मित्रतामै मौलाउँछ राष्ट्रवाद

मित्रतामै मौलाउँछ राष्ट्रवाद


sampadakeeyaनेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला यतिबेला छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको आमन्त्रणमा औपचारिक भारत भ्रमणमा हुनुहुन्छ । यसअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाबाट भारतको औपचारिक भ्रमण गरिएको र अनौपचारिक तवरमा अन्य कैयन नेताले समेत नयाँदिल्ली पुगेर त्यहाँका सत्तासीन तथा विपक्षी नेतागणसँग भेटघाट गरेका तथा गर्ने क्रमले निरन्तरता पाइरहेको देखिन्छ । यसरी नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताबाट केही महिना अवधिकै बीच गरिएका भारत भ्रमणको सन्दर्भ यतिबेला नेपालको राजनीतिक वृत्तमा विशेष चासो र चर्चाको विषय बन्न पुगेको छ । एकथरीले उच्च राजनीतिक नेतृत्व तहबाट भएका यी भ्रमणहरूको सान्दर्भिकता र नियतमाथि नै जबर्जस्ती प्रश्नचिह्न उठाउने प्रयत्न गरिरहेका छन् भने जिम्मेवार नेताहरूबाट भएको सद्भावना भ्रमणलाई स्वाभाविक, महŒवपूर्ण र नेपालको हितमा देख्नेहरू पनि व्यापक छन् ।
विशेषतः अस्वाभाविक तवरले राष्ट्रियताको चर्को कुरा गर्नेहरू नेपाल–भारतबीचको सम्बन्धमा हरदम हरकोणबाट खोटै मात्र देख्छन् । यसरी पूर्वाग्रही सोच पाल्नेहरू यो यथार्थप्रति आँखा चिम्लिरहेका हुन्छन् कि भारत एउटा सबभन्दा नजिकको छिमेकी देश हो, चाहेर या नचाहेर भारत र नेपालको भौगोलिक दूरीलाई फेरबदल गर्न सकिन्न । अनि, दुई देशबीच प्राकृतिक वा स्वाभाविक तवरले जनस्तरमै गाँसिएको सम्बन्ध वा व्यवहारहरू कुनै नेताविशेषको चाहना, आग्रह या पूर्वाग्रहबाट परिवर्तन हुन पनि असम्भवप्रायः छ । दुई देशबीच राजनीतिक नेतृत्व तहमा उतारचढाव वा परिस्थितिजन्य कारणबाट तातो–चिसो व्यवहार हुन सक्ला, तर यसले नेपाल र भारतबीचको सदियौँको नाता–सम्बन्धलाई तात्विक रूपले तोडमरोड गर्न सक्दैन । दुई छिमेकीको सन्दर्भमा यो व्यवहारतः सिद्ध कुरा हो । सँगै बसेपछि झुक्किएरै पनि यदाकदा धक्कामुक्की हुन सक्छ, तर प्राकृतिक रूपमा टाँस्सिएरै बस्नुपर्ने बाध्यताले दुवैलाई अन्ततः आ–आफ्ना हितको अधिकतम् खोजी गर्दै आपसमा मिल्न कर नै लाग्छ । नेपाल र भारतको अवस्थिति, आकार–प्रकार, स्वगुण र आ–आफ्नो क्षमताका हिसाबले यो सत्य मात्र नभई ध्रुवसत्य नै हो । तर, यथार्थ अस्वीकार गरेर पूर्वाग्रही धारणा नै लाद्न खोज्ने हो भने त सम्बन्धको व्याख्या अनेक ढङ्गबाट पनि गर्न सकिन्छ ।
सन्दर्भ उठाइएको छ काङ्ग्रेस सभापतिको भारत भ्रमणबारे । सुशील कोइरालाप्रति भारत असन्तुष्ट छ या भारतसँग कोइराला रुष्ट छन् भन्नेजस्ता टीका–टिप्पणी वा तर्कहरू कोइरालाको भारत भ्रमणको अघिल्लो दिनसम्म पनि व्याप्त थिए । यी सबै कुरासँग बेसरोकार रहेका सभापति कोइराला भारतका प्रधानमन्त्रीबाट आत्मियतापूर्वक गरिएको आमन्त्रण स्वीकार गर्दै यतिबेला भारतको सद्भावना यात्रामा हुनुहुन्छ । भारत यात्रा आफूले सोचेभन्दा सुखद्, सफल, अर्थपूर्ण र महŒवशाली बनेको उहाँको अभिव्यक्तिसमेत सार्वजनिक भएको छ । यसबाट सुशील कोइराला र मित्रराष्ट्र भारत या भारतीय नेताहरूबीच नियतवश आजसम्म सम्बन्धको दूरी बढाउन खोजिएको रहेछ भन्ने सिद्ध हुन्छ । तथापि, नेपाली नेताहरूको दिल्लीगमनमा ‘विशेष अर्थ’ खोज्नैपर्ने नियतिको सिकार बनेकाहरूबाट कोइरालाद्वारा अभिव्यक्त उल्लेखित सरल र स्वाभाविक अभिव्यक्तिमा पनि असान्दर्भिक अर्थहरू खोज्ने दुस्प्रयत्न नहोला भन्न सकिन्न । यहाँनेर जिज्ञासा उत्पन्न हुन्छ कि नेपाली र भारतीय नेताहरूबीच भेटघाट र कुराकानी हुँदा हरदम किन शङ्काको नजरले हेरिन्छ ? आपसी हितमा छलफल र सुझाव आदानप्रदान हुँदासमेत हरदम किन आक्षेपयुक्त व्याख्या हुन थाल्छ ? दुई छिमेकी राष्ट्रबीच यस्तो विद्वेषपूर्ण भाव जन्म गराउने प्रपञ्च कसले कहाँबाट किन रच्यो ? यतिसम्म पूर्वाग्रही सोच पनि यहाँ भेटिन्छन् कि मानौँ ‘भारत’ भन्ने देश नेपाललाई सताउनकै निम्ति मात्र बनेको हो । के कुनै पनि देश अर्कोको अहित या हित गर्ने उद्देश्यले बनेको हुन्छ र ?
तसर्थ, राष्ट्रवादको नाममा जमेको सङ्कीर्णताको आवरणबाट नेपाल र नेपालीले मुक्त हुनैपर्छ । स्वदेशको माया गर्नुपर्छ, यसको अस्तित्व र स्वाभिमानको रक्षा गर्नु पनि हरेक नागरिकको कर्तव्य हुन आउँछ । तर, अन्धराष्ट्रवादको भेलमा बगेर विपत्ति निम्त्याउनु बुद्धिमत्ता ठहरिन सक्दैन । भारतजस्तो विश्वमञ्चमा उदाउँदो समृद्ध छिमेकी मित्रराष्ट्रसँग मित्रता र सद्भावको हात अझ कसिलो बनाउँदा मात्र नेपालले पनि आफ्नो हित, सम्मान र समृद्धिको मार्ग पहिल्याउन सक्छ । जुक्ति–बुद्धि लगाएर समृद्ध र शक्तिशाली छिमेकीबाट लाभ उठाउन सक्नुमै बहादुरी दर्शिन्छ, न कि छिमेकीको शक्तिसँग उतर्सिएर वा डाह गरेर धारेहात लगाई सराप्दैमा राष्ट्र र राष्ट्रियताको जगेर्ना हुने हो † काङ्ग्रेस सभापतिको भारत भ्रमणको सन्दर्भसँगै यसबारे विचार पु¥याउने कि ?