के नेपाली टोली एसियाडमा ‘पिकनिक’ गर्नै आएको हो त ?

के नेपाली टोली एसियाडमा ‘पिकनिक’ गर्नै आएको हो त ?


– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जकार्ता)

प्रायजसो एसियाली खेलकुद प्रतियोगिताको चर्चा गर्दा ‘पिकनिक’ शब्दको प्रयोग हुँदै आएको छ । १८औँ एसियाडमा पनि यो शब्द अर्थात् ‘पिकनिक’ले पुनः दोहोरिने र घन्किने अवसर पाएको छ । के १८औँ एसियाडमा नेपाली टोली ‘पिकनिक’ गर्नै आएको हो त ? प्रश्न गम्भीर रूपमा उठेको छ । यो आरोपप्रति सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी कति संवेदनशील छन् त्यो अहिले खोजीको विषय बनेको छ । के यी निकायहरूले जानीजानी एसियाली खेलकुदलाई ‘पिकनिक’ मनाउने थलो बनाएका हुन् त्यसको जवाफ कसले दिने त्यो अहिले चर्चाको विषय बनेको छ ।

१८औँ एसियाली खेलकुदमा नेपालले २९ खेलमा सहभागिता जनाएको छ । जसमा १ सय ५ जना नेपाली खेलाडीले सहभागिता जनाएकोमा पुरुषतर्फ १ सय २९ र महिलातर्फ ५६ जना रहेका छन् । एसियाडमा छनोट खेल खेल्नु नपर्ने कारण अन्तर्राष्ट्रिय खेलको अनुभव प्राप्त गर्न प्रायजसो एसियाड खेलमा नेपालले आफ्नो सहभागितालाई बढाउँदै लगेको छ । १८औँ एसियाडमा ४० खेल राखिएमा नेपालले २९ खेलमा सहभागिता जनाउनु यसको उदाहरण हो । अन्यथा एसियाडको ६७ वर्षको इतिहासमा २३ पदक मात्र जित्ने नेपालले कदापि यसपटक २९ खेलमा सहभागिता दिने थिएन ।

ओलम्पिकपछिको सबैभन्दा ठूलो प्रतियोगितामा नेपाली खेलाडीले खेल्नु पाउनु आफैँमा ठूलो उपलब्धि र शानको कुरा हो । तर, यस्तो सहभागिता नेपाली खेलकुदका लागि कति खुसीको कुरा हो त्यसको चिरफार हुनु जरुरी छ । अझ एसियाडको नाममा खेलाडीलाई बलिको बोका बनाएर राष्ट्रको मान, सम्मान र प्रतिष्ठामाथि खेलवाड गर्ने जुन परम्परा बनेको छ त्यसको अन्त्य हुनु जरुरी भइसकेको छ । तर, विडम्बना ! जुन घटनाक्रमले विगतका एसियाडमा नेपाली खेलकुद बदनाम हुँदै आएको थियो त्यो १८औँ एसियाडमा पनि अछुतो रहन सकेन । नातावाद, कृपावाद, चाकरी र चाप्लुसी गर्नेहरूकै बाहुल्यका कारण यो एसियाड पनि विवादमा तानिएको छ । अझ राजनीति गर्नेहरूले आफ्ना कार्यकर्ताहरूलाई खुसी पार्न र विदेश घुमाउन एसियाली खेलकुदलाई रोज्नु अर्को विडम्बना बनेको छ । जुन यो एसियाडमा पनि दोहोरिएको छ । अन्यथा खेलकुदको ‘खे’ समेत थाहा नभएकाहरू १८औँ एसियाडमा खेलकुदको प्रशिक्षक, कोच, रेफ्री पदाधिकारी र सञ्चारकर्मी भएर कदापि त्यहाँ पुग्ने थिएनन् ।

१८औँ एसियाडमा यसपटक सञ्चारकर्मीको उपस्थितिबारे समेत प्रश्नचिह्न खडा भएको अवस्थामा यसपटक सानो र सन्तुलित टोली एसियाडमा जाने अड्कल काटिएको थियो । तर, जतिजति एसियाड नजिकिँदै गयो त्यतित्यति प्रशिक्षक, पदाधिकारी, सञ्चारकर्मी र सहयोगीहरू थपिँदै गए । परिणाम, यसपटक पनि खेलाडी टोलीभन्दा पदाधिकारीहरूको टोली नै ठूलो बन्यो । अहिले चार सयको हाराहारीमा पुगेको नेपाली टोली कसरी ‘जम्बो’ बन्यो यसको जवाफ सम्बन्धित निकायसँग छैन । यसबारे राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा १८औँ एसियाली खेलकुदका ‘सेभ द मिसन’ केशवकुमार विष्टसँग सम्पर्क गर्दा उनले यो टोली स्वाभाविक भएको बताए ।
आफूहरूले विगतको भन्दा निकै सानो टोली बनाउने कोसिस गरे पनि आकाङ्क्षीहरूको चाहना र सबैलाई समेट्ने क्रममा टोलीको आकार ठूलो हुन पुगेको बताए ।
जान्छु भन्नेलाई लानैप¥यो भन्दा पनि नलगी नहुनेलाई समेट्दा केही मात्रै आकार ठूलो भएको विष्टले बताए । तैपनि अन्य एसियाडको तुलनामा यसपटक सानो नै छ । तपाईंलाई थाहा नै छ, पहिले सञ्चारकर्मीको टोली जम्मा पाँचजनाको थियो, अहिले लगभग ३० जनाको पुगेको छ । यसरी नै अन्य सदस्यहरूको पनि वृद्धि भएको विष्टले बताए । सकेसम्म १८औँ एसियाडमा सहभागिता जनाउने टोलीप्रति कसैले औँला नउठाउन् भन्ने हाम्रो चाहना थियो, सबै सम्बन्धित व्यक्तिहरू मात्रै जाउन् भन्ने थियो, तर आफूले सोचेको जस्तो हुने रहनेछ । परिस्थितिसँग सम्झौता गर्दागर्दै एक–अर्काको चाहना पूरा गर्नु बाध्यता पनि बन्दोरहेछ– विष्टले भने ।

साथै विष्टले यहाँ कोही पिकनिक खान नभई एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न आएको प्रस्ट पारे । ‘एसियाडमा कोही पिकनिक खान आउँछ ?’ प्रतिप्रश्न गर्दै विष्टले भने, ‘त्यो विक्षिप्त मानसिकता भएको व्यक्तिको अभिव्यक्ति हो, खेलकुदको विकास र विस्तार देख्न नसक्ने र नचाहने व्यक्तिहरूको चाल हो । राष्ट्रले खेलकुदप्रति गरेको लगानीको उपहास हो । खेलकुदमा यस्ता दरिद्र सोच भएका व्यक्तिहरू छन्, जसले अहिले पनि बाँदरे चरित्रको भूमिका निभाइरहेका छन् । जुन आफ्नो घर पनि बनाउँदैनन् अर्काले बनाएको घरमा ढुङ्गा हान्दा आनन्दले रमाउँछन् । त्यस्ता चरित्र भएका सकुनी चाल खेल्नेहरूलाई मेरो भन्नु केही छैन ।’ उनले अगाडि भने, ‘म यहाँ राष्ट्रको टोलीको नेतृत्व गरेर आएको छु । मेरो उद्देश्य भनेको राष्ट्रलाई कसरी पदक दिलाउनु हो, म त्यसमा गम्भीर पनि छु । एसियाली खेलकुदमा भनेको र सोचेको जसरी पदक जित्न सम्भव छैन । यहाँ पदक जित्न फलामकै चिउरा चपाउनुपर्ने अवस्था छ । किनकि ४५ राष्ट्रका खेलाडी आफैँमा उत्कृष्ट छन् । यस्तो परिस्थितिमा नेपालको तयारीले कुनै पदक जित्नु आफैँमा ऐतिहासिक उपलब्धि हो । अहिले म त्यही उपलब्धि हासिल गर्न अहोरात्र खटेको छु । तर, सफलता–सफलता भनेको खेलकुदको एक सिक्काको दुई पाटा हो, हामी पदक जित्न प्रयासरत छौँ, बाँकी भाग्यले पनि साथ दिनुपर्छ ।’

यतिबेला १८औँ एसियाली खेलकुद शुभारम्भ भइसकेको छ । नेपालले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको छ । कुनै खेलमा पहिलो चरणमा सफलता हात पारेको छ भने कुनैमा असफलता । सफलता र असफलताको बीचमा नेपाली खेलाडीले १८औँ एसियाडमा कस्तो प्रदर्शन गरे त्यसको चिरफार हुनु जरुरी छ । ब्याडमिन्टन, उसु, फेन्सिङ, कबड्डी र तेक्वान्दोको खेल सञ्चालन भइरहेका छन् । यी खेलहरू सञ्चालन भइरहँदा नेपालले तेक्वान्दोबाट पदकको आशा गरेको छ । तेक्वान्दोको पुम्सेतर्फ नेपाली महिला टोली क्वार्टरफाइनलमा पुगे पनि ताइपेईसँग पराजित हुँदा पदकबाट विमुख हुनुपरेको छ । यदि नेपालले ताइपेईलाई पराजित गरेको भए नेपालको पदक पक्का हुन्थ्यो । दुर्भाग्य, पदकको आशा गरिएको पुम्सेमा नेपाल पदकविहीन बनेको छ । जसले नेपाललाई ठूलो धक्का लागे पनि तेक्वान्दोका पदाधिकारीहरू निराशचाहिँ भएका छैनन् । अझै थुप्रै तेक्वान्दोका इभेन्टहरू बाँकी रहेकाले पदकको आस बाँकी नै रहेको उनीहरूले दाबी गरेका छन् ।