चिनियाँ राजदूतलाई साक्षी राखेर प्रचण्ड–पम्फाको बेग्लै वार्ता

चिनियाँ राजदूतलाई साक्षी राखेर प्रचण्ड–पम्फाको बेग्लै वार्ता


othernewsनेकपा–माओवादीभित्र एमाओवादी अध्यक्ष प्रचण्डले खेल्न थालेको चर्चा भइरहेको बेला माओवादी नेतृ पम्फा भुसाल र प्रचण्डबीच चिनियाँ राजदूत उ चुन ताईलाई साक्षी राखेर बेग्लै भेटवार्ता भएको छ । पम्फा भुसाल चुनाव उपयोगको पक्षमा रहेको बताइन्छ र उहाँ पुन: भूमिगत भई युद्धमा जाने मानसिकतामा नरहनुभएको पनि उहाँका निकटवर्तीहरूले बताउने गरेका छन् । तर, गत महिना पोखरामा सम्पन्न माओवादी बैठकले ‘क्रान्तिकारी निर्णय’ लिएपछि पार्टीभित्रका चुनावपक्षीय नेताहरू सकसमा परेका छन् । पार्टी महासचिव रामबहादुर थापासमेत चुनाव उपयोगको पक्षमा रहनुभएको भन्ने समाचार सार्वजनिक भएलगत्तै गत सोमबार साँझ प्रचण्ड र पम्फाबीच भेटवार्ता हुनुलाई एउटा संयोग मात्र मानिएको छैन । यद्यपि दुई नेताबीचको बैठक सबैको आँखा छल्दै गोप्य रूपमा भएको भने थिएन । गत सोमबार काठमाडौंको सुन्धारास्थित सिभिल टे«ड सेन्टरमा खोलिएको ‘फुडकोर्ट’को ‘ओपनिङ उत्सव’का क्रममा प्रचण्ड र पम्फाबीच बेग्लै छलफलको अवसर जुरेको हो । शतप्रतिशत चिनियाँ लगानीमा खुलेको सो झान युन इन्टरनेसनल फुडकोर्टको ओपनिङ उत्सवमा प्रमुख अतिथि बनेर एमाओवादी अध्यक्ष पुग्नुभएको थियो भने चिनियाँ राजदूत ऊ चुन ताईले पनि त्यहाँ विशेष उपस्थिति जनाउनुभएको थियो । मन्तव्यको कार्यक्रमपछि उक्त फुडकोर्टमा सजाइएको मञ्चको पछिल्तिर चिनियाँ राजदूत उ, प्रचण्ड र पम्फालाई खानपिनको बेग्लै व्यवस्था मिलाइएको थियो । करिब पैंतालीस मिनेटसम्म उहाँहरूबीच के कुराकानी भयो बुझ्न सकिएन, तर कुराकानीको बीचबीचमा प्रचण्ड र पम्फाको अनुहारमा उत्पन्न गम्भीर भावले चाहिँ संवाद कुनै गम्भीर विषयमै भइरहेको सङ्केत गरेको थियो ।

गाह्रो लडेर च्यापिएका मरिचमान
आफ्नै अडानका साथ सती गएपछि….
सत्ताधारीहरूको अपमान र उपेक्षाको शिकार बन्दै पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले गत साता देहत्याग गरे । उनको मृत्युमा कैयन नेपालीले गहिरो दु:ख व्यक्त गरे पनि सरकार र प्रमुख राजनीतिक दलका नेतामा भने मरिचमानको निधनले हर्ष र विस्मात् दुवै भाव पैदा गराएन । मरिचमान एक साधारण परिवारका असाधारण व्यक्ति थिए र उनी पूर्वपञ्चहरूमध्ये राष्ट्रवादीहरूको कोटिमा पर्दथे । उनी राष्ट्रवादी भएको महसुस ठूला पार्टीका भँगेरे छातीका नेताहरूलाई पनि थाहा नभएको होइन, तर मरिचमानलाई राष्ट्रवादी भनेर प्रशंसा गर्नुको सोझो अर्थ आफूहरू राष्ट्रघाती भएको बुझिने हुनाले ती कसैले पनि मरिचमानप्रति सम्मान या समानभाव प्रदर्शन गर्न सकेनन् । पूर्वप्रधानमन्त्रीको निधनमा दु:ख व्यक्त गर्न पनि निकै कञ्जुस्याइँ गरेको देखियो र ‘क्रान्तिकारी नेता’ हरूले दु:ख प्रकट गर्दा वाक्य ओकल्नसमेत कठिनाइ उत्पन्न भएको दृश्य टेलिभिजनहरूमा धेरैले देखे । मरिचमानसिंहले यो देशमा जनताका निम्ति धेरै दु:ख गरेको या सङ्घर्षमा आफूलाई होमेको भन्न मिल्दैन । स्मरण गर्नेहरूले नाकाबन्दीको समयमा प्रधानमन्त्रीका रूपमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्ने गरेका छन् । मरिचमानजत्तिका देशभक्त नेपालीको सङ्ख्या पनि यस मुलुकमा सानो भएको ठानिँदैन । तर, देशको प्रधानमन्त्री भइसकेका व्यक्तिप्रति राज्यले कस्तो व्यवहार गर्ने भन्ने प्रश्नचाहिँ अवश्य उठेको छ र राज्यको पक्षपातपूर्ण एवम् टिठलाग्दो व्यवहारले सबैलाई आश्चर्यचकित तुल्याएको छ । जब राज्यले पूर्वप्रधानमन्त्रीका प्रति यस किसिमको दुव्र्यवहार गर्नु थियो भने सिंहदरबारमा प्रचण्डको सँगै कुम जोडेर बसेका मरिचमानको तस्बिर त्यहाँ सजाउनुको अर्थ के हो, प्रश्न यसरी पनि उठेको छ ।
मरिचमानसिंहलाई स्मरण गर्नुपर्ने अर्को पाटो के छ भने चार वर्षसम्म प्रधानमन्त्री पदमा रहँदा पनि भ्रष्टाचार र अनियमिततामा उनको नाम जोडिएन । अस्ति भर्खर जङ्गलमा लुइँचेको शिकार गरेर मासुभात खाने तृष्णा मेट्नेहरू सत्तामा पुगेको ६ महिनामै करोडौँपति बनेको पर्याप्त दृष्टान्त यहाँ देखिँदै छ । लोकतन्त्र स्थापनापछि सतहमा देखापरेका कैयन छोटे नेताहरूको जीवनस्तर अहिले देशका कुनै पनि धनाढ्य व्यक्तिको भन्दा कम छैन । तर, मरिचमान पदमुक्त भएपछि शहरबाट केही टाढाको गाउँ (धापासीमा कुखुरा र गाई पालेर आफ्नो जीवन निर्वाह गर्दै थिए । केही वर्षअघि मरिचमानसिंह आफ्नै घरको गाह्रो लडेर घाइते भएको घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनसक्छ । केही वर्षअघि मरिचमानसिंह आफ्ना माइला छोरा सञ्जय श्रेष्ठको विवाहको तयारीमा थिए । साथीभाइ, सहयोगी, मित्र र केही नाताकुटुम्बले उपलब्ध गराएको आर्थिक सहयोगको भरमा उनले छोराको विवाह गर्ने आँट गरेका थिए । अरूले उपलब्ध गराएको पैसा मरिचमानले विवाहका लागि आवश्यक पर्ने सामग्री खरिद गरेर सिध्याए । त्यसबेला उनका छोराहरूको पनि कमाइ थिएन र धापासीको उनको घर सानो थियो । छोरा सञ्जयले विवाह गरेपछि बस्नका लागि छुट्टै कोठा पनि थिएन । दाताहरूको सहयोगमा जुटेको पैसाबाट उनले इँटा, सिमेन्ट र बालुवाको व्यवस्था त गरेका थिए तर कोठा थप्नका निम्ति उनीसँग नगद थिएन । अनि पूर्वप्रधानमन्त्री आफैँ घरको छतमा एउटा कोठा निकाल्न कस्सिए । छाउनका लागि जस्तापाताको व्यवस्था कसैले गरिदिएको थियो । सिमेन्ट मुछेर मरिचमान आफैँले गाह्रो लगाउन थाले । नौ इञ्चको गाह्रो उठाएर उनले फटाफट ६ फिट अग्लो बनाए । उनलाई एकैपटकमा ६ फिट गाह्रो उठाउनु हुन्न र तलतिर सेट भएपछि मात्र माथि गाह्रो उठाउनुपर्छ भन्ने कुराको ज्ञान भएन । गाह्रो लगाउँदालगाउँदै अचानक गल्र्यामगुर्लुम ढल्यो । भुइँमा सिमेन्ट सोहोर्दै गरेका पूर्वप्रधानमन्त्रीलाई आफैँले लगाएको पर्खालले किच्यो र उनी सख्त घाइते भए । यस घटनामा उनी अठार दिनसम्म थला परेका थिए । उक्त घटनाले मरिचमानसिंहको जीवनस्तर कस्तो थियो भन्ने उजागर गरेको छ । अहिलेका धनाढ्य नेताहरूले मरिचमानबाट केही सिक्ने स्थिति र मनस्थिति छैन । धन, शक्ति र अहङ्कारमा वर्तमानका अधिकांश नेताहरू अगाडि भए पनि इमानदारीमा सायद यी नेताभन्दा मरिचमान धेरै अगाडि छन्, त्यसैले स्वाभिमान गुमाएर अभिमान गर्नेहरूभन्दा मरिचमान वास्तवमा धेरै अग्ला प्रमाणित भएका छन् ।

यसरी बदलिए अशोक राई
जातिवादी अगुवा अशोक राईलाई चुनावी प्रक्रियामा सहभागी गराउन सरकार तथा सत्तापक्षीय नेताहरूलाई निकै मुस्किल प-यो । हिजो मंगलबार बिहान भारतीय राजदूत जयन्त प्रसादले सम्झाइबुझाई नगरिन्जेलसम्म राई निकै असन्तुष्ट थिए र चुनावमा भाग लिन उनी आनाकानी गर्दै थिए । राजदूत जयन्त प्रसादसँगको करिब एक घन्टा लामो वार्तालापपछि भने अशोक राई पनि चुनावमा भाग लिन राजी भएका छन् । आफूलाई काङ्गे्रस, एमाले र एमाओवादीले उपेन्द्र यादवको जति पनि भाउ नदिएकोमा राईलाई धेरै चित्त दुखेको थियो । खासगरी एमालेले आफ्नाविरुद्ध षड्यन्त्र रचेको उनको बुझाइ थियो । गत सोमबार काङ्गे्रस सभापति सुशील कोइराला र सरकार प्रमुख खिलराज रेग्मीसँगको बेग्लाबेग्लै भेटवार्ताका क्रममा पनि राईले एमालेको भूमिकालाई लिएर निकै गुनासो गरेका थिए । तर, कोइरालासँगको वार्तालापपछि भने उनी केही आश्वस्त हुन पुगेका थिए । एक सूत्रले जनाएअनुसार हिजो मंगलबार नै एमाओवादी अध्यक्ष प्रचण्डले पनि अशोक राईलाई सम्झाइबुझाई गरेका छन् । निर्वाचनमा राईको हैसियत स्थापित गर्न सहयोग गर्ने वचन प्रचण्डले दिएपछि राई थप उत्साहित बनेका छन् र चुनावमा भाग लिन मञ्जुर भएका छन् । अशोक राईको समूहले पूर्वी पहाडका केही जिल्लामा जनजातीय मत लिएर एमालेलाई धक्का पु-याउन सक्ने विश्वास प्रचण्डले गरेका छन् । निर्वाचनमा राईको समूहले कुनै सभासद् जित्न सकेमा त्यो आफ्नै निम्ति हितकर हुने प्रचण्डको ठम्याइ छ । जातिवादीहरूको साथ–सहयोग काङ्गे्रस–एमाललाई नभई आफैँलाई प्राप्त हुने भएकोले पनि प्रचण्डले अशोक राईसँग ज्यादा निकटता कायम गरेका छन् र राईलाई उच्च महत्व दिइरहेका छन् ।

प्रचण्डकै कारणले मङ्सिर ४ मा चुनाव हु‘दैन : प्रदीप नेपाल
नेकपा एमालेका पोलिटव्यूरो सदस्य प्रदीप नेपालले मङ्सिर चार गते संविधानसभाको निर्वाचन नहुने बताएका छन् । चार दलका शीर्ष नेताहरूको उन्मादले मात्र संविधानसभाको निर्वाचन हुन नसक्ने दाबी गर्दै नेता नेपालले घटना र विचारस‘ग भने, ‘आन्दोलनमा रहेको नेकपा माओवादीलगायतका शक्तिलाई बाहिर राखेर कसरी निर्वाचन गर्न सकिन्छ ?’ कुनै पनि शक्ति तथा नागरिकलाई बाहिर राखेर गरिएको निर्वाचन यथार्थमा निर्वाचन नभई तानाशाहपन मात्र हुने उल्लेख गर्दै नेता नेपालले भने, ‘वैद्यलगायतका राजनीतिक शक्तिलाई बाहिर राखेर निर्वाचन गरिने हो भने तत्कालीन राजा ज्ञानेन्द्रले गराएको स्थानीय निकायको निर्वाचन र संविधानसभा निर्वाचनमा के फरक हुन्छ र ?’
चार दलका शीर्ष नेताहरूले भनेको मान्य हुने र अरूले बोलेको कुरा अमान्य हुने हो भने चार दलका नेताहरूले भन्नुप-यो– ‘यो मुलुकमा हामीले जे भन्यो त्यो मात्र लागु हुन्छ, यहाँ अरूको विचारको कदर गरि‘दैन, हामीले भनेका मान्ने मात्र नेपाली नागरिक हुन् अरू होइन र हामीले भनेको नमान्नेलाई पेलेरै गइन्छ, वैद्य र उनका पार्टीमा लागेकाहरू नेपाली नागरिक नै होइनन् ।’ नेपाललाई लोकतान्त्रिक–गणतान्त्रिक मुलुक भन्ने हो भने प्रत्येक नागरिक तथा राजनीतिक पार्टीलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाएर मात्र निर्वाचनमा जानुपर्ने सुझाव नेपालले दिए । ‘आन्दोलनमा रहेका दलहरू निर्वाचनमा सहभागी गराउन समय दिनुपर्छ, उनीहरूको उठाएका मुद्दालाई सम्बोधन गरिनुपर्छ’ भन्दै नेता नेपालले थपे– ‘निर्वाचनमा नआएर हामी पेलेरै जान्छौ‘ भन्ने र धम्काएर समस्याको समाधान हु‘दैन, मुलुकलाई निकासतर्फ लैजान सकि‘दैन ।’
चार दलका प्रमुख नेताहरूले चुनावमा नआउनेहरूलाई भौतिक दमन गरेर, मारपिट गरेर, ठोकेरै भए पनि चुनाव गर्ने भन्दै हि‘डेको सुनिएकोबारे जिज्ञासा राख्दा चार दलका शीर्ष नेताहरूलाई नेताप्रति लक्षित गरी नेपालले प्रतिप्रश्न गरे, ‘राजधानी तथा जिल्ला सदरमुकाममा दमन गरेरै भए पनि चुनाव गर्न सकिएला, तर के गाउँमा त्यस्तो अवस्था छ ? त्यसैले वैद्यजीले सम्होलेको मोर्चामा आवद्ध दलहरूलाई सहभागी नगराई निर्वाचन गर्न सकि‘दैन । उनीहरूहको सहभागिताविनाको निर्वाचन रणभूमिमा परिणत हुन्छ ।’
चार दलका नेताहरू चुनाव गराएरै छाड्छौ‘ भन्ने र नेकपा–माओवादी जबर्जस्ती चुनाव गराए देखाइदिन्छौ‘ भन्दै हि‘डेको अवस्थामा यस्तो चुनाव हु‘दैन भन्नेमा सबै ढुक्क छन् भन्ने तर्क नेपालले गरे । दलका नेता तथा सञ्चारमाध्यमलाई पनि यो कुराको राम्रो जानकारी छ र पनि निर्वाचन हुन्छ भनेर जनतालाई झुक्याउने काम किन गरिरहेका हुन् भन्दै उनले आश्चर्य प्रकट गरे । नेता नेपालले अर्को एक प्रश्नमा भने, ‘निर्वाचनका लागि आवश्यक भौतिक तयारी कत्ति पनि पुरा नभएको तथा एमाआवादी अध्यक्ष प्रचण्डले नै चार मङ्सिरमा चुनाव नचाहेकाले पनि निर्वाचन हुन सक्दैन ।’ पार्टीको अवस्था र आफ्नो हौसियतालाई ध्यानमा राख्दै प्रचण्ड चार मङ्सिरमा निर्वाचन गराउने पक्षमा नरहेको दाबी प्रदीप नेपालको छ । उनले थपे, ‘एमाओवादी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म प्रचण्डले भनेकोबाहेक अरू केही भएको छैन, प्रचण्डका अगाडि एमाले, काङ्ग्रेस तथा माधेशी मोर्चाका नेताहरू ‘निउरीमुन्टी न’ लगाउ‘नछन् । हेर्नुहोला, अन्त्यमा प्रचण्डले चुनाव सारौ‘ भन्नेछन् र अन्य नेताहरूले पनि त्यसैमा सही गर्नेछन् ।’

देशैभरि युनियन आतङ्क
आफूसम्बद्ध कार्यालयलाई बहुबलका आधारमा नियन्त्रणमा लिई आफ्नो स्वार्थसिद्ध गर्ने विद्यमान अवस्थामा तत्काल सुधार नभए मुलुक थप सङ्कटमा पर्ने देखिएको छ । ट्रेड युनियन अधिकारका नाममा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रतिष्ठान, संस्थान, उद्योग, कलकारखानालगायत आर्थिक गतिविधि हुने हरेक निकायलाई टे«ड युनियनहरूले कब्जामा लिएका छन् । त्यसैले कुनै पनि निकाय नियम, कानुन र सम्बद्ध कार्यालय प्रमुखको भन्दा युनियनका दादाहरूको इच्छाबमोजिम चल्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रमा जाँडका कीरासरी मौलाएका युनियनहरूको कारण सम्बन्धित निकायले काम गर्न नसकेको त छँदै छ, यिनकै कारण नेपालमा वैदेशिक लगानी पनि अवरुद्ध बन्न पुगेको छ । नेपालमा लगानी भन्नेबित्तिकै विदेशी लगानीकर्ताहरू यहाँका युनियनहरूलाई सम्झेर जिब्रो टोक्ने गर्छन् ।
मजदुर वा कामदार कर्मचारीका नाममा सरकारी, अर्धसरकारी तथा निजीस्तरका प्रत्येकजसो निकायमा चारदेखि बीसभन्दा बढी ट्रेड युनियन छन् । उदाहरणका लागि विमानस्थलस्थित भन्सार कार्यालयलाई हेर्दा हुन्छ । सो कार्यालयमा २० भन्दा बढी युनियन छन् । त्यहाँ प्रमुख तीन राजनीतिक दलनिकट टे«ड युनियनको बढी हालिमुहाली छ भने मधेसकेन्द्रित राजनीतिक दल, नेकपा माले, नेकपा एकीकृत, स्वतन्त्रलगायतका नाममा युनियन खुलेका छन् । ती सबैले आफ्नो स्वार्थसिद्ध गर्न नियम, कानुन र सम्बद्ध निकायका प्रमुखलाई काबुमा राखिरहेका छन् । ट्रेड युनियनका इच्छाबाहेक त्यहाँ अरू कसैको केही चल्ने गर्दैन । त्यहाँ मात्र होइन, अन्य निकायहरूमा पनि यस्तै अवस्था रहेको छ ।
श्रम विभागका अनुसार श्रममा दर्ता भएका एघार र दर्ताको प्रक्रियामा रहेका तीनवटा गरी १४ वटा ट्रेड युनियन सङ्गठन छन् । तर, प्रतिष्ठान तहमा भने दल र व्यक्तिपिच्छे सङ्गठन छन् । सरकारले आधिकारिकता दिएको ट्रेड युनियनहरूमध्ये नेपाली काङ्ग्रेसनिकट नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र, नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), एकीकृत माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ र नेकपा–माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चर्चित टे«ड युनियनका रूपमा छन् । नेपाल टे«ड युनियन काङ्ग्रेस स्वतन्त्रका वरिष्ठ नेता खिलानाथ दाहाल भन्छन्, ‘जहाँ मजदुर त्यहाँ युनियन भन्ने नाराका साथ अघि बढेको र सबै निकायमा टे«ड युनियन स्थापना गरिएको, बाँकी रहेका केही निकायमा पनि तत्कालै सङ्गठन विस्तार गरिनेछ ।’ उनका अनुसार सबैजसो निकायमा कम्तीमा पाँचदेखि दशवटासम्म युनियन छन् ।
अधिकांश उद्योग कलकारखना र बंैक तथा वित्तीय संस्थामा यिनीहरूको दबदबा छ । उनीहरूले जे भन्यो उद्योगी तथा अन्य श्रमिकहरूले त्यही मान्नुपर्ने अवस्था छ । प्रत्येकजसो उद्योग कलकारखानामा उनीहरूकै सङ्गठन छ भने अन्य टे«ड युनियन यिनीहरूकै वरिपरि घुम्ने गरेका छन् । यद्यपि साना युनियनहरूको शान पनि कम्ती छैन । उनीहरू पनि आफ्ना स्वार्थसिद्ध गर्न उद्योगहरूमा हाडताल गर्ने, कार्यालयप्रमुखको कार्यकक्षमा ताला लगाउने कार्यमा सक्रिय देखिन्छन् ।
टे«ड युनियनकै कारण, धेरै उद्योग तथा कलकारखाना बन्द भएका छन् । ट्रेड युनियन आबद्ध कर्मचारी तथा युनियनका नेताले राखेका पूरा गर्न नसकिने मागको शिकार गलैँचा कारखाना, गार्मेन्ट, जुटमिल, स–साना कारखाना तथा होटलहरू बनेका छन् । मजदुर आन्दोलनकै कारण २०६५ सालयता मात्र सात सयभन्दा बढी साना उद्योग बन्द भएका छन् भने तीन दर्जनभन्दा बढी ठूला उद्योग बन्द भएका छन् । सञ्चालनमा रहेका उद्योगमा पनि मजदुर नेताहरूकै हालिमुहाली रहेको छ । मन्त्रालयले मजदुर आन्दोलनकै कारण नयाँ लगानीकर्ता नभित्रिएको तथा भएका उद्योगहरू पनि राम्रोसँग सञ्चालन हुन नसकेको निष्कर्ष निकालेको छ ।
औद्योगिक प्रवद्र्धन महाशाखाकी प्रमुख यामकुमारी खतिवडाका अनुसार ट्रेड युनियनका नाममा हुने विभिन्न गतिविधिले उद्योग तथा कलकारखाना समस्यामा छन् । उनका अनुसार एउटा उद्योगमा कम्तीमा पनि चारवटा टे«ड युनियन छन् र ती सबैको माग पूरा गर्न उद्योगीहरू बाध्य बनेका छन् । उद्योगहरूमा साना पार्टीले पनि आफ्नो राजनीतिक अस्तित्व देखाउनकै लागि भए पनि सङ्गठन खोलेका छन् । तर, अधिकांश प्रतिष्ठानमा एमाओवादी, काङ्ग्रेस र एमाले सम्बद्ध टे«ड युनियनका नेताहरूकै हालिमुहाली छ । मानौँ उनीहरूले नै उद्योगमा सम्पूर्ण लगानी गरेका छन् ।
निजी क्षेत्र मात्र नभएर सरकारी निकाय, संस्थान तथा विद्यालय पनि युनिया आतङ्कका कारण आक्रान्त बनेका छन् । प्रत्येक विद्यालयमा राजनीतिक दलनिकट सङ्गठन छन् । उनीहरूले पनि आफ्नो माग पूरा गर्न भन्दै पालैपालो शिक्षण संस्था बन्द गराउने गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित विद्यायलहरूमा काम गर्ने शिक्ष्ँक तथा कर्मचारीले पनि इस्टु नामक संस्था खोलेर आन्दोलन गर्दै आएका छन् ।
उद्योगी मात्र नभएर टे«ड युनियनको शिकार नेपाल सरकारका सचिवहरूसमेत बन्ने गरेका छन् । गत चैतमा युनियनमा आबद्ध कर्मचारी नेताहरूको दबाबका कारण सबैजसो मन्त्रालय र निकायका सचिवहरूले सामूहिक राजीनामाको चेतावनी नै दिनुपरेको थियो । सबैजसो युनियनका नेताहरूबाट आफूहरू पीडित भएको तथा काम गर्ने वातावरण नै बिगारेको भन्दै उनीहरूले युनियनका नाममा हुने अराजक कार्य बन्द नहुने हो भने निजामती क्षेत्र नै तहसनहस हुने भन्दै पदबाट राजीनामा दिने चेतावानी दिएका हुन् । सचिवहरूले नै सामूहिक राजीनामा दिने भनेपछि युनियनको शिकार बन्न कोही पनि बाँकी नरहेको पुष्टि हुन्छ । यद्यपि युनियनका नेताहरूलाई प्रश्रय दिने काम भने तिनै सचिवहरूले नै गरेको देखिन्छ ।
असी हजार निजामती कर्मचारी भएको मुलुकमा राष्ट्रियस्तरका कर्मचारी सङ्गठनको रूपमा सरकारले ६ वटा युनियनलाई मान्यता दिए पनि अहिले नौवटा युनियनले निजामती क्षेत्रमा रजाइँ गरिरहेका छन् । सिङ्गो निजामती क्षेत्रलाई नै उनीहरूले आफ्नो नियन्त्रणमा राखेका छन् । पाँच हजार कर्मचारीको हस्ताÔर बुझाए राष्ट्रियस्तरको कर्मचारी सङ्गठन दर्ता गर्न पाइने खुकुलो कानुनी प्रावधानका कारण्ँ युनियनहरूको सङ्ख्या बढेको हो । हाल राष्ट्रियस्तरका सङ्गठनमा एमाओवादीनिकट राष्ट्रिय कर्मचारी सङ्गठन, काङ्ग्रेससम्बद्ध निजामती कर्मचारी युनियन, एमालेसम्बद्ध नेपाल निजामती कर्मचारी सङ्गठन, मधेसी मोर्चानिकट मधेसी निजामती कर्मचारी मञ्च, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रसेवक कर्मचारी सङ्गठन छन् । यसबाहेक अस्थायी तथा ज्यालादारी कर्मचारी मञ्च, काङ्ग्रेसनिकट र एमाओवादीनिकट कर्मचारी सङ्गठनबाट फुटेर नयाँ युनियन बनेका छन् ।
युनियनहरूको दायित्व अनुशासित र संयमतापूर्वक समग्र कर्मचारीको हकहित र कल्याण्ँको काम गर्नु हो । त्यसका लागि सरकारसित सामूहिक सौदाबाजी गर्नु हो । स्वास्थ्य बिमामा कर्मचारीका छोराछोरीका लागि आवासीय स्कुल खोल्ने र छात्रवृत्ति बढाउनेजस्ता आमकर्मचारीको हितमा रहेका काममा युनियनहरूले चासो दिने गरेको पाइन्न ।
सबै युनियनको एक मात्र चासो कर्मचारीको सरुवा हुने गरेको देखिन्छ । कानुनबमोजिम हुने सरुवामा हस्तÔेप गर्ने अधिकार युनियनहरूलाई हुँदैन । तर, त्यो अधिकार युनियनका नेताहरूले लिँदै आएका छन् । सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने, ‘युनियनका नेताहरूको आफूनिकट कर्मचारी राम्रो आम्दानी हुने निकायमा सरुवा गरिदिएकोमा या दुई वर्È पुगेपछि पनि पुन: त्यही स्थानमा राख्न खोज्छन्, नमाने धम्क्याउँछन् ।’ आफूले भनेअनुसार नभए हुलहुज्जत गरी विभागीय प्रमुखको कार्यकक्षमा पसेर अमर्यादित भाÈामा गालीगलौज, दुव्र्यवहार र हातपात गर्ने गर्छन्, युनियनका पदाधिकारीहरू ।
सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर जाने सबै सचिव युनियनको शिकार हुने गरेको पूर्वसचिव उमेशप्रसाद मैनाली बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीको सरुवा–बढुवामा समेत त्यहाँ सबैभन्दा बढी युनियनको शासन चल्न खोज्छ ।’ कतिपय सचिव र सहसचिव युनियन पदाधिकारीका गोटी बन्ने गरेकोले पनि उनीहरूले आफूलाई सर्वश्रेष्ठ ठान्ने गरेका हुन् । सचिव बन्न शीर्ष दलका नेताहरूको आशीर्वाद चाहिने र यसका लागि युनियनका नेताहरूकै सहयोग लिनुपर्ने भएकोले युनियनको गोटी बन्ने गरेका हुन् उच्च सरकारी कर्मचारीहरू ।

युनियनको मारमा सरकारी संस्थान
कर्मचारी युनियनका मारमा पीडित बन्ने निकायहरूमध्ये सरकारी संस्थानहरू पनि हुन् । प्रत्येक संस्थानमा टे«ड युनियनका नेताहरूकै हालिमुहाली छ । संस्थानमा कार्यरत अधिकांश कर्मचारी कुनै न कुनै दलसँग आबद्ध भएका छन् र संस्थाको हितमा भन्दा पनि दलको हितमा काम गर्ने गरेका छन् ।
सबैभन्दा धेरै टे«ड युनियनका शिकार नेपाल विद्युत् प्राधिकरण्ँ, नेपाल वायुसेवा निगम, खाद्य संस्थान, दुग्ध उत्पादन संस्थानलगायत बनेको छ । अझ नेपाल विद्युत् प्राधिकरणमा कार्यरत सहायकस्तरका कर्मचारी कुनै न कुनै दलसँग आबद्ध नै भएका छन् भने त्यसमा आबद्ध युनियनका सदस्य पनि । प्राधिकरणमा कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गरी चारवटा युनियन छन् । यिनीहरूको Ôेत्रीय समिति, अञ्चल र जिल्लामा रहेका पदाधिकारीहरूको सङ्ख्या मात्र झन्डै तीन हजारको हाराहारीमा छ । पदाधिकारीहरूले कुनै कामै गर्नु नपर्ने सहमति छ । प्राधिकरणमा यही चार कर्मचारी युनियनका नेताहरूको दरिलो सिन्डिकेट छ । त्यहाँ युनियनका नेताहरूले भनेकोबाहेक अरू केही काम हुँदैन । यतिसम्म कि कुनै कर्मचारीलाई कतै सरुवा गर्नुप-यो भने पनि युनियनकै सहमति लिनुपर्ने, नयाँ आयोजना सुरु गर्नुप-यो भने पनि युनियनकै अनुमति लिनुपर्ने अवस्था छ । प्राधिकरणका एक निर्देशकले भने, ‘यतिबेला प्राधिकरण युनियनका नेताहरूले चलाइरहेका छन्, उनीहरूको कमाउने धन्दा बनेको छ भने, प्राधिकरण मृत्युतर्फ उन्मुख हुँदै गएको छ ।’ उनले थपे, ‘कर्मचारीहरूको हकहितका लागि भन्दै दलैपिच्छे युनियन खोली आफूलाई सङ्गठित बनाई आमकर्मचारी र संस्थाको रक्षा गर्नुको सट्टा आफ्नै हकहितको रÔा गर्दै आइरहेका छन् ।’ यतिसम्म कि त्यहाँका प्रत्येक युनियनलाई प्राधिकरण्ँले अधिवेशन खर्चबापत दुई लाख, राष्ट्रिय भेलाबापत ६० हजार घोÈित रूपमै दिँदै आएको छ भने टेलिफोन, पत्रपत्रिका, गाडीलगायत युनियनका नाममा हुने अन्य खर्चहरू पनि संस्थाले व्यहोर्ने गरेको छ ।

युनियन नेताको आम्दानीको स्रोत
आर्थिक रूपमा होस् या सामाजिक, ट्रेड युनियनका नेताहरूको शान नै बेग्लै छ । आर्थिक हैसियत पनि त्यस्तै बनाएका छन् । यतिसम्म कि उनीहरूमध्ये केहीले त आपूmलाई मात्र नभएर पार्टीका लागि आर्थिक जोहो गर्ने ठेक्कासमेत लिएको देखिन्छ । कुनै पनि प्रतिष्ठानमा काम गर्नेभन्दा पनि आपूmनिकट दलका शीर्षनेता भेट्ने, उद्योगीहरूलाई भेट्ने, तर्साउने तथा मजदुरहरूलाई आन्दोलनमा उतार्ने कार्यमा सीमित ट्रेड युनियनका नेताहरूको जीवनशैलीका कारण साना पार्टीमा आबद्ध रहेका मजुदर पनि प्रतिष्ठानहरूमा सङ्गठन खोली नेता बन्ने गरेको पाइन्छ । ट्रेड युनियनका नेताहरूसँग आम्दानीको स्रोतबारे जानकारी लिन खोज्दा परिवारका सदस्यहरूलाई देखाउने गरेका छन् । श्रीमती र छोराछोरीको कमाइबाटै आपूmले राजनीति गर्न सकेको उनीहरू बताउँछन् । साथै, सङ्गठनले पनि सामान्य खर्च दिने गरेको र त्यसैबाट दैनिकी बित्ने गरेको उनीहरूको कथन छ । के यतिले उनीहरूले पार्टी कार्यालय र आफ्नो पारिवार कसरी चलाउन सक्छन् ? उनीहरू न त कतै काम गर्दछन् न त उद्योग–व्यवसाय सञ्चालन गरेका देखिन्छन् । यदि उद्योगहरूले मासिक रकम नदिए मजदुर आन्दोलन चर्काउने चेतावनी दिन्छन् र आन्दोलन पनि गर्छन् । त्यही आन्दोलनलाई गलत मोडमा पु-याएर उद्योगीसँग गोप्य सम्झौता गरी पैसामा बार्गेनिङ गर्ने गरेको आरोप ट्रेड युनियनका नेताहरूमाथि लाग्दै आएको छ । टे«ड युनियनका नेताहरूको आयस्रोत पारदर्शी नहुनु, उनीहरूको खर्च गर्ने हैसियत बढ्दै जानु, जीवन व्यवहारमा परिवर्तन आउनुजस्ता कारणले यी आरोपलाई एक हदसम्म पुष्टि गर्दै लगेको पनि छ । तर, मजदुर नेताहरू त्यस्ता आरोपलाई सहजै स्वीकार गर्दैनन् ।

सुनसरी छोडेर सुजाता मोरङतिर
उम्मेदवारीका निम्ति रोचक प्रतिस्पर्धा
राजनीतिक दृष्टिले राजधानीपछिको सबभन्दा महत्वपूर्ण मानिने मोरङको नौवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी सुरु भएको छ । नेपाली काङ्ग्रेसले भदौ २० भित्र सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन गरेपछि पचहत्तरवटै जिल्लामा काङ्ग्रेस नेता तथा कार्यकर्ताको गतिविधि ह्वात्तै बढेको छ । मोरङमा गिरिजाप्रसाद कोइराला जीवित रहिन्जेल काङ्गे्रसको बेग्लै स्थिति रहेकोमा उहाँको निधनपछि मोरङ काङ्ग्रेसमा युवाहरूको सक्रियता ह्वात्तै बढेको छ । विगतमा सुनसरीबाट चुनाव लड्दै आउनुभएकी काङ्ग्रेस नेतृ सुजाता कोइरालाले पनि मोरङलाई नै कर्मक्षेत्र बनाउने इच्छा दर्शाउनुभएको छ । उहाँले मोरङको क्षेत्र नम्बर एकबाट समानुपातिकतर्फको उम्मेदवार बन्न चाहनुभएको छ । त्यस क्षेत्रमा काङ्ग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायले प्रत्यक्षतर्फको उम्मेदवारी पाउनुहुने निश्चित मानिन्छ । तर, सत्तरी वर्षको उमेर नाघिसक्नुभएका उपाध्यायलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने र साठी वर्ष हाराहारीकी सुजातालाई समानुपातिक उम्मेदवार बनाउने कुरालाई स्थानीय कार्यकर्ताले सहज रूपमा लिने सम्भावना भने कम देखिएको छ । मोरङ क्षेत्र नं. २ मा यसअघिका तीनवटा निर्वाचनमा पराजित भएका वसन्त भट्टराई फेरि पनि टिकटका निम्ति इच्छुक हुनुभएको छ । सो क्षेत्रमा क्षेत्रीय सभापति बद्री निरौला तथा अन्य युवा नेताहरू शेखर थापा, सञ्जय भट्टराई र यदु विष्टले वसन्तलाई चुनौती दिइरहेका छन् । उनीहरू आफैँ उम्मेदवार बन्ने प्रतिस्पर्धामा जुटेका छन् । तीन नम्बर क्षेत्रमा नन्दु सरदार, गुरु घिमिरे, दिलीप गच्छदार, सत्यनारायण भगत र मानबहादुर लिम्बूमध्ये एकले काङ्ग्रेसको टिकट पाउने निश्चित मानिएको छ । त्यस्तै क्षेत्र नं. चारमा सुबोध सिंह, गोपालमानसिंह राजभण्डारी र गयानन्द मण्डलबीच प्रतिस्पर्धा देखिएको छ । पाँच नम्बर निर्वाचन क्षेत्रमा जिल्लाका लोकप्रिय नेता एवम् पार्टी सभापति अमृत अर्यालले टिकट पाउने सम्भावना बढी छ । त्यस क्षेत्रमा महन्तलाल यादव र अशोक सिंहले पनि उम्मेदवारीको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्र नम्बर ६ मा काङ्ग्रेसका लोकप्रिय युवा नेता डा. मीनेन्द्र रिजालको नाम सर्वाधिक चर्चामा रहेको छ । तर, त्यस क्षेत्रका पार्टी केन्द्रीय सदस्यहरू कविता सरदर र महेश आचार्यले पनि दाबी गरिरहेका छन् । कदाचित डा. रिजालले सो क्षेत्र छोड्नुभयो भने कविता सरदार र महेश आचार्यमध्ये एकले उम्मेदवारी पाउने बताइन्छ । उक्त क्षेत्रमा पुराना नेता अशोक कोइरालाले समेत चुनाव लड्ने इच्छा दर्शाउनुभएको छ । सात नम्बर क्षेत्रमा काङ्ग्रेस नेता डा. शेखर कोइरालाले यसअघिको निर्वाचनमा पनि विजय हासिल गर्नुभएको थियो भने अहिले पनि त्यस क्षेत्रमा उहाँ नै लोकप्रिय मानिनुहुन्छ । त्यसैले उक्त क्षेत्रमा डा. कोइराला नै उम्मेदवार बन्नुहुने सम्भावना बढी छ । तथापि भुवनेश्वर मण्डल र निरञ्जन रिजालले पनि आफूलाई उम्मेदवारीका निम्ति प्रतिस्पर्धामा अगाडि सारेका छन् । क्षेत्र नम्बर आठमा पहिले अशोक कोइराला चुनाव लडेर पराजित हुनुभएको थियो । यसपटक उक्त क्षेत्रमा कोइरालाले दाबी छोड्नुभएको छ । सो क्षेत्रमा पनि डा. मीनेन्द्र रिजालकै चर्चा सर्वाधिक बढी देखिएको छ । तथापि दिलीप सापकोटा, सुवास पौडेल, लोकप्रसाद सङ्ग्रौला, ललित श्रेष्ठ र हरिनारायण चौधरी पनि टिकट निमित्त इच्छुक देखिएका छन् । डा. रिजालले ६ नम्बर क्षेत्र छोड्नुभएमा यहीँबाट उहाँ उम्मेदवार बन्नुहुने पक्कापक्की छ । नौ नम्बर निर्वाचन क्षेत्रमा यसअघिको निर्वाचनमा डिगबहादुर लिम्बूलाई काङ्ग्रेसले उम्मेदवार बनाएको थियो । लिम्बू पराजित भएको र अहिले त्यहाँको स्थितिमा पनि परिवर्तन आएकोले नयाँ युवा उम्मेदवारको चाहना स्थानीय नेता–कार्यकर्ताले गरेका छन् । यसक्रममा लक्ष्मण ढकालको नाम सर्वाधिक अगाडि आएको छ । चौंतीस हजार जनजाति रहेको सो क्षेत्रमा डिगबहादुर लिम्बूलाई समानुपातिकतर्फको उम्मेदवार बनाएर युवा नेता लक्ष्मण ढकाललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएमा काङ्ग्रेस विजयी हुने निश्चित भएको बताइन्छ । सो क्षेत्रमा क्षेत्री–ब्राह्मण समुदायको मत सतचालीस हजार रहेकोले काङ्ग्रेसले लिम्बू र ढकाललाई मिलाएर उम्मेदवार चयन गर्नु उपयुक्त हुने देखिएको छ । पहिले माओवादी विजयी भएको सो क्षेत्रमा यसपाली त्रिपक्षीय टक्करको सम्भावना छ । त्यहाँ उम्मेदवार बन्न स्थानीय युवा खड्ग फागुले पनि इच्छा दर्शाएका छन् । तर, निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउने हो भने त्यहाँ लक्ष्मण ढकालको अर्को विकल्प नरहेको हाम्रो स्थानीय संवाददाताको भनाइ छ ।

‘रअ’ प्रमुख नेपालमा आएको हल्ला मात्रै
भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख आलोक जोशी नयाँदिल्लीमै रहनुभएको समाचार प्राप्त भएको छ । एक दैनिक पत्रिकाले जोशी ६ दिनका लागि नेपाल आउनुभएको समाचार सार्वजनिक भएपछि राजनीतिक वृत्तमा सनसनी फैलिएको छ । उहाँ दुई दिन काठमाडौं बसेर जनकपुर आसपास जानुभएको भन्ने समाचार सार्वजनिक भएपछि दुई दिन काठमाडौं बस्दा पनि आफूहरूसँग सम्पर्क नगरेको भनी ठूला पार्टीका केही नेता असन्तुष्ट बनेका थिए । ती नेताहरूले आफूबाहेक अरू–अरूलाई मात्र जोशीले भेट गरेको आशङ्का गरेका थिए । यस सम्बन्धमा काठमाडौंस्थित भारतीय राजदूतावासमा सम्पर्क गर्दा जोशी काठमाडौं आउनुभएकोबारे आफूहरूलाई कुनै जानकारी नभएको बताइयो । दूतावास सूत्रले जोशी नयाँदिल्लीमै रहनुभएको जनाएको छ । यसैबीच नयाँदिल्लीस्थित हाम्रा संवाददाताले पनि जोशी नयाँदिल्लीमै रहनुभएको बताएका छन् । १५ अगष्टका दिन नयाँदिल्लीको लालकिल्लामा आयोजित विशेष राष्ट्रिय समारोहमा अन्य सुरक्षा प्रमुखसँगै जोशी पनि देखिएका र त्यसयता उनले दिल्ली छोडेको सङ्केत आफूले नपाएको हाम्रो संवाददाताको भनाइ छ । दिल्लीस्थित अर्को एक सूत्रले जनाएअनुसार ‘रअ’ प्रमुख जोशीको १५ अगष्टकै आसपासमा काठमाडौं आउने कार्यक्रम तय भएको थियो । तर, अन्तिम अवस्थामा आएर विशेष कारणवश निर्धारित कार्यक्रम रद्द भएको उक्त सूत्रले बताएको छ । भारतीय राजदूतावासनिकट एक अर्को सूत्रसँग सम्पर्क गर्दा उनले ‘नेपालमा ठूला लगानीका सञ्चारमाध्यमचाहिँ धेरै खुलेको तर ती विश्वसनीय बन्न नसकेको र हावादारी समाचारमै रम्ने गरेको’ प्रतिक्रिया दिए ।

हत्या गरेपछि मिलाउन दबाब
सामान्य विषयमा भएको विवादलाई लिएर नेपाल प्रहरीका पूर्वडीएसपी रणबहादुर गौतम, पत्नी उषा तथा उनका परिवारले छिमेकी पूर्वडीएसपी रुद्र निरौलाकी श्रीमती पवित्रालाई कुटेर हत्या गरेका छन् । दुवैको घर कम्पाउन्ड भएर जाने मन्दिरमा सफा गरी पूजा गर्ने क्रममा भएको विवादलाई लिएर रणबहादुर गौतम परिवारले पवित्रालाई कुटपिट गरी हत्या गरेको हो । हत्यामा संलग्न रणबहादुर र उनका छोरालाई बानेश्वर प्रहरी वृत्तले कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर कारबाही अघि बढाएको छ । कुटपिटमा संलग्न भएको भन्दै रणबहादुर र छोरालाई नियन्त्रणमा लिए पनि कुटपिटमा संलग्न मुख्य दोषी उषालाई भने अझै नियन्त्रणमा लिइएको छैन । गौतम परिवार स्रोतमा अनुसार उषा क्यानडा जाने तयारीमा रहेकी छिन् । छोरी क्यानडामा रहेकीले उषा उतै भाग्ने तयारीमा रहेको बताइन्छ ।
पूर्वडीएसपीपत्नी पवित्रालाई दुवैजनाको घर कम्पाउन्डबाट जाने सार्वजनिक जग्गामा बनेको मन्दिरमा सफा गरी पूजा गर्ने विषयमा साउन २७ गते नागपञ्चमीको दिन बिहान गौतम परिवाले इँटा र टुलले कुटपिट गरेका थिए । गौतम परिवारको कुटाइबाट टाउकोमा गम्भीर चोट लागेकी पवित्रा निरौलाको साउन ३१ गते अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पीडित पूर्वडीएसपी रुद्रका अनुसार नागपञ्चमीको दिन पत्नी पवित्राले घरमा काम गर्ने सहयोगीसहित मन्दिरमा सफा गरिरहेको बेला रणबहादुरकी पत्नी उषाले अपशब्द बोल्दै झगडा सुरु गरेकी थिइन् । दुवै पक्षबीचको भनाभन चर्कंदै गएपछि उषाले पति र छोरालाई साथमा लिएर निरौलाले भोगचलन गर्दै आएको टहरामा लगी इँटा र घरबाटै ल्याएको टुलले टाउकोमा हानी हत्या प्रयास गरेका थिए । तर, कुटपिट गरिरहेको जानकारी पाएलगत्तै पुगेका छिमेकीले छुट्याएपछि गम्भीर घाइते पवित्रालाई तत्काल उपचारका लागि अस्पतालमा पु-याइएको थियो । उनको उपचारको क्रममा चार दिनपछि मृत्यु भएको हो ।
उपचारका क्रममा केही सुधार आएपछि निरौला परिवारले आफूलाई ज्यान मार्ने मनसायले रणबहादुर पत्नी उषा तथा कन्सलटेन्सीको काम गर्ने गौतमका छोराले कुटपिट गरेको भन्दै बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएका थिए । तर, चार दिनपछि पवित्राको उपचारकै क्रममा निधन भएपछि प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । यद्यपि पीडित रुद्रका अनुसार घटनाका मुख्य दोषी उषालाई पक्राउ नगरी ज्यान मुद्दासमेत छिटो बुझाउन दबाब दिने काम भएको छ भने मिलेर जान भन्दै चौतर्फी दबाब परेको छ ।
अनुसन्धानमा संलग्न बानेश्वर प्रहरी वृत्तका डीएसपी रेवती ढकालले अनुन्धानका क्रममा उनीहरूबीच पुरानो झगडा रहेको र नागपञ्चमीका दिन मन्दिरमा पूजा गर्ने विषयमा झगडा भएको हँुदा हत्या भएको देखिने बताए ।
रणबहादुर गौतम तिनै डीएसपी हुन् जो म्याग्दीमा कार्यरत रहँदा माओवादी अपहरणमा परी सकुसल मुक्त भएका थिए । म्याग्दी आक्रमणमा गौतमको मातहतका दर्जनौँ जवान र जुनियर अधिकृतहरू मारिएका थिए । त्यसयता गौतमलाई माओवादीनिकटको व्यक्तिको रूपमा लिने गरिएको छ ।

काङ्ग्रेस नेता पहाडी रहेनन्
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोपालराज पहाडीको ६८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला, मुटु, मधुमेह, उच्च रक्तचापबाट पीडित पहाडीको उपचारकै क्रममा गत आइतबार बिहान सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय पहाडी ०२५ सालमा पहिलोपटक बीपी कोइरालाई वनारसमा भेटेपछि नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक अभियानमा होमिनुभएको थियो । उहाँले ०३४ सालमा भारतको पटनामा भएको पार्टी सम्मेलनपछि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । बाहिरी मिजाज खरोजस्तो देखिए पनि अत्यन्त असल स्वभाव र साधा जीवन बिताउन मन पराउने पहाडी सभापति सुशील कोइरालाका विश्वासप्राप्त सहयोगीमध्येका एक हुनुहुन्थ्यो । विगत १७ वर्षदेखि लगातार काङ्ग्रेसको केन्द्रीय सदस्य रहेका पहाडीले ०३६ देखि ०५२ सम्म सङखुवासभाको पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
वि.सं. २००२ मा टीकादत्त दाहाल र कमलादेवीको जेठा छोराका रूपमा सङ्खुवासभाको सिरिसेमा जन्मनुभएका स्व. गोपाल पहाडी अविवाहित हुनुहुन्थ्यो ।

राजधानीको मुटुमा खुल्यो अन्तर्राष्ट्रियस्तरको ‘फुड कोर्ट’
राजधानीको मुटु सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा सुविधासम्पन्न ‘फुड कोर्ट’ सञ्चालनमा आएको छ । झान युन इन्टरनेशनल फुड कोर्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको सिभिल ट्रेडको छैठौँ तलामा अवस्थित उक्त फुड कोर्टको उद्घाटन गत आइतबार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ राजदूत ऊ चुन्ताईले संयुक्त रूपमा गर्नुभयो ।
सुपथ मूल्यमा स्वच्छ, स्वस्थकर र स्वादिस्ट परिकार चाहने उपभोक्ताको चाहनालाई ध्यानमा राखी काठमाडौंको मुटुमै सञ्चालनमा ल्याइएको ‘फुड कोर्ट’मा आमउपभोक्ताको रुचिअनुसार उच्चकोटीका परिकार उपलब्ध हुने फुड कोर्टका अध्यक्ष श्रीमती सुन यान हुवाले जानकारी दिनुभयो । चिनियाँ लगानीकर्ता समूहको लगानीमा सञ्चालनमा आएको फुड कोर्ट सत् प्रतिशत विदेशी लगानी रहेको र काठमाडौं उपत्यकामै यस प्रकारको खाना खाने स्थान यो पहिलो र युनिक भएको पनि फुड कोर्ट सञ्चालिका यानले दाबी गर्नुभयो । लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा आवद्ध रहेका चिनियाँ लगानीकर्ता समूहको लगानीमा सञ्चालनमा आएको झान युन इन्टरनेशनल फुड कोर्टमा चाइनिज तथा कन्टिनेन्टलका साथै सुपरिचित वेजिङ वेस्ड रोस्टेड मिटका व्यञ्जन, सि–फुड र अन्य किसिम–किसिमका उत्कृष्ट परिकारहरु उपभोक्तले सोचेभन्दा सुपथ मूल्यमा उपलब्ध हुने बताइएको छ । फुड कोर्टमा काल्र्सवर्ग बार, चिल्ड्रेन प्ले जोन लगायतका मनोरञ्जनदायी सुविधाहरूको पनि व्यवस्था गरिएको छ ।

हिन्दुत्व संरक्षणका लागि युवा जागरण अभियान
नेपालमा ब्यापक रूपले चलिरहेको धर्म परिवर्तन गराउने कार्यविरुद्ध तथा हिन्दुत्व संरक्षण गर्ने उद्देश्यले हिन्दु जागरण नेपालको युवा भेला सम्पन्न भएको छ । गत १ गते राजधानीमा सम्पन्न कार्यक्रममा हिन्दु जागरण नेपालका सदस्य अरुण ज्ञवालीले स्वागत मन्तव्य दिँदै ०६२/०६३ को आन्दोलनपछि देश धर्मनिरपेक्ष राष्ट्र हुनु धोका भएको र सबै युवाहरू मिलेर यस कार्यको विरोध गर्नुपर्ने धारणा राखे ।
यसैगरी पं. रुद्रनाथ अधिकारीले हिन्दु जागरण नेपालको अभियानले निरन्तरता पाउनु पर्ने सुझाव दिँदै अभियानको सहयोगार्थ १० हजार सहयोग प्रदान गरे । यसैगरी रामेश्वर धितालले पनि तीन हजार सहयोग प्रदान गरी हिन्दु अभियानप्रति प्रतिवद्धता जनाए । डा. गोविन्द शरण उपाध्यायले विश्वमा हिन्दुको अस्तित्व र समस्या समाधानका उपाय संलग्न रहेको ‘हिन्दु धर्मको समस्या र समाधान’ विषयक दृश्य प्रस्तुति प्रदर्शन गरेका थिए ।

आन्दोलनको चेतावनी दिँदै सम्पादकद्वारा ज्ञापन पत्र
धनकुटा/ पत्रपत्रिका भ्याटमा जानुपर्ने सरकारी निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल खारेज नगरे आन्दोलनमा उत्रिने चेतावानी दिँदै धनकुटाका सञ्चारकर्मीहरूले पूर्वाञ्चलका क्षेत्रीय प्रशासकसमक्ष ज्ञापनपत्र बुझाएका छन् । पूर्वाञ्चलका क्षेत्रिय प्रशासक शंकरप्रसाद अघिकारीलाई सम्पादक मञ्च धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा गएको सम्पादकहरूको टोलीले ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।
ज्ञापनपत्र बुझ्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासक अधिकारीले सम्पादकहरूद्वारा प्रस्तुत माग सरकारसमक्ष पु-याउने प्रतिबद्धता जनाए । सो अवसरमा धनकुटा साप्ताहिकका प्रबन्धसम्पादक विजयसन्तोषी राई, धनकुटा हेराल्डका प्रधानसम्पादक नगेन्द्र राई, हाम्रो नयाँ नेपाल विचार साप्ताहिकका प्रधानसम्पादक स्मिता निरौला, तेस्रोधार साप्ताहिकका, सम्पादक नारायणकुमार राईलगायतले भ्याटमा अनिवार्य जानुपर्ने बाध्यात्मक परिस्थितिले मोफसलका स्थानीय पत्रपत्रिकाहरु स्वत: बन्द हुने र ग्रामीण क्षेत्रका जनताको आवाज अवरुद्ध हुने अवस्था आएकोले सरकारले सो निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने बताए ।

नियन्त्रणमा आएन लागूऔषध ओसारपसार
दुव्र्यसनी युवा बढेकोबढ्यै – विपन भण्डारी
नेपालमा लागूऔषध प्रयोग गर्नेको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । प्रयोगकर्तामा अधिकतम सङ्ख्या युवाहरूको रहेको तथ्याङ्क छ । त्यसमा पनि प्लस टु पढ्ने विद्यार्थी लागूऔषधमा फस्ने गरेको तथ्याङ्क लागूऔषध नियन्त्रण ब्युरोको प्रतिवेदनमा उल्लेख छ । एसएलसी पास गरेर काठमाडौं अध्ययन गर्न आएका विद्यार्थी विशेषगरी साथीभाइको सङ्गतमा लागेर लागूऔषध सेवन गर्न सुरु गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्लस टु अध्ययनका लागि काठमाडौं प्रवेश गरेका अधिकांश विद्यार्थी डेरा लिएर साथीभाइसँग बस्ने गर्दछन् । साथीहरूसँग मिलेर बस्दा विद्यार्थी अनियन्त्रित हुने र सुरुमा धुम्रपान र मध्यपानको लतमा लाग्ने गर्दछन् । देखासिकीले लतमा लाग्ने त्यस्ता विद्यार्थी बिस्तारै मदिरामा लाग्ने र अन्तत: विद्यार्थी लागूऔषध प्रयोगकर्ता बन्ने गर्दछन् । यो विभिन्न एन्टी ड्रग्स संस्था र सुधारगृहले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको तथ्याङ्क हो । लागूऔषध नियन्त्रण ब्युरो नयाँबानेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले नेपालमा आगूऔषध नियन्त्रण गर्न पहिलो काम आगूऔषध प्रयोगकर्ता कम गर्नुपर्ने धारणा राखेका छन् । राणाका अनुसार नेपालमा लागूऔषध प्रयोगकर्ता कम गरियो भने कम जनसङ्ख्या रहेको नेपालजस्तो सानो मुलुकमा यस्ता अपराध कम गर्न सकिनेछ ।
लागूऔषध उत्पादन, बिक्री र प्रयोग नेपालमा गैरकानुनी भइसकेको तथ्य अझै पनि नेपालको उपल्लो कुनाका आममानिसलाई जानकारी छैन । त्यसैले कतिपयले अहिले पनि बढी पैसा कमाउने उद्देश्य लिई गाँजा, चरेसलगायतका अवैध वस्तुको खेती गर्ने गरेका छन् । अझ कतिपयले त आगूऔषधका कच्चापदार्थ हो र यो गैरकानुनी छ भन्ने थाहा पाउँदापाउँदै पनि प्रहरीको आँखा छलेर यस्ता वस्तुको खेती गरिरहेका छन् ।
लागूऔषध नियन्त्रण गर्ने हाम्रो मुलुकमा गतिलो निकाय नभएको यथार्थ हो । लागूऔषध नियन्त्रण गर्न गृह मन्त्रालयमातहतमा विभाग र ब्युरो स्थापना भएको छ । प्रहरीअन्तर्गत रहेको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषधका अपराध नियन्त्रण गर्न स्रोत र साधनले पुगेसम्म प्रयास गरिरहेको छ । तर, ब्युरोको त्यो प्रयासले मात्र पनि मुलुकमा बढ्दै गएको लागूऔषध प्रयोगकर्ता कम हुन्छन् भन्नु मूर्खता हुन्छ । लागूऔषधको अवैध व्यापार गर्ने गिरोहको सञ्जाल दिनप्रतिदिन झाँगिँदै गए पनि नेपाल प्रहरीको मातहममा रहेको लागूऔषध ब्युरोले साउन महिनाभरि गरेको निरन्तर छापा र गोप्य मिसनबाट लागूऔषध नियन्त्रणविरुद्धको पाँच घटनामात्र सार्वजनिक गरेको छ । ब्युरोले साउन महिनाको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मुलुकभरबाट नियन्त्रण गरिएको लागूऔषधको अवैध धन्धामा जोडिएका पाँच घटनाका आरोपीलाई नियन्त्रण गरेको उल्लेख छ ।
ब्युरोले साउन ४ गते सामाखुसीबाट एक महिला र एक पुरुषलाई खैरो हिरोइनको व्यापार गरेको आरोपमा पक्राउ गरेको छ । मोरङ स्थायी घर बताउने वर्ष ३० की कल्पना लिम्बू र सुर्खेत स्थायी घर बताउने ३३ वर्षीय शिवकुमार बुढालाई खैरो हिरोइनको डिल गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसन्धानले यो गिरोहले खैरो हिरोइनको मुख्य ग्रहक काठमाडौंमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीलाई बताएको छ । पक्राउ परेको दुई आरोपीको साथबाट २० ग्रम खैरो हिरोइन बरामद गरेको थियो । त्यस्तै ब्युरोले साउन ७ गते कुरियरको माध्यबाट विदेश चरेस निर्यात गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । गिरोहले कान्छीमाया घले भन्ने देरानी घलेलाई कुरियरमार्फत चरेस क्यानडा सप्लाई गरेको आरोपमा नियन्त्रणमा लिएको छ । ब्युरो स्रोतले जनाएअनुसार कान्छीमायाले विभिन्न खेलाउने सामान तथा लगाउन बाक्ला कपडा, जुत्तामा फल्सबटम बनाई चरेस क्यानडा पठाउने गरेका थिए । ब्युरोले साउन १९ गते लागूऔषधको अवैध आयात गर्न लागेको अवस्थामा एक इटालियन नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पासपोर्ट नम्बर वाई ए ३५३६६८८९ वाहक गेनलुगी मारनले आफ्नो सुटकेसमा फल्सबटम बनाई चरेस लुकाई राखेको अवस्थामा प्रहरीले नियन्त्रण गरेको थियो । उक्त विदेशीले तीन केजी चरेस नेपाललाई ट्रान्जिट बनाएर लैजान लागेका थिए । त्यस्तै, साउन २५ गते नाइट्रोसन ट्याब्लेट र स्पास्मोस प्रोक्सिभन क्याप्सुलसहित धरान बस्ने ३० वर्षीय जयशंकर राई र मोरङ स्थायी घर भएका ३६ वर्षीय योगेन्द्र थापा भारतको जोगवनीबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । ब्युरोले साउन २७ गते एक १८ वर्षीय युवक विद्यार्थी सन्दीप थापालाई २७ ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लियो । यसरी साउन महिना ब्युरोले हातपारको समग्र सफलतालाई हेर्दा नेपाल लागूऔषध आयातनिर्यातको ट्रान्जिट बन्नुको साथै यो व्यवसाय युवाहरूमाझ झन् झाँगिँदै गएको स्पष्ट भएको छ । अवैध व्यवसायमा विदेशीहरू संग्लन भएको पाउनु र पक्राउ पर्नुले यो विषयलाई झन् जटिल बनाएको छ ।
तर, एउटा निकायको प्रयासले मात्र पनि लागूऔषधको अवैध सञ्जालको जालो कम हुन्छ भनेर समग्र राज्य चुप लागेर बस्नु कहाँसम्मको बुद्धिमानी हो ? बुझ्नुपर्ने सामान्य कुरा के छ भने राज्यको कमजोरीकै कारण नेपालमा दिन प्रतिदिन लागूऔषध प्रयोगकर्ता बढ्दै गएका हुन् । लागूऔषध प्रयोग गर्दा त्यसले शरीरलाई नकारात्मक हानि पु-याउँछ तर पनि युवाहरू किन यस्तो लतमा फसिरहेका छन् ? यस्तो किन भइरहेको छ ? जटिल प्रश्न यही हो । दुई दशकअघि चुरोट र मदिराको खुलेआम प्रचारप्रसार गरिने गरिएको थियो । रेडियो, टीभी, पत्रपत्रिका सबैमा चुरोट, सुर्ती, मदिराहरूको विज्ञापन बजिरहँदा बालबालिकादेखि वृद्धसम्म पनि यस्तो लतमा लाग्ने गरेका थिए । तर, अहिले अवस्था परिवर्तन भएको छ । मध्यपान र धुम्रपान गर्नुहुँदैन भनेर विज्ञापन आउने गरेका छन् । यसले साँच्चै नै राम्रो प्रभाव पारेकै हो । बुझ्ने र सकारात्मक सोच बोकेकाहरू साँच्चै यस्ता वस्तुबाट टाढै बस्न रुचाउँछन् । तर, चुरोट र सुर्तीभन्दा पनि घातक वस्तु लागूऔषधको विषयमा सबैलाई सचेत गराउन राज्य किन गम्भीर भएको छैन । राज्यले किन यस्तो जटिल विषयलाई सामान्य ठानिरहेको छ । किन ? प्रश्न उब्जन्छ ।

दक्षिण एसियाली सभ्यता विश्वको सर्वाधिक उर्वर : प्रा. चन्द्रमोहन
बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको सक्रियतामा नेपालस्थित भारतीय दूतावासले आयोजना गर्दै आएको ‘भ्वाइसेस’को चौथो संस्करण गत शुक्रबार नयाँसडकस्थित नेपाल–भारत पुस्तकालय भवनमा सम्पन्न भयो । ‘भ्वाइसेस’को उक्त संस्करणका प्रमुख आकर्षण हुनुहुन्थ्यो– गुजरातस्थित केन्द्रीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उच्च शिक्षाका सल्लाहकार तथा तुलनात्मक साहित्य सङ्घ भारतका महासचिव प्रा. चन्द्रमोहन । कार्यक्रममा प्राध्यापक चन्द्रमोहनले दक्षिण एसियाको साहित्यिक तथा सांस्कृतिक अन्तर्सम्बन्धमा प्रकाश पार्नुभयो ।
दक्षिण एसियाली सम्वेदनशीलतामा प्रकाश पार्दै उहाँले दक्षिण एसियाली सभ्यता तथा मूल्य–मान्यताबारे विशेष जोड दिनुभयो । दक्षिण एसियाली देशहरूबीचको अन्तर्सम्बन्धको महत्वबारे जोड दिँदै प्रा. चन्द्रमोहनले भन्नुभयो, ‘दक्षिण एसियाली सभ्यता विश्वको सर्वाधिक उर्वर सभ्यता हो, किनकि यसले आफ्नो परम्परा धान्न सफल भएको छ ।’ उहाँले सांस्कृतिक सम्बन्धका लागि सार्कले पुलको काम गरेको उल्लेख गर्दै सोका लागि भाषाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

पोएमाण्डुको छैटौँ शृङ्खलामा तुलसीदासको स्मरण
भारतीय राजदूतावास, काठमाडौं र बीपी कोइराला भारत–नेपाल फाउन्डेशनद्वारा बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको तत्वावधानमा सुरु गरिएको ‘पोएमाण्डु’को छैटौँ शृङ्खला महान् कवि तुलसीदासजयन्ती मनाउँदै सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. उप्रेतीले पोएमाण्डुले भारत र नेपालका कविहरूलाई ठूलो अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेशनले भारत र नेपालबीच रहेको समान सांस्कृतिक मान्यता तथा प्रचलनलाई अभिवृद्धि गर्न अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सो अवसरमा प्रख्यात साहित्यकार डा. रामदयाल राकेशले तुलसीदासले नेपाली र भारतीय साहित्यमा पु-याएको महत्वपूर्ण योगदान, उहाँको आख्यान तथा उपदेशबारे बताउनुभयो भने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. श्वेता दीप्तिले तुलसीदासद्वारा रचित भगवान् राम वर्णन सुनाउनुभयो । साथै, तुलसीदासलाई स्मरण गर्ने क्रममा नेपालका प्रख्यात कविहरू डा. रामभरोस कापड, डा. सञ्जिता वर्मा, गोपाल अस्क, मेदिनीकुमार केवल, विश्वेश्वर मण्डल र डा. गंगाप्रसाद अकेलाले कविता तथा गजल वाचन गर्नुभयो । केन्द्रीय विद्यालय र मोडर्न इण्डियन स्कुलका विद्यार्थीद्वारा तुलसीदासरचित रामचरित मानसका हरफहरू वाचनपश्चात् कार्यक्रम सम्पन्न भयो ।

प्रमुख राजनीतिक दलहरूले चुनावी माहोल तताए
– चन्द्रकान्त खनाल
रूपन्देही/ निर्वाचन कार्यतालिका सार्वजनिक भएयता रूपन्देहीमा प्रमुख राजनीतिक दलहरूले चुनावी माहोल तताउन थालेका छन् । दलका नेता, कार्यकर्ता गाउँफर्क अभियानमा लागेकाले गाउँ–गाउँमा चुनावी रौनक छाएको छ । जनमत आफ्नो पोल्टामा पार्न नेपाली काङ्ग्रेस, एमाले, एकीकृत माओवादी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावनालगायतका दलहरू भेटघाट, छलफल, सङ्गठन सुदृढीकरणजस्ता कार्यक्रम लिएर गाउँ पस्न थालेका हुन् ।
सात निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट ०६४ को निर्वाचनमा एक सिट जितेको नेपाली काङ्ग्रेसले यसपटक जिल्लामा बहुमत सिट जित्ने योजनाअनुरूप अगाडि बढेको बताएको छ । काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले स्थानीय नेता–कार्यकर्तालाई प्रशिक्षण दिई चुनावी गतिविधिलाई आमसर्वसाधारणको घरदैलोमा पु-याउने काम भइरहेको बताए । नेपाली काङ्ग्रेस चुनावमा होमिइसकेकाले नगर, क्षेत्र तथा गाउँभेला र प्रशिक्षणमार्फत आसन्न निर्वाचनबारे जनतालाई जागरुक बनाउने काम भइरहेको उनले बताए । ‘लोकतान्त्रिक संविधान निर्माण तथा शान्ति, सुव्यवस्थाका लागि अबको निर्वाचनमा काङ्ग्रेसको बहुमत अनिर्वाय छ, यो सन्देश जनतामाझ पु-याउँदै छौँ,’ खाँणले भने ।
त्यस्तै, नेकपा एमालेले पनि जिल्लामा चुनावी गतिविधि बढाएको छ । गाउँ/नगर भेला, छलफल, प्रशिक्षण तथा गाउँस्तरसम्म जनसङ्गठन गठनलगायतका कार्यक्रम लिएर केन्द्रीय नेतासहित जिल्ला नेतृत्व जिल्लाको ग्रामीण भेगहरूमा दौडधुप गरिरहेको छ । एमाले लुम्बिनी अञ्चल सङ्गठन विभाग प्रमुख लीला गिरीका अनुसार संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियानअन्तर्गतको पहिलो चरणको कार्यक्रम सकिएको छ । आसन्न संविधानसभा चुनावमा रूपन्देहीका साथै देशव्यापी रूपमै एमाले अग्रपङ्क्तिमा आउने दाबी एमालेका नेताहरूको छ ।
उता सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध अभियानमा जुटेको एमाओवादीले जिल्लाका सातवटै निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरू खटाई निर्वाचन अभियानलाई सशक्त रूपमा अगाडि बढाएको जनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनका लागि जनसम्बन्ध अभियान भन्ने नारासहित एमाओवादीका केन्द्रीय सदस्य तथा जिल्ला नेतृत्व विभिन्न कार्यक्रम लिएर गाउँ पसेको हो । एमाओवादी रूपन्देहीका कार्यवाहक संयोजक यज्ञ पोखरेलका अनुसार केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ताहरूको टोलीले जनताको घरदैलोमा पुगेर पार्टीको नीति तथा आगामी संविधानसभा निर्वाचनका सम्बन्धमा छलफल चलाइरहेको छ । पहिलो चरणमा पार्टीको गाउँ, नगर र वडास्तरीय बैठक तथा प्रशिक्षण सकेर जनभेटघाटका साथै अन्तरक्रिया, छलफल चलाइरहेको उनले बताए ।
त्यस्तै दोस्रो संविधानसभा निर्वाचनको मिति तोकिएलगत्तै एक–अर्काका नेता–कार्यकर्ता तानातानमा लागेका मधेसवादी दलले पनि आ–आफ्नै तरिकाले चुनावकेन्द्रित गतिविधि सञ्चालन गरिरहेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना, तमलोपाजस्ता चुनावपक्षीय मधेसवादी दलहरूले गाउँ, क्षेत्र तथा जिल्ला कमिटीहरूलाई सक्रिय भएर चुनावमा जुट्न सर्कुलर जारी गरिसकेको राजेन्द्र महतो रूपन्देही जिल्ला अध्यक्ष राजेन्द्र गुप्ताले जनाएका छन् । मङ्सिर ४ को चुनावको विपक्षमा रहेको नेकपा माओवादीले भने चुनाव बहिष्कार कार्यक्रमको तयारीस्वरूप जिल्लाका सबै निर्वाचन क्षेत्रमा भण्डाफोर अभियान सञ्चालन भइरहेको नेकपा माओवादीका जिल्ला इन्चार्ज वसन्त श्रेष्ठले बताए ।
सात निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा यसअघिको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमाओवादी, २, ६, ७ बाट नटुक्रिएको फोरम, ३ बाट नेपाली काङ्ग्रेस र क्षेत्र नम्बर ४ र ५ बाट एमालेले जित हासिल गरेका थिए । ०६४ सालको सो निर्वाचनमा रूपन्देहीबाट तीन लाख ३३ हजार पाँच सय ५३ मत खसेकोमा १६ हजार ६ सय ४५ मत बदर भएको थियो । यसपटक भने रूपन्देहीमा तीन लाख ८७ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको भए पनि सो सङ्ख्यामा १८ वर्ष नपुगेकाको सङ्ख्यासमेत सामेल भएकाले मतदाता सङ्ख्याको अझै यकिन भइनसकेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम ज्ञवालीले बताए ।

रूपन्देहीका ऐतिहासिक क्षेत्रमाथि काङ्ग्रेसको विशेष ध्यान
नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लामा रहेका प्रसिद्ध तथा ऐतिहासिक महत्वका क्षेत्रको अध्ययनका लागि अध्ययन समिति बनाएको छ । पार्टी जिल्ला कार्यसमितिको बैठकले जिल्ला सदस्य फणीन्द्र शर्माको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको हो ।
संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय महत्वका विषयलाई पार्टीले प्रकाशन गर्ने घोषणापत्रमा नै उल्लेख गर्नका लागि जिल्ला सदस्य विश्वनाथ यादव, मात्रिकाप्रसाद यादव, यमबहादुर खत्री, हरिबहादुर आचार्य क्षेत्री, बसिउल्लाह मुसलमान, अशोककुमार त्रिपाठी र दुर्गाप्रसाद उपाध्याय सदस्य रहेको समिति गठन गरिएको सचिव रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार सो समितिले तयार पार्ने प्रतिवेदन यही भदौ १५ गतेभित्रै पार्टीको केन्द्रीय समितिलाई बुझाइनेछ ।
समितिले लुम्बिनी, गौतमबुद्ध विमानस्थल, सुक्खा बन्दरगाह, गौतम बुद्धको
मावली देवदह, जितगढी, तिनाउ दानव, रोहिणी नदी तटबन्ध तथा सिँचाइ, सुनौली–बुटवल सडक, पक्लिहवा कृषि क्याम्पसलाई कृषि विश्वविद्यालय बनाउनेजस्ता विषयमा अध्ययन गर्ने बताइएको छ । त्यस्तै, आसन्न दोस्रो संविधानसभालाई लक्षित गरेर पार्टीले सञ्चालन गर्न लागेको क्षेत्रीय प्रशिक्षण पनि यही १५ गतेभित्र नै सक्ने निर्णय पार्टीले लिएको छ । सो प्रशिक्षणका लागि प्रत्येक निर्वाचन क्षेत्रमा एकजना केन्द्रीय प्रशिक्षक पठाउनेछ भने जिल्ला कार्यसमितिका पदाधिकारी तथा जिल्लामा रहेका नेताहरू सहभागी गराइने पनि सचिव खाँणले जानकारी गराए ।
पार्टी सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले आगामी २४ गते १००औँ बीपीजयन्तीको अवसरमा विचारगोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । बीपीले लिएका विचार र नेपाली काङ्ग्रेसको सिद्धान्तका विषयमा विचारगोष्ठी केन्द्रित रहने पार्टीले जनाएको छ । सोही बैठकले पार्टीका सिद्धार्थनगर सभापति सुरेन्द्रजंग थापा हिमाली सामुदायिक प्रहरी वडा नं. ७, ८ र ९ को सभापतिमा निर्विरोध निर्वाचित भएकोमा पनि बधाई प्रस्ताव पास गरिएको सचिव खाँणले जानकारी दिए ।

मोटरसाइकल–मजदुर पनि आन्दोलनको ‘मुड’मा
– विष्णु सुब्बा
दमक/ झापामा दैनिक ३० हजार बढीको हाराहारीमा मोटरसाइकल गुड्ने गर्छन् । पछिल्ला वर्ष मोटरसाइकलमा मानिसको आकर्षण बढेको पाइन्छ । दशकअघि मोटरसाइकल विलासिताको सामग्रीका रूपमा सूचीकृत गरिए पनि अहिले कामकाजीहरूका लागि मोटरसाइकल बाध्यता नै बन्दै गएको छ । मोटरसाइकल चढ्ने अधिकांशको भनाइ छ, ‘कामकाजका लागि भरपर्दो साधन मोटरसाइकल नै हो ।’
यातायात व्यवस्था कार्यालय मेचीका अनुसार अहिले अञ्चलभित्र मे.५ प को नम्बरमा दुईपाङ्ग्रे मोटरसाइकल नियमानुसार दर्ता छन् । यो नम्बरको दर्ता सङ्ख्या भनेको ५० हजारको हाराहारीमा हो । तर, अञ्चलभित्र अन्य अञ्चलका मोटरसाइकल पनि उत्तिकै गुड्ने गर्छन् । सरदर ३० हजारभन्दा बढी सङ्ख्याका मोटरसाइकल झापामा मात्र गुड्ने कार्यालयका अधिकृत तारानाथ दङ्गालको अनुमान छ । मोटरसाइकलको प्रयोगदर ह्वात्तै बढेको उनको ठहर छ ।
तर, मोटरसाइकल मर्मतमा काम गर्ने श्रमिकहरूको कथाव्यथा भने पिरलोलाग्दो छ । मोटरसाइकलको पार्टस् बनाउने या सर्भिसिङ गर्ने श्रमिकको दिनचर्या भने श्रम गरेअनुसार सुखद बन्न नसकेको मजदुरहरूको अनुभव छ । दमक–११ स्थित मनकामना वर्कसपका सञ्चालक खेम ओली मजदुरहरूले श्रम गरे पनि उचित मूल्य नपाएको बताउँछन् । ‘हामीले प्रशासन तथा अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय नै धरापमा परेको छ,’ उनको भनाइ छ ।
मोटरसाइकल श्रमिकको सङ्ख्या जिल्लाभरमा एक हजाभज्दा बढी छ । वर्कसपको सङ्ख्या करिब डेढ सयको हाराहारीमा छ । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाका अनुसार चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीमा मेकानिक्स काम गर्ने श्रमिकको सङ्ख्या दुई हजार पाँच सयभन्दा बढी छ । यी सङ्ख्याका श्रमिकमध्ये बढी दुईपाङ्ग्रे क्षेत्रमा काम गर्दै आएका छन् । ती वर्कसपले दैनिक चार लाखभन्दा बढीको कारोबार गर्दै आएका छन् । वर्कसपहरूले सर्भिसिङ, विभिन्न पार्टस् फेरेबापत ग्राहकहरूले सोबराबरको रकम खर्च गर्दै आएका छन् । ती वर्कसपमा संलग्न मजदुरहरूले दैनिक पाँच सयभन्दा बढी रुपैयाँ आर्जन गरी आएका छन् । युनियनका जिल्ला उपाध्यक्ष सुमन सेढाईंका अनुसार थोरै लगानी र हातमा सीप हुनेका लागि यो व्यवसायबाट जीविकोपार्जनका लागि गतिलो माध्यम बन्दै गएको छ । उनी भन्छन्, ‘कामप्रति समर्पित बन्न सकिए पारिवारिक गुजाराका लागि कसैको मुख ताक्नुपर्दैन ।’ तर, प्रशासन र राज्यबाट यस्ता स्वावलम्बी व्यवसायमा आकर्षित गराउने र प्रोत्साहित हुने किसिमको सहयोग नभएको उनको गुनासो छ । श्रमिकलाई हप्काउने, डर, धम्की दिने कार्य नरोकिएको उनको दाबी छ ।
युनियनका जिल्ला अध्यक्ष धनपति सत्यालले अटो मेकानिक्सका क्षेत्रमा राज्यले ध्यान नदिएको बताउँछन् । ‘ठूलो रोजगार क्षेत्रको रूपमा विकसित हुँदै गएको यस व्यवसायमा राज्यले नीतिगत व्यवस्था गर्न सकेको छैन ।’ उनले थपे, ‘अब यो क्षेत्रलाई व्यावसायिक दृष्टिले हेरिनुपर्छ ।’ मोटरसाइकलमा दिनरात श्रम गर्ने श्रमिकको अवस्था नाजुक भएको भन्दै उनले भने, ‘अब यो व्यवसायमा आवश्यक नीति बनाउनुपर्छ ।’
सीमावर्ती भारतीय बजारमा आकर्षित
खुल्ला सीमाका कारण झापा र मोरङका मोटरसाइकल ग्राहकहरूले मोटरसाइकलका कुनै काम गर्नुपरे सीमाका भारतीय बजार धाउने गर्छन् । झापाको काँकडभिट्टापारि पानीट्यांकी, मोरङको जोगवनीलगायत क्षेत्रमा नेपाली ग्राहकको ठूलो घुइँचो नै लाग्ने गर्दछ ।
ग्राहक नेपालमा मर्मत तथा अन्य पार्टस् फेर्न महँगो पर्ने हुँदा सस्तोका लागि भारतीय बजार पुग्ने गर्छन् । झापाको काँकडभिट्टापारि पानीट्यांकीमा दैनिक एक हजारको हाराहारीमा मोटरसाइकल भारतीय वर्कसपहरूमा पुग्ने गरेको युनियनको दाबी छ ।
युनियनका अध्यक्ष सत्याल भन्छन्, ‘अवैध किसिमले भारतीय बजारमा आकर्षित भएपछि सीमा क्षेत्रका दर्जनौँ श्रमिक प्रभावित हुँदै आएका छन् ।’ यसरी भारतीय बजारमा मोटरसाइकल मर्मत गरिँदा लाखौँ रुपैयाँको राजस्व गुम्दै गएको उनको बुझाइ छ । त्यसले सीमा भारतीय बजार नेपालीका लागि गन्तव्यस्थल बनेको छ,’ उनको भनाइ छ ।
युनियनले जथाभावी भारतीय बजारमा खुलमखुल्ला मोटरसाइकलले आवजजावतमा कडाइ गरिनुपर्ने माग उठाउँदै आएको छ । मोटरसाइकलबाट हुने खुला आवतजावतले साना हातहतियार र लागू औषधको ओसारपसारमा सहयोग पुगेको युनियनका अध्यक्ष सत्यालको दाबी छ । जिल्ला प्रशासनमा पटक–पटक यस विषयलाई उठाइए पनि सुनुवाइ नभएको सत्याल बताउँछन् । युनियनले अब पुन: सो मागलाई चर्काउने चेतावनी दिएको छ । सत्याल भन्छन्, ‘मजदुरको रोजीरोटी खोसिएर सीप भएर पनि विस्थापित हुनुपर्ने अवस्था आएको छ, त्यसैले निर्णायक आन्दोलनको तयारीमा छौँ ।’

हात्तीपीडितलाई सहयोग
दमक/ जङ्गली हात्तीको आक्रमणबाट घरमा क्षति पुगेका झापा सतासीधाम– ९ का प्रेम पुरीलाई जेसिजले सहयोग गरेको छ । सतासी जेसिजले एक औपचारिक कार्यक्रमको आयोजना गरी नगद १० हजार एक सय ५० रुपैयाँ राहत सहयोग उपलब्ध गराएको हो । पीडित पुरीका परिवारलाई राहत दिन जेसिजले रकम सङ्कलन गरी सो सहयोग उपलब्ध गराएको जेसिसका कार्यकारी उपाध्यक्ष जीवन गिरीले जानकारी दिए । गाविससचिव छत्रबाबु ओझाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नारायण भट्टराई, लोकेश खनाललगायतले बोलेका थिए । गत साउन ३० गते एउटा जङ्गली हात्तीले पुरीको घरमा क्षति पु-याएको थियो ।

गोरुसिङ्गेचोकको यस्तो छ व्यथा
– मुक्तिनाथ भुसाल
पछिल्ला दिनमा अर्घाखाँची चोकबाट चिनिन थालेको कपिलवस्तुस्थित गोरुसिङ्गेचोक हाईवेमा गुड्ने विभिन्न सवारीसाधनको बिसाउनीका रूपमा रहेको छ । सदरमुकाम सन्धिखर्कबाट आउने र काठमाडौं, बुटवल एवम् कृष्णनगरबाट सदरमुकाम जाने गाडीका अलावा कपिलवस्तुको पत्थरकोट जाने सवारीसाधनहरू पनि यस स्थानमा रोकिने कारण गोरुसिङ्गेचोकलाई अर्घाखाँची चोकको नामाकरण गरिएको स्थानीयको भनाइ छ ।
पहाडबाट आउने र जाने सवारीसाधनहरू यस स्थानमा रोकिने कारण यहाँको चहलपहल बढेको छ । स्वभावत: यात्रुहरूको चहलपहल वा भीडभाड हुने कारणले यहाँ साना व्यवसायीको आकर्षण पनि बढ्ने नै भयो । यात्रुको सेवा र आफ्नो रोजीरोटीको निम्ति करिब दुई दर्जन व्यापारीहरूले ठेलामा फलफूल तथा अन्य सामग्री सजाएर व्यापार गर्ने गरेका छन् । ठूला सवारीसाधनका अलावा कार, जिप, मोटरसाइकलजस्ता साना सवारी पनि यस स्थानमा रोकिएर केही न केही सामान खरिद गर्ने गरेकाले गोरुसिङ्गेचोकमा दिनहुँ हजारौँ यात्रुले पाइला राख्छन् । तर, यसरी चहलपहल बढिरहेको गोरुसिङ्गेचोक एउटा कारणले चाहिँ निकै व्यथित बनेको छ, जसले हजारौँ यात्रुलाई पनि सताउने गरेको छ । यो व्यथा हो– सार्वजनिक शौचालयको अभाव ।
एकातर्फ आर्मी क्याम्प, अर्काेतर्फ सशस्त्र वन सुरक्षा कार्यालय अनि भगवतीको मन्दिर र ट्राफिक कार्यालयको बीचमा अवस्थित गोरुसिङ्गेचोकमा ओर्लिने हजारौँ महिला तथा पुरुष यात्री सार्वजनिक शौचालयको अभावमा सेनाको जमिन र अन्य खुला स्थानमा शर्म मान्दै सौच गर्न बाध्य बनेका दृश्य देखिन्छ, जो अत्यन्त विडम्बनाको विषय हो । स्थानीय सरोकारवालाहरूले पनि यस कुरामा विचार पु-याएर उचित प्रबन्ध मिलाउनेतर्फ पहलकदमी लिइहाल्नु अपरिहार्य देखिन्छ ।
गोरुसिङ्गेचोकमा यात्रुहरूलाई व्यवस्थित गर्नेका लागि पश्चिमाञ्चल वस व्यवसायी समिति र देउराली यातायातले आ–आफ्ना कर्मचारी परिचालन गरेका छन्, जो सराहनीय विषय हो । तर, यात्रुको अत्यन्त भीडभाड र सवारीसाधनको लम्बेतान लाग्ने स्थानमा सार्वजनिक शौचालयहरूको निर्माण अपरिहार्य बनेको छ । यसतर्फ सम्बन्धित सम्बद्ध निकायको ध्यान कहिले पुग्छ, व्यग्र प्रतीक्षाको विषय बनेको छ ।

बौद्धमा रोपाइँजात्राको तयारी
बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको मौलिक पर्व गाईजात्रा एवम् रोपाइँजात्रालाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ । यही भदौ ७ गते मनाइने जात्राको कार्यक्रमबारे जानकारी दिँदै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिका संयोजक सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धमा परम्परागत रूपमा मनाइने गाईजात्रा एवम् रोपाइँजात्रालगायत पर्वले यस क्षेत्रको शोभा उच्च बनाएको बताए । खेतीपातीको कामबाट केही मुक्तिको अनुभूति गर्दै बौद्धका स्थानीयले भदौ महिनाको पहिलो साता गाईजात्रा एवम् रोपाइँजात्रा पर्व अन्य क्षेत्रमा भन्दा विशेष महत्वका साथ मनाउँदै आएका छन् । बौद्ध क्षेत्रका यी मौलिक जात्रामा जनसहभागिता बढाउन र पछिल्लो पुस्तालाई आकर्षित गराउन बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न अभिनय एवम् हास्य प्रस्तुतिमा सहभागी भई उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने बताएको छ ।