मुलुक विकास र समृद्धिको बाटोमा : मन्त्री ज्ञवाली

मुलुक विकास र समृद्धिको बाटोमा : मन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् ।

अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए ।

प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही जनादेशअनुरूप नै मुलुकको समृद्धि र विकासमा लागिपरेको छ ।’

आगामी १२ वर्षभित्रमा मध्यम आय भएको मुलुकका रूपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए ।

अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सोहीअनुकूलको वातावरण निर्माणमा सरकार लागेको छ ज्ञवालीले भने, ‘छिमेकी मुलुक, विकासमा साझेदार, श्रम गन्तव्य मुलुक र संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय सयन्त्रमार्फत अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ सरकार अघि बढेको छ ।’

नेपालका आन्तरिक मामिलामा विगतमा हुने गरेका हस्तक्षेपको अन्त्य गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढेको उनको भनाइ थियो । दुवै देशसँग विश्वासको नयाँ आधार सिर्जना भएको उनले बताए ।

छिमेकी मुलुकसँगको सम्बन्ध सुधारसँगै जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारजस्ता सहयोगका नयाँ योजना पहिल्याइएको उनले बताए । ‘अराजकताको अन्त्य गर्दै मुलुक विधिको बाटोबाट अघि बढेको छ, वर्तमान सरकारले विधिको शासन लागू गर्न खोजेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ । मर्यादित ठाउँमा जुलुस निकालौँ भन्दा अधिनायकवाद नहुने उनको कथन छ ।

उनले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने धारणा व्यक्त गरे ।

आमरण अनशनरत डा. गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको उनले बताए । सो अवसरमा चिकित्सा शिक्षामा देखिएका विकृति र विसंगतिको अन्त्यका लागि अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग बनाएर समाधान गर्न लागिएको मन्त्री ज्ञवालीले प्रस्ट पार्नुभयो ।