पाठकमा ऊर्जा भर्ने उपन्यास– रमेश पौडेल

पाठकमा ऊर्जा भर्ने उपन्यास– रमेश पौडेल


bicharसाहित्य अनुत्पादक हुन्छ भन्ने मिथकलाई तोड्दै अब एउटा शक्तिशाली कृति नेपाली पाठकमाझ आएको छ । छोटो संवाद, विम्ब र उपमाले सुसज्जित अत्यन्त सुरुचिपूर्ण कृति जुन पढ्दा पाठकलाई ऊर्जावान् भएको महसुस हुनेछ । यो चर्चा हो पुण्यप्रसाद प्रसार्इंको उपन्यास ‘युद्धका डोबहरू’को । यो आख्यान हो र नजिकको देउता हेला भनेझैं नगरी भन्ने हो भने यो विश्वस्तरको आख्यान हो । यदि विश्वसाहित्य बुझेको एउटा पाठकले ‘युद्धका डोबहरू’ पढ्छ भने उसले यसमा त्यही स्वाद पाउनेछ ।
‘सम्राट बन्ने या भिखारी ? त्यो मानिसको छनोटमा भरपर्छ । व्यक्तिले आपूलाई जस्तो बनाउन चाह्यो त्यस्तै बन्न सक्छ । हरेक मानिस आफ्नो निर्माता आपैँ हो । हरेक मानिस आफ्नो भगवान् आपैँ हो । तपाईंसँग सफलताका लागि दृढसङ्कल्प छ भने संसारमा कसैले तपाईंलाई रोकेर राख्न सक्दैन ।’ यो उपन्यासले भनेको कुरा हो ।
साहित्यिक शैली सुबोधिनी छ । उनका पात्र साधारण पाठकले बुझ्न सक्नेछन् । कथानक वर्णन गर्ने अद्भूत कौशल छ र पूर्ण सजीवता पनि । आधुनिक ढङ्गको वाक्यावली र शैलीको प्रयोग गरेका छन् । प्रसाईंले गम्भीर र प्रेरणाप्रद विचार सरल तथा सरस भाषामा व्यक्त गरेका छन् । त्यसैले उनका रचना पढेर आनन्द पाउन सकिन्छ । पाठकको कल्पना र तर्कशक्तिले एकसाथ काम गर्छ । उनले यस उपन्यासमा आफ्ना देशवासीको हीन भावनाको भत्र्सना गर्दै गर्न सकिँदैन ठूलो सपना देख्नु हुँदैन भन्ने जडवादको निन्दा गरेका छन् ।
यस उपन्यासका दुई पात्र रोशन र जुलियासँग आ–आफ्नो सपना छ र त्यही सपनाको खोजीमा नेपाल घुम्छन् । घुमघाममा उनीहरूसँग यस्ता पात्र र प्रवृत्तिको भेट हुन्छ कि उपन्यास अद्भूत हुन पुग्छ । हिमालिनी यस उपन्यासकी तेस्रो मुख्य पात्र हो जो मल्टिपल पर्सनालिटीको सिकार छे । उसको एउटा चरित्र आस्तिक छ र अर्को छ बदला लिनुपर्छ बदला नै अन्तिम सत्य हो भन्ने । अर्को पात्र छ लोचन जो भ्रमण गर्न रुचाउँछ र यात्रामा अनेकानेक केटीसँग समागम भएको गफ लाउने आदत हुन्छ । त्यस्तै अर्को पात्र अच्छेलाल छ जसको परिवारको एउटा सपना हुन्छ, गाई किन्ने । जुन गाई किने उनीहरू जमिनदार हुन्छन् तर उनीहरू पाँचपुस्तादेखि सपना देख्छन् तर पैसा जुटाएर गाई किन्ने बेलामा सास भएको चिज मर्छ भनेर किन्दैनन् र सबै पैसा रक्सी खाएर सिध्याउँछन् । यहाँ ठिन्लेको साकार भएको सपना छ र छ चञ्चलीको सङ्घर्ष सफलताको कथा पनि ।
यो उपन्यासमा दुई किसिमका पात्रहरू छन् एक सपना भएका र सपना नभएका ।
उपन्यास सपनाको खोजबाट सुरु हुन्छ । रोशन एउटा भर्खर बाइस वर्षको युवक छ । एकदमै जिनियस यस युवकले आफ्नो शक्ति र क्षमता बिर्सेको हुन्छ । सपनाको खोजमा निस्केकी एक अमेरिकन केटी जुलियासँग भेट भएपछि उसलाई आफ्नो शक्तिको पुन: पहिचान हुन्छ र ऊ एउटा उपन्यास अङ्ग्रेजीमा लेखेर त्यसलाई अमेरिकाको कुनै ठूलो पब्लिसिङ हाउसबाट प्रकाशित गर्न चाहन्छ । र, बिक्री लक्ष्य राख्छ, ट्वान्टी मिलियन कपिज् । ऊ बुक बेचेर एउटा प्लेन किन्न चाहन्छ । किनकि ऊ जुलियालाई प्रेम गर्छ । र, जुलियो प्राइभेट प्लेन भएको मानिससँग मात्र बिहे गर्न चाहन्छे । यो उसको सपना हुन्छ । जुलिया अमेरिकाबाट सपनाको खोजमा नेपाल आएकी हुन्छे । उसलाई भविष्यवेत्ताले भनेको हुन्छ, तिमी नेपाल गयौ भने लाइट भेट्छ्यौ र त्यो लाइट भेटेपछि तिम्रो बिहे प्राइभेट प्लेन भएको मानिससँग हुन्छ ।
पूरा उपन्यास ठूलो सपना देख्ने र आपूmमाथि र आफ्नो क्षमतामाथि विश्वास गर्ने कुरामा जोड दिन्छ । उपन्यासले भन्छ के–कसरी काम गर्ने भन्ने कुरामा धेरै चिन्ता नगरी सर्वप्रथम सपना देख्नुस् । उपन्यासले भन्छ, तपाईंले आफ्नो व्यवहार बदल्नुपर्दैन बस आफ्नो कल्पना बदल्नुस्, तपाईंको व्यवहार तपाईंको जीवन आपैmँ बदलिनेछ ।
तपाईंजस्तो कल्पना बारम्बार गर्नुहुन्छ तपाईंको व्यवहार पनि त्यस्तै बन्दै जान्छ । त्यसकारण तपाईंले व्यवहार बदल्ने होइन आफ्नो नकारात्मक कल्पना बदल्नुहोस् । तपाईंको कल्पनाले सकारात्मक या नकारात्मक, रचनात्मक या विध्वंसक, यस्ता छविहरू, व्यवहारहरू र प्रतिक्रियालाई जन्मदिन्छ जसको प्रभाव तपाईंको जिन्दगीमा र सम्बन्धमा पर्छ । तपाईंको प्रतिक्रिया त्योसँग जोडिएको भावना र कल्पनाले निर्धारण गर्छ ।
कोही आज असफल छ, दु:खी र निराश छ भने यसको कारण उसको यस्तो विश्वासको कारणले भएको हो । बच्चादेखि उसले यस्तो सिक्यो, यहाँ केही हुनेवाला छैन, जतिसुकै उफ्रौँ कुवाको भ्यागुता कुवामै, मनका लड्डु घ्यूसँग नखा, यसले केही गर्ला जस्तो छैन । जन्मेदेखि यस्ता मात्र कुरा सुनेर हामीलाई यस्तैमा विश्वास भएको छ । केही महान् कुरा हुन सक्छ भन्नेमा हामीलाई विश्वास नै लाग्दैन । हामीलाई आपूmप्रति विश्वास नै छैन । जब कोही मानिस आपूmलाई विश्वास गर्दैन उसलाई अरूले कसरी विश्वास गर्छ । कोही माथि उठ्न सकेका छैन, व्यापार असफल छ, पढाइ ठीक छैन, गरिब छ, घर या कार किन्न सकेको छैन भने यसको मुख्य कारण हो उसको गलत विश्वास । उसको भ्रम । आफ्नो असीमित शक्तिको गलत मूल्याङ्कन नै हाम्रो दु:खको कारण बनेको हो । तपाईंका लागि सबैभन्दा घातक कुरा आपूmलाई कम आँक्ने मतमा विश्वास राख्नु हो । म कमजोर छु भन्ने मतमा विश्वास राख्नाले हो यही भन्छ ‘युद्धका डोबहरू’ले । युद्धका डोबहरूको अर्को मुख्य काम भनेको यसले आपूmलाई विश्वास गर्ने कला सिकाउँछ । यदि संसार तपाईंको विपक्षमा छ तर तपाईं आपूmलाई विश्वास गर्नुहुन्छ भने तपाईं बहुमतमा हुनुहुन्छ भन्ने यसको मत छ ।
युद्धका डोबहरू पढेर धेरैलाई विश्वास हुन्छ कि प्रसाईंको प्रतिभा सर्वतोमुखी र पर्यवेक्षण शक्ति धेरै गहिरो छ । युद्धका डोबहरू आफ्नै ढङ्गको अनौठो छ । कुनै पनि मानिस यो पढेर मन्त्रमुग्ध नै हुन्छन् । यसमा साहित्यिक कौशलको राम्रोसँगले विकास भएको छ । पूरा उपन्यासमा आख्यानमा संवाद स्वाभाविक राखिएको छ । यो उपन्यास पढेपछि थाहा लाग्छ, लेखक एक स्वप्नदर्शी, भावनामयी र अभिलाषाले भरिएका मानिस हुन् ।
यस उपन्यासमा आशावाद, प्रतिकूल भावना तथा विचार प्रवाहको जीवन्त प्रस्तुति पाइन्छ । हरेक च्याप्टरमा देश, काल र परिवेश सुहाउँदा आकर्षक पात्र चयन तथा ती पात्रका क्रिया–व्यापारबाट प्राप्त व्यापक सन्देशले हरेक मानिसका हृदयमा प्रभाव पार्छ । उपन्यासमा काव्यमयता र अद्भूत वर्णन क्षमता पाइन्छ । यो उपन्यासले कुनै पनि बन्धनलाई मान्दैन । यदि कोही मानिस महान् बन्छ भने उसले सामाजिक बन्धनलाई तोड्ने साहस गर्नुपर्छ । यस ग्रन्थमा जीवन, सङ्गीत, भावना, सङ्घर्ष, प्रेम, पराजय, विद्रोह, मित्रता र दु:खद् तर विजयी अन्त्यको दिग्दर्शन अत्यन्त प्रभावशाली ढङ्गले प्रस्तुत गरिएको छ । यसमा अनेकौँ स्थल तथा घटनाको अनौठो र अद्वितीय वर्णन पाइन्छ । यसका पात्रहरू पनि अनौठा छन् । केही गतिशील छन्, केही स्मृतिमा रमाउँछन् । यहाँका पात्रहरू अनौठा र लाक्षणिक छन् । यसमा गौण पात्रहरू पनि धेरै छन्, तिनलाई पनि पाठकले उत्तिकै स्मरण गर्नेछन् । यस उपन्यासका सानाभन्दा साना पात्र पनि स्मरणीय छन् । पुस्तकको पूर्ण संरचना लेखकीय कल्पना विस्तारको पूर्ण द्योतक पनि हो । यसका ससाना अंश पनि सङ्गीतको एक–एक कडीजस्ता सुन्दर र आनन्ददायक छन् ।