बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढा रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर अन्य तीनजना घाइते भएका छन् ।

भक्तबहादुर बुढाको घर पहिरोले बिहीबार राति ११ बजेतिर भत्किँदा उनीहरूको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । पहिरोमा परी घाइते हुनेमा घरमुली भक्तबहादुर, उनका नाति १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते खिमाको अवस्था गम्भीर रहे पनि अरूको सामान्य रहेको छ । मृतकको पोस्टमार्टम र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको उद्धार गर्न प्रहरीलाई ४ घन्टा लागेको थियो । पहिराले घर माथिको रुख नै बगाउँदा घर पुरिएको बताइएको छ । घटनास्थल सदरमुकाम खलंगावाट तीन दिनको पैदल दूरीमा छ ।