‘बूढो बाघ र तन्नेरी स्याल’

‘बूढो बाघ र तन्नेरी स्याल’


funtimeसिनेमा आफ्ना लागि बनाउने हो कि दर्शकको लागि ? जवाफ त दर्शकका लागि हो भन्ने आउनुपर्छ । तर, केही सिनेकर्मी भने लाखौँ लगानीमा बनाइएको सिनेमा हेरेपछि केवल सिनेकर्मीले नै ‘वाहवाही’ गरेको भरमा दङ्ग पर्न थालेका छन् र त्यो देखेर उनीहरू भन्छन्, ‘म त दङ्ग छु, सबैलाई धन्यवाद ।’
यता यही सिनेमा दर्शकहरूले मन नपराइदिँदा भने आफ्नो लाखौँ लगानी बालुवामा पानी हालेझैँ भएको कुराको पत्तो भने उनीहरूलाई छैन । दर्शकहरू माझ जाँदा दर्शकबाट बहिष्कार भएपछि मल्ल उनीहरूले थाहा पाउन थालेका छन् कि फिल्मकर्मीले मन पराएको चलचित्र दर्शकहरूले मन पराउँदा रहेछन् । सिनेकर्मीहरूलाई पनि अप्ठ्यारो † आफ्नै साथीभाइहरूले बनाएको चलचित्रलाई कसरी नराम्रो भन्ने ? त्यसकारणले पनि सम्बन्ध नबिग्रियोस् भन्ने हेतुले पनि उनीहरूले फिल्म राम्रो नभए तापनि ‘राम्रो’ भन्ने गरेका छन् । त्यत्तिकै भरमा उचालिएर आफूसँगै जुध्न आएको अर्को चलचित्रलाई तथानाम गाली गर्दै हिँड्न थालेपछि अन्तत: त्यसको परिणाम गलत नै आउँदोरहेछ भन्ने कुराको गतिलो उदाहरण बनेको छ चलचित्र महसुस ।
महसुस र अर्को चलचित्र किनकिन एक दिनदेखि रिलिज भएका हुन् । सिनेकर्मीहरूलाई पहिले नै देखाइएको महसुस हेरेपछि सिनेकर्मीहरूले तारिफ गरे । तर, किनकि देखाइएन । किनकि नदेखाएपछि तिनै सिनेकर्मीहरूले किनकिनको युनिटलाई ‘फिल्म राम्रो छैन होला अनि कसरी देखाउँछ त ?’ भनेर गाली गरे । यही गालीबाट हौसिएर महसुस युनिट पनि उल्टै किनकिनविरुद्ध लाग्यो । अन्तत: दुवै सिनेमाहलमा पुगे तर परिणाम ठीक विपरीत भयो । महसुसलाई दर्शकहरूले मन पराइदिएनन् भने किनकिनलाई दर्शकहरूले मन पराइदिए । यो बलियो उदाहरणबाट पनि प्रस्ट हुन्छ कि सिनेकर्मीभन्दा पनि वास्तविक दर्शक हलमा टिकट काट्ने नै हुन् । यदि पैसा तिरेर टिकट काट्नेहरूको चित्त बुझेन भने अवश्य पनि त्यो फिल्म असफल नै हो । यो मामिलामा महसुस यतिबेलाको व्यावसायिक रूपमा असफल फिल्म बन्न पुगेको छ ।
त्यसो त किनकिनमा राजेश हमाल छन् भने महसुसमा आर्यन सिग्देल । महसुसवालाले हमाललाई अब बूढो बाघ चल्दैन तन्नेरी स्यालकै समय आएको छ भनेर हमालको अवमूल्यन गरेर आर्यनलाई उचाल्यो पनि तर आर्यन यो मामिलामा खासै बोलेनन् । जहाँजहाँ महसुसको टिम जान्थ्यो त्यहाँत्यहाँ किनकिनको टिम जाँदा दर्शकहरूले राजेशलाई घेर्थे । राजेशप्रति बढेको दर्शकको भीडले गर्दा पनि बजारमा बाघ बूढो र स्याल तन्नेरी हुँदैन रहेछ भन्ने कुरा प्रमाणित गरेको छ ।

खै उदीतको पाँच लाख ?
गीत गाएकै भरमा कति नेपालीको कति रकम खल्तीमा हाले होलान् उदीतनारायण झाले ? हिसाबकिताब कोहीसँग पनि छैन । तर, तिनै उदीतले चलचित्र विकास बोर्डको कलाकार कल्याण कोषलाई पाँच लाख सहयोग गर्छु भनेको एक महिना बित्दा पनि अत्तोपत्तो छैन ।
जुन देशमा गयो त्यही देशको नागरिक हुँ भन्दै जनताको सहानुभूति बटुलिहाल्ने चलाख उदीत गत महिना एक नेपाली फिल्मी अवार्डको कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । उनले त्यो आगमनमा सम्मान र वाहवाही पनि खुवै पाए । सायद यही कुराबाट प्रभावित भएर होला उनले चलचित्र कलाकारहरूको सहयोगका लागि आफ्नोतर्फबाट पाँच लाख सहयोग गर्ने सार्वजनिक घोषणा पनि गरे । त्यो घोषणा गरेको एक महिना बितिसक्दा पनि अहिले उदीतको उक्त प्रतिबद्धताप्रति कसैको चासो गएको छैन । नेपालको बसाइ रहँदा ‘वाहवाही’ कमाउन मात्र झुटो प्रतिबद्धता व्यक्त गरेका त होइनन् उदीतले ? अहिले शङ्का–उपशङ्का उब्जन थालेको छ । उदीतको भारत पुगेपछि सात दिनभित्र त्यो रकम पठाउने घोषणाको मिति सकिएको पनि महिनौँ बितिसक्यो । यसरी झुटो आश्वासनमा ताली र वाहवाही पाएका उदीतले गरेको नगद सहयोगको घोषणा सही हो कि झुटो हो ? त्यो भने हेर्न बाँकी नै छ ।

नम्रता को हुन्, अब दुनियाँले देख्ने
आफूबाट ठूलो गल्ती भएको महसुस गरेपछि केही समय विक्षिप्त हुन पुगकी मोडल तथा अभिनेत्री नम्रता श्रेष्ठको जीवन यतिबेला सुन्दर तरिकाले अगाडि बढिरहेको छ । एक कार्यक्रममा उनले भनिन्, ‘विगतको गल्तीबाट सिकेर नै भावी सफलताको बाटो कोर्नुपर्ने रहेछ ।’
यतिबेला नम्रता फराकिलो सोच र उद्देश्यका साथ अगाडि बढिरहेकी छिन् । ‘त्यतिबेला मलाई मिडियाले पनि खुब खेद्यो । म मिडियाप्रति क्षुब्ध पनि भएँ, तर अहिले बुझ्दै आउँदा म अलि नै बढी आक्रोशित भएकी रहेछु । अब त्यस्तो हुन्न,’ उनले भनिन् । कलाकारिता क्षेत्रलाई नै कर्म बनाउँदै जीवनपर्यन्त यसमा नै लाग्ने सोचका साथ धरानबाट काठमाडौं आएकी नम्रता अहिले बेजोड तरिकाले अगाडि बढेकी छिन् । ‘अरूमाथि होइन पहिले आफैँमाथि विश्वास गर्नुस् । अनि मात्र अगाडि बढ्न सकिन्छ,’ उनको अनुभव छ । म्युजिक भिडियो, टेलिविज्ञापन र फिचर फिल्म तिनै विधामा एकसाथ अगाडि बढेकी नम्रता अहिले एकैपटक दुई चलचित्र मौन र मेघाको प्रचारप्रसारमा व्यस्त छिन् । दुवै चलचित्रमा आफूले फरक भूमिका निभाउन पाएकोमा दङ्ग नम्रतालाई मेघामा भने मनीषा कोइरालाका भाइ सिद्धार्थ कोइरालाले जोडीको रूपमा साथ दिएका छन् ।
बीचको समयमा आफ्नो यात्रामा विविध अवरोधहरू आएको कुरा उनी बताउँछिन् । ‘तर अब ती अवरोधहरू पन्छाउँदै अगाडि बढेकी छु । नम्रता के हो अब देख्नेछन् सबले,’ उनी हौसिँदै भन्छिन् ।