राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित


राष्ट्रिय सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

प्रतिपक्षी दल कांग्रेसका सदस्यले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै वार्तामा टुंगोमा पुऱ्याउन माग गरे ।

उनले डा. केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरूको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे ।

अवरोधका बीचमा उठेर सांसद रामनारायण बिडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरूले सदन अवरुद्ध गर्नुभएको हो भन्दै कारण खुलाउन माग गरे ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरूलाई राष्ट्रिय सभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । उनले प्रतिपक्षी दलका सांसदहरूलाई बैठक सञ्चालन गर्न बसिदिन पटकपटक आग्रह गरे । तर, प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रिय सभाका विषयगत समितिमा सदस्यहरूको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ ।