लागूऔषध आयात–निर्यातको ट्रान्जिट बन्दै अन्तर्राष्ट्रिय विमानस्थल

लागूऔषध आयात–निर्यातको ट्रान्जिट बन्दै अन्तर्राष्ट्रिय विमानस्थल


crimeअपराध – विपन भण्डारी
गएको साता लागूऔषध ब्युरो नयाँ बानेश्वरले पाँच केजी ६ सय ५५ ग्राम सेतो हेरोइन बरामद ग-यो । भदौ २५ गते ब्युरोको टोलीले तीनजना पाकिस्तानी नागरिकसहित अफगानिस्तानमा उत्पादन भएको ‘क’ श्रेणीको सेतो हेरोइन नियन्त्रणमा लिएको हो । एकैपटक एउटै भरियाबाट यति ठूलो मात्रामा सेतो हेरोइन बरामद भएको पहिलोपटक भएको ब्युरोका प्रमुख प्रतापसिंह थापाको दाबी छ । यसअघि पनि पटक–पटक गरेको यत्तिकै हाराहारीमा सेतो हेरोइन बरामद भने भएको थियो । तर, एकैपटक बरामद भएको यो नै सबैभन्दा ठूलो मात्रामा सेतो हेरोइन हो ।
के हो सेतो हेरोइन ?
सेतो हेरोइन भन्नैबित्तिकै उच्चकोटिको लागूऔषध भन्ने बुझिन्छ । यसको प्रयोग पश्चिमा मुलुकहरूमा धेरै हुने गरेको बुझिन्छ । विशेषगरी सम्भ्रान्त वर्गले यसको प्रयोग गर्ने गरेका छन् । यसको एक ग्रामको मात्र अवैध मूल्य २० देखि ३० हजार नेपाली पर्ने प्रहरीको भनाइ छ । त्यसैले यसको सेवन न्यूनस्तरीयले गर्न नसक्ने प्रस्ट नै छ । नेपालमा यसको प्रयोग केही व्यक्तिले मात्र गर्ने गरेका छन् । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार नेपालमा पनि सम्भ्रान्त वर्गले सेतो हेरोइनको सेवन गर्ने गरेका छन् ।
सेतो हेरोइनको साथबाट को–को पक्राउ परे ?
भदौ २४ गते तीनजना पाकिस्तानी नागरिकसहित प्रहरीले पाँच केजी ६ सय ५५ ग्राम सेतो हिरोइन बरामद गर्न सफल भयो । ब्युरोले पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तहरूलाई सार्वजानिकसमेत गरेको छ । पाकिस्तानको कराँची घर भएका ३८ वर्षीय शैद मजहर हुसेन काज्मी, पाकिस्तानकै रावलपिण्डी घर भएका ५० वर्षीय सहिदा परविन र पाकिस्तानकै ५६ वर्षीय आता महमद साहलाई प्रहरीले पाँच केजी ६ सय ५५ ग्राम सेतो हेरोइनसहित पक्राउ गरेको छ । उनीहरू बारम्बार मसला र कपडा व्यापारीको भेषमा नेपाल आउने गर्दथे । यस अर्थमा उनीहरूले कपडा व्यापारीको बहानामा लामो समयदेखि नेपाल आएर सेतो हेरोइनको व्यापार गरिरहेको पुष्टि हुन्छ । उनीहरूले सेतो हेरोइन नेपाल भित्याएर तेस्रो मुलुक पठाउन नेपालबाट डिल गर्ने गरेका थिए । बारम्बार व्यापारको निहुँमा नेपाल प्रवेश गर्ने अनि केही समय बसेर जाने गरेपछि प्रहरीको सुराकिले यी तीनजनामा निगरानी बढाएको थियो । प्रहरीले लामो समयदेखि नै यीविरुद्ध आफ्नो अनुसन्धान र खोजी गरिरहेको पत्रकार सम्मेलनमा बताइएको छ । २४ गते प्रहरीले यी दुईजनालाई काठमाडांैको ठमेल क्षेत्रपाटीस्थित मुक्तिनाथ डी कार्गो रहेको भवनअघि सडक किनारामा फेला पा-यो । उनीहरूको साथमा रहेको कालो रंगको लेडिज ह्यान्डब्याग खानतलासी गर्दा प्लास्टिकको झोलाभित्र लुकाएर राखेको एक केजी सेतो हिरोइन प्रहरीले फेला पा-यो । उक्त अवैध लागूऔषधसहित दुवैजनालाई प्रहरीले नियन्त्रणमा लियो । अनुसन्धानका आधारमा उनीहरूको सहयोगीको रूपमा रहेकी आता पनि ठमेलकै पिल्ग्रिम्स होटलमा बसेको जानकारी पत्ता लाग्यो । प्रहरीले छापा मार्दा उक्त होटेलको कोठा नं. ३०१ मा बसिरहेको आताको सुटकेस चेकजाँच गर्दा प्लास्टिकको झोलामा लुकाएर राखेको चार केजी ६ सय ५५ ग्राम यो सेतो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि तीनैजनालाई पाकिस्तानी नागरिकलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेकोमध्ये महिला अभियुक्त आता सेतो हेरोइनको प्रमुख योजनाकार हुनसक्ने ब्युरो स्रोतले बताएको छ । उनीहरूलाई पाकिस्तानबाट उमर भन्ने व्यक्तिले सो सेतो हेरोइन नेपाल पठाएको र यहाँबाट जापानी नागरिकसँग डिल गरी फर्कन भनिएको थियो । उनीहरूको साथबाट पाकिस्तान फर्कने टिकटसमेत प्रहरीले फेला परेको छ । यसको अर्थ उनीहरू त्यो सेतो हेरोइन नेपाल पु-याउन मात्र आएका थिए भन्ने पनि सहज रूपमा अनुमान गर्न सकिन्छ । यहाँ आइपुगेको हेरोइन कसको सहयोगमा यी पाकिस्तानीले तेस्रो मुलुक पठाउने छन्, प्रहरीका लागि यो खोजीको अर्को विषय बनेको छ ।
हेरोइन नेपाल कसरी आइपुग्यो ?
पाँच केजी ६४ ग्राम सेतो हेरोइन नेपाल भित्याइँदै गर्दा विमानस्थलमा रहेका प्रहरी के हेरेर बसिरहेका थिए ? सर्वसाधारणको सियोसमेत फेला पार्ने अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीले त्यत्रो मात्रामा अवैध सेतो हेरोइन नेपाल भित्रिँदा के गर्दै थिए ? प्रश्न बारम्बार खडा हुन्छ ।
नेपाल प्रहरीलाई सबैभन्दा ठूलो चुनौतीको विषय अब यही बन्नुपर्छ । किनभने नौ करोडबराबरको सेतो हेरोइन नेपाल अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै नेपाल प्रवेश गरेको पुष्टि भएको छ । तीनजना पाकिस्तानी नागरिकले बारम्बार नेपाल अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर अफगानिस्तानमा उत्पादन भएको सेतो हेरोइन नेपाल प्रवेश गराउन गरेको थियो । तर, उनीहरूलाई कहिल्यै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गर्न सकेन । यसपटक पनि उनीहरू विमानस्थलबाट पक्राउ नपरी ठमेलबाट प्रहरीको हात परेका हुन् । पाकिस्तानबाट नेपाल भित्याइएको यो हिरोइन तेस्रो मुलुक पठाउने अनुमान गरिएको प्रहरीको भनाइ छ । यिनीहरू पाकिस्तानबाट कतार एयर हुँदै नेपाल प्रवेश गरेका छन् । पाकिस्तानबाट नेपाल आएर अन्य कसैलाई यो लागूऔषध छोडेर फेरि पाकिस्तान नै फर्किने यिनीहरूको योजना थियो । यसले गर्दा यिनीहरू लागूऔषध कारोबारीका भरिया मात्रै हुन् र नेपाललाई अल्पकालीन विश्राम बिन्दुको रूपमा प्रयोग गरेको प्रस्ट देखिएको छ । अझ यति भारी मात्राको लागूऔषध कसरी पाकिस्तान र नेपालको विमानस्थलबाट पार ग-यो । घटनाले सोच्न बाध्य बनाएको छ । किनकि यो लागूऔषध हवाईमार्ग हुँदै नेपाली भूमिमा आइपुगेको छ । बारम्बार यति ठूलो मात्रामा सेतो हेरोइन विमानस्थल हुँदै नेपाल प्रवेश गरिरहँदा नेपालको सुरक्षा चुनौतीको विषयमा गम्भीर प्रश्नचिह्न खडा हुनु स्वाभाविक छ । नेपाल प्रहरीले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई आधार मानेर प्रहरीको उच्च अधिकारी डीआईजीको नेतृत्वका आफ्नो सुरक्षा संयन्त्र विमानस्थलमा खडा गरेको छ । तर, के गर्ने आपराधिक गिरोहले यस्तो सुरक्षा चुनौतीलाई निस्तेज गर्दै त्यही बाटो हुँदै आफ्नो अवैध धन्दाको सञ्जाल विस्तार गरिरहेका छन् । यसले विमानस्थल सुरक्षामा रहेका प्रहरीहरूको मिलोमतोमा नै नेपाल लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट त बन्दै छैन, शङ्का स्वत: उब्जन्छ । अर्थात् भन्नैपर्दा विश्वका लागूऔषध कारोबारमा संलग्न अपराधीहरूले नेपाललाई सहज मार्गको रूपमा त हेरिरहेका छैनन् । यदि यस्तो हो भने नेपालको छवि विश्व समुदायमा कस्तो हुने यो राज्यका सबै निकायले बुझ्न जरुरी छ । र, तत्कालै हाम्रा नाकाहरूबाट लागूऔषध भित्याउने कार्य निस्तेज पार्न जरुरी छ ।
सेतो हेरोइन कहाँ पु-याउने योजना थियो ?
सेतो हेरोइनको खपत नेपाली बजारमा कमै मात्रामा मात्र हुने गरेको छ । यसको वास्तविक बजार भनेको युरोप हो । युरोपका केही देशहरूमा सेतो र खैरो हेरो हेरोइनको ठूलो मात्रामा खपत हुने गरेको छ । अफगानिस्तानमा उत्पादन भएको हेरोइनका अन्तर्राष्ट्रिय बजारमा राम्रै मूल्य आउने प्रहरीको भनाइ छ । तर, नेपालमा बरामद भएको यो हेरोइन नेपाललाई ट्रान्जिट बनाएर जापान पठाउने तयारी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका पाकिस्तानी नागरिकले बोकेको एन्सेल बेवाईको कल डिटेल चेक गर्दा उनीहरूले बारम्बार जापानी मोबाइल नम्बरमा फोन गर्ने गरेको देखिएको छ । त्यसैले उनीहरूको मोबाइल कल हेर्दा जापानी नागरिकसँग कुरा भइरहेको र त्यहाँबाट युरोप पठाउने योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटनाबाट सिक्नुपर्ने पाठ
समग्र यो घटनाले नेपाल लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रस्ट नै छ । लागूपदार्थको दुव्र्यसन तथा अवैध ओसारपसार विश्वव्यापी चिन्ताको विषय हो । लागूपदार्थको बेचबिखन एवम् गैरकानुनी ओसारपसार रोक्ने दिशामा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय अग्रसरता रहे पनि समस्याका तुलनामा नियन्त्रणका प्रयास नगन्य साबित भइरहेका छन् । लागूपदार्थको कुलत र अवैध कारोबारको कुचक्रमा विकसित तथा विकासोन्मुख मात्र होइन, अल्पविकसित मुलुकसमेत परेका छन् । कमजोर र भ्रष्ट प्रशासन देखेर लागूऔषध कारोबार गर्न नेपाल नै अति सहज द्वारको रूपमा विश्वविख्यात अपराधीहरूले प्रयोग गर्नु यो राज्य र राज्यका निकायहरूको ठूलो कमजोरी हो । विद्यालय तथा विश्वविद्यालयमा समेत लागूऔषधको कारोबार चर्किन थालेका बेला दिनरात सतर्क, सजग तथा सक्रिय रहनु राज्यकोे दायित्व हो । लागूपदार्थका तस्कर तथा अवैध ओसारपसारमा संलग्न हुनेलाई कडाभन्दा कडा सजाय हुनैपर्छ । लागूऔषधजस्तो समस्यालाई केवल प्रहरी अथवा कुनै निकाय विशेषको मात्र जिम्मेवारी ठानिनु पनि युक्तिसङ्गत हुँदैन, अत: समाजका जुनसुकै तह र तप्काका जोकसैले पनि आ–आफ्ना क्षेत्रबाट यस दिशामा अभूतपूर्व योगदान पु-याउनु नागरिकको कर्तव्य हो ।