भ्रष्टाचारीहरूको नाम सार्वजनिक गरिने

भ्रष्टाचारीहरूको नाम सार्वजनिक गरिने


othernewsनेकपा–माओवादीले देशका ‘भ्रष्टाचारी’ र ‘विदेशी दलाल’हरूको नाम सङ्कलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार राष्ट्रियस्तरमा देखापरेका ‘भ्रष्ट र दलाल’हरूको नाम सङ्कलन गर्ने कार्य उक्त पार्टीले गरिरहेको छ । यसपछि दुई सय चालीस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेहरूमध्ये पनि ‘भ्रष्ट र दलाल’हरूको पहिचान गरी नाम सार्वजनिक गरिने बताइएको छ । माओवादीले एमाओवादीका अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई देशको सबैभन्दा ठूला ‘भ्रष्टाचारी र दलाल’ भएको ठहर गरेको छ । त्यसैगरी वर्षमान पुन, कृष्णबहादुर महरा, चन्द्रप्रकाश खनाल बलदेव र हिसिला यमी तथा पहिले डिभिजन कमान्डरका रूपमा रही हाल एमाओवादीको नेतृत्वदायी अङ्गमा क्रियाशील समेत गरी दर्जनभन्दा बढीलाई भ्रष्ट र दलालका रूपमा सार्वजनिक गरिने सम्बद्ध पक्षले जनाएको छ । माओवादीले भदौको दोस्रो साताभित्र सबै दलहरूमा आबद्ध भ्रष्ट र दलालहरूको पहिचान गरी तेस्रो सातासम्ममा नाम सार्वजनिक गर्ने भएको छ । यसैबीच एमाओवादीले भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार गर्न अमिक शेरचन र पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठित दुई बेग्लाबेग्लै समितिले तयार गरी गोप्य राखेको प्रतिवेदन माओवादीले हात पारेको बुझिएको छ । उक्त प्रतिवेदनमा भ्रष्ट ठहर गरिएको ‘नेता’ र ‘कमान्डर’हरूलाई आवश्यक कारबाहीका लागि नाम सार्वजनिक गरिने पनि माओवादी सूत्रले जनाएको छ । हालसम्मको नामावली सङ्कलनका क्रममा काङ्गे्रस, एमाले र मधेसकेन्द्रित दल सम्बद्ध नेता–कार्यकर्ताभन्दा कैयन बढी सङ्ख्यामा ‘भ्रष्ट र दलाल’हरू एमाओवादीमा फेला परेको पनि उनीहरूको भनाइ छ । एमाओवादीपछि कर्मचारीहरूको सङ्ख्या रहेको देखिएको छ । भदौको तेस्रो सातासम्ममा नाम सार्वजनिक गरिसकेपछि उनीहरूलाई के–कस्तो कारबाही गर्ने भन्ने कुराको निर्णय पार्टीले लिने र सोहीबमोजिम कारबाहीको प्रक्रिया सुरु गरिने माओवादी सूत्रको भनाइ छ ।

रित्तिँदै युवाशक्ति
देशमा रोजगारीको सम्भावना नरहेपछि कामको खोजी गर्दै विदेशिनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्षभन्दा यस वर्ष विदेशिनेको सङ्ख्या सत्रप्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष चार लाख २५ हजार आठ सय ३० युवा तथा २७ हजार सात सय १३ युवती विदेशिएका छन् । यो सङ्ख्या आर्थिक वर्ष ०६८/६९ को तुलनामा ६२ हजार दुई सय बढी हो । अघिल्लो आर्थिक वर्षमा तीन लाख ८४ हजार ६ सय ६५ जना युवा रोजगारीका लागि विदेशिएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार ०६९ मा मासिक औसत ३८ हजार तीन सय ७९ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । बितेका दुई वर्षको तथ्याङ्क विश्लेशण गर्दा ०६८ मा भन्दा ०६९ मा मासिक औसत वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा पाँच हजार एक सय ८३ ले वृद्धि भएको छ भने प्रतिदिन औसत सङ्ख्या एक सय ७० जना बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०६९/७० मा चार लाख सात हजार एक सय ८१ जना मलेसियामा र अन्य खाडी मुलुकमा मात्र गएका छन् भने बाँकी अन्य मुलुकमा । त्यस्तै, अघिल्लो वर्षहरूमा जस्तै ०६९ मा पनि सबैभन्दा धेरै ठूलो सङ्ख्या युवाहरू मलेसिया, साउदी अरब, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) गरी चार मुलुकमा पुगेका छन् । सानो सङ्ख्यामा कामदार कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेवनान, इजरायल, अफगानिस्तान, जापानलगायतका राष्ट्रमा पुगेको विभागको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार मलेसिया जानेको सङ्ख्या एक लाख ५६ हजार सात सय ७० रहेको छ । जसमा एक लाख ४९ हजार ६ सय पाँचजना पुरुष र सात हजार एक सय ६५ महिला कामदार छन् । यसैगरी कतार जानेको सङ्ख्या ९० हजार नौ सय ३५ जना रहेको छ । जसमा ९० हजार ४२ पुरुष र आठ सय ९३ महिला सो आर्थिक वर्षमा रोजगारीका लागि गएका छन् । तेस्रो श्रम गन्तव्यका रूपमा साउदी अरब रहेको छ । साउदी अरब जानेको सङ्ख्या ८६ हजार दुई सय ७६ छ । यस आवमा ८५ हजार नौ सय नौ पुरुष र तीन सय ६७ महिला साउदीमा रोजगारीका लागि गएका छन् ।
यस्तै, यूएई जानेको सङ्ख्या यो आर्थिक वर्षमा ५२ हजार दुई सय ९५ छ । यसमा ४४ हजार ६ सय आठ पुरुष र सात हजार ६ सय ८७ जना महिला छन् । कुबेत जानेको सङ्ख्या यस आवमा १४ हजार चार सय एक छ भने तीन हजार तीन सय ९० बहराइन र तीन हजार एक सय १४ जना ओमन रोजगारीमा गएको विभागले जनाएको छ । यस्तै, सो आर्थिक वर्षमा पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार नौ सय ५४ रहेको छ । वैदेशिक रोजगारीका नाममा सबैभन्दा बढी युवालाई विदेश उडाउने म्यानपावर कम्पनीको रूपमा एसओएस म्यानपावर रहेको पनि विभागले जनाएको छि । विभागका अनुसार एओएसले एक वर्ष अवधिमा सात हजार पाँच सय ३६ जनालाई रोजगारीका लागि विदेश पठाएको छ । त्यस्तै द रिभर ओभरसिजले ६ हजार चार सय नौ, लक्की एचआर सोलुसनले चार हजार तीन सय २७, धनुष इन्टरनेसनल सर्भिसले चार हजार ७८, कोसी म्यानपावरले चार हजार ७२ जना कामदार पठाएका छन् । यी म्यानपावरले यति धेरै कामदार विदेश पठाए पनि २६ भन्दा बढी म्यानवापर कम्पनीले एकजना पनि कामदार विदेश पठाएका छैनन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गइरहेको भए पनि पछिल्लो समयमा म्यानपावर एजेन्सीमा समेत कामदारको माग ल्याउन र रोजगारीमा पठाउन चर्को प्रतिस्पर्धा बढेपछि ती कम्पनीहरूले कामदार पठाउन नसकेको विभागको ठम्याइ छ । वैदेशिक रोजगारीको काम गर्न भनेर एक हजारको हाराहारीमा म्यानपावर एजेन्सी दर्ता भएका छन् । नेपाली युवालाई विश्वका विभिन्न मुलुकमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ती कम्पनी दर्ता भएका हुन् । तर, चर्को प्रतिस्पर्धाकै कारण अहिले सात सय ६७ वटा कम्पनी मात्र सञ्चालनमा छन् । यसमध्ये पनि आर्थिक वर्ष ०६९/७० मा भने २६ वटा म्यानपावरले एकजना पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् ।
वैदेशिक रोजगार विभागका अनुसार कतिपय कम्पनीले इजाजत लिएदेखि नै एकजना पनि व्यक्तिलाई रोजगारीमा पठाएका छैनन् । विभागका अनुसार ६ वटा कम्पनीले दर्ता भएयता एकजना पनि कामदार रोजगारीमा पठाएका छैनन् । सञ्चालनमा रहेकामध्ये सात सय ३९ कम्पनीले मात्र गत आवमा कामदार रोजगारीमा पठाएका छन् । यस्तै, एक सय २१ कम्पनीले सयभन्दा कम कामदार रोजगारीमा पठाएको विभागले जनाएको छ । विभिन्न ६१ एजेन्सीले ५० भन्दा कम कामदार पठाएका छन् भने १२ कम्पनीले एक वर्षमा दश जनाभन्दा कम कामदारलाई रोजगारीका लागि विदेश पठाएका छन् । कतिपयले वर्षमा दुईजना मात्र कामदार पठाएका छन् ।
विगतमा एक वर्षमा ५० भन्दा कम कामदार रोजगारीमा पठाउने कम्पनीलाई इजाजतपत्र खारेज गर्ने व्यवस्थासमेत थियो । तर, वैदेशिक रोजगार क्षेत्रको दायरा फराकिलो र केही मर्यादित, व्यवस्थित बन्दै गएपछि सरकारले सो व्यवस्था हटाएको थियो । अहिले विगतमा राखिएको व्यवस्था नरहनुले पनि म्यानपावर एजेन्सीले कामदार पठाउन चासो नदिएको सरकारी अधिकारीहरू बताउँछन् । वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले वैदेशिक रोजगार ऐन–०६४ आउनुअगाडि सो व्यवस्था रहे पनि अहिले त्यस्तो कुनै नियम नभएको बताए । वैदेशिक रोजगार ऐनले रोजगारीमा कामदार पठाउँदा ठगी गरेमा वा रोजगारीमा गएका कामदार ठगीमा परेर फर्किएमा म्यानपावर एजेन्सीले इजाजत लिनुपूर्व राखेको धरौटी रकमबाट क्षतिपूर्ति दिने, उजुरी फरफारक नभएसम्म कम्पनीका कामकारबाही रोक्का गर्नेलगायतका व्यवस्थासमेत गरेको छ । तर, कामदार नपठाएकै कारण दर्ता खारेज गर्ने व्यवस्था अहिले नभएकाले पनि व्यवसायी थप जिम्मेवार नभएको देखिन्छ ।
वैदेशिक रोजगारमा जानेको वार्षिक तथ्याङ्क
आर्थिक वर्ष सङ्ख्या
२०६३/०६४ २,०४,५३३
२०६४/०६५ २४९०५१
२०६५/०६६ २,१९,९६५
२०६६/०६७ २,९४,०९४
२०६७/०६८ ३५४७१६
२०६८/०६९ ३,८४,६६५
२०६९/०७० ४,५३,५४३

लडाकुबारे सबै बेखबर !
लामो समय युद्धकार्यमा लागेका तालिमप्राप्त लडाकु माओवादीहरू यतिबेला कहाँ के गर्दै होलान् ? करिब डेढ हजार सङ्ख्याका लडाकु नेपाली सेनामा समेटिएका छन् भने बाँकी १८ हजार बढी लडाकुबारे चासो राख्नुपर्ने समय भए पनि सम्बन्धित निकायले आश्चर्यजनक मौनता दर्शाएका छन् । माओवादीको नाममा सशस्त्र युद्ध लडेका लडाकुलाई राज्यले झन्डै ६ वर्षसम्म तलबभत्ता तथा रासनपानीको व्यवस्था गरी अस्थायी शिविरमा राखेर पाल्दै आएको थियो । राज्यले उनीहरूको नाममा पूर्वाधार निर्माणबाहेक रासनमा दुई अर्ब ५५ करोड र तलबमा पाँच अर्ब २२ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । त्यस्तै स्वेच्छिक अवकाश रोजेर बिदा हुने भन्दै उल्टै दुई अर्बभन्दा बढी रकम लडाकुकै नाममा सकेको थियो । राज्यको त्यत्रो रकम सकेको लडाकुबारे अहिले सबै बेखबरजस्तै बनेका छन् ।
‘राज्यले ६ वर्षसम्म लगानी गर्दै आएको १९ हजार ६ सय दुईमध्ये एक हजार चार सय ४४ लडाकु नेपाली सेना बनेका छन् भने बाँकी कता छन्, के गरिरहेका छन्, तिनको रेकर्ड राज्यले राख्नुपर्ने हो,’ नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले भने, ‘उनीहरू तालिमप्राप्त लडाकु भएकोले उनीहरूका गतिविधिबारे राज्य चनाखो हुनु खाँचो देखिन्छ ।’ ‘लडाकुको भूमिकाबाट बाहिरिएपछि उनीहरू आमनागरिकजस्तै बनेपछि उनीहरूको गतिविधि तथा रेकर्ड नराखिए पनि अझै केही समय उनीहरूलाई राज्यले आफ्नो नियन्त्रणमा राख्नुपर्ने थियो,’ नेपाल प्रहरीका ती अधिकारीले भने ।
नेपाल प्रहरीका प्रमुख कुबेरसिंह रानाले पनि स्वेच्छिक अवकाश लिएर बहिर्गमित भएका लडाकुहरूबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘शिविरबाट मुक्त भएपछि उनीहरू साङ्गठनिक तथा व्यक्तिगत काममा व्यस्त होलान्,’ प्रमुख रानाले भने, ‘उनीहरू के गर्दै छन्, त्यसको विवरण हामीले राखेका छैनौँ । उनीहरू कुनै खराब गतिविधिमा लागेको पाइएमा भने कानुनी कारबाही गरिनेछ ।’
त्यस्तै, नेपाली सेनाकै हैसियतमा शिविरमा रहेका माओवादी लडाकुबारे नेपाली सेनासँग पनि कुनै जानकारी छैन । नेपाली सेनाका प्रवक्ता सहायक रथी सुरेश शर्माले भने, ‘नेपाली सेनाको तालिममा रहेका लडाकुबारे नेपाली सेनालाई जानकारी हुन्छ अरूको जानकारी हुँदैन । माओवादी पूर्वलडाकुमध्ये एक हजार चार सय ४४ सेनाको तालिममा सहभागी भई नेपाली सेनामा प्रवेश गरिसकेका छन्, हामीले उनीहरूको विवरण राखेका हुन्छौँ, अरू हुँदैन,’ उनले भने । लडाकुबाट बहिर्गमित भइसकेकोले उनीहरू आमनागरिकजस्तै भएकोले पनि त्यसबारे कुनै चासो नदेखाएको शर्माको भनाइ थियो । उनले थपे, ‘यसबारे राज्यका अन्य निकायले कुनै विवरण राखेको हुनसक्छ तर, हामीलाई जानकारी भएन ।’
आमनागरिक तथा सङ्गठनहरूको गतिविधिलाई नजिकबाट नियाल्ने तथा उनीहरूको विवरण सङ्कलन गरेर राख्ने राष्ट्रिय अनुसन्धान विभागसँग पनि बहिर्गमित लडाकुबारे कुनै विवरण छैन । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मोती गुरुङले भने, ‘स्वेच्छिक अवकाश रोजेका लडाकुबारे हामीसँग सामान्य जानकारी छ, डिटेलमा राखेका छैनौँ ।’ ‘हामीसँग त्यसबारे सामान्य जानकारी छ, त्यो आफ्नौ तरिकाले राखेका छौँ,’ उनले थपे, ‘डिटेल तथ्याङ्क भने राखिएको छैन, जे छ त्यो आफ्नै तरिकाबाट गोप्य रूपमा राखिएको छ ।’
सरकारसँग मात्र होइन लडाकुको विवरण एमाओवादी तथा नेकपा माओवादी पार्टीसँग समेत छैन । तर, दुवै पार्टीले बहिर्गमित लडाकु आफ्नो पार्टीमा रहेको दाबी गरे पनि कति सङ्ख्याका लडाकु आफ्नो पार्टीमा छन् र ती के गर्दै छन् भन्ने जानकारी नभएको बताउँछन् ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले स्वेच्छिक अवकाश रोजेका सबै लडाकु आफ्नो पार्टीमा रहेको दाबी गरिन् । उनले भनिन्, ‘सेनामा सहभागी भएका तथा एकाधबाहेक सबै हाम्रो पार्टीमा आएर सङ्गठनात्मक काम गरिरहेका छन्, उनीहरूलाई पार्टीले क्षमताअनुसारको जिम्मेवारी दिएर सङ्गठन निर्माणकार्यमा खटाइएको छ तर, त्यसरी खटिएका लडाकु कति सङ्ख्यामा छन् र के गर्दै छन् भन्ने जानकारी भने छैन ।’ केही लडाकु राज्यबाट रकम लिएर व्यापार व्यवसायमा लागेकाले यकिन तथ्याङ्क नभएको उनको भनाइ थियो ।
त्यस्तै, एमाओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माले लडाकु सबै आफ्नो पार्टीमा रहे पनि कतिको सङ्ख्यामा छन् र ती के–के गर्दै छन्, त्यसको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको बताए । ‘पार्टीमा आबद्ध लडाकुको यकिन सङ्ख्या नरहे पनि स्वेच्छिक अवकाशमा गएका एक–डेढ सय लडाकु वैद्यजीले नेतृत्व गरेको पार्टीमा गएका होलान् बाँकी सबै हाम्रो पार्टीमा छन्,’ उनले भने ।
उनका अनुसार स्वेच्छिक अवकाश लिएका लडाकुमध्ये केही पार्टी केन्द्रमै रहेको, केही राज्य तथा जिल्ला सङ्गठनमा रहेको तथा केही लडाकु कार्यकर्ता भएर पार्टीको हितमा काम गरिरहेका छन् । उनले थपे, ‘राज्यबाट प्राप्त सहयोग रकम लिएर केही लडाकु विदेश गएको तथा केहीले आफ्नो गाउँ तथा सहरमा गएर रोजगारी गरेर बसेका छन्, त्यसैले पनि उनीहरूको यकिन विवरण नभएको हुनसक्छ, यद्यपि सबै लडाकु पार्टीसँगको सीधा सम्पर्कमै रहेका छन् ।
लडाकुमध्ये सानो सङ्ख्याले कुनै न कुनै व्यवसाय अपनाएका, केही वैदेशिक रोजगारीमा गएका र केही पार्टी काममा खटिएका भए पनि अधिकांशको गतिविधिबारे राज्य बेखबर देखिएको छ । नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा गठित राष्ट्रिय स्वयम्सेवक सङ्घमा १५ हजार लडाकु सङ्गठित भएको बताइन्छ । तर, त्यसको पनि आधिकारिक पुष्टि हुन सकेको छैन ।

माधव नेपाल खनालतिर लागे पनि एमालेमा ओलीकै पल्ला भारी
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झलनाथ खनालसँग निकटता बढाउनुभएपछि एमालेको आन्तरिक राजनीतिक समीकरण केही बदलिएको छ र अध्यक्ष खनालले पार्टीमा आफ्नो स्थिति मजबुत भएको ठान्नुभएको छ । आगामी महाधिवेशनपछि आफैँ पार्टी अध्यक्ष बन्ने दाउमा रहनुभएका माधव नेपालले केपी शर्मा ओलीले आफूलाई अध्यक्ष बनाउन कुनै हालतमा सहयोग नगर्ने बुझेपछि उहाँ खनालतिर लहस्सिनुभएको हो । अध्यक्ष खनाल सकेसम्म आफू पुन: अध्यक्ष बन्ने योजनामा रहनुभएको भए पनि उहाँले नेता नेपाललाई आफूपछिको अध्यक्ष बन्न पूर्ण सहयोग गर्ने वचन दिनुभएकोले पनि नेता नेपाल खनालको निकट पुग्नुभएको बुझिएको छ । अध्यक्ष झलनाथ खनालको पाँचवर्षे कार्यकाल आगामी फागुनमा समाप्त हुँदै छ । विधानअनुसार चल्ने हो भने आउँदो फागुन–चैतभित्रै एमालेले महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । तर, खनाल आफ्नो पाँचवर्षे कार्यकाललाई सकेसम्म लम्ब्याउने पक्षमा हुनुहुन्छ । नेता केपी ओली र पार्टी सङ्गठनको चर्को दबाब भएन भने थप एक वर्ष अध्यक्ष रहिरहने खेलमा झलनाथ खनाल लाग्नुभएको बुझिन्छ । तर, आफैँ पुन: अध्यक्ष बन्न नसकिने स्थिति भएमा खनालले आफ्नो समर्थन माधव नेपाललाई दिनुहुने निश्चित मानिएको छ । जब कि खनाल र नेपाल एकातिर भए पनि केपी ओलीलाई परास्त गर्न सकिने सम्भावना भने देखिँदैन । नेकपा एमालेको पचहत्तर जिल्ला समितिमध्ये करिब दुईतिहाइ अर्थात् पैँतालीसभन्दा बढी जिल्लाका अध्यक्ष केपी ओलीको समर्थनमा रहेका छन् । संखुवासभा, भोजपुर, सुनसरी, खोटाङ, ओखलढुंगा, सप्तरी, सिरहा, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, बारा, पर्सा, काभे्र, मकवानपुर, चितवन, भक्तपुर, काठमाडौं, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, तनहुँ, मनाङ, पाल्पा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, पर्वत, म्याग्दी, प्यूठान, रोल्पा, बैतडी, डडेलधुरा, बर्दिया, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, सुर्खेत, धनुषा र अछाममा पार्टी अध्यक्षसहित बहुमत पदाधिकारी तथा सदस्यहरू केपी ओलीको समर्थनमा रहेका छन् । त्यसैगरी बाइसवटा जनसङ्गठनहरूमध्ये जिफन्ट, युवा सङ्घ, महिला सङ्घ, अनेरास्ववियु, शिक्षक सङ्गठन, पे्रस चौतारी र निजामती कर्मचारीहरूको सङ्गठनमा केपी समर्थकहरूको अधिक बाहुल्य रहेको छ । उता झलनाथ खनालको समर्थनमा भने करिब दुई दर्जन जिल्ला देखिएका छन् । जिल्ला अध्यक्षसहित खनाल समर्थकहरूको बाहुल्य रहेका जिल्लाहरूमा इलाम, धनकुटा, तेह्रथुम, मोरङ, सोलुखुम्बु, नुवाकोट, ललितपुर, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, मुस्ताङ, बाँके, रुकुम, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, जुम्ला र उदयपुर रहेका छन् । झापामा अध्यक्ष खनाल समर्थक भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूमा ओली समर्थकहरूको वर्चश्व छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समर्थनमा केवल तीन जिल्ला रहेका छन् । बझाङ, रौतहट र सिन्धुपाल्चोकका अध्यक्ष नेपालको पक्षमा खुलेका छन् । त्यसैगरी अर्का नेता वामदेव गौतमको समर्थनमा एउटा बाजुरा जिल्ला रहेको छ । ताप्लेजुङ र पाँचथरलगायत केही जिल्लाका अध्यक्ष भने तटस्थ रहेको बताइन्छ ।
एमालेका बहुचर्चित नेताहरूमध्ये पनि अधिकांश केपी ओलीको समर्थनमा रहेका छन् । प्राप्त जानकारीअनुसार चर्चित नेताहरूमध्ये उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिवहरू युवराज ज्ञवाली, विष्णु पौडेल र शङ्कर पोखरेल, अमृत बोहरा, पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, विष्णु रिमाल, महेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ, सुवास नेम्वाङ, नरेश खरेल, राजेन्द्र गौतम, धर्मनाथ साह, रघुवीर महासेठ, राधा ज्ञवाली, गोकुल घर्ती, कमलादेवी महतो, शत्रुघ्न साह, केशव देवकोटा, विन्दा पाण्डे, शेरधन राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, खगराज अधिकारी, गोकुल बास्कोटा, राजन भट्टराई र केशव पाण्डेलगायतको समर्थन केपी ओलीतिर रहेको छ । झलनाथ खनालको पक्षमा माधवकुमार नेपाल, वामदेव गौतम, भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, विजय पौडेल, राजेन्द्र पाण्डे, भीम रावल, प्रकाश ज्वाला, उर्वादत्त पन्त, राजेन्द्र राई, पशुपति चौलागाईं, ठाकुर गैरे र तुलबहादुर गुरुङलगायतका नेताहरू देखिएका छन् । महासचिव ईश्वर पोखरेल भने हालसम्म तटस्थ रहनुभएको बताइन्छ ।
यसरी नेकपा एमालेमा केपी ओली सर्वाधिक बलवान नेताका रूपमा देखिनुभएको छ । प्राकृतिक रूपमा चयन भएका प्रतिनिधिहरूले मात्र मतदान गरेका भए गत महाधिवेशनमा नै ओली अध्यक्ष पदमा विजयी हुनुहुने निश्चित थियो । प्रतिनिधिकै सङ्ख्याबराबरका ‘भर्तिनिधि’ (केन्द्रले मनोनयन गरेका) हरूले खनाललाई मतदान गरेका र माधव नेपालले समेत खनाललाई साथ दिनुभएको कारणले मात्र त्यसबेला केपी पराजित हुनुभएको थियो । यसपटक भने ओलीलाई पराजित गर्न असम्भव रहेको ठानिन्छ । यही स्थितिका कारण खनाल आगामी फागुन–चैतभित्रै महाधिवेशन नगरी कुनै न कुनै बहानामा कार्यकाल लम्ब्याउने खेल खेल्दै हुनुहुन्छ । अन्तत: केपी ओलीको हाउगुजी देखाएर माधव नेपाललाई तर्साउने र खनाल आफैँ अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको एमालेलाई नजिकबाट बुझ्नेहरूको अनुमान छ ।

मधेसी आन्दोलनको खोलमा लस्कर ए तोएवाको एजेन्ट !
नेपाल प्रहरीको आग्रहमा गत साता भारतको बिहारमा पक्राउ परेका भूमिगत सशस्त्र समूह तराई मुक्ति मोर्चा (प्रकाश समूह)का कथित प्लाटुन सैन्य कमान्डर अग्नि भनिने सुनिल जैसवाल लस्करे ए तोइवाको नेपालस्थित एजेन्ट रहेको दाबी गरिएको छ । नेपाल प्रहरीको सुराकीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा जैसवाल पाकिस्तानी आतङ्कवादी सङ्गठन लस्करे ए तोइवाको नेपालस्थित एजेन्ट भएको खुल्न आएको भारतीय पक्षलाई उद्धृत गर्दै स्रोतले जनाएको छ ।
बारामा चार माओवादी कार्यकर्ता र शिक्षक हत्याको अभियोग लागेका जैसवालबाट तराईमा बस्ने पहाडे मूलका नेपाली विशेष रूपमा प्रताडित हुँदै आएका थिए । नेपालमा आफू कट्टर मधेसवादी कहलाउनका लागि पहाडीमूलका नागरिकमाथि जथाभावी आक्रामक बन्ने उता लस्कर ए तोयवाको एजेन्ट बनेर भारतविरोधी अभियानमा कम्मर कसेका जैसवालले आफूलाई भारतमा इमरान अहमदको नामले चिनाउँदै आएको बताइन्छ । उनलाई नारायणी अञ्चल प्रहरीको सूचनाका आधारमा नेपाल–भारत सीमानजिक बिहारको पूर्वी चम्पारणमा पर्ने आदापुर गाउँबाट सुतिरहेको बेला एकाबिहानै नियन्त्रणमा लिइएको थियो । हत्या, फिरौतीलगायत मुद्दाका जैसवाल फरार अभियुक्त थिए । मोर्चाको बारा, पर्सा, रौतहट इन्चार्ज रहेका जैसवाल नेपालमा ‘मोस्ट वान्टेड’ भएपछि बाराको मटिअर्वा गाविससँग सीमा जोडिएको आदापुरमा एक समूह नै खडा गरेर बस्दै आएका थिए । उनले भारतीय नागरिकसँग बिहे गरेकै कारण भारतमा बसेर नेपाली व्यापारीसँग फिरौती असुल्ने गरेको प्रहरी सूत्रको दाबी छ । भारतीय प्रहरीले जैसवाल लस्कर ए तोइवाको नेपालस्थित एजेन्ट भएको र उनले नेपालबाट पाकिस्तानमा आतङ्कवादी तालिम लिन मानिस पठाउने काम गर्दै आएको दाबी गरेको सूत्रले उल्लेख गरेको छ । सशस्त्र प्रहरीका पूर्वहवल्दार रहेका जैसवाल ०६४ मा एसएलआरसहित भूमिगत समूहमा प्रवेश गरेका थिए । सो हतियार अहिले पनि उनकै साथमा रहेको प्रहरीको दाबी छ ।
नेपाल प्रहरीले आगामी संविधानसभाको चुनावलाई ध्यानमा राखेर तराईमा रहेका भूमिगत सङ्गठनहरूको गतिविधिलाई निगरानीमा राखेको छ । यतिबेला बिहार पश्चिमी चम्पारणको बेतिया प्रहरीले हिरासतमा राखेको जैसवाललाई नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । तर, बिहारमा पनि केही आपराधिक गतिविधिमा संलग्न रहेकाले नेपालमा तत्काल ल्याउन नसकिएको र त्यहाँको कानुनी प्रक्रिया पूरा गरी ल्याइने नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई उद्धृत गर्दै स्रोतले जनायो ।

कर्मचारीलाई कामचोर भनेपछि हाकिममाथि बोतल प्रहार
– छविलाल बगाले
लमजुङ/ कर्मचारीहरूको नियमित बैठक बसिरहेको बेला जिल्ला कृषि विकास कार्यालय लमजुङका एक कर्मचारीले आफ्नै कार्यालय प्रमुखमाथि पानीको बोतल प्रहार गरेको खुलासा भएको छ । कृषि कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तमाथि उनीमातहतकै एक कर्मचारीले एक्कासि पानीको बोतलले आक्रमण गरेपछि कार्यालयको स्थिति तनावपूर्ण बनेको सूत्रको दाबी छ । गत आइतबार बेलुकी अबेरसम्म बसेको कार्यालयको नियमित कर्मचारी बैठकका क्रममा कार्यालयका योजना अधिकृत सीताराम घिमिरेले कार्यालय प्रमुखमाथि आक्रमण गरेको बताइएको छ । घिमिरेले बैठक चलिरहेको अवस्थामा पानीको बोतलले प्रहार गरेपछि स्थिति असामान्य बनेको थियो । बोतलले लागेर कार्यालयका प्रमुख पन्तको चस्मा फुटेको छ भने आँखानजिकै चोट लागेको बताइएको छ । आक्रमणलगत्तै अधिकृत घिमिरेलाई प्रहरीले पक्राउ गरी केही समयपछि छोडिएको थियो ।
गत असार १२ गते बुधबार प्रकाशित हुने एक साप्ताहिक अखबारमा कार्यालयप्रमुख पन्तले आफूमातहतका कर्मचारी कामचोर भएको, मोहन थापा र सीताराम घिमिरेले मार्छु, काट्छुजस्ता अभिव्यक्ति दिएको भन्ने समाचार प्रकाशित भएको विषयमा सुरु भएको भनाभनपछि घिमिरेले बोतल प्रहार गरेको जनाइएको छ । बैठकका क्रममा पत्रिकामा छापिएको समाचारका विषयमा खेद प्रस्ताव पारित गर्न खोजिएपछि कार्यालयका प्रमुख पन्त र घिमिरेबीच निकैबेर भनाभन भएको थियो । दुवैले तल्लो स्तरमा झरेर तँ–तँ र म–म गर्न थालेपछि स्थिति असामान्य बन्दै गएको बैठकमा उपस्थित कर्मचारीहरूले बताए ।
बैठकमा भनाभन भइरहँदा घिमिरेले एक्कासि पन्तमाथि बोतल प्रहार गरेपछि पन्तले पनि जवाफ फर्काएको बताइएको छ । तर, घटनाका विषयमा कुनै पनि कर्मचारीले स्पष्टसँग जानकारी गराउन आनाकानी गरे । कसैले पहिला घिमिरेले हानेको त कसैले पहिला पन्तले हानेको भनी दोहोरो अभिव्यक्ति दिएका छन् । केही कर्मचारीले हाकिमले बिनाकसुर घिमिरेलाई पक्राउ गर्न लगाएको भने पनि प्रहरीबाट छुटेपछि स्वयम् घिमिरेले पत्रकारहरूसँग आफूले बोतलले हानेको स्वीकार गरे ।
कृषि कार्यालयमा कुटाकुटकै घटना पहिलो भए पनि त्यहाँ दैनिकजसो झगडा भने भइरहने कर्मचारीहरू बताउँछन् । कार्यालय प्रमुख पन्त अन्य कर्मचारीलाई कामचोर देख्ने र अन्य कर्मचारीहरूले प्रमुखलाई दामचोर देख्ने प्रवृत्तिका कारण दैनिकजसो झगडा हुने कर्मचारीहरूको भनाइ छ । उक्त घटनापछि कार्यालय प्रमुख पन्त भने काठमाडौंतर्फ लागेका छन् । आफ्नो कर्मचारी थुनाएर कार्यालय प्रमुख काठमाडौं लागेको भन्दै कृषिका केही कर्मचारी आक्रोषित बनेका छन् । सीताराम घिमिरेले घटनाको सुरुवात बल्ल भएको भन्दै अब झन् ठूला घटना हुने बताएका छन् ।
कर्मचारीलाई ढाडस दिन कृषि कार्यालय आइपुगेका नेपाल निजामती कर्मचारी युनियन लमजुङका अध्यक्ष पूर्णचन्द्र अधिकारीले अब कृषिको जस्तो घटना अन्य कार्यालयहरूमा पनि घट्ने चेतावनी दिएका छन् । घटना सुनियोजित भएको भन्दै यसको छानबिन गर्नुपर्ने अन्य कर्मचारीको भनाइ छ । गृहजिल्ला लमजुङ नै रहेका प्रमुख पन्तलाई सरुवा गराउन अन्य कर्मचारी असफल भएपछि आक्रमणमा उत्रिएको स्रोतले जनाएको छ । पन्तको सरुवाका लागि विभिन्न कर्मचारी सङ्गठनहरूले कृषिमन्त्री टेकबहादुर थापासमक्ष कुरा पु-याए पनि असफल भएको बताइन्छ । वरिष्ठ कृषि विकास अधिकृत पन्तको सरुवा रोक्नका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूले कृषिमन्त्री थापाको लमजुङ भ्रमणका बेला ध्यानाकर्षण गराएका थिए ।
कर्मचारीले कार्यालयको तर्फबाट कुनै नाजायज फाइदा लिने गरेको र त्यस्ता कमजोरी रोक्न खोज्दा कर्मचारीहरू रुष्ट बनेको कार्यालयका एक कर्मचारी बताउँछन् । तर, भोर्लेटार सेवा केन्द्रमा कार्यरत महेश पाख्रिङले भने कार्यालय प्रमुखले आफूलाई जनता उठाएर कुट्न लगाएको आरोप लगाउँदै आएका छन् । पछिल्लो समय कार्यालय प्रमुख पन्तलाई सरुवा गर्नका लागि कर्मचारीहरू राजनीतिक दलको ढोका ढकढकाउन पुग्ने गरेको भन्ने चर्चा पनि कार्यालयमा चल्ने गरेको छ । कार्यालय प्रमुखले पार्टीको फेबरमा काम नगरेको भन्दै केही कर्मचारीले दलका नेताहरूलाई हाकिमको सरुवाको पहल गरिदिन आग्रह गर्नेगरेको चर्चा बेलाबखत चल्ने गरेको छ ।
एमालेको तर्फबाट मन्त्री बनेका कृषिमन्त्री थापालाई एमालेका केही नेताहरू र कर्मचारी सङ्गठनका नेताले मन्त्रीसमक्ष सरुवा गरिदिन आग्रह गरेको जनाइएको छ । सरुवाकै लागि मन्त्रालयबाट पन्तलाई बारम्बार बोलावट भइरहेको बताइन्छ ।

ठगको जालमा मयुरका मालिक !
मकवानपुरमा रहेको मयुर इन्भेस्टमेन्ट कम्पनीका तत्कालीन सञ्चालक गोपीराम बञ्जराले कम्पनी र कम्पनीका सञ्चालकलाई चरम ठगीको सिकार बनाएर उल्टै पीडित पक्षमाथि नै अनर्गल प्रचार गरी ज्यादति गरेको आरोप सो कम्पनीका सञ्चालकत्रय राजेन्द्रप्रसाद शर्मा, दीपककुमार धिताल र आनन्दराम पौडेलले लगाएका छन् । बञ्जाराले कम्पनीमा प्रबन्ध सञ्चालक रहँदा ४० लाख हिनामिना गरेको र आन्तरिक छानबिनबाट घोटलाको खुलासा भएपछि सो रकम तिर्न मञ्जुरीसमेत गरेका थिए । तर, तोकिएको अवधिभित्र रकम बुझाउन असक्षम भएपछि ‘मेरो नाममा रहेको कम्पनी सेयर नै नामसारी गरिदिन्छु’ भनी बञ्जाराले नामसारी पत्रमा सहीछाप गरे पनि भुलभुलैयामा पारेर नक्कली सहीछाप गरेको र पछि आफैँले बनाएको सो नक्कली कागजलाई आधार बनाएर योजनाबद्ध ढङ्गले ‘जबर्जस्ती सेयर बिक्री कागजमा सहीछाप गराएको’ भन्दै मुद्दा हालेर दु:ख दिएको पीडितमध्येका एक राजेन्द्रले बताए ।
कम्पनीको हिसाबकिताब गोलमाल गरी हिनामिना गरेको सम्बन्धमा गोपीराममाथि मयुर इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट पुनरावेदन अदालत हेटौँडामा दायर मुद्दा विचाराधीन रहेको छ । यति मात्र नभई गोपीरामलाई जनही १२ लाख पचास हजारका दरले दिइएको ऋण रकमको साँवाब्याज भराइपाऊँ भनी सञ्चालक राजेन्द्र र दीपकले मकवानपुर जिल्ला अदालतमा दायर गरेको मुद्दा पनि विचाराधीन नै रहेको छ । यस्तो अवस्थामा उल्टै किर्ते ढङ्गले आफूहरूमाथि नै ठगी मुद्दा लगाउन खोजेको भन्दै मयुरका सञ्चालकहरूले गुनासो गरेका छन् । गोपीराम अत्यन्त धूर्त र विश्वास गर्न नसकिने प्रकृतिका व्यक्ति भएको उल्लेख गर्दै राजेन्द्रले दाबी गरेअनुसार ०६० सालसम्म एक सामान्य शिक्षक रहेका बञ्जरा ०६१–६७ सम्म आफ्नै भिनाजुको लगानी रहेको गण्डकी ग्रुपअन्तर्गतको हेटौँडा कोल्ड रिट्रेडमा जागिरे रहँदा २२ लाख घोटला गरी कारबाहीमा परेका व्यक्ति हुन् । त्यसपछि मयुर इन्भेस्टमेन्टसँग जोडिएका बञ्जराले साढे चौतीस लाख हिनामिना गरेपछि कारबाहीको दायरामा तानिए । यसरी आफ्ना कर्तुतहरू एकपछि अर्को गर्दै खुल्न थालेपछि कम्पनीका सञ्चालकविरुद्ध उनले अनेक भ्रम फैलाउन थालेको बताइएको छ । पैसाका लागि गोपीराम जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने दाबी गर्दै राजेन्द्र, दीपक र आनन्दले ९८०३३२३६२ नम्बरको मोबाइलबाट बञ्जराकी पत्नीले अनेक धम्की दिँदै मानसिक तनावमा पारेकोसमेत जानकारी दिए ।

गृहका स्टोरमा कम्प्युटरको खात
अख्तियारमा लोकमान कार्कीको नियुक्तसँगै थर्कमान भएका भ्रष्टाचारी कर्मचारीमध्ये गृह मन्त्रालयका शाखा अधिकृत हीराकाजी श्रेष्ठ भने टममस नै गरेका छैनन् । गृह मन्त्रालयको स्टोर शाखामा लामो समयदेखि रजाइँ गरेर ब्रह्मलुट गरेका श्रेष्ठको कर्तुतबारे अख्तियार पनि जानकार रहिआएको छ । विगत लामो समयदेखि स्टोरमा बसेर रजाइँ गरेका श्रेष्ठलाई अख्तियारले आँखा गाडेर पनि उनी त्यही रमाइरहनुमा उनलाई धाप मार्ने ठूलै व्यक्ति भएको अनुमान गृहका कर्मचारीले गर्दै आएका छन् । गृहलाई आवश्यक पर्नेभन्दा सयौँ गुणा सामान खरिद गर्ने र बिग्रिएका सामान नयाँ मूल्यभन्दा महँगो बिलमा मर्मत गराएर कमिसन प्राप्त गर्ने हीराकाजीले त्यहाँ बसेर चाँदी कटाई गरिरहेका छन् । नेपालको छापाखानामा हुँदै नभएको मूल्य लगाएर छपाइ गर्ने, टोनर खरिदमा त्यही किसिमको अनियमितता गर्ने र एसी मर्मतमा नयाँ खरिद गर्दाभन्दा बढी बिल पेस गर्ने हीराकाजीको नामजस्तै उनले हीरा मात्र होइन मोती नै कमाउन थाले भनेर गृहमा चर्चा गर्ने गरिन्छ । गाडी मर्मतमा समेत लाखौँ रुपैयाँ कमिसन प्राप्त गर्ने हीराकाजीको ब्रह्मलुटलाई ढाकछोप गरी त्यहीँ राख्न र उनलाई आशीर्वाद प्रदान गर्न आन्तरिक व्यवस्थापनका उपसचिव शम्भु मरासिनी र सहसचिव भोला सिवाकोटी ज्यान फालेर लागेका छन् । सिवाकोटीको भ्रष्टाचार क्रियाकलापबारे गृहमन्त्री जानकार भएकै कारणले उनको सबै प्रक्रिया पुग्दा पनि सरकारको यसपटक सचिवमा बढुवा गरेन । सहसचिवमै यति भ्रष्टाचारी व्यक्ति भोलि सचिव भयो भने मन्त्रालय नै निल्न के बेर भनेर गृहका उच्च अधिकृतबीच छलफल भएकोसमेत बताइएको छ । गृह स्रोतले घटना र विचारलाई दिएको समाचारअनुसार शाखा अधिकृत हीराकाजीले उपसचिव शम्भु र सहसचिव भोलालाई बजेटबारे ब्रिफिङ गरेपछि फेरि ९० लाखबराबरको कम्प्युटर खरिद गरिएको छ । आफ्नै मान्छेलाई लाइन मिलाएर नामको मात्र टेन्डर गराइएको कम्प्युटरमा लाखौँको घोटाला भएको बुझिएको छ । गृहको स्टोरमा गत वर्ष खरिद गरिएका थुपै्र कम्प्युटर रहँदारहँदै हीराकाजीको सिफारिस र सहसचिव र उपसचिवको मिलेमतोमा ९० लाखको फेरि खरिद गरेर गोदाममा थन्क्याइएको छ । हीराकाजीको अनियमितताबारे बुझ्दा अख्तियारबाट पटकपटक काटिएको पत्र प्रशासनमै गायव बनाएर गृहसचिव नवीन घिमिरेलाई अन्जान बनाएर राखिएको छ । गृहसचिव अन्जान भए पनि हीराकाजीले भने जबसम्म नवीन गृहमा रहन्छन् तबसम्म आफूलाई कसैले हल्लाउन नसक्ने गुड्डी हाँक्ने गरेको बताइन्छ । केही दिनअघि एक सुरा जमघटमा पत्रिकाबाजी गरेर कर्मचारीले के गरे कमाउन भाग्यमा ल्याउन सक्नुपर्छ भन्दा अर्को टेबुलमा भएका अर्कै कार्यालयका कर्मचारीले जिब्रो टोकेका थिए । गृहबाट जिल्ला प्रशासनमा पठाउने राहदानी कार्यालयकै सहयोगीलाई बोकाएको रकमसमेत आफैँ झ्वाम पार्ने हीराकाजीको भ्रष्टाचारबारे गृहसचिव कानमा तेल हालेर बस्नुमा उनको पनि स्वार्थ लुकेको त छैन भनेर टीका–टिप्पणी हुने गरेको छ । दशैँअगाडि सेवानिवृत्त हुने गृहसचिवको मौनता र दशैंपछि सेवानिवृत्त हुने भोला सिवाकोटीको हीराकाजीप्रतिको ममतालाई लिएर गृहमा कर्मचारीले अनेक चर्चा मात्र होइन अड्कलबाजीसमेत गर्न थालेका छन् ।

मापसे गरी पत्रकारमाथि प्रहरी–ज्यादति
– विपन भण्डारी
‘प्रहरी भनेको आमसर्वसाधारणको साथी हो, सहयोगी हो । प्रहरी गुन्डा होइनन् डराउनुपर्ने । सरकारले जनताको सुरक्षाका लागि भनेर खटाएको एक असल कर्मचारी हुन् । त्यसैले सुरक्षाका क्षेत्रका आइपर्ने सानोभन्दा सानो समस्या प्रहरीलाई भन्न डराउनुहुन्न ।’
उपरोक्त अभिव्यक्ति दुई महिनाअघि बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक भीम ढकालले एक टीभी कार्यक्रममा दिएका थिए । जनताको साथी, सहयोगी भन्ने उनै डीएसपीले मादक पदार्थ सेवन गरी कार्यालयबाट घर फर्कंदै गरेका एक पत्रकारमाथि आफ्नो पदीय शक्ति र पहुँचको दुरुपयोग गर्दै अत्याचार गरेका छन् । बेकसुर सञ्चारकर्मीमाथि अत्याचार गर्न पछि नहट्ने डीएसपीको उपरोक्त अभिव्यक्तिलाई अब कसरी बुझ्ने ? प्रहरीबाट आमजनताले सुरक्षा पाएका छन् वा उनीहरूबाटै असुरक्षित बन्नुपरेको छ ? प्रश्न खडा भएको छ ।
यही साउन १० गते राति कार्यालयको काम सकेर घर फर्कंदै गर्दा तिनकुनेमा प्रहरीले पत्रकार टेकराज थामीलाई रोक्छ र सोधपुछ गर्छ । कुनै कमजोरी नगरेकाले थामी आफू सामान्य चेकिङमा परेको सोचमा थिए भने त्यहाँबाट छुटेर छिट्टै घर पुग्ने उनको ध्याउन्न थियो । तर, घटना यसरी विकसित हुन पुग्यो कि मापसेसमेत नगरेका थामी एकाएक मानवअधिकार उल्लङ्घनको सिकार बने । पत्रकार थामीका अनुसार तिनकुने चेकिङमा बसेका प्रहरीले उनलाई मोटरसाइकल रोक्न लगाई लाइसेन्स र बिलबुक झिक्न लगाए । साथै उनलाई मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर सोध्दा उनले ‘छैन, कार्यालयमा काम सकेर घर हिँडेको’ भन्ने जवाफ दिएका थिए । प्रहरीले लामो समयसम्म पनि विभिन्न बहानामा छामछुम पारिरहेपछि पत्रकार थामीले लाइसेन्स बिलबुक चेक गर्ने काम त ट्राफिक प्रहरीको होइन र भनेर प्रश्न मात्र के गरेका थिए प्रहरीले बहाना पाइहाले । ‘यो बढ्ता बोल्दोरहेछ’ भन्दै उनलाई पक्रन आदेश दिई वृत्तमा पु-याइहाले । प्रहरीलाई उद्धृत गर्दै पत्रकार थामीले भने, ‘डीएसपी ढकालले बढ्ता बोल्दो रहेछ, यसलाई थुन्दे भन्ने आदेश दिए ।’ यसरी बानेश्वर पु-याउनेबित्तिकै आफूलाई डीएसपी ढकालको निर्देशनमा दुई घन्टा हिरासतमा हत्कडी लगाएर राखेको थामीको आरोप छ । थामीका अनुसार निर्देशन दिने डीएसपी आफँै मापसे नसामा धुत्त थिए । यसरी जनतालाई सुरक्षा दिने प्रहरीले नै मापसे सेवन गरी राज्यको जिम्मेवार क्षेत्रमा काम गर्ने, आमजनतालाई सचेत गराउने पत्रकारमाथि नै अन्याय गर्छ भने सर्वसाधारणलाई प्रहरीले कति अत्याचार गरेको होला ? प्रश्न स्वत: उब्जन्छ ।
तर, यता डीएसपी ढकालले पत्रकार थामीमाथि दुव्र्यवहार नभएको दाबी गरेका छन् । थामीलाई वृत्तमा ल्याइएको बेला आफूले मापसे सेवन नगरेकोसमेत उनले दाबी गरे । ढकालले पत्रकार थामीलाई चेकजाँचको क्रममा वृत्तमा ल्याइएको र पत्रकार भन्ने थाहा पाएपछि आफन्त बोलाएर एक घन्टापछि जिम्मा लगाइएको जनाएका छन् । तर, यता थामीले भने आफूलाई हत्कडीसमेत लगाएर अन्य अपराधीको माझमा उभ्याइएको दाबी गरेका छन् ।
आमजनताको सहयोगी भन्ने प्रहरीले चेकजाँचको क्रममा अपशब्द प्रयोग गर्ने गरेका छन् । थामीको घटनामा पनि एक पत्रकारलाई प्रहरीले ठाडो शब्द प्रयोग गरेर बोलाएको बताइएको छ । यो उदाहरणले प्रस्टै हुन्छ कि आमजनता प्रहरीबाटै कति पीडित भएका छन् भन्ने ।
थामीको घटनालाई एउटा प्रतिनिधि घटना भन्दै यस्तो घटना नेपालमा दैनिकजस्तै हुने अनुमान गर्न सकिन्छ । प्रहरीले २४ घन्टा नै सतर्क बस्नुपर्ने हुन्छ किनभने उससँग राज्यको शान्ति र सुरक्षा जोडिएको छ । अझ काठमाडौंमा कार्यरत वृत्तका प्रहरीहरूको जिम्मेवारी झन् बढी छ । किनभने राजधानीको सुरक्षा व्यवस्था र यहाँ बढ्दो आपराधिक क्रियाकलापलाई मध्यनजर गरेर प्रहरी रातदिन चनाखो बस्नुपर्ने हुन्छ । तर, बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक डीएसपि भीम ढकाल थामीलाई वृत्त पु-याउँदा मदिराको नसामा थिए । यति नसामा थिए कि एक निर्दोषलाई चौकीमा पु-याइँदा विवेक प्रयोग गरेर उसलाई तत्काल न्याय दिन ढकाल असफल भए । यस्ता गैरजिम्मेवार प्रहरीकै कारण समग्र प्रहरी प्रशासन बद्नाम भइरहेको प्रहरीहरूकै भनाइ छ । एकजनाको गल्तीले समग्र प्रहरीको कार्यशैलीमै प्रश्नचिह्न खडा भएको छ । यस्ता घटाना नरोकिए आमजनताको प्रहरीबाट भरोसा उठ्दै जाने पक्का छ ।

विशालबजारमाथि अख्तियारको फन्दा
अख्तियार अनुसन्धान आयोगले विशालबजार कम्पनी लिमिटेडका कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । लिमिटेडको कार्यालयमा छापा हानी आयोगले आर्थिक करोबारका महत्वपूर्ण कागजातहरू आफ्नो नियन्त्रणमा लिएको हो । बिशालबजार भवन भएको आठ रोपनी चार आना जग्गाबापत हुन आउने रकमको सेयर नेपाल सरकारका नाममा ६ महिनाभित्र कायम गर्न सर्वोच्च अदालतले तीन वर्षअघि दिएको आदेश कार्यान्वयन नभएको र पसल भाडामा दिँदा अनियमितता गरिएको आशङ्का अख्तियारले गरेको छ ।
पसल कवलहरू भाडामा लगाउँदा पारदर्शी एवम् प्रचलित कानुनको पालना नभएको भन्दै सर्वोच्चको ०६७ वैशाख २४ गते भवन भएको आठ रोपनी चारआना जग्गाबापत हुन आउने रकमको सेयर नेपाल सरकारका नाममा ६ महिनाभित्र कायम गर्न फैसला भए पनि लिमिटेडले सो फैसलाको कार्यान्वयन गरेको छैन । नियन्त्रणमा लिइएको कागजपत्रबाट अनुसन्धान भइरहेको र सत्यतथ्य बाहिर ल्याइने अख्तियारका सहन्यायाधिवक्ता एवम् प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विशालबजार कम्पनी लिमिटेड सरकारी स्वामित्व रहेको विभिन्न संस्थाहरूको ३४ प्रतिशत सेयर रहेको संस्था भएकाले उसको कामकारबाहीमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ लागू हुने अख्तियारले जनाएकोे छ । विशालबजारमा तीन सय ४६ वटा पसल कवल छन् ।

मतदानमा भाग लिई राम्रो नेपालको निर्माण गर्न राजदूत बोडीको सुझाव
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू. बोडीले गत साता कैलाली र कञ्चनपुरको भ्रमण गरी स्थानीय सरकारी अधिकारी, व्यवसायी तथा गैरसरकारी संस्थाहरूसँग भेटघाट गर्नुभएको छ । भ्रमणका क्रममा राजदूत बोडीले आगामी मङ्सिरमा हुने चुनावका लागि उक्त क्षेत्रले गरिरहेका तयारीबारे जानकारी लिनुका साथै कार्टर सेन्टरका पर्यवेक्षकहरूलाई भेट्नुभएको दूतावासले जनाएको छ । उक्त क्षेत्रमा बेचबिखनविरुद्ध भइरहेका कार्यबारे पनि उहाँले सेफ माइग्रेसन नेटवर्कबाट जानकारी लिनुभएको थियो । राजदूत बोडीले द्वन्द्वपीडितहरूका लागि कार्य गर्ने नेपाल नेसनल सोसियल वेलफेयर एसोसिएसनको कार्यालय भ्रमण पनि गर्नुभयो । अमेरिकी सरकारले यी सबै कार्यक्रमका लागि सहयोग प्रदान गर्दछ ।
यसैगरी, कैलाली उद्योग वाणिज्य सङ्घ पुगी राजदूत बोडीले सङ्घका सदस्यहरूसँग भेटघाट गर्नुका साथै सङ्घको भवनमा अवस्थित अमेरिकी सरकारको सहयोगमा सञ्चालित पुस्तकालय ‘अमेरिकन कर्नर धनगढी’को अवलोकन गर्नुभयो । यस्तै, कञ्चनपुर भ्रमणका क्रममा राजदूत बोडीले नेपाल इंग्लिस ल्याग्वेज टीचर्स एसोसिएसन (नेल्टा) को नयाँ कार्यालयको अवलोकन गर्नुभयो । अमेरिकी सहयोगमा सञ्चालित इंग्लिस एक्सेस लघुछात्रवृत्ति कार्यक्रमका विद्यार्थीसँग उहाँले वृक्षारोपण गर्नुभयो । सो क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति डा. जयराज अवस्थीसँग भेटघाट गरी विश्वविद्यालयको विकासका योजनाबारे बुझ्नुभयो भने सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्दै राजदूत बोडीले आगामी मङ्सिरमा हुने चुनावमा सहभागी हुन आग्रह गर्नुभयो । राजदूत बोडीले विद्यार्थीलाई सम्बोधन गर्दै भन्नुभयो, ‘आगामी निर्वाचनमा तपाईंहरूको आवाज सुनिनुपर्दछ । आफ्नो मताधिकारको प्रयोग गरेमा र अरूहरूलाई पनि प्रयोग गर्न दिइएमा अझ राम्रो नेपालको निर्माण हुनेछ ।’

स्कुलचौन उमाविका लागि साढे चार करोडको सम्झौता
नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै झापाको महारानीझोडास्थित स्कुलचौन उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि मित्रराष्ट्र भारतले चार करोड ४७ लाखभन्दा बढी आर्थिक अनुदान प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा गत साता काठमाडौंस्थित भारतीय राजदूतावास, झापा जिविस र श्री स्कुलचौन उमाविबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सन् १९६५ मा प्राथमिक विद्यालयको रूपमा स्थापित तथा सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको स्कुलचौन उच्च माध्यमिक विद्यालयमा हाल उपलब्ध पूर्वाधार जीर्ण र त्यहाँ अध्ययनरत सबै विद्यार्थी तथा अध्यापकका निम्ति अपर्याप्त रहेको परिवेशमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिने नयाँ भवनबाट विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरू उपलब्ध भई करिब आठ सयभन्दा धेरै विद्यार्थीलाई सहज शैक्षिक वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ । यसबाट जिल्लाको शैक्षिक विकासमा योगदान पुग्ने स्थानीयवासीको विश्वास छ । उल्लेखित परियोजना झापा जिविसद्वारा नेपाल सरकारको विद्यमान नीति–नियमअनुसार कार्यान्वयन गरिने र परियोजनाको गुणस्तरीयता तथा समयमै समापनका लागि समेत उल्लेखित निकाय जिम्मेवार रहने सम्झौतामा उल्लेख गरिएको छ ।
यस परियोजनाका अतिरिक्त भारत सरकारको २५ करोडभन्दा बढीको लागतमा झापामा अन्य एघार परियोजना सम्पन्न भइसकेका छन् भने विद्यालय भवन, शीतभण्डार, सडक तथा ट्युववेल जडानसमेत गरी २१ करोड ५४ लाखका आठ परियोजना निर्माणाधीन छन् । भारतले आठवटा एम्बुलेन्ससमेत झापालाई प्रदान गरेको छ ।
यसैगरी, नेपालमा चालू तराई सडक परियोजनाको प्रथम चरणअन्तर्गत झापामा मित्रराष्ट्र भारतले ३९.६ किलोमिटर लामो सडक (चारआली–चन्द्रगढी–केचना) निर्माण गर्दै छ । परियोजनाले भारतको करिब ११ अर्बको वित्तीय सहयोगमा तराईका जिल्लाहरूमा कुल ६ सय ५ किलोमिटर लम्बाइ भएको १९ वटा लिङ्क/हुलाकी सडकहरू निर्माण गर्ने लक्ष्य राखेको छ ।

कन्भर्सेसन्समा कवि युयुत्सु
‘अङ्ग्रेजीमा कविता लेख्ने हुँदा न्यानो स्वागत पाएँ’
भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको संयुक्त आयोजनामा हुँदै आएको ‘कन्भर्सेसन्स’ कार्यक्रमको सातौँ संस्करण नेपाल–भारत पुस्तकालयमा गत साता आयोजना भयो । प्रख्यात कवि युयुत्सु आरडी शर्मा र सञ्चारकर्मी शरद प्रधान मुख्य आकर्षण रहेका ‘कन्भर्सेसन्स’मा कवि युयुत्सु आरडीको कृति, जीवनवृत्ति र जीवनका विविध पक्षहरूमा प्रकाश पारिएको थियो । कार्यक्रमको सुरुमा नेपाल पर्यटन बोर्डका सञ्चार सल्लाहकार शरद प्रधानले कवि युयुत्सु शर्मा भारतीय कवि भएर पनि नेपालमा कसरी सफल हुनुभयो भन्ने जानकारीसहित उहाँको व्यक्तिगत जीवनलाई नजिकबाट चित्रण गर्नुभयो भने कवि शर्माले विगतका वर्षहरूको स्मरण गर्दै पञ्चायतकालमा पहिलोपटक नेपाल आएकोदेखि तात्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठान (हाल नेपाल प्रज्ञा–प्रतिष्ठान)का कुलपति राष्ट्रकवि माधवप्रसाद घिमिरे, युगकवि सिद्धिचरण श्रेष्ठ र भूपि शेरचनजस्ता कविहरूसँगको भेट हुँदाका क्षणको स्मरण गर्नुभयो । ‘तत्कालीन समयमा मूलत: अङ्ग्रेजीमा लेख्ने कवि हुनाले मलाई नेपालमा न्यानो स्वागत गरिएको थियो, किनकि त्यस समयमा नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्ने कविहरू यहाँ अत्यन्त न्यून थिए,’ कन्भर्सेसन्समा शर्माले खुलासा गर्नुभयो ।
शरद प्रधानले शर्मालाई नजिकबाट चिनारी गराउने क्रममा शर्माको नेपाली काव्ययात्रा, नेपालमा कविताको जीवनवृत्तिको सम्भावना, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त महोत्सवहरूमा शर्माको सहभागिता तथा पश्चिमा विश्वविद्यालयहरूमा उहाँको शिक्षण अनुभव आदिबारेमा जानकारी दिन आग्रह गर्नुभयो ।
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको सचिव तथा भारतीय राजदूतावास प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथमसचिव अभय कुमारले शर्मा र प्रधानले आफ्ना अमूल्य समयसहित कन्भर्सेसन्समा सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित पोएमाण्डु, सिनेमाण्डु तथा भोइसेजजस्ता कार्यक्रमहरूको बढ्दो ख्यातिबारे मन्तव्य दिनुभएको थियो । वक्ता तथा श्रोताहरूबीचको गहन छलफलसहित कार्यक्रम समापन भएको थियो ।

निर्वाचनका लागि तरुण जागरण अभियान
धनकुटा/ संविधानसभाको दोस्रो निर्वाचनलाई मध्यनजर राख्दै नेपाली काङ्ग्रेस धनकुटाले तरुण जागरण अभियान सञ्चालन गरेको छ । निर्वाचन सफल बनाई संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्ने उद्देश्यले सुरु गरिएको तरुण जागरण अभियानको धनकुटाको भेडेटारमा नेपाली काङ्ग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठले शुभारम्भ गरे ।
नेपाली काङ्ग्रेस क्षेत्र नं. १ धनकुटाका सभापति गोविन्द्र कार्कीको सभापतित्वमा आयोजित तरुण जागरण अभियान शुभारम्भ कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका सचिव नवीनकिशोर शाक्यले नेपाली काङ्ग्रेसको भूमिका, प्रचार विभाग प्रमुख विजयसन्तोषी राईले संविधानसभाको निर्वाचनमा तरुणको भूमिका, तरुण दलका पूर्वकेन्द्रीय सदस्य कमोठ फागोले वर्तमान राजनीतिक परिस्थिति र जिल्ला उपाध्यक्ष दिनेश राईले तरुण दलको इतिहास र वर्तमान विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा क्षेत्रीय सचिव जितेन्द्र राईले तरुण जागरण अभियानको विषयमा प्रकाश पारेका थिए भने नेपाली काङ्ग्रेस धनकुटाका पूर्व जिल्ला सदस्य महेन्द्र श्रेष्ठ र तरुण दल भेडेटारका सदस्य धीरज मगरले मुलुक गम्भीर सङ्कटमा परेकाले तरुण जागरण अभियान आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्र निर्माणमा तरुण शक्ति परिचालित गर्दै संविधानसभाको निर्वाचनका लागि नेपाली काङ्ग्रेस धनकुटाले सहरदेखि गाउँ–गाउँसम्म तरुण जागरण अभियान निर्वाचन सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्ने बताइएको छ ।
यसैबीच, नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र धनकुटाद्वारा धनकुटामा आयोजित कार्यक्रममा ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्रका नेता तथा कार्यकर्ताले नेपालमा अहिले दिन प्रतिदिन ट्रेड युनियन आन्दोलन कमजोर भइरहेको बताएका छन् । नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्रतका केन्द्रीय कोषाध्यक्ष ध्रुवचन्द्र गौतमले ट्रेड युनियनकर्मीहरू विभाजित भएकाले ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएकाले राष्ट्रको शक्तिको रूपमा रहेको ट्रेड युनियन शक्तिलाई पुनस्र्थापित गर्न आवश्यक रहेको बताए भने केन्द्रीय सदस्यहरू तारा राई, सञ्जय मिश्र, नेपाल शिक्षक सङ्घ धनकुटाका अध्यक्ष गंगाराम ढुङ्गाना, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव विजयसन्तोषी राई, शिक्षक युनियन धनकुटाका सचिव हरि दाहालले श्रमको अवमूल्यन भइरहेको भन्दै राज्यले श्रमको सम्मान गर्नुपर्ने माग उठाए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र धनकुटाका अध्यक्ष विगेन्द्र याक्खाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष यानिन्द्र तिगेला, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष मोहन वान्तवालगायतले जिल्लामा ट्रेड युनियन आन्दोलनबारे प्रकाश पारेका थिए
– विजय राई

प्रहरी पहलमा सडकमा सीसीटीभी
महानगरको चाबहिल चोकदेखि जोरपाटीसम्म र बौद्ध स्तुपा एरियामासमेत महानगरीय प्रहरी वृत्त बौद्धको सक्रियतामा आधुनिक प्रविधियुक्त ‘इन्टिग्रेटेड सेक्युरिटी सिस्टम’सहितको सीसीटीभी जडान गरिएको छ । विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा चावहिल चोकदेखि जोरपाटीसम्म १९ तथा बौद्धस्तुपा परिसरमा १६ वटा क्यामेरा जडान गरेर महानगरीय प्रहरी कार्यालय बौद्धको नेटवर्कमा आवद्ध गरी सञ्चालनमा ल्याइएको हो । सो सीसीटीभीको उद्घाटन गर्दै महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले शान्तिसुरक्षा बहालीमा सघाउ पुग्ने विश्वासका साथ सो क्षेत्रमा यसरी सीसीटीभी जडान गरिएको बताए ।

भूमाफियाबाट बचाउन बगरलाई सिमसार बनाइँदै
नवलपरासी जिल्लाको दाउन्नेदेवी गाविसका स्थानीय वासिन्दा खजुराखोलाको बगरलाई सिमसार बनाई संरक्षण गर्ने कार्यमा लागेका छन् । दाउन्नेदेवी गाविसका सातवटा वडा भएर बग्ने खजुराखोलाका किनारमा रहेको बगर र खाली जग्गा भूमाफियाको अतिक्रमणमा परकाले स्थानीयवासी बगरलाई सिमसार बनाउन कस्सिएका हुन् । दाउन्ने बनक्षेत्रबाट बग्ने खजुराखोलाको करिब १० किलोमिटर क्षेत्र दाउन्नेदेवी गाविसमा पर्ने र त्यहाँका बगर र सार्वजनिक क्षेत्रलाई ‘निजी’ तुल्याएर दर्ता गरी भूमिफयाहरूले अतिक्रमण र बेच्ने काम थालेकाले जग्गा संरक्षणका लागि सिमसार अभियानमा लागेको दाउन्नेदेवी सिमसार संरक्षण मञ्चका अध्यक्ष सुरबहादुर भण्डारीले बताए ।

होटलमा बास बस्न परिचयपत्र अनिवार्य
रुपन्देही/ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले होटलमा बास बस्न आउने पाहुनालाई अनिवार्य रुपमा परिचयपत्र लागु गर्ने निर्णय गरेको छ । सङ्घको आयोजनमा प्रहरीसँगको अन्तरक्रिया कार्यक्रममा संघले होटलबाट हुने अपराध न्युनीकरण र व्यवसायिक सुरक्षाका लागि आगन्तुक पाहुनालाई अनिवार्य परिचयपत्र लागु गर्ने सहमति गरेको हो । होटलमा बास बस्न आउने पाहुनासँग उसको परिचय खुल्नेगरी परिचयपत्र वा निजको वास्तविक जानकारी हुनेगरी आगन्तुक पुस्तिकामा इन्ट्री गर्नुपर्ने निर्णय सङ्घले गरेको छ ।
त्यस्तै, सुरक्षित बुटवल बनाउन व्यबसायिक आचारसंहिता कडाईका साथ लागु गर्ने, व्यवसायिक अनुगमनलाई पूर्णरुपमा पालना गराउन अनुगमनलाई प्रभावकारी बनाउने, होटल तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारीको हकमा तीन महिनासम्म मालिकले निजको जिम्मेवारी लिने त्यसपछि ६ महिना पुगेपछि सङ्घले परिचयपत्र उपलब्ध गराउने पनि निर्णय सङ्घले गरेको छ । पेशा व्यवसाय गर्ने नाममा गलत गरेका व्यवसायीहरूलाई सङ्घको सहयोगमा प्रहरीलाई कारवाहीका लागी अनुरोध गर्ने र सङ्घले समेतसंस्थाबाट कारवाही गर्ने निर्णय सङ्घले गरेको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले सङ्घले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गरेमा बुटवलको अपराध नियन्त्रणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रहरीको उद्देश्य व्यवसायीलाई निरुत्साही गर्ने नभई व्यवसायीको व्यबसायलाई प्रवद्र्धन गर्ने हो भन्दै उनले प्रहरी र होटल व्यबसायीबिच समन्वय जरुरी रहेको धारणा राखे । सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापत्विमा भएको कार्यक्रममा महासचिव समुन्द्र जिसी, प्रेस सल्लाहकार यमलाल भुसाल, उपाध्यक्ष केशवराज ज्ञवाली, व्यवसायी बाबुराम गौतम, रामप्रसाद गौतम, नन्दलाल पोखरेल, रेशम थापा, प्रेम भट्टराई, अर्जुन थापा, उमानाथ घिमिरे, प्रेम बन्जाडे, रोमाकान्त चापागाईं र नेमा लामाले व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका थिए ।
– चन्द्रकान्त खनाल

आपराधिक घटना वृद्धि आत्महत्यामा कमी
झापा/ झापाको दमक आसपासका क्षेत्रमा आपराधिक गतिविधिहरू बढ्दै गएको देखिएको छ । इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको विभिन्न आपराधिक घटनाहरूको तुलनात्मक प्रतिवेदनमा आपराधिक घटना वर्षेनी बढेर गएको देखिएको छ । ‘तीन वर्षको प्रतिवेदनमा वर्षेनी त्यस्ता घटनाहरू वृद्धि भएका छन्,’ कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजन अधिकारीले भने, ‘मुद्दा दर्ताको विवरण हेर्दा यस क्षेत्रमा आपराधिक घटना बढेका छन् ।’
कार्यालयको तथ्याङ्कमा ०६७/६८ मा मुद्दा दर्ता एक सय ७१, ०६८/६९ मा एक सय ७३ र गएको आर्थिक वर्ष ०६९/७० मा १ सय ९४ मुद्दा दर्ता भएका छन् । ती दर्ता मुद्दामध्ये ०६७/६८ मा एक सय ६८, ०६८/६९ मा एक सय चार र ०६९/७० मा एक सय ३० मुद्दा फस्र्योट भएको जनाइएको छ । मुद्दाका घटनाहरूमध्ये केही सार्वजनिक अपराधका घटना बढी रहेको पाइएको छ । त्यस्तै झुन्डिएर आत्महत्या, सवारी ज्यान, जबर्जस्ती करणी, लागूऔषधलगायतका घटनाहरू बढी हुने गरेका छन् ।
कार्यालयका अनुसार तीन वर्षको अवधिमा सबैभन्दा बढी रहेको केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा एक सय ११ मुद्दा दर्ता भएको उल्लेख छ । त्यस्तै सवारी ज्यानमा ७३, जबर्जस्ती करणी ३५ घटना भएका छन् । प्रहरीले तीन वर्षको प्रतिवेदनमा अहिलेसम्म कालोबजारी गर्नेउपर एउटा मुद्दा चलाएको देखिएको छ । त्यसैगरी लागूऔषधका घटना ०६७ मा चार, ०६८ मा दई र ०६९ मा १४ रहेका छन् । बहुविवाह तीन वर्षमा १७ वटा दर्ता भएको उल्लेख छ । त्यस्तै तीन वर्षमा बालविवाहको घटना एउटा मात्रै दर्ता भएको थियो ।
‘अधिकांश सार्वजनिक अपराधका घटना बढेका छन्,’ कार्यालय प्रमुख डीएसपी अधिकारीले भने । त्यस्तै प्रहरीले तीन वर्षमा एउटा मात्र जुवासम्बन्धी मुद्दा चलाएको छ भने अप्राकृतिक मैथुन, कुटपिट, अङ्गभङ्ग एक/एकवटा मुद्दा चलाएको उल्लेख छ । ‘धेरै मुद्दा फस्र्योट भएका छन्,’ डीएसपी अधिकारीले भने, ‘प्रहरीले सबै घटनाको अनुसन्धान पु-याएर मात्र मुद्दाका प्रक्रियामा जान्छौँ ।’
तीन वर्षको प्रहरीको प्रतिवेदनमा दमक आसपासमा आत्महत्याका घटनादर भने घटेको देखिएको छ । तीन वर्षमा पछिल्लो वर्षमा आत्महत्याको घटनामा कमी आएको पाइएको छ । प्रहरीले तीन वर्षमा ०६७ देखि २०६९ सालभरिका आत्महत्याका घटनामा कमी आएको जनाएको छ ।
०६७ मा ३४, ०६९ मा ३५ र ०६९ मा २६ वटा आत्महत्यामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या सो रहेको प्रहरीको तथ्याङ्कमा छ । त्यसैगरी भवितव्य ज्यानसम्बन्धी घटनामा ०६७ मा १४, ०६८ मा १८ र ०६९ मा १३ रहेको छ । विष सेवन गरी आत्महत्या गर्ने घटना ०६७ मा आठ, ०६८ मा सात र ०६९ मा ६ जना रहेका छन् । त्यस्तै आगो लगाएर आत्महत्या गर्ने तीन वर्षमा दुई रहेका छन् ।

‘दुई स्वर : एक लहर’ काव्य यात्रा सम्पन्न
नेपाली भाषाका स्रष्टाहरू र अङ्गे्रजी भाषामा सिर्जना गर्दै आइरहेका साहित्यकारहरूका माझमा परस्पर सुमधुर सम्बन्ध सेतु विस्तार गर्दै जाने अभिप्राय राखेर सञ्चालित हुँदै आइरहेको ‘दुई स्वर : एक लहर’ काव्य यात्रा हालै सम्पन्न भयो ।
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, नेपाल र एनओएनको संयुक्त आयोजनामा भएको उक्त काव्ययात्राको सभाध्यक्षता प्रा.डा. पद्मप्रसाद देवकोटाले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यमाथि निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदासले प्रकाश पार्नुभएको थियो ।
समारोहमा कवि डा. शैलेशप्रकाश नेपाल, किशोर पहाडी, विमल भौकाजी, रामेश्वर राउत मातृदास, बाबा बस्नेत, भीष्म उपे्रती, डा. अमरराज जोशी, युवराज मैनाली, मुरारीप्रसाद सिग्देल, वसन्त लोहनी, बलबहादुर थापा, यादव भट्टराई, केशव सिग्देल, कृष्ण सापकोटा, अतिन्द्र यादव, सञ्जयकुमार झा, गे्रगोरी पे्रक (स्लोभानिया), दीपेन्द्र अधिकारी, प्रकाश सुवेदी आदि कविले कविता वाचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष डा. पद्म देवकोटाले यस किसिमका सिर्जनात्मक कामले समाजमा भावनात्मक सहयोग र समन्वय विस्तार हुने बताउनुभयो । कार्यक्रम पोखरा विश्वविद्यालयको सभाकक्षमा सम्पन्न भएको थियो ।

बन्दना र नवीनलाई पितृशोक
नेपालमा लायन्स क्लबका संस्थापक समाजसेवी मनवीरसिंह पन्थीको निधन भएको छ । साथी संस्थाकी अध्यक्ष बन्दना राणा र मिडिया एड्भोकेसी ग्रुप (म्याग)का उपाध्यक्ष नवीन सिंहका ८० वर्षीय बुबा स्वर्गीय पन्थी सक्रिय जीवन बाँचिरहनुभएको थियो । उहाँको देहान्त हृदयाघातका कारण भएको बुझिएको छ । स्वर्गीय मनवीरसिंहका श्रीमती, दुई छोरी र दुई छोरा छन् ।

रूपन्देहीमा अटोभिलेज सञ्चालन हुने
रूपन्देही/ सिद्धार्थनगर–९ गोनहियामा सिद्धार्थ अटो भिलेज स्थापना हुने भएको छ । सिद्धार्थनगर नगरपालिका र नेपाल अटोमेकानिक्स ट्रेड युनियनबीच अटोभिलेज स्थापनाका लागि सम्झौता भएको हो । सम्झौतामा नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई र युनियनका अध्यक्ष गोमानसिंह सारुमगरले हस्ताक्षर गरेका छन् ।
करिब आठ बिघा जग्गा क्षेत्रफलमा सञ्चालन हुन लागेको अटोभिलेज नेपालकै नमुना हुने अधिकृत राईले बताए । भैरहवामा अव्यवस्थित रहेको अटोमेकानिक्सलाई लामो समयको कसरतपछि अहिले व्यवस्थित गर्न लागिएको हो । भैरहवामा तीन सय पचासको सङ्ख्यामा अटो व्यवसायी रहेको युनियनका अध्यक्ष सारुमगरले बताए । बजेट अभावका बाबजुद अटोभिलेज व्यवस्थित गर्न नगरपालिकाले क्रमश: बाटोघाटो, बिजुलीको व्यवस्था गर्ने अधिकृत राईले बताए । अटोभिलेजको व्यवस्थापनसँगै बुद्धचोकलगायत नगर सुन्दर स्वच्छ बन्ने अपेक्षा गरिएको छ ।