ताप्लेजुङमा विद्युत् र इन्टरनेट सेवा ठप्प

ताप्लेजुङमा विद्युत् र इन्टरनेट सेवा ठप्प


ताप्लेजुङमामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् ।

केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन ।

इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प छ । विद्युत् र इन्टरनेट दुईवटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन् ।

विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिक खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको बताइएको छ ।

फुङलिङवासी फोहोर पानी पिउन बाध्य

यसैगरी ताप्लेजुङको सदरमुकाम फुङलिङमा खानेपानीको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष वर्षात्को समयमा धमिलो पानी उपभोग गर्न बाध्य हुँदै आएका सदरमुकामवासी यो वर्ष पनि फोहोर पानी पिउन बाध्य छन् ।

वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान व्यवस्थित र दिगो नभएकाले वर्षात्को समयमा धमिलो तथा फोहोर पानी आउने गरेको छ । हिउँदका महिनामा पनि फोहोर मिसिएको र वर्षात्का समयमा पनि भल मिसिएको पानी उपभोग गर्नुपर्दा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

यो वर्ष पनि जेठदेखि नै ठूलो वर्षा हुनासाथ धमिलो पानी आउने गरेको छ । नजिकै धारा तथा कुवा हुनेले त्यहाँको पानी बोकेर उपभोग गर्दै आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन् ।

फोहोर पानी उमालेर वा फिल्टर गरेर पिउँदा पनि कहिलेकाहीँ स्वास्थ्यमा नै समस्या आउने गरेको स्थानीयवासीको भनाइ छ । सदरमुकामनजिकै पर्ने हाङ्देवास्थित देवीखोलाको पानी जम्मा गरेर सदरमुकाममा वितरण गरिँदै आएको छ ।