पाठक मञ्च

पाठक मञ्च


pathakmanchएमाओवादीलाई आठ सुझाव
संविधानसभाको निर्वाचनमा नराम्रोसँग पराजित हुनुपरेपछि एमाओवादीका मुख्य नेताहरूमा छाएको निराशा र छटपटी हेर्न लायक थियो । अरू हार्दा हरुवा र छेरुवा भनी दम्भ प्रदर्शन गर्ने ती नेताहरूमा आफू हार्दा उत्पन्न पीडाले मुलुकलाई नै डस्न खोजेको अवस्था छ । मतपरिणाम स्वीकार नगर्ने, संविधानसभा बहिष्कार गर्नेजस्ता निर्णय सो पार्टीले गर्नु नेपाली जनताको मतकै अपमान हो । आफूले गरेको करनीको फल भोग्दै जनताको मन जित्ने कोसिस गर्नुको साटो त्यस्तो धुन्धुकारी निर्णय सार्वजनिक गरेर एमाओवादीले आफूलाई देश, जनता र लोकतन्त्रको विपक्षमा उभ्याउने दुस्साहस गरेको छ । यस सन्दर्भमा उक्त पार्टीलाई निम्न सुझाव दिनैपर्ने देखियो ।
१. दु:खमा आत्तिने र सुखमा मात्तिने अपरिपक्व प्रवृत्ति त्याग । आवेश र भावनामा नभई बुद्धिसङ्गत र विवेकपूर्ण निर्णय गर । विगतमा जस्तो हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउने बानीलाई निरन्तरता दिन खोज्नु कदापि राम्रो होइन । नबिर्स, दु:खपछि सुख र दिनपछि रात हुन्छ । अर्को चुनावसम्म जनमत कुर्ने धैर्य गर । २. कुनै पनि व्यक्ति अथवा पार्टी विधि–प्रक्रिया र व्यवस्थाभन्दा माथि हुन सक्दैन । जनता व्यक्ति अथवा पार्टीको नभई विधिको शासन चाहन्छन् । तसर्थ, यदि चुनावी प्रक्रियाका सम्बन्धमा कुनै शङ्का–उपशङ्का भए निर्वाचन आयोगमा विधिवत् उजुरी गर । विभिन्न ‘कन्सिपाइरसी थ्योरी’का प्रोपोगण्डा फैलाउनुभन्दा विधिसम्मत हिसाबले हिँड्न खोजे बरु थोरबहुत बँँचेको तिम्रो साख जोगिन्छ ।
३. शान्तिप्रेमी जनतालाई विश्वास गर । उनीहरूको अभिमतलाई सम्मान गर । विदेशी प्रभुको मात्रै भर गरेर जनतालाई कमिलाबराबर पनि नगन्ने गल्ती नदोहो¥याऊ ।
४. जातजाति, धर्म, वर्ग, भाषा, भेषभूषा, भौगोलिक क्षेत्रजस्ता बहानामा देश र जनतामा विभाजन ल्याउने एजेन्डा र क्रियाकलाप छोड । बरु, अनेकतामा एकताको मन्त्र प्रवद्र्धन गर्न प्रयत्नशील होऊ, यही नै अहिलेको जनमत हो ।
५. व्यक्ति–व्यक्ति, घर–घरपिच्छे जनतालाई हावादारी सपना नबाँड । एकै दिनमा १२ चोटि कुरा फेर्ने बानी छोड । बरु, राष्ट्रिय आवश्यकता पहिचान गरी देशभित्र र बाहिरका स्रोत–साधनको यथार्थपरक आँकलनमा आधारित देश विकासको खाका बनाउनतिर लाग ।
६. अग्रगामी सोच राख, समयअनुसार चल्न सिक । १८औँ र १९औँ शताब्दीका जडवत् आउटडेटेड मान्यता र सिद्धान्तको सिरानी लाएर सुत्न छोड । यदि आफ्नो र पार्टीको सिद्धान्तमा साँच्चै विश्वास छ भने पहिला सो कुरा आफू, आफ्नो परिवार र पार्टीमा लागू गरेर उदाहरण बन । परिवर्तन आफैँबाट सुरु गर ।
७. आफू देशको राजा र आफ्ना श्रीमती, जहान–परिवार, छोरा–छोरी, भाइ–भतिजाचाहिँ छोटे राजा हुन् भन्ने भ्रमबाट मुक्त होऊ र सबैको आचरणको ख्याल गर । नबिर्स, देशबाट भर्खरै जनताले एउटा यस्तै स्वेच्छाचारी राजा फालेका छन् ।
८. पुग्यो, अब मर्ने र मार्ने कुरामा गर्व गर्न छोड । हत्याहिंसाप्रतिको मोह त्याग । शान्तिपूर्ण राजनीतिमा आइसकेपछि बुलेटमा होइन ब्यालेटमा विश्वास गर । सशस्त्र युद्धमा मृत्यु भएका हजारौँप्रति सहानुभूति राख । लाखौँ पीडित जनतासमक्ष क्षमा माग । उनीहरूको न्यायिक हकको सम्मान गर ।
– अरुण खड्का, दोलखा

काङ्ग्रेस र एमालेलाई शुभकामना !
श्री सम्पादकज्यू,
सधैँ जनतालाई त्रसित र आतङ्कित बनाएर राजनीति गर्दै आएको एमाओवादी पार्टीलाई जनताले संविधानसभाको निर्वाचनमार्पmत पाखा लगाइदिएका छन् । नेपाली जनताले परिवर्तनका सच्चा बाहक नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई भारी मत दिएर विजयी बनाएका छन् । यसबाट नेपाली जनतामा रहेको चेतनाशक्ति विश्वमै उल्लेख गर्न लायक भएको महसुस गरेको छु– मैले । नेपालको इतिहासमै ०५२ पछि आतङ्कवादको विकास भएको कालो घटना थियो । त्यस अवधिमा जनताको प्रजातन्त्र र स्वतन्त्रताको हरण भएको थियो । यी आतङ्कको जन्मदाता र स्वतन्त्रताका हत्याराहरूलाई ढिलै भए पनि जनताले सजाय दिएकोमा म नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै नेपाली काङ्ग्रेस र एमाले पार्टीलाई पनि नेपालीको वास्तविक संविधान बनाउन सकून् र नेपालको आर्थिक समृद्धितर्पm लाग्न म स्वतन्त्र लेखकका नाताले शुभकामना व्यक्त गर्दछु ।
अहिले हामीले काङ्ग्रेस र कम्युनिस्ट भनेर विभेद गर्ने बेला छैन । अहिलेको समय भनेको लोकतान्त्रिक संविधान निर्माण गरेर जनताको आर्थिक स्तर उकास्ने र देशलाई निकास दिनुपर्ने बेला हो । विगतका १८ वर्ष देशले ठूलो आतङ्कवादको सामना गर्नुपर्दा देशको विकास क्रम दुई सय वर्षपछाडि धकेलिएको छ । तसर्थ काङ्ग्रेस र एमाले पार्टीले २०४७ को संविधानलाई परिमार्जन गरेर अघि बढ्दा राम्रो हुन्छजस्तो मलाई लाग्छ । २०४७ को संविधान धेरै अर्थले प्रगतिशील थियो । त्यसबेला आदरणीय किशुनजी प्र.मं. हुनुहुन्थ्यो भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसमेत संविधान निर्माणमा हुनुहुन्थ्यो । त्यही म्यान्डेटलाई जनताले यसपल्ट आफ्नो राय दिएका छन् । यसलाई सम्मान गर्न म हार्दिक आग्रह गर्दछु । जेसुकै भए पनि २०४६ मा ने.कां. र एमालेले प्रजातन्त्रको पुनस्र्थापन गरेका हुन् । उनीहरूबीचको कलहले गर्दा मुलुकले धेरै वर्ष आतङ्क र हिंसावादी समूहको सिकार हुनुप¥यो । हामीजस्ता गरिब लेखकले समेत हदैसम्म पीडित हुनुप¥यो । धेरै पत्रकार साथीहरूको दुर्दशा भयो । नेपाली जनताले हुकुमी तन्त्र सहनुप¥यो । यसकारण पनि म ने.कां. र एमालेले विगतको गल्ती नदोहो¥याउन् भन्ने कामना गर्दछु ।
अहिले जनताले खोजेको कुरा नयाँ संविधान, देश विकास र स्थायित्व हो । यी कुरालाई दुई दलका प्रमुख नेताहरू मिलेर एउटा साझा बाटो बनाउनुप¥यो । जित र हारको कुराभन्दा स्थायित्वको कुरा ठूलो हो भन्ने जिम्मेवारी बोध गर्नुप¥यो । वास्तवमा यी दुई दलको अभावमा देश टुहुरो हुने रहेछ भन्ने मलाई लागेको छ । गएको संविधानसभामा ने.कां. र एमालेसित दुईतिहाइ सभासद् नहुँदा देशले नयाँ संविधान पाउन सकेन । अब पाउने ममा शतप्रतिशत विश्वास छ । म ने.का. र एमालेलगायत सबै प्रजातान्त्रिक शक्तिहरूलाई समेत शुभेच्छा प्रकट गर्दछु । अब लोकतन्त्रको विकल्प नभएको पनि पुनस्मरण गराउन चाहन्छु ।
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, हाल: बेघर