राजनीतिक दलहरू असफल भएकै हुन्– दिवाकर पन्त, राजनीतिक विश्लेषक

राजनीतिक दलहरू असफल भएकै हुन्– दिवाकर पन्त, राजनीतिक विश्लेषक


antarbichar० नेपालको राजनीतिक घटनाक्रमलाई कसरी नियालिरहनुभएको छ ?
– विदेशमा रहँदा पनि पत्रपत्रिका र अनलाइन मिडियामार्फत नेपालको राजनीतिबारे बुझिरहेकै हुन्थेँ । अहिले स्वदेशमै रहँदा राजनीति झन् नजिकबाट बुझ्ने अवसर मिलेको छ । पछिल्लो राजनीति हेर्दा आशा जगाउनेभन्दा घटनाक्रमहरू कता–कता निराशा बढाउने नै पाएको छु । हुन त निर्वाचन आयोगले निर्वाचनको तयारी भइरहेको दाबी गरिरहेको छ । चुनावका लागि केही काम भइरहेको पनि होला । तर, जुन रूपमा काम अगाडि बढ्नुपर्ने हो त्यसरी प्रक्रिया अघिबढेझैँ लाग्दैन । निर्वाचनको कुरा त सबैले गरिरहेका छन्, तर अन्तरहृदयदेखि सोअनुरूपको व्यवहार कसैको पाइएको छैन । एउटा राष्ट्रको संविधान बनाउने विषयलाई आवधिक चुनाव गर्नेजस्तो सोचले काम गर्नु उन्नत भविष्यको द्योतक हुन सक्दैन । सम्पूर्ण तह–तप्काका जनताको आवाज मुखरित हुनुपर्ने, राष्ट्रलाई दीर्घकालसम्म दिशानिर्देश गर्ने महत् वपूर्ण दस्तावेज निर्माण गर्ने विषयलाई यसरी ठट्टाको विषय बनाउन नहुने हो राजनीतिक दलका नेताहरूले । उनीहरूको व्यवहार हेर्दा ‘ठट्टा’ नै गरिरहेझैँ लाग्छ । भन्ने नै हो भने चुनावका लागि भनेर जुन रूपको सरकार बनाउने निर्णय चार दलले गरे, त्यतिबेलै मलाई त शङ्का लागेको थियो कि यो के गरिँदै छ ? निकास होइन देशलाई अन्योलतिर लैजाने खेल नै यो रहेछ भन्ने लाग्न थालेको छ । यसर्थ अहिलेको अवस्थाबाट मचाहिँ अलिक चिन्तित नै छु ।
० यसको मतलब निर्धारित मितिमा चुनाव हुन्छ भन्नेमा तपाईंलाई विश्वास कम छ या विश्वास नै छैन, हो ?
– हो । निर्धारित मितिमा चुनाव हुन्छ भन्नेमा त मलाई एकदमै कम विश्वास छ । किनभने, आशाप्रद रूपमा प्रगति भएकै छैन यो प्रक्रिया ।
० चुनाव हुने सम्भावना कम हुनुको खास कारण के होला त ?
– मुख्य कारण त पहिलेको संविधानसभा किन असफल भयो भन्ने कारणको खोजी नै नगरी अर्को संविधानसभा चुनावको डङ्का पिटिएको छ । त्यो कारण खोजेको भए सच्चिएर–सुधारेर अघि बढ्न सकिन्थ्यो, जनतामा विश्वास बढ्थ्यो, जसले चुनावको सुनिश्चितता बढाउँदथ्यो । सोच, शैली, प्रवृत्ति सबै पुरानै बोकेर नयाँ चुनावको चिच्याहट यसै पनि नसुहाउने विषय बनेको छ । विवादित कुराहरू जहीँको त्यहीँ छन् । आ–आफ्ना हठ र अडानहरू छेडिएकै छैनन् । यसले निर्वाचनको तिथि नजिक हुँदै जाँदा विवादहरू चर्काएर निर्वाचन खलबल्याउने सम्भावना बढाएको छ ।
० नेकपा–माओवादीले चुनाव बिथोल्ने वा बहिष्कार गर्ने भनिरहेको छ, योचाहिँ चुनाव हुन नसक्ने कारण बन्न सक्दैन ?
– मोहन वैद्यजीहरूले उठाउनुभएको एजेन्डा सम्पूर्ण रूपले बेठीक भन्न मिल्ने ठाउँ छैन । जनताको आवाज पनि त्यसमा मुखरित भएको म पाउँछु । यसरी जनआवाज या जनइच्छासहितको माग कसैले उठाइरहेको छ भने त्यसलाई चुनाव हुन नदिनका लागि भाँजो हालिएको भन्ने अर्थमा कतिसम्म लिने– बहसको विषय हो । चार दलले आफूले मनखुसी निर्णय गरेर अरूमाथि लाद्ने जो प्रवृत्ति देखाए, यसप्रति असन्तुष्टिका आवाज उठ्नु अस्वाभाविक छैन । चार दलको यो रवैया प्रजातान्त्रिक मर्मको विपरीत पनि छ । यसरी अहिलेको सरकार जो बनेको छ, यसैमा पनि त सबैको सहमति लिने प्रयास गर्न त सकिन्थ्यो होला नि, सुरुमा । तर, गरिएन । पेलेर जान खोजे उनीहरू । झट्ट हेदा मोहन वैद्य नेतृत्वको माओवादीले मात्र यो आवाज उठाएको देखिए पनि सचेत वा बुद्धिजीवीहरू, प्रजातन्त्रवादीहरूले पनि यो आवाजमा आवाज मिलाउनुपर्ने देखिन्छ । तथापि, बहिष्कार भन्ने कुराचाहिँ राम्रो कुरा होइन । जे भए पनि चुनाव नहुने कारणका रूपमा माओवादीलाई लिने कुरा सतही हुन्छ, गुह्य कारकतत् व त चार दलहरू नै हुन्छन् भन्ने मेरो बुझाइ छ । सबैलाई नसमेटीकन गराउने चुनाव त परिणाममुखी हुन सक्दैन नि !
० वैद्य पक्षले सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, पहिले नै संविधानका एजेन्डाहरूमा सहमति हुनुपर्ने र विज्ञहरूको समूहबाट संविधान बनाएर संसद्मार्फत त्यसलाई पारित गर्नुपर्नेजस्ता कुराहरू अगाडि सारेको छ, यी सब कुरालाई तपाईंले कसरी लिनुभएको छ ?
– यतिबेला राष्ट्र ठूलो क्राइसिसमा भएकोले राष्ट्रिय सहमति अपरिहार्य बनेको छ । सम्पूर्ण दल र जनताको तह–तप्काका त्यहाँ प्रतिनिधित्व हुने गरी बृहत् छलफल या सम्मेलन हुनु यसर्थ जरुरी नै देखिन्छ । आजसम्म गरिएका अनेक प्रयोगहरू नेपालको राजनीतिमा असफल बन्न पुगेकाले सर्वपक्षीय सम्मेलन एउटा आशाको केन्द्र बन्न सक्छ । विगतमा संविधानसभा पनि असफल भएकाले संविधान बनाउने बाटो संविधानसभा मात्रै हो भनी मान्न सकिन्न, यसको पनि विकल्प हुन सक्छ भन्नेतर्फ ध्यान पु-याइनु असान्दर्भिक हुँदैन । यो मोडेल मात्रै संविधान बनाउनका लागि सर्वोत्तम मोडेल हो, अरू मोडेल कामै छैन भन्न मिल्दैन । त्यसैले यस्ता कुरामा निक्र्योल लिनका लागि पनि एकपटक सबै तहका जनताको सहभागिता हुने बृहत् सम्मेलन सान्दर्भिक बन्न पुगेको छ भन्ने मलाई पनि लाग्छ । वैद्यपक्षको भनाइ या माग सान्दर्भिक नै छ, बेठीक छ भन्न म त सक्दिनँ ।
० वर्तमान राजनीतिक नेतृत्वहरूलाई पूर्ण रूपमा असफल नेतृत्व भन्न मिल्छ कि मिल्दैन होला ?
– पूर्ण असफल नभएको भए दुई वर्षको संविधानसभालाई चार वर्ष तन्काएर पनि संविधान बनाउन किन नसकेको त ? प्रजातान्त्रिक शासन व्यवस्थामा आफूहरूमध्येबाटै सरकार निर्माण गर्न दलहरूले किनकिन नसकेका त ? नेपालका राजनीतिक दलहरू असफल भएकै हुन् ।

अखण्ड नेपाल पार्टी मुलुकको निर्विकल्प पार्टी बन्नेछ – कुमार खड्का (अध्यक्ष, अखण्ड नेपाल पार्टी)
०६२/६३ सालपछि जातीय आन्दोलनको तुवाँलोले नेपालको राजनीतिक परिवेशलाई गल्र्याम्म अँगालो मारिरहँदा खस–क्षेत्रीले पनि त्यही माखेसाङ्लोमा आफूहरूलाई समाहित गराउन पुगे । कास्की क्षेत्रमा तमुहरूले आफ्नो पकड रहेको भन्दै तमुवान घोषणा गरिरहेको अवस्थामा पोखराबाटै क्षत्री समाज नेपालको स्थापना भयो । तमुवानबाट क्षेत्री समाजको केन्द्रीय कमिटी स्थापना गरियो जसको अग्रमोर्चामा थिए प्राध्यापक दिलबहादुर क्षेत्री र इन्जिनियर कुमार खड्का । क्षेत्री समाजको संस्थापक महासचिव कुमार खड्का पोखरा– १६ अमरदीपका बासिन्दा हुन् । स्थानीय विन्ध्यवासिनी माविबाट प्रवेशिका उत्तीर्ण गरेका खड्काले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरबाट डिप्लोमा गरेपछि बेलायतको लन्डनस्थित ग्रिनविच विश्वविद्यालयबाट इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका ४६ वर्षीय कुमार खड्काको परिचय यतिखेर बदलिएको छ । अखण्ड नेपाल पार्टीको अध्यक्षको बिँडो थामेका उनको थाप्लोमा लाखौँ जनताको भरोसाको भारी बसेको छ । के उद्देश्य र लक्ष्यको साथ गठन भयो अखण्ड नेपाल, अहिले के गर्दै छ र मङ्सिर ४ गतेका लागि घोषणा भएको दोस्रो संविधानसभा चुनावमा उनको पार्टीले अपनाउने रणनीति के हुन सक्छन् भने विषयमा खड्कासँग गरिएको कुराकानीको सार प्रस्तुत गरिएको छ ।
० यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
– अखण्ड नेपाल पार्टीलाई देशव्यापी गराउन सङ्गठन विस्तारको कार्यमा व्यस्त छु ।
० नेपालमा यत्तिका धेरै दल क्रियाशील छन्, तर पनि अखण्ड नेपाल नामक नयाँ पार्टीको आवश्यकता किन प-यो ?
– उपलब्धिमूलक ठानिएको ०६२/६३ को आन्दोलनपछि नेपालभर जातीय द्वन्द्व भड्काउने गरी जातिवादी सङ्घ–सङ्गठनहरू गठन भए । ठूला दल भनिने नेपाली काङ्ग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूले आफ्नो राजनीतिको हतियार जातीय सङ्गठनलाई बनाए । दलगत स्वार्थले उचालिएकाहरूले देशमा जातीय सद्भाव भड्काउने गरी सङ्गठन बनाउन थालेपछि समग्र मुलुक नै द्वन्द्वको भुमरीमा फस्ने अवस्था आयो, अनि त सह–अस्तित्व, समाजवाद, राष्ट्रिय अखण्डता सामाजिक सद्भावको नारा लिएर अखण्ड नेपाल पार्टीका स्थापना नगरी नहुने महसुस गरियोे । अखण्ड नेपाल पार्टी कुनै निश्चित जातजाति, समुदायका लागि गठन भएको नभई आमराष्ट्रवादी नेपाली र अखण्ड राष्ट्र नेपालका लागि यसको स्थापना भएको हो ।
० तपाईं क्षेत्री समाज नेपाल नामक जातीय सङ्गठनको संस्थापक महासचिव हुनुहुन्छ, तपार्इं नै फेरि अखण्ड नेपाल पार्टीको अध्यक्ष बन्नुभयो । तपाईंको झुकाव र समर्पण त क्षेत्री समाजतिरै हुने होला नि ?
– एकदम होइन । हिजो म एउटा संस्थाको पदाधिकारी थिएँ तर आज सिङ्गो पार्टीको अध्यक्ष भएको छु । अध्यक्ष भएपछि म एउटा संस्थाको नभई आमराष्ट्रवादी स्वाभिमानी नेपालीको अभिभावक बनेको छु । अर्को कुरा अखण्ड नेपाल पार्टी आमराष्ट्रवादी नेपालीको आस्थाको केन्द्र र राष्ट्रियताको धरोहर हो । यसमा कुनै विशेष जातजाति, धर्म, भूगोलको सिमाना होइन । क्षेत्री, ब्राह्मण, मुस्लिम, जनजाति, आदिवासी, हिमाल पहाड तराई, क्रिश्चियन, मुस्लिम बौद्धलगायत सबै क्षेत्रको पूर्ण समावेशी दल भएकाले यहाँ कोही कसैले अन्याय र अपमानित बन्नुपर्ने छैन । आमनेपाली नागरिकलाई म हार्दिकतापूर्ण आग्रह गर्छु कि जातीय स्वार्थ बोकेर राज्यलाई विखण्डन गर्ने चरित्र भएका पात्रबाहेक सबै अट्न सक्ने नेपालको निर्विकल्प पार्टी बन्नेछ अखण्ड नेपाल पार्टी । हामीले विश्वका इतिहास पढेका छौँ, देखेका छौँ कि जातीय द्वन्द्वले भड्खालोमा हालेका कङ्गो, बुरुण्डी, रुवाण्डाको दर्दनाक कथा । इतिहासबाट पाठ सिक्न सकिएन भने भावी पुस्ताले धिक्कार्नेछ ।
० तपाईंको दल अखण्ड नेपाल पार्टी सङ्गठन विस्तार रणनीति कस्तो छ ?
– हामी अत्यन्त तीव्र गतिमा सङ्गठन विस्तार अभियानमा छौँ । स्थापना भएको छोटो अवधि अर्थात् जम्माजम्मी एक महिनामै १४ अञ्चलका ५६ जिल्लामा जिल्ला कमिटी गठन भइसकेको छ भने साउन १५ भित्र ७० जिल्लामा सङ्गठन विस्तार गर्ने योजना रहेको छ । भदौ महिनाभर नेपालका ४ हजारमध्ये ३५ सय गाविस र नगरपालिकाका एक हजार वडामध्ये सात सयवटा वडा तहसम्म सङ्गठन विस्तार गरिनेछ । आगामी चुनावसम्म अखण्ड नेपाल पार्टी नेपालको निर्विकल्प नम्बर वान पार्टी वन्ने सुनिश्चित भइसकेको छ । अन्य दलहरूको जस्तो गलत काम गर्ने, चन्दा असुली गरी आफू चल्ने र पार्टीलाई पनि चलाउने गरी हामी कुनै दस्ता बनाउँदैनौँ । त्यस्तो गतिविधिले पार्टीलाई रसातलमा भसाउँछ । देशमा व्याप्त भ्रष्टाचार, अनियमितता रोक्न र राष्ट्र निर्माणमा मर्न मार्न तयार हुने गरी ‘राष्ट्ररक्षक समूह’ निर्माण गर्ने सोचमा छौँ ।
० तपाईंहरूको चुनावी साँठगाँठ कोसँग रहन्छ नि ?
– हामीले राष्ट्रवादको मुद्दालाई प्रमुखता दिएका छौँ । राष्ट्रियता र प्रजातन्त्र पक्षधर, जनताले रुचाएका नेताले हाम्रो कारण हार्ने र त्यस ठाउँमा हामी पनि कमजोर रहने अवस्था आएमा मिलेर जान सकिन्छ । दलगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थसँग निर्वाचनमा हाम्रो कार्यगत एकता हुन सक्छ । त्यो हाम्रो बाध्यता पनि हो, किनकि अराष्ट्रिय तत् वलाई सत्तामा पु-याउनबाट रोक्नुपर्छ ।
० पार्टीको नाम नै अखण्ड नेपाल भएपछि तपाईंहरू त सङ्घीयताविरोधी त होला नि, होइन ?
– होइन । सङ्घीयताको आवश्यकता छ नेपालमा, तर सङ्घीयताको नाममा देश टुक्रा पार्न पाइँदैन भन्ने हाम्रो माग हो । सबै पक्ष जात, भाषा, भुगोल प्रकृति मिल्ने गरी सङ्घ निर्माण गर्नुपर्छ, जातजातिको नाममा होइन ।
० तपाईंहरूले चाहेको सङ्घीय प्रदेश कतिवटा र कस्तो हुनुपर्छ ?
– हामीले नेपालमा बढीमा ६ वटा प्रदेश हुनुपर्छ भनेका छौँ । पाँच विकास क्षेत्र र काठमाडौँ उपत्यका केन्द्र प्रदेश बनाउन राम्रो हुन्छ । चीन र भारत छुने गरी उत्तरदक्षिण सिमाना हुने गरी प्रदेश विभाजन गर्नुपर्छ त्यसो भएमा मात्र सबैले न्याय पाउनेछन् ।
० अन्त्यमा ?
– हामी राष्ट्रपति, प्रधानमन्त्री बन्न दौडिएका होइनौँ । राष्ट्र जोगाउन, सबै जनताको अधिकार रक्षा गर्न, जातीय सद्भाव स्थापित गरेर देश र जनतालाई समुन्नत बनाउन मात्र हाम्रो दौड हो । संविधान निर्माणमै यी कुरा हुने भएकोले संविधानसभामा पुग्नु भने जरुरी छ । देशमा बढेको चरम भ्रष्टाचारलाई नियन्त्रण गर्न हामीले अधिकारसम्पन्न स्वतन्त्र आयोग बनाएर फास्ट ट्रयाक विधिबाट मुद्दाका दोषीलाई कडा दण्ड दिनेछौँ ।