उत्पादन हेरेर मात्र तारिफ गरौँ -वसन्तराज कुँवर

उत्पादन हेरेर मात्र तारिफ गरौँ -वसन्तराज कुँवर


नेपाल टेलिभिजन प्लसका प्रमुख जयसिंह शाह खानाका परिकारहरू खान र खुवाउन खुवै सौखिन हुनुहुन्छ । उहाँ परिवारका साथ विभिन्न ठाउँमा खाना खान पुग्नुहुन्छ । कहाँ मीठो मःम पाइन्छ, कहाँ स्वादिलो बारा पाइन्छ, कहाँ पिरो आलुको अचार पाइन्छ उहाँलाई सब थाहा छ । बेला-बेलामा मलाई पनि उहाँले परिकार खान बोलाउनुहुन्छ तर म भने बाहिर खान विरलै मात्र जाने गर्छु । घरमै बस्न र बरु कुनै कुरा घरमै किनेर ल्याएर खान मन पर्छ मलाई, रेस्टुरेन्ट जान त्यति मन पर्दैन । मेरी श्रीमतीले ज्यादै कराएपछिचाहिँ म गाह्रोसँग कतै खान र ‘सामाजिक’ हुन जाने गर्छु वा साथीहरू बाहिरबाट आएका बखत तिनलाई केही खुवाउन त्यसतर्फ जानेे गर्छु ।
केही दिनअघिको कुरो हो, उनै मेरा जेठान जयसिंह शाहले मेरो परिवारलाई खान बोलाउनुभयो । विशेष अवसर पनि भएकोले म र श्रीमती गयौँ । उहाँले सिंहदरबारको पश्चिमढोकानजिक रहेको बाजेको सेकुवा भन्ने पसलमा बोलाउनुभयो । काठमाडौंको व्यस्त ट्राफिक पार गर्नेदेखि पार्किङ गर्नेसम्मका समस्याहरूसँग लड्दै-भिड्दै आखिर गन्तव्य स्थलमा पुगँे ।
वास्तवमै बाजेको सेकुवा पसल ज्यादै भीड हुने ठाउँ रहेछ । नजिकै बियर र रक्सी टेबुलभरि राखेर हुलका हुल युवा अनेक परिकार खाँदै थिए । रक्सी र बियरका बोतल देख्नेबित्तिकै मेरो मुड अफ हुन्छ, किनकि मलाई थाहा छ कि मानिसहरू नबुझेर कसरी ड्रग्स सेवन गरिरहेका छन् र शरीरका लागि घातक कुरामा र्व्यर्थ कसरी अनुत्पादक खर्च गरिरहेका छन् ।
जेठानले त्यो पसलको खुवै तारिफ गर्नुभयो र सेकुवा मगाउनुभयो । मैले यसअघि विमानस्थलनजिक एक पसलको सेकुवा चाखेको थिएँ । बाजेको सेकुवाको तारिफ सुनेपछि मेरो दिमागमा एयरपोर्टनजिक खाएको सेकुवाको स्वाद पनि ताजा भयो । केहीबेरमै बाजेको सेकुवा टेबुलमा आइपुग्यो तर मलाई बाजेको सेकुवा खल्लोजस्तो लाग्यो । त्यसमा खासै एअरपोर्टमा मैले खाएँझैं स्वाद थिएन । एक प्लेट सकेँ तर मलाई खासै मन परेन । फेरि अर्को परिकार खाएँ, त्यो पनि ठिकै लाग्यो । मेरा जेठानले भने त्यो पसलको खुवै तारिफ गर्दै धेरै वर्षअघि विमानस्थलनजिकै बाजेको सानो पसल भएदेखि नै आफू ग्राहक भएकोदेखि अहिले काठमाडौंको विभिन्न ठाउँमा यसका शाखा वृद्धि भएको कथाहरू सुनाउन थाल्नुभयो । मैले उहाँको कुरा सुनेँ र चाख पनि देखाएँ तर भित्री रूपमाचाहिँ बाजेको सेकुवाले मलाई बिल्कुलै प्रभावित पारिरहेको थिएन । लौ त भनौँ भने मलाई त्यो पसलको सेकुवाले पटक्कै प्रभाव पारिरहेको थिएन ।
त्यतिबेला एक बूढा व्यक्ति नजिक आए । बाजे भन्ने तिनै रहेछन् । जेठानले उहाँसँग मलाई चिनाउनु भयो । उनी हाम्रै टेबुलमा एक मेच राखेर एकछिन बसे । जेठानले फेरि उनकै सामुन्ने बाजेको पसलको खुवी सुनाउन थाल्नुभयो । बाजेले पनि अन्तमा आफ्ना कुरा सुनाए । उनले भने, ‘मैले पहिला २ किलो मासुबाट काम सुरु गरेँ अहिले दैनिक बीसवटाभन्दा बढी खसीको परिकार बन्छ । म आफैं मासुमा मसला राख्दछु । मसला राख्दा कसैलाई नजिक बस्न दिन्नँ । यो काम म गोप्य तरिकाले गर्दछु । यही मेरो मसलाको फर्मुलाले यहाँको मासु स्वादिष्ट भएको हो ।’
बाजेले मासुमा राख्ने गोप्य मसलाको मिश्रण भएको बताउनुभयो । मेरा जेठानले गोप्य मसलाको खोजकर्ता ती बाजेको फेरि तारिफ गर्नुभयो । अन्तमा बाजेले भन्नुभयो, ‘मलाई बानेश्वरको पसलमा जानु छ, सेकुवा कस्तो
लाग्यो -‘ हाम्रो टेबुलमा भएका सबैले एकसुरमा ज्यादै मीठो भनेर जवाफ दिए । मचाहिँ बोलिनँ । बाजेले पुलुक्क मतिर हेरे । म मुसुक्क हाँसेँ । बाजे गए ।
पैसा तिर्ने बेलामा पच्चीस सयभन्दा बढीको बिल आएछ । मलाई त महँगै लाग्यो । जेठानले कुनै दुःख नमानी बाजेको पसलको रकम चुक्ता गर्नुभयो । हामी उठ्यौँ र आ-आफ्ना बाटो लाग्यौँ । मैले बाटोमा श्रीमतीलाई आफूलाई त सेकुवा त्यति मीठो नलागेको बताएँ । श्रीमतीले पनि आफूलाई पनि सेकुवा खल्लो लागेको बताइन् । अनि मैले सोधेँ, ‘तिमीले अघि बाजेले सेकुवा कस्तो छ भनी सोध्दा जोड-जोडले ‘ज्यादै मीठो’ भनेर किन भनेकी त -‘ उनले हाँस्दै भनिन्, ‘के गर्नु त जयदाइले यत्रो तारिफ गरिसकेपछि नमिठो भन्न मिल्छ त -‘ हामी दुवै हाँस्यौँ ।
अब म बाजेकहाँ सितिमिती सेकुवा खान जान्न होला बरु एयरपोर्टनजिक रहेको त्यही पसलमा नै जान्छु । एयरपोर्टनजिकको पसल बाजेको झैं ठूलो, विशाल र नाम चलेको नहोला तर मेरा लागि त्यसको उत्पादन बाजेको विशाल र महँगो पसलभन्दा सन्तुष्टि दिने प्रकारको छ ।
जब म बाजेको पसल र मेरा जेठानलगायत हजारौँ-लाखौँ व्यक्तिहरूले त्यस पसलमाथि गरेको विश्वासलाई केलाएर हर्ेर्छर्ुुब त्यसबाट ठूलो शिक्षा पाउँछु । म यो प्रकरणबाट यही सिक्छु कि कुनै व्यक्तिले एक निश्चित तहको विश्वास प्राप्त गरिसकेपछि कसरी आफ्ना उत्पादनहरूलाई त्यही विश्वासकै भरमा सजिलै बेच्न सक्छ । वास्तवमै बाजेको सेकुवा त्यत्रो विश्वास गर्नुपर्ने उत्पादन थिएन तर उनले विगतमा दिएका योगदानहरूका कारण आज मिठै नभए पनि उनको सेकुवाको विरोध गर्दा आफैं बेवकुफ वा एक्लो हुने स्थिति बनेको छ । मलाई के लाग्छ भने बाजेका लागि त्यो विश्वास राम्रो कुरो हो तर मैले सन्तुष्टि नै नपाई त्यहाँको सेकुवाको तारिफ गर्न बाध्य हुनुपर्ने स्थिति भने पक्कै पनि राम्रो कुरो थिएन ।
अहिले नेपालमा धेरै यस्ता संस्था, व्यक्ति वा सङ्गठनको अति नै तारिफ भइरहेको छ जसको उत्पादन हेर्दा त्यति तारिफ गर्न जरुरी देखिँदैन । उदाहरणका लागि जब हामी राजनीतितर्फ हेर्र्छौं, उनीहरूको उत्पादन केही छैन तर पनि मिडियादेखि कर्मचारीतन्त्रसम्म तिनै राजनीतिज्ञ र तिनका पार्टीको वरिपरि घुम्न र नजिक हुन नै प्रयास गरिरहेको पाउँछौँ । केही नगर्ने पार्टी र मन्त्रीको पनि यहाँ समारोहमा तारिफ नै भएको पाइन्छ । माओवादी आन्दोलन सुरु भएपछि यो मुलुकमा अर्बौं रुपैयाँबराबरको भौतिक संरचना ध्वस्त भयो, झन्डै १६ हजार मान्छे त्यही कारणले मरिसके, त्यो पार्टी ठूलो दल भएर आएपछि संविधानसम्म पनि बनेको छैन, तर पनि माओवादी विशाल होनहार क्रान्तिकारी पार्टी हो भन्दै हामी त्यस पार्टीको जय-जयकार गाउन बाध्य छौँ, बाजेको सेकुवाको तारिफ गरेझैं । नेपाली काङ्ग्रेस जो यो मुलुकको पटक-पटक सरकारमा पुग्यो, त्यसले नेपालको उन्नतिमा कुनै योगदान दिएन, त्यहाँका कुनै नेताहरू देख्दा जनताको आस्था उर्लंदैन । त्यहाँ बूढा, असक्तहरूले पार्टी नेतृत्व लिन्छन् र कुनै दूरगामी विकासका कुरासम्म पनि त्यहाँबाट आउँदैन तर पनि त्यो महान् प्रजातान्त्रिक पार्टी हो भन्दै हामी जयजयकार गर्न बाध्य छौँ, बाजेको सेकुवा तारिफ गरेजस्तै ।
चाहे एमालेको कुरा गरौँ वा साना पार्टीको सबै बोल्छन् मात्र गर्ने कोही होइन । ६ सय सांसद केवल भत्ता बुझेर पार्टीको निर्देशनमा टेबुल ठटाएकै भरमा दिन बिताइरहेका छन् । तिनले केही गर्न सकेका छैनन् तर पनि यी सांसदहरू नभए देश नै खत्तम हुन्छ भनेझैं हामी गरिबलाई केही नदिएर भए पनि तिनका कार्यकाल थप्न लालयित छौँ । यी सांसदहरू पनि बाजेको सेकुवाझैं जनताको विश्वास लिन सफल छन् ।
अहिले हेर्‍यौँ भने मन नपरेको मन्त्रीको पनि जयजयकार गर्नुपरेको छ । भ्रष्टाचारी हाकिमको पनि गुणगान गाउनुपरेको छ । सीधै ठग्ने ट्याक्सीचालकलाई पनि धन्यवाद दिनुपरेको छ । चन्दा नदिँदा भौतिक कारबाही गर्छर्ुुन्ने समूहसँग पनि उसले अलिकति मागेको चन्दा रकम घटाइदिएकै भरमा मुरी-मुरी धन्यवाद दिनुपर्ने अवस्था रहेको छ । रकम लिएरै भए पनि पदोन्नति गरिदिनेलाई हाकिमलाई यहाँको कृपाले मैले पदोन्नति पाएँ भन्दै खसी वा रक्सी बोकेर घरमा भेट्न जान बाध्य हुनुपरेको छ । घर नै अगाडि ढुङ्गा-बालुवा बेच्नेहरूले बिहानैदेखि सुत्न नदिने गरी आवाज निकाल्दा पनि तिनलाई अगाडि भेट्दा मुसुक्क हाँसेर हिँड्नुपर्ने अवस्था छ । बिहानपख त्यो व्यवसाय चलाउने मुस्तण्ड जवानलाई सञ्चै भाइ – भनेर तिमीसँग म खुसी छु भनेर देखाउनुपर्ने अवस्था छ ।
वास्तवमा मलाई के लाग्छ भने, हामी धेरै कुरामा या त लहैलहैमा लागेर कसैको तारिफ गर्दै हिँडेका छौँ वा डराएर । यी दुवै अवस्थाहरू न देशका लागि हितकर हुन्छन् न व्यक्तिका लागि । अब हामीले कुनै पनि नेता, व्यक्ति, संस्था, सङ्गठनको उत्पादन हेरेर मात्र तारिफ गर्ने बानी बसाल्नुपर्छ । राजनीतिज्ञले दिने उत्पादन जनताको जीवनस्तर उकास्ने हो । कर्मचारीले दिने उत्पादन प्रशासनिक छिटो-छरितो सेवा हो । सामाजिक सङ्घ-संस्थाले दिने सेवा मुनाफाको आस नगरी दिने सेवा हो । व्यापारीहरूले दिने सेवा गुणस्तरीय उत्पादन सही मूल्यमा बजारमा दिने हो । श्रमिकहरूले आफूले दिनुपर्ने श्रम सेवा इमान्दारीपूर्वक दिने हो । यदि कसैले पनि सही उत्पादन दिएका छन् भने तारिफ गरौँ होइन भने ठीक छैन भन्ने पनि सिकौँ । ‘उत्पादन हेरेर मात्र तारिफ गरौँ ।’