चर्को ब्याज लिनेलाई निरुत्साहित गर्न बैंकहरुले आकर्षक ब्याज दिनुपर्छ : राष्ट्र बैंक

चर्को ब्याज लिनेलाई निरुत्साहित गर्न बैंकहरुले आकर्षक ब्याज दिनुपर्छ : राष्ट्र बैंक


सदियौंदेखि समाजका केही हुने खानेले हुदाँ खानेहरुलाई दुःखका बेला ऋण दिने गर्छन् । जब म्याद सकिन्छ तब तिनै हुनेखाने साहु महाजनहरु चर्को ब्याजको बिल लिएर ऋणीकहाँ सावाँ र ब्याजका लागि पुग्छन् । ऋणीेले समयमा ऋण तिर्न नसक्दा चक्रीय ब्याज लगाएर उनीहरुको उठीबास लगाउने घटना नेपाली समाजमा अझै पनि व्याप्त छ । तर अबदेखि नयाँ संहिताले भने साहु–महाजनको त्यही कर्तुतलाई अंकुश लगाएको छ ।

१ सय ६५ बर्षे पुरानो मुलुकी ऐन संशोधनले समाजमा चर्को ब्याज लिने, मिटर ब्याजको धन्दा चलाउने र ढुकुटी कारोबार गर्ने साहु–महाजनलाई अंकुश लगाइदिएको छ । ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज र चक्रीय ब्याज लिन नपाउने कानुन लागु भएपछि चर्को ब्याजदरमा ऋण दिने साहु–महाजनमा अंकुश लागेको हो । नयाँ संहिताअनुसार अब साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै ब्याज लिन पाउने छन् ।

मुलुकी देवानीसंहिताको परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धि व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धि व्यवस्था छ । सो दफामा ‘लेनदेनसम्बन्धि लिखत हुँदा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउने उल्लेख छ । तर यसरी साहू–महाजनले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले समाजका हरेक बेथिति र आपतविपतका बेला जुनसुकै ब्याज तिर्न भनी लिएको ऋणले साहु–महाजनलाई मात्रै फाइदा पुग्ने जनाएको छ ।

लिखतमा ब्याजको दर नतोकी ब्याज लिने दिने मात्र उल्लेख भएमा पनि साहुले ऋणिबाट वार्षिक १० प्रतिशतका दरले मात्र ऋण लिन पाउने संहितामा उल्लेख छ । यस व्यवस्थाले अब बैंकिङ कारोबारभन्दा बाहिर हुने अनौपचारिक लेनदेनमा यसले चर्काे ब्याज असुल्ने र मिटर ब्याजको धन्दा चलाउनेलाई निरूत्साहन गर्नेछ । तर राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा र बैंकबाट ऋण परिचालन गर्दा ऐन आकर्षित नहुने जनाएको छ ।

राष्ट्र बैंकले बैकिङ प्रणालीभन्दा बाहिर रहेका रकमलाई बैंकसम्म ल्याउन बैंकहरुले आफ्ना शाखाको बाक्लो उपस्थिति बनाउनुपर्ने र आकर्षक ब्याज दिनुपर्नेमा जोड दिएको छ । यदि आर्थिक लेनदेन हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट कुनैपनि ब्याज असुल्न नपाउने र चक्रीय ब्याज लिन नपाउने व्यवस्था समेत गरेको छ । यदि कानुन विपरीत कुनै साहूले ऋणीबाट ब्याजको ब्याज लिएमा सो रकम साँवामा कट्टी हुने संहितामा उल्लेख छ ।