क्रिकेटमा लहर फुटबलमा नजर

क्रिकेटमा लहर फुटबलमा नजर


sportट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएपछि मुलुकभरि नै क्रिकेटको लहर आएको छ । हरेक ठाउँमा क्रिकेटकै मात्र चर्चा हुन थालेको छ । साँचो अर्थमा भन्नुपर्दा संविधानसभाको निर्वाचनलाई समेत ओझेलमा पारेको छ क्रिकेटले । एउटै छलाङले खेलप्रेमीदेखि राजनीतिकर्मीसम्ममा आफ्नो प्रभाव जमाउन सफल क्रिकेटले सरकारलाई समेत नतमस्तक बनाएको छ । तसर्थ अहिले हाँसो, रोदन र खुसी ओइरो लागेको बेलामा समग्र क्रिकेटको विकास र विस्तारको पेटारो खुल्न पुगेको छ । जुन क्रिकेटमा पाएको ऐतिहासिक सफलताजस्तै ऐतिहासिक र अकल्पनीय बन्न पुगेको छ । क्रिकेटमा आएको लहर र त्यसबाट निस्केको तरङ्गले अहिले मुलुकलाई नै क्रिकेटमय बनाएको छ– ‘इन्द्रेणी’ जस्तै, स्वर्गीय नेता नेल्सन मन्डेलाले भनेजस्तै । हिजोसम्म विभिन्न सोचमा विभाजित नेपाल अहिले क्रिकेटको सफलतासँगै एक भएको छ । ‘इन्द्रेणी’जस्तै सात रङ्गलाई एउटैमा समेटेर । जुन साँच्चिकै मनमोहक र सुन्दर देखिएको छ ।
सीमित स्रोतसाधनका बाबजुद पनि क्रिकेटले विश्वकपसम्मको छलाङ मारेपछि अहिले सम्बन्धित निकाय र सरकारलाई सोच्न बाध्य पारेको छ । राष्ट्रिय खेलकुद परिषद्ले मासिक रूपमा प्रदान गर्दै आएको पाँच हजार रुपैयाँको भत्ता खाएर दीनदु:खीझैं क्रिकेट खेलिरहेका खेलाडीले हिजोसम्म एउटै राग अलापिरहेकाहरूलाई नराम्रो झापड दिएर अहिले चेतनामा आउन बाध्य पारेका छन् । यसमा थोरबहुत योगदान सम्बन्धित निकायको भए पनि विशेषत: खेलाडी र प्रशिक्षकको मिहिनेतको प्रतिफल हो । अन्यथा चौमासिक हिसाबकिताबसमेत बुझाउन नसक्नेहरूले यत्रो उपलब्धि हासिल गरेको फुर्ती लगाउनु आफैँमा अकल्पनीय होइन र ? क्रिकेटजस्तो ब्याट र बलको प्रदर्शन गरेर खेल्नुपर्ने ठाउँमा अनविज्ञ कमरेडलाई सारथि बनाई बन्दुक र गोली चलाउन जङ्गलतिर लान खोजिएको त पक्कै हो । तर, आज त्यो प्रयास असफल भएको छ, खेलाडीले आफूहरूलाई जङ्गलमा नभई विदेशका कुनाकुनामा लगेर प्रशिक्षण गराउनुपर्ने कुरालाई प्रमाणित गरिदिएका छन् । तसर्थ क्यानको कप्तानको भूमिका निभाइरहेका अनविज्ञ कमरेड टंक आङबुहाङमाथि अक्षमताको ट्याग लगाउँदा जायज ठहर्छ । समाधानका लागि राखेपले आफ्नो गल्ती सच्याउने हो कि ? सदस्यसचिव युवराज लामाप्रति औँला उठाउँदा सायद कसैले रोकतोक गर्ला ।
क्रिकेटको प्रदर्शन उँभो गतितर्फ उन्मुख भएपछि क्रिकेटमा खुसियाली छाउनु स्वाभाविकै हो । समग्र क्रिकेटको विकासका लागि विभिन्न योजनाको परिकल्पना गरिनु आफैँमा जायज कुरा हो । एक खेलकुद विज्ञले क्रिकेटलाई क्लबको रूपमा विकास गर्नुपर्ने धारणा राख्दा फुटबलका प्रशिक्षकको प्रतिवाद सुन्नलायक र हेर्नलायक बनेको थियो । खेलकुदविज्ञले क्लबको रूपमा क्रिकेटको विकास गर्दा क्रिकेटको स्तर निकै माथि उठ्ने र नेपालले चाँडै एकदिवसीय क्रिकेटमा समेत सहभागिता जनाउने तर्कसहितको विश्लेषण प्रस्तुत गरेका थिए । खै किन हो सँगै बसेका फुटबलका प्रशिक्षकलाई यो कुरा अपाच्य भो । उनले भने– यसो गर्दा त फुटबल खत्तम भइहाल्छ नि । यति धेरै क्लब हुँदा र नियमित लिग सञ्चालन हुँदा त फुटबलले वर्षमा गतिलो खेलाडी पाउन सकेको छैन भने क्रिकेटको लिग सञ्चालन भो भने त फुटबलमा खेलाडीको खडेरी पर्छ । सबै खेलाडी क्रिकेट खेल्न जान्छन् अर्थात् बलेको आगो ताप्छन् । ती प्रशिक्षकको चिन्ताको विश्लेषण गर्दा फुटबल अब सोचनीय अवस्थामा पुगेको प्रस्ट देख्न सकिन्थ्यो । यदि अब पनि फुटबललाई गम्भीर रूपमा लिइएन र सोचिएन भने भोलि जे पनि हुन सक्छ ।
फुटबलमा गणेश थापाको तानाशाही र चर्चित फुटबल क्लब एनआरटीले लिग फुटबल नखेल्ने घोषणा गर्नुले फुटबललाई निकै घाटा लागेको छ । अझ अर्को चर्चित क्लब आरसीटीले पनि फुटबलसँग नाता तोड्ने सङ्केत देखाएपछि फुटबलमा अर्को समस्या देखिएको छ । आरसीटीले हाल सञ्चालन भइरहेको एनसेल फुटबल नखेल्नु एन्फाका लागि ठूलो धक्का हो । यो प्रतियोगिता नखेलेपछि आउँदो पुसमा सञ्चालन हुने सहिद स्मारक लिग फुटबलमा आरसीटीको तीन अङ्क काटिनुका साथै पाँच लाख जरिमानासमेत हुने पक्का छ । यस्तो अवस्थामा आरसीटीले पनि यिनै र विभिन्न कारण देखाउँदै लिगमा सहभागिता नदिन सक्छ । एन्फासँग विगतदेखि ३६ को आँकटा राख्दै आएको आरसीटीले लिगमा सहभागिता दिएन भने त्यो एन्फाको मात्रै नभई फुटबलकै हार हुने प्राय: निश्चित छ । यस्तो गम्भीर अवस्थामा एन्फासँग कुनै रणनीति र विकल्य छैन । एन्फाले खेल भन्ने हो क्लबले नखेल्दा केही हुनेवाला छैन, खालि ‘बी’ डिभिजनमा घटुवा मात्रै हुने हो । तसर्थ अहिले नेपाली फुटबल गम्भीर मोडमा पुगेको छ । यदि समयमै एन्फाले यो रोगको उपचार गर्न सकेन भने भोलि लिग खेल्ने क्लब नै नहराउलान् भन्न सकिँदैन ।
आर्थिक कारण देखाउँदै एनआरटी फुटबलबाट टाढा भएको हो । वर्षको करोडौँ रुपैयाँ आम्दानी भएको क्लबलाई खेलाडी पाल्न यति गाह्रो छ भने अन्य चन्दा र प्रायोजकको भरमा क्लबलाई घिसारिरहेकाहरूको कस्तो दुर्दशा होला त्यो सोझै अनुमान लगाउन सकिन्छ । फुटबल खेलाडी पाल्नु भनेको सेतो हात्ती पाल्नुसरह हो । चार टाइम खाना, पचासौँ हजार तलब क्लबका लागि सहज विषय होइन । अझ आफूले आफ्नो सिरिखुरी लगाएर पालेका खेलाडीले फुटबल मैदानमा गर्ने मिलोमतो क्लबहरूका लागि शिरदर्द बन्दै आएको छ । राम्रो खेलाडीले नराम्रो खेल्नु क्लबका लागि त्योभन्दा अर्को पीडा अर्को हुन सक्तैन । तर, यस्तै भइरहेको लिग फुटबलमा, खेलाडीले लोभ लालचमा बिकेर क्लबको अस्तित्व नै सङ्कटमा पार्ने काम गर्दै आएका छन् । जसलाई एन्फाले कारबाही गर्नुको साटो उल्टै पुरस्कृत गर्दै आएको छ । अर्को कुरा क्लबहरूले लाखौँ रुपैयाँ तिरेर क्लबमा उत्कृष्ट खेलाडी भित्याएका हुन्छन् । तर, एन्फाले राष्ट्रिय टिमको नाममा खेलाडीलाई महिनौँसम्म राख्छ । क्लबले तलब दिने तर चाहेको बेलामा खेलाउन नपाउने कारणले पनि क्लबको प्रदर्शनमा नकारात्मक असर परेको छ, विगतदेखि क्लबको यो दुर्भाग्य पनि बन्दै आएको छ ।
वर्तमान अवस्थामा क्रिकेटको सफलतासँगै खेलाडी र खेलप्रेमीको मनस्थितिमा पनि परिवर्तन आएको छ । फुटबलको गिर्दो साख र क्रिकेट उचो साखको तुलना गरिन थालेको छ । क्रिकेट खेल्दा विश्वकपसम्म पुग्न सकिने देखिएको छ भने फुटबलमा साफ रिजनमै सीमित । यस्तो अवस्थामा क्रिकेट अब युवाहरूको पहिलो रोजाइमा पर्ने लगभग पक्का छ । अझ क्रिकेटले पाएको ऐतिहासिक सफलतालाई राज्यले समेत उचित मूल्याङ्कन गर्दै सहयोगको हात फैलाइरहेको अवस्थामा क्रिकेट नेपालको नम्बर एक खेल बन्ने पक्का छ । दक्षिण एसियाली मुलुकहरू भारत, पाकिस्तान र बंगलादेशमा फुटबललाई विस्थापित गर्दै क्रिकेटले हासिल गरेको मुकामलाई यहाँ कदापि बिर्सन सकिँदैन । भविष्यमा पनि नेपालको फुटबलको यस्तै दयनीय अवस्था र प्रदर्शन रहने हो भने क्रिकेटले विस्थापित गर्ने कुरालाई नकार्न सकिँदैन । अझ क्रिकेट र फुटबलका दर्शक एउटै भएकाले बलेको आगो ताप्नुमा उनीहरूको सही निर्णय सावित हुनेछ । दर्शकहरूको यही मायाले खेलाडीलाई नौलो गन्तव्य छुनमा अधिक मद्दत पनि गर्नेछ, जसले क्रिकेट खेलाडीका लागि सञ्जीवनीबुटीको कार्य गर्नेछ ।

खेल समाचार

क्रिकेट टोलीलाई राखेपको सम्मान
आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा तेस्रो स्थान हासिल गर्नुका साथै आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमको सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेल, राखेप सदस्यसचिव युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्मालगायतले टोलीलाई राखेप हातामा स्वागत गरेका थिए ।
त्यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले टोलीलाई नगर परिक्रमा गराएको थियो । नगर परिक्रमा नक्सालस्थित होटल क्राउन प्लाजाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी राखेप हातामा आएर कार्यक्रममा परिणत भएको थियो । राखेपले युवा तथा खेलकुद मन्त्रलयमार्फत नेपाल सरकारसमक्ष ट्वान्टी–२० विश्वकपका लागि छनोट हुन सफल टिमका हरेक खेलाडीलाई १० लाख नगद पुरस्कार दिन गरेको सिफारिस सरकारले अनुमोदन गरिसकेको छ । प्रशिक्षकलगायत टिमका अन्य सदस्य (खेलाडीको भन्दा कम) का लागि पनि नगद पुरस्कार दिने अनुमोदन भइसकेको छ ।

मल्पीलाई फुटबल उपाधि
मल्पीले २०औँ आयसर–ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलको उपाधि जितेको छ । खोकनामा भएको फाइनलमा मल्पीले आयोजक ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल स्कुल (जीआईआरएस) लाई २–० गोलले पराजित गरेको थियो । सौगात बानियाँले ५०औँ र साङ्गे धार्केले ५३औँ मिनेटमा मल्पीका लागि गोल गरेका थिए । प्रतियोगितामा आयोजक ज्ञानोदयका अशोक जोबेगु उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई आयसर इन्डिया लिमिटेडका प्रतिनिधि दीपक थापा, एडीबीका सल्लाहकार कोर्टिस चिन र ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले पुरस्कृत गरेका थिए । प्रतियोगितमा आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।
कार्निभलमा फुटबलबाहेक ब्वाइज र गल्र्सको बास्केटबल तथा ब्वाइज भलिबलमा पनि प्रतिस्पर्धा भएको थियो । बास्केटबलको ब्वाइजमा एलआरआई र गल्र्समा आयोजक ज्ञानोदय पहिलो भएका थिए । ब्वाइजमा एलआरआईका राज कुँवर र गल्र्समा ज्ञानोदयकी गौतम भट्टचन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । त्यस्तै ब्वाइज भलिबलको उपाधि दीपज्योतिले उचालेको थियो । दीपज्योतिकै तिलक छन्त्याल उत्कृष्ट खेलाडी घोषित भएका थिए । बास्केटबलको ब्वाइज र गल्र्समा समान १६–१६ तथा भलिबलमा चार टिमले प्रतिस्पर्धा गरेका थिए ।

नमुना रनिङ सिल्ड भलिबल हुने
नमुना इंग्लिस स्कुल, लुभुको आयोजनामा दशौं उपत्यकाव्यापी अन्तरविद्यालय नमुना रनिङ सिल्ड भलिबल प्रतियोगितामा पुस ७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स, जुनियर ब्वाइज तथा यू–१९ ब्वाइजमा प्रतिस्पर्धा हुने आयोजक नमुनाका भलिबल प्रशिक्षक चन्द्रबहादुर महर्जनले जनाएका छन् । चारै स्पर्धामा समान ८–८ टिमले भाग लिनेछन् ।
सिनियर ब्वाइजमा आयोजक नमुना र गल्र्समा भ्याली पब्लिक स्कुल, लुभु, जुनियर ब्वाइजमा अन्तत: इंग्लिस स्कुल, सिद्धिपुर तथा यू–१९ ब्वाइजमा नमुना मच्छिन्द्र उमावि साविक विजेता हुन् । साताव्यापी प्रतियोगिताका खेलहरू लुभुस्थित आयोजककै कोर्टमा हुनेछ ।

खुला ब्याडमिन्टन बिहीबारदेखि
गँगटा युवा क्लबको आयोजनामा खुला ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष एकल र भेट्रान्स एकलमा प्रतिस्पर्धा हुने संयोजक वीरेन्द्र थापा (वीरे) ले जनाएका छन् । दुवै विधामा मिलाएर करिब दुई सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
पुरुष एकलको विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेद्वयले १५÷१५ हजार पुरस्कार पाउनेछन् । ब्याडमिन्टनको एकल स्पर्धामा उक्त नगद पुरस्कार अहिलेसम्मकै सर्वाधिक भएको आयोजकको दाबी छ । यो विधामा शीर्ष १६ बरीयता प्राप्त खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।
भेट्रान्सतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले पाँच÷पाँच हजार नगद पुरस्कार जित्नेछन् । दुवै स्पर्धामा उत्कृष्ट खेलाडीलाई पाँच–पाँच हजार नगद पुरस्कार दिइनेछ । तीनदिने प्रतियोगिताका खेलहरू गोंगबुस्थित विशाल मल्टी स्पोर्टस् ट्रेनिङ एन्ड टुर्नामेन्ट सेन्टरमा खेलाइनेछ । गँगटाको उपभोगबाट लाग्ने रोगबाट पीडितहरूको सहयोगार्थ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

चौथो डेनेब बास्केटबल
डेनेब इन्टरनेसनल स्कुलको आयोजनामा चौथो डेनेब अन्तरविद्यालय उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता मङ्सिर २४ गतेदेखि सञ्चालन भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स, जुनियर ब्वाइज तथा स्टाफतर्फ प्रतिस्पर्धा हुनेछ । सिनियर गल्र्स र स्टाफको स्पर्धा थ्री वाई थ्री स्वरूपमा हुनेछ । अन्य दुई स्पर्धा फुलकोर्टमा हुनेछ । जुनियर ब्वाइजमा १२ टिम तथा बाँकी तीन स्पर्धामा समान ६–६ टिमको सहभागिता रहने डेनेबका बास्केटबल प्रशिक्षक विकास बोटेले जनाएका छन् । सिनियर ब्वाइजमा इनोभेटिभ र गल्र्समा टेरेसा एकेडेमी, जुनियर ब्वाइजमा ओडिसी तथा स्टाफमा ज्ञान निकेतन साविक विजेता हुन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८० हजार रुपैयाँ खर्च हुनेछ ।

जयकर स्मृति राष्ट्रिय खुला टेनिस हुने
जयकर स्मृति जुनियर राष्ट्रिय खुला टेनिस प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा मङ्सिर ३० देखि एक हप्तासम्म सञ्चालन हुने भएको छ । अखिल नेपाल लनटेनिस सङ्घको तत्वावधान तथा मन–जयकर टेनिस एकेडेमीको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा सर्वाधिक दुई लाख ५० हजार नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । पुस ६ गते सम्पन्न हुने प्रतियोगितामा छात्र तथा छात्राले यू–९, यू–१०, यू–११, यू–१२, यू–१४ यू–१६ र छात्र डबल तथा छात्रा डबल गरी १२ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

मध्यमाञ्चल बक्सिङ छनोट सम्पन्न
नेपाल बक्सिङ सङ्घको आयोजनामा पुस ९ गतेदेखि काठमाडौंमा हुने २५औँ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि मध्यमाञ्चलबाट अधिकांश काठमाडौंका खेलाडी छनोट हुन सफल भएका छन् । मध्यमाञ्चल क्षेत्रीय बक्सिङ सङ्घको आयोजनामा सम्पन्न प्रतियोगिताबाट पुरुषतर्फ ४९ केजीमा काठमाडौंका सुशील थापा छनोट हुन सफल भएका छन् । ५६ केजीमा काठमाडौंकै सुदीप लामा, ६० केजीमा काठमाडांैका आदित्य कर्माचार्य, ६४ केजीमा ललितपुरका सुरेन्द्र कार्की, ६९ केजीमा भक्तपुरका सन्दीप ब्याञ्जु, ७५ केजीमा काठमाडौंका सोभित खत्री, राष्ट्रिय प्रतियोगितामा स्थान बनाउन सफल भएको मध्यमाञ्चल क्षेत्रीय बक्सिङ सङ्घका अध्यक्ष राजभाइ मुनकर्मीले जनाएका छन् ।
त्यस्तै ५२ केजीमा प्रजोन पराजुली (काठमाडांै), ८१ केजीमा एसियाली कास्यधारी दीपक महर्जन (काठमाडांै), ९१ केजीमा मनोज बस्नेत (ललितपुर) र ९१ केजीमाथि सन्देश लिम्बू (काठमाडांै) स्वत: छनोट भएका छन् । यस तौल समूहमा प्रतिद्वन्द्वी नभएका कारण स्वत: छनोट भएको प्रमुख प्रशिक्षक ओम मास्केले जानकारी गराएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले ट्वान्टी–२० विश्वकप र आईसीसी एकदिवसीय विश्वकप छनोटका लागि कार्यदल गठन गरेको छ । राखेप खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको उक्त कार्यदलमा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, क्यानका सदस्य सञ्जीव पाण्डे, राखेपका मुख्य क्रिकेट प्रशिक्षक जगत टमटा र निर्माण शाखाका विश्वमित्र सन्ज्याल रहेका छन् ।
टी–२० वल्र्डकप र आगामी वर्ष न्युजिल्याण्डमा हुने एकदिवसीय वल्र्डकप छनोट तयारीका लागि नेपालको सहभागितालाई सशक्त पार्न र प्रतियोगितामा सफलता प्राप्त गर्ने उद्देश्यलाई साकार पार्न कार्यदलको गठन गरिएको हो । त्यस्तै प्रतियोगितामा सहभागिता, पूर्वाधार र प्रशिक्षणलगायतका विषयका लागि लागतसमेतको कार्ययोजनासहितको प्रतिवेदन एक हप्ताभित्र पेस गर्न कार्यदललाई भनिएको छ ।
टी–२० वल्र्डकपको तयारी तथा पूर्वाधार विकासका लागि क्रिकेटको अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी बुझाउन सरकारको निर्देशनपछि राखेपले कार्यदल गठन गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्माको आतिथ्यमा खेलकुद मन्त्रालय, राखेप, नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा खेलाडी तथा प्रशिक्षक प्रतिनिधिहरूको बैठकपछि सो निर्णय गरिएको हो ।
विद्यमान क्रिकेट मैदान, काठमाडौं मुलपानी ग्राउन्ड, पोखरास्थित क्रिकेट खेलमैदान, भैरवहा क्रिकेट मैदान, वीरगञ्ज खेलमैदानलगायतका अन्य स्थानमा रहेको क्रिकेट खेलमैदानको स्तर उन्नतिलगायतका गर्नुपर्ने कार्ययोजना लागतसहितको स्थलगत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ । नेपाल क्रिकेट सङ्घलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले तोकेबमोजिम अवधिभित्र सङ्घको आर्थिक विवरण पेस नगरेको कारणबाट करिब ८४ लाख जरिवाना गरेको सम्बन्धमा सात दिनभित्र यथार्थ विवरण परिषद्समक्ष पेस गर्ने निर्देशन दिइएको छ ।

नेपालमा रग्बी खेल
नेपालमा रग्बी खेलको सुरुवात भएको छ । नेपालमा रग्बी खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल रग्बी सङ्घको आयोजनामा काभ्रेको बनेपामा विद्यालयस्तरीय ‘जुनियर टच रग्बी प्रतियोगिता’ सम्पन्न भएको छ । एकदिवसीय प्रतियोगिताको छात्रातर्फ ओम स्कुल बुढानीलकण्ठले बनेपाको वेलर स्कुललाई २–० गोलअन्तरले पराजित गर्दै प्रथम उपाधि कब्जा गरेको छ । त्यस्तै छात्रतर्फ वेलरले ओम स्कुललाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेको प्रतियोगितामा काभ्रेका तीन र काठमाडांैका तीन गरी ६ स्कुल टिमको सहभागिता रहेको थियो ।
युरोप र अमेरिकामा निकै लोकप्रिय खेलको रूपमा लिइने रग्बी खेल नेपालमा पहिलोपटक आयोजना गरिएको हो । खेलकुदको जग विद्यालय नै भएकाले यस खेलको विकास र विस्तार विद्यालयस्तरबाटै गर्ने उद्देश्यले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको रग्बी सङ्घका महासचिव चेतनराज गिरीले बताएका छन् । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुरस्कार वितरण गरेका थिए । उनले स्कुल टु ओलम्पिक भन्ने परिषद्को मिसन भएकाले प्रत्येक खेलको स्रोत स्कुललाई बनाउनुपर्नेमा जोड दिइएको बताए ।