पुस्तक समीक्षा

पुस्तक समीक्षा


bicharसीमा अपराधविरुद्धका कदमको उल्टो नतिजा
दीपेश केसीद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘नेपालमा सङ्गठित अपराध’ बजारमा आएको छ । ब्रदर बुक्सले प्रकाशनमा ल्याएको पुस्तकले विश्वका अन्य देशले भोगेका घटनाक्रम र अपराधको प्रभावलाई समेत व्याख्या गरेर नेपाल कतातर्फ बढिरहेछ भन्नेबारे सूक्ष्म अध्ययन गरेको छ । जस्तो कोलम्बियामा ड्रग कार्टलहरूले राज्य संंयन्त्र कसरी नियन्त्रणमा राखे, रूसको अर्थतन्त्रको आधा हिस्सा सङ्गठित अपराधीको हातमा कसरी पुग्यो, सोमालियाका समुद्री डाँकाहरूको प्रभाव, जापानमा याकुजाहरूको प्रभाव, चीनमा सङ्गठित अपराधीको राजनीतिको उच्च तहसम्मको प्रभावलाई उल्लेख गरिएको छ । नेपाली समाजको विद्यमान परिस्थिति, ठूलो परिमाणमा पुँजी पलायन, प्रविधिको दुरूपयोग गरी भइरहेका अपराध, नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर भइरहेका अपराधको प्रकृति हेर्दा देश अपराधको सेतु बन्ने खतरा औँल्याइएको छ । आन्तरिक र बाह्य दुवै प्रभावबारे विश्लेषण गर्दै नेपाली राजनीति, अर्थतन्त्र र समाजको ठूलो हिस्सा सङ्गठित अपराधको नियन्त्रणमा पुगिसकेको तर्क पुस्तकले गरेको छ ।
कानुनले ठहर गरेको र प्रहरीले ट्याग लगाएकालाई मात्र अपराधी देख्ने प्रवृत्तिले वास्तविक अपराधीले समाजलाई नियन्त्रणमा राखेर अराजकता निम्त्याएको उल्लेख गरेको छ । समाजमा प्रतिष्ठितको ट्याग झुन्डाएर हिँड्नेहरूले देशलाई भित्रभित्रै खोक्रो पारेको तर्क पुस्तकमा छ । अपराधमा प्रत्यक्ष संलग्नहरूसँग जेलभित्र र बाहिर गई लिइएको अन्तर्वार्ता, प्रहरी, पत्रकार, कानुन व्यवसायी, व्यापारीका अलावा प्रत्यक्ष अवलोकनबाट तयार पारिएको पुस्तक नेपालको अपराध दुनियाँ र विद्यमान गैरकानुनी क्रियाकलापको भित्री पाटो उजागर गरेको छ । लेखकले पुस्तकमा नेपाली समाजका वास्तविक अपराधी देखाउने साहस गरेका छन् । सामाजिक, राजनीतिक र आर्थिक कोणबाट अपराध, अपराधी र तिनको बलियो सङ्गठनलाई विस्तृत रूपमा उल्लेख गरेर इतिहासको एउटा भित्री पाटोलाई शब्दमा चित्रण गरेका छन् ।
पुस्तकले सरकारी र गैरसरकारी तहमा बनाइएका नीति–नियमले उल्टो प्रतिक्रिया दिइरहेको र अपराध झनै मौलाइरहेको प्रमाणहरू पेस गरेको छ । सङ्गठित अपराधीले प्रहरी, प्रशासनदेखि राजनीतिक तहसम्म नियन्त्रण कायम राख्ने खतरा बनेको तर्क छ । देशको राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण खतरनाक पक्ष हो । नेपालमा अपराधीको रगरगी र चकचकीको तथ्यहरू प्रस्तुत गरेका छन् । विगतमा तराईका भूभागमा मात्र केन्द्रित अफिम र गाँजाखेती पहाडमा समेत फैलिएको छ । नेपाललाई लागूऔषध उत्पादन, बजार र ट्रान्जिट प्वाइन्ट बनाउने गिरोह हावी बन्दै छ । तिनीहरूले राज्यको सुरक्षा निकायलाई समेत प्रभावमा राखेका छन् । सुन तस्करी, रक्तचन्दन तस्करी, संरक्षित वन्यजन्तुका अङ्गको तस्करीले डरलाग्दो परिस्थिति बनाउँदै छ । अपराधका प्रकारहरूबीचको अन्तर्सम्बन्धले सङ्गठित अपराधलाई खतरनाकस्वरूप दिइरहेछ । पुस्तकले ड्रग कार्टलहरूको उदय, माफिया राजको खतरासमेत औँल्याएका छन् । आपराधिक गिरोहको गतिविधि हेर्दा देश त्यसै दिशातर्फ जानसक्ने उल्लेख छ ।
नेपालमा सङ्गठित अपराधलाई प्रश्रय र बढावा दिन विदेशीहरूको भूमिकाबारे व्याख्या गरेका छन् । विभिन्न बहानामा विदेशीहरूको नेपाल बसाइ शङ्कास्पद छ । अर्कोतर्फ विदेशी खुफिया एजेन्सीहरू सामरिक स्वार्थका लागि सङ्गठित अपराधीहरूको सहयोग लिन्छन् । नेपालमा विस्तारित सङ्गठित अपराधको बहानामा हस्तक्षेपकारी गतिविधि देखाउने प्रवृत्तिसमेत देखिन्छ । पुस्तकले संवेदनशील विषयको सूक्ष्म विश्लेषण गरेको छ । नेपालमा सङ्गठित रूपमा भइरहेको मानव तस्करी, संरक्षित वन्यजन्तुका सामग्रीको तस्करी, जाली नोटको कारोबार, सुन तस्करी, लागूऔषधको कारोबार, गैरकानुनी भीओआईपी सञ्चालन, सम्पत्ति शुद्धीकरणको व्याख्या गरेको छ । यी अपराधबीचको अन्तर्सम्बन्ध र अन्तर्राष्ट्रिय गिरोहको संलग्नताले देशको अर्थतन्त्रमा पु-याएको नकारात्मक प्रभावको विश्लेषण गरिएको छ । राजनीतिक संरक्षणमा भइरहेका अपराधले समाजमा अपराध राज भइरहेकोतर्फ सङ्केत गरेको छ । पैसा र शक्ति अपराधीहरूसँग हुनुले प्रहरी र प्रशासनलाई समेत नियन्त्रणमा राखेको तर्क पुस्तकको छ । वृत्ति विकास नै अपराधीहरूको हातमा भएपछि पदमा रहनेका लागि सङ्गठित अपराधीसँग मिल्नु वा भनेको मान्नुसिवाय केही रहँदैन । जो मान्दैन ऊ पछि पारिन्छ वा मारिन पनि सक्छ । यी तथ्यहरूलाई उदाहरणका रूपमा पुस्तकले प्रकाश पारेको छ ।
देशले अघोषित रूपमा अपराधलाई बढावा दिने नीति लिएको तथ्य प्रस्तुत गरेको छ । मानव तस्करलाई देशको अर्थतन्त्रको विकासको आधार बनाउने नीति घातक रूपमा विकास भइरहेछ । प्रतिवर्ष गैरकानुनी रूपमा विदेश जाने कानुनसम्मत रूपमा जानेभन्दा बढी छन् । वार्षिक ४० अर्ब रूपैयाँ मानव तस्करबाट बगिरहेको तथ्यले यसको सामथ्र्य आँकलन गर्न सकिन्छ । पुस्तकले अपराधको तथ्य र तथ्याङ्कलाई शब्द र अङ्क दुवैमा प्रस्तुत गरेको छ । कुन अपराध कसरी बढिरहेछ, त्यसको आर्थिक दायरा, अन्य अपराधसँगको अन्तर्सम्बन्धलाई व्याख्या गरेका छन् । पुस्तकले प्रत्येक अपराधको आर्थिक पाटोको विश्लेषण गरेको छ ।
सोसियल कजेज अफ इन्डो नेपाल क्रस बोर्डर क्राइमले नेपाल र भारतबीचको समथर भूभागको सीमावर्ती क्षेत्रमा विद्यमान अपराधको चिरफार गर्ने प्रयास गरेको छ । सीमावर्ती क्षेत्रको पृथक् भौगोलिक, राजनीतिक, आर्थिक र सामाजिक अवस्थितिको सूक्ष्म विश्लेषण गरिएको छ । नेपालतर्फको सीमावर्ती क्षेत्र र भारततर्फको सीमावर्ती क्षेत्रका जनताबीचको अन्तर्सम्बन्ध र दुवै देशको केन्द्रको नजर र नीतिले निम्त्याएको परिणामहरू उल्लेख छ । सीमावर्ती क्षेत्रका जनतालाई विदेशीको नजरबाट हेरिने र हेपाहा प्रवृत्ति विश्वका धेरै सीमावर्ती क्षेत्रमा बस्ने जनताको समस्या हो । जुन नेपालमा समेत छ । त्यहाँका जनताको दैनिक क्रियाकलाप र सम्बन्धलाई बेवास्ता गरी चालिने नीतिले उल्टो परिणाम निम्त्याउन सक्छ । सीमावर्ती क्षेत्रमा मौलाउने अपराधको प्रमुख कारणमध्ये यही हो ।
पुस्तकले सरकारी र गैरसरकारी तहबाट चालिएका कदमहरूको कडा आलोचना गरेको छ । सुरक्षा कडा पार्नु भनेको सुरक्षाफौजको परिचालन, कडा कानुन र कार्यान्वयनमा जोड दिनुलाई लिइनुले नकारात्मक परिणतीहरू निम्त्याइरहेछ । सीमामा सुरक्षाफौज बढाएर अपराध घट्नुको साटो बढिरहेको तथ्याङ्क छ । जसबाट सीमासुरक्षामा चालिएका कदमहरू सफल नभएको स्पष्ट छ । बरु सुरक्षाकर्मीहरू आपराधिक क्रियाकलापको सहयोगी बनेको तथ्य भेटियो ।

पहाडीको ‘यो एक वर्ष’
निरङ्कुश शासन व्यवस्था र मानवअधिकार उल्लङ्घनका विरुद्धमा प्रखर वक्ता एवम् अधिकारकर्मी कृष्ण पहाडीको चौबीसौँ कृति ‘यो एक वर्ष’ केही लेख केही आलेखका रूपमा छापिएको छ ।
महिला, मदिरा र मारपिटमार्फत शक्ति प्रदर्शन गर्ने यो समयमा पहाडी स्वतन्त्रताको पक्षमा अभिव्यक्त शब्दहरूमार्फत जनमानसमा परिचित छन् । उनको यो परिचय नै राज्य र राजनीतिसामु सशक्त शक्तिको रूपमा रहेको पुस्तकले चित्रण गरेको छ ।
प्रखर वक्ता पहाडी नागरिक अधिकारमाथि नियन्त्रण हुँदा सडकमा निस्कन्छन् अन्य समय आमसञ्चारका माध्यमहरूबाट ओझेलिन्छन् । पहाडीको यो प्रभावलाई भागवत गीताको ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः’ सँग तुलना गर्नेहरू पनि भेटिन्छन् ।
तीनवटा जन्मदिन जेलमा बिताएका पहाडी ‘द्वापरयुगको कृष्णको जन्म कारागारमा भएको र कलियुगको कृष्णको मृत्यु बन्दीगृहमा हुनेछ’ भन्नेहरूलाई यसै पुस्तकमार्फत सम्झन्छन् ।
दलहरूमाथि प्रतिबन्ध, अभिव्यक्ति स्वतन्त्रताका नाममा सीमाङ्कन गरिएको समयमा आकाशभेदी वक्तव्य दिने यी व्यक्ति सञ्चार अराजकताको यो समयमा कहाँ होला ? भन्ने चासो राख्नेहरूका लागि ‘यो एक वर्ष’ उपलब्ध छ ।
पुस्तकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा असीभन्दा बढी कार्यक्रममा सहभागी भएको दैनिकी प्रस्तुत छ । त्यस्ता दिवसका सन्दर्भमा सटिक जानकारी र उनको विचार समेटिएको छ । दैनिकीका रूपमा टिपोट गरिएको अनावश्यक शब्द र पृष्ठभूमि नभएकाले पुस्तक सरल र सटिक छ ।
विधागत हिसाबले गैरआख्यानात्मक भएरै होला लेखनशैलीमा साहित्यिक भावभंगिमा भेटिँदैन । त्यसका लागि अन्य २४ वटा पुस्तक उल्लेख गरिएको छ । थ्री स्टार प्रिन्टिङले छापेको ‘यो एक वर्ष’ उत्तम पुडासैनीले प्रकाशन गरेका हुन् ।