बालकलाकार हिरोइनको हात समाउँदै

बालकलाकार हिरोइनको हात समाउँदै


funtimeचलचित्र ‘नेपालीबाबु’मा आफूलाई छाडेर जाने आमा नायिका जल शाहको हात समाउँदै ‘मलाई छाडेर नजानुस् आमा । म एक्लै हुन्छ…’ भनेर विलौना गर्ने बालकलाकार सलोन बस्नेत यतिबेला नायिकाको हात समाउँदै पे्रमका कुरा गर्ने भएका छन् ।
बैंसले धपक्क बलेकी युवतीलाई फकाउँदै सँगै बाँच्ने अनि सँगै मर्ने कसम पनि खान थालेका छन् । बालकलाकारिताबाट सुरु भएको उनको अभिनययात्रा यतिबेला नायकको रूपमा आएर उभिएको छ । निर्देशक शोभित बस्नेतका पुत्र सलोन पारिवारिक कारण पनि चलचित्र क्षेत्रमा उभिन आफूलाई सजिलो भएको कुरा बताउँछन् । सलोनलाई नायकको रूपमा देख्न पाइने चलचित्र ‘होस्टेल’ भदौ १४ बाट रिलिज हुँदै छ भने उनी त्यसपछि आफ्नै पिताले बनाउन लागेको चलचित्र ‘एउटा साथी’मा व्यस्त हुनेछन् । जुन चलचित्रलाई सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्नेछन् ।
जीवनलाई अगाडि बढाउने थुपै्र ‘अप्सन’हरू भए तापनि अब सलोन अभिनय क्षेत्रलाई नै अगाडि बढाउने योजनामा छन् । ‘परिवारबाट पनि राम्रो साथ र सपोर्ट मिलेपछि मन झनै उत्साहित भएको छ,’ उनी दङ्ग पर्दै भन्छन् ।
चलचित्रकर्मीहरूका सन्तान चलचित्र क्षेत्रमा आउन त्यति सक्रियता नदेखाइरहेको अवस्थामा कम चलचित्रकर्मीहरूमा सन्तान यो क्षेत्रप्रति आकर्षित भएका छन् । यसैक्रममा सलोनको आगमनले पनि बजारमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । ‘कुनै पनि क्षेत्र र विधा आफैँमा गलत र नराम्रो हुँदैन । त्यसलाई अङ्गीकार कसरी गर्ने र कसरी अगाडि बढाउने भन्नेमा भरपर्छ,’ सलोनले भने, ‘म मेरा पुस्तालाई के भन भन्छु भने चलचित्र क्षेत्र सुन्दर र आकर्षक क्षेत्र हो । यो क्षेत्रलाई माया गरौँ ।’
बालकलाकारकै रूपमा सलोनले करिब दुई दर्जनभन्दा बढी सिनेमामा काम गरे । प्रायशः चलचित्रहरू हिट पनि भए भने उनको चर्चा चुलियो पनि । बालकलाकारकै रूपमा आफ्नो अभिनययात्रालाई अगाडि बढाइरहेका सलोनले त्यतिबेला आफूलई बालकलाकारबाट अब वयस्क भएको महसुस गरेछन् अब उनलाई चलचित्र ‘होस्टेल’मा निर्माता सुनील खरेलले नायकको रूपमा अफर गरे । ‘यसरी एक्कासि नायकको रूपमा अफर आउने कुरा मैले सोचेकै थिइनँ, तर भइदियो त्यस्तै । त्यसो त जुन चलचित्रबाट नायकको रूपमा डेब्यु गरेँ त्यो चलचित्र राम्रो पनि छ,’ सलोन भन्छन् । बालकलाकारको रूपमा स्थापित भएका सलोन नायकको रूपमा भने कत्तिको स्थापित होलान् ? त्यो हेर्न बाँकी छ ।

राजेश पाएपछि सुनिता दङ्ग
महानायक राजेश हमालको बिहेको चर्चा चलेकै छ । उनको बिहेको विषय गरम भइरहेको समयमा हमाल मिडियातिर पनि खुवै छाइरहेका छन् । तर, यति नै बेला यी महानायकले एउटा लोकगायिकाको गीतमा दिल फुकाएर नाचेको दृश्य बजारमा आइरहेको छ ।
गायिका हुन् सुनिता दुलाल र उनले निकालेको तिजसम्बन्धी एल्बम हो– आयो हरितालिका तिज । हमाललाई आफ्नो गीतमा नचाउन अन्य गायिकाहरूले लुछाचुँडी नगरेका होइनन् तर बाजी भने सुनिताले नै जितिन् । राजेशलाई पाएर दङ्ग भएकी सुनिताले भनिन्, ‘उहाँलाई आफ्नो गीतको भिडियोमा राख्ने धोको पूरा भएको छ । म त दङ्ग छु ।’
जुन पायो त्यही गीतको भिडियोमा नखेल्ने र जस्तो पायो त्यस्तोमा मोडलिङ नगर्ने राजेश हमालले सुनिताको यो गीत पनि धेरैपटक सुनेपछि ओके भनेका थिए । हमाललाई गीतमा उभ्याउँदा आफ्नो सिर्जनाले थप उचाइ पाएको आभाष सुनिताले गरेकी छिन् । ‘यो गीतमा अरूलाई राखेको भए यत्तिको चर्चा हुँदैनथ्यो । राजेशदाइले हुन्छ भन्नु नै मेरो लागि सुवर्ण अवसर हो,’ सुनिताले थपिन् ।
राजेश हमालसँग जोडीको रूपमा देखिएकी सुनितालाई यो भिडियो बजारमा आएपछि धेरैले अब राजेशसँगै फिल्म खेले हुन्छ नायिकको रूपमा भनेर प्रतिक्रिया पनि नदिएका होइनन् । तर, सुनिता सिनेमाको हिरोइन बन्ने आफ्नो इच्छा नभएको कुरा बताउँछिन्, ‘मलाई गीत नै ठीक छ, अहिले हिरोइन नबनौँ ।’