नेपाली फिल्मी अवार्डहरू कहिले पनि विवादबाट मुक्त हुन सकेनन् । त्यसो त यस्तो अवार्डमा अवार्ड दिने र लिने दुवैमा स्वार्थ देखिएपछि अवार्ड विवादबाट मुक्त हुने कुरा पनि भएन । गत हप्ता यस्तै नाटक देखियो टीभी फिल्मी अवार्डमा पनि । अवार्ड पाउने कुरा पहिले नै निक्र्योल भएपछि उत्कृष्ट नायिकको अवार्ड हात पारेकी नीता ढुंगाना परिवारसहित समारोहमा पुगेकी थिइन् । यस्तो थाहा हुँदाहुँदै पनि उनले अवार्ड आफूले अप्रत्यासित रूपमा पाएकोजस्तो गरेर भाषण पनि ठोकिहालिन् । कसरी उच्चारण गरिन् उनले ? अरूलाई समेत अड लाग्नेगरी उनी भावुक हुँदा अरू भने हाँसे । कार्यक्रम सञ्चालिका निशा अधिकारीले पनि कूटनीतिक पारामा भनिन्, ‘पाँच वर्षभित्र नेपालको नम्बर वन नायिका बन्छु भन्ने नीताले त तीन वर्षमा नै अवार्ड पाइन् ।’ यो व्यङ्ग्य नीताले बुझिनन् । ‘बुझुन् पनि कसरी यस्तो कुरा बुझ्न अध्ययन पनि गर्नुप-यो नि । अरूको साथ र सहयोगमा क्यारियर बनाउन खोज्नेहरूले गहिरो कुरा बुझ्न सक्दैनन्,’ निताको बारेमा गाइँगुइँ सुरु भयो ।
कसैलाई देखाउन वा अरूको कारण अर्कैले अवार्ड पाउने तथा दिइने प्रचलनले गर्दा यस्ता अवार्डहरूको गरिमा र उच्चता खस्कँदै जान थालेका छन् । उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी नीताले अवार्ड पाउने कुरा पहिले नै निश्चित हुनुमा अर्की नायिका रेखा थापा कारण बनेकी रहिछिन् । रेखालाई कार्यक्रममा नाच्न र सहभागी हुन पहिले नै जानकारी गराइएको रहेछ । तर, उनले व्यस्तताका कारण आयोजकसँग सम्पर्क गरिनन् अनि स्टेजमा आफू ननाच्ने कुरा पनि खुलस्त पारिन् । तर, त्यही कुराको इगो र रेखालाई देखाउन नीतालाई अवार्ड दिइएको कुरा फिल्म बजारमा व्यापक नै भयो ।
नीताले जुन फिल्मबाट अवार्ड पाइन् त्यो फिल्ममा उनले अवार्ड पाउने त्यस्तो कुनै काम नै नगरेको कुरा चलचित्रकर्मीहरू बताउँछन् । उता सिङ्गो चलचित्र ‘लङ्का’ एक्लो काँधमा बोकेर व्यवसायिक सफलता दिलाएकी रेखाले स्टेजमा नाच्न इन्कार गरेकै कारण अवार्डबाट वञ्चित हुनुप-यो । अनि त्यसमाथि एक दिनअघि नै नीतालाई आयोजकले ‘तिमीले अवार्ड पाउँदैछौँ आज राम्री भएर आउनु’ भनेर अग्रिम जानकारी दिएको कुरा मिडियामा आउनुबाट पनि टीभी फिल्मी अवार्डको गरिमामा शङ्का गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
गोपीकृष्ण टीभी र चलचित्र विकास बोर्डबीच सम्बन्ध सुमधुर नहुनु र चलचित्र विकास बोर्डले केही समयअगाडि धरानमा गरेको महोत्सवको नीताले खुलेर विरोध गर्नु पनि यो अवार्ड नीताले पाउनुको पछाडिको कारण हो । दुई संस्था अनि व्यक्तिको ‘इगो’का कारण अवार्ड पाएकी नीता फुरुङ्ग हुनुपर्ने कारण नै छैन ।
नीताले आफ्नो उच्चकोटिको काम अनि आफ्नै दक्षता र क्षमताले यो अवार्ड पाएकी होइनन् । यो कुरा सायद उनलाई पनि मनन होला । त्यसकारण इगो, वैमनुष्यता तथा विवादमा मुछिएको अवार्ड पाएर दङ्ग हुनुभन्दा अवार्डविहीन भएर सबैको तारिफ पाउनु र वाहवाही पाउन सक्नु नै सबैभन्दा ठूलो पुरस्कार हो । यो अवार्ड नीताले त पाइन् तर बजारमा चर्चा भने रेखा थापाको बढी भयो । उत्कृष्ट नायिकाको अवार्ड जित्दा पनि कतै, कुनै ठाउँमा नीताको चर्चा र व्याख्या छैन । यसबाटै बुझिन्छ कि नीताको हैसियत, उपस्थिति र क्षमता अनि दक्षता ।
‘नाइँ’ भन्न राजेशले सकेनन्
सबैले भनेको मान्ने अनि ‘नाइँ’ भन्न नसक्ने र सजिलो भएकै कारण होला राजेश हमाल सबैको महानायक भएका होलान् । यति मात्र होइन कि उनलाई त कलाकारहरूको ‘आलु’ पनि भन्ने गरिन्छ । जे कुरामा पनि फिट अनि जुन तरकारीमा हाल्दा पनि आलु फिट हुनेजस्तै राजेश पनि फिट हुने कारण उनको उपस्थितिलाई आलु भन्ने गरिएको हो । तर, यो कुरामा भने हमालको आफ्नै विचार र तर्क छ । गत हप्ता गायिका सुनिता दुलालको एउटा तिजको गीतमा मोडल भएर देखापर्दै गरेका उनीसँग यो पङ्क्तिकारको जम्काभेट भयो । उनले भने, ‘म कसैको आग्रहलाई टार्न सक्दिनँ । सम्बन्धहरू यसरी झाँगिँदै गएका छन् नि कलाकर्मीहरूले भन्नुभएको कुरा म नाइँ भन्न सक्दिनँ,’ हमालको स्पष्ट विचार छ ।
हुन त एउटा मात्र लोकगीतमा खेल्ने योजना थियो हमालको पहिले । तर, पछि उसको चाहिँ खेल्ने मेरोचाहिँ नखेल्ने ? भन्नेजस्ता प्रश्नहरू आइदिँदा आफू अप्ठ्यारोमा परेको कुरा राजेश बताउँछन् ।
‘टेन्सनमा दीपक’
‘अर्काको सुटिङमा गयो, अभिनय ग-यो अनि पारिश्रमिक लियो निकै आनन्द’ यो अनुभव हो हास्य कलाकार दीपकराज गिरीको । तर, यतिबेला उनको यो अनुभवले ठीक उल्टो पाठ पनि सिकाएको छ । अरूको फिल्ममा काम गर्दा निर्मातालाई घुर्की देखाउने उनी आफैँ त्यो पात्र बन्न पुगेका छन् । साथी निर्मल शर्मासँग मिलेर दीपकले बनाइरहेको चलचित्र ‘छ एकान छ’ मा अरूको घुर्की सुन्दै र यसो भएन उसो भएन भन्ने समस्याहरूको पोको धेरै हुँदा दीपक दिक्क पनि मान्न थालेका छन् । कुनै साथीभाइले के छ दीपकजी भनेर सोध्दा उनी भन्न थालेका छन्, ‘टेन्सनमा छु । तनावमा छु । फिल्म बनाउन गाह्रो हुँदो रहेछ । अरूको फिल्ममा काम गरेजस्तो हुँदैन रहेछ ।’
नमरी स्वर्ग देखिन्न भन्ने कुरालाई आजभोलि सही मानेका दीपकराज यो तनाव र टेन्सनका बाबजुद पनि चलचित्र भने राम्रो बन्ने कुरामा दङ्ग छन् । आफ्नै गुरु दिनेश डिसीले निर्देशन गरेको ‘छ एकान छ’ मा दीपकले हास्य कलाकारहरूको ठूलै झुण्डलाई समेटेका छन् । यतिबेला हास्य कलाकारभन्दा पनि निर्माताको रूपमा दौडधुप रहेका दीपक बिहानदेखि बेलुकासम्म चामल, तरकारी अनि सुटिङमा दैनिक लाग्ने खर्चको विवरण टिप्न र टिपाउनतिर व्यस्त देखिन्छन् । ‘चामल, दाल र तरकारीको भाउ कति छ सोध्नुस् म भन्न सक्छु,’ उनले रमाइलो गरे ।
प्रतिक्रिया