अब राष्ट्रपतिले शासन किन नलिने ?-बसन्तराज कुँवर

अब राष्ट्रपतिले शासन किन नलिने ?-बसन्तराज कुँवर


‘राष्ट्रपतिले शासन लिन लागे, उनले त्यसरी शासन लिए हामी आन्दोलन गछौर्ं’ भनेर हाल समय-समयमा विभिन्न पार्टीका नेताहरूले जहाँ अवसर पायो त्यहीँ सार्वजनिक भाषण गरेका सुनिन्छन् । तर, यो कुरा धेरै नेपालीलाई पचेको छैन भन्ने लाग्छ । नेताज्यूहरू, अहिलेको स्थितिमा राष्ट्रपतिले साँच्चिकै शासन नै लिए भने पनि तपाईंहरूले त्यसको विरुद्धमा आह्वान गरेको विरोध आन्दोलनमा तपाईंका कार्यकर्ता त लाग्लान् तर साँच्चिकै जनताचाहिँ आउँदैनन् है । तपाईंहरूले सोचेझैं म राष्ट्रपतिको पुच्छर वा अग्रगामी परिवर्तन नरुचाउने व्यक्ति वा गणतन्त्रविरोधी वा विदेशी प्रभुको दलाल भएकै कारण राष्ट्रपति शासनलाई समर्थन गरेको होइन बल्की राष्ट्रपतिले शासन लिनुपर्ने निम्न ११ वटा प्रमुख कारण देखिएका छन् जुन तपाईंहरूले नै निम्त्याएका अवस्थाहरू हुन् ।
१. तपाईंहरू राष्ट्रका लागि ठूलो आर्थिक बोझ बन्नुभयो :
तपाईंहरूले संसद्मा ६०१ जनालाई लैजानुभयो । खुब भत्ता राख्नुभयो । अर्बां रुपैयाँ स्वाहा बनाउनुभयो । हुँदोखाँदोको दुई-चार पैसा राजस्व बटुलिरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई पनि कब्जा गर्नुभयो । आज तपाईंहरूलाई विकास बजेट काटेर सेतो हात्ती पालेझैं पाल्नुपर्ने अवस्था छ । त्यसैले बरु सबै सांसदलाई खारेज गरी राष्ट्रपतिले सीधै शासन लिएदिए खर्च घट्थ्यो कि ? विकास बजेट बढ्थ्यो कि ? त्यसैले राष्ट्रपतिले शासन किन नलिने ?
२. तपाईंहरूले संविधान दिन सक्नुभएन :
जुन संविधान बनाउन भनेर तपाईंहरूले अर्बौं रूपैयाँ खर्च गराई चुनाव गराउन लगाउनुभयो । लाखौँ-करोडौँ मानिसलाई भोट दिने नाममा घाममा उभ्याउनुभयो । नयाँ संविधान दिने सपना बाँड्नुभयो तर संविधान भने अझै दिन सक्नुभएन । यस्तो अवस्थामा तपाईंहरूलाई किन सांसद बनाइरहने ? अब यस्तो अवस्था भएपछि राष्ट्रपतिले सीधै शासन किन नलिने ? संविधान नै बनाउन नसक्ने तपाईंहरूलाई त्यहाँ पालेर राख्ने मतलब के ?
३. समयमा काम गर्न सक्नुभएन :
आज यो मुलुकमा समयलाई ख्याल गर्न नसक्नेमा सबैभन्दा नम्बर एकमा नेताहरू र यही संविधानसभाका सदस्यहरू नै देखिएका छन् । दुई वर्षको समय पुगेन भनेर म्याद थप्ने र अझै थप्नुपर्छ भनेर लाज नमानी भन्ने कतिसम्मको गैरजिम्मेवारी काम होला ? जब तपाईंहरू समयमा काम नै गर्न सक्नुहुन्न भने पदमा बस्नु पनि ठीक हो र ? अत: तपाईंहरू यस मुख्य कुरा समयमा गर्न नै असफल भइसकेपछि राष्ट्रपतिले शासन किन नलिने ?
४. एउटा सरकार बनाउन नसक्ने :
तपाईंहरू संसद्बाट एउटा प्रधानमन्त्री पनि समयमा छान्न सक्नुहुन्न । प्रधानमन्त्री बल्लबल्ल बनाए पनि तपाईंहरू मन्त्रीसमेत दिन सक्नुहुन्न भने तपाईंहरूबाट कसरी देशले काँचुली फेर्ला ? अत: यस्तो अवस्थाबाट पार लगाउन राष्ट्रपतिले शासन किन नलिने ?
५. राष्ट्रिय सहमति गर्नै सक्नुभएन :
संविधान बन्न दुईतिहाइ बहुमत चाहिन्छ । दुईतिहाइ बहुमत हुन ठूलो पार्टी मिल्नुपर्छ । जब सबै पार्टी तपाईंहरूले मिल्न र मिलाउन सक्नुभएन र मिलाउन सक्ने अवस्था पनि छैन भने कहिलेसम्म जनताले तपाईंहरू मिल्नुहोला भनेर कुर्ने ? यस्तो अन्योलको स्थिति हर्ेर्नुभन्दा सीधै राष्ट्रपतिले शासन किन नलिने ?
६. तपाईंहरूले राष्ट्रलाई विभाजन गर्दै हुनुहुन्छ :
नेपालमा शाह राजाहरूलाई गाली गरे पनि एउटा कुरा मान्नुपर्छ कि अङ्ग्रेजले हिन्दुस्थानजस्तो विशाल देशलाई नियन्त्रण गरेर दास बनाउँदा पनि नेपाल सार्वभौम रह्यो । यो सही हो कि राजाको शासनले यो देशलाई थाइल्यान्डलाई झैं विकसित बनाउन सकेन तर पनि जात, वर्ण, भेष वा क्षेत्रको आधारमा नेपाली-नेपालीबीच विभाजन थिएन । आज तपाईंहरूको सोच र स्वार्थसँगै मुलुकमा जातीय-क्षेत्रीय युद्ध हुने सङ्केत देखिएको छ । त्यसलाई नियन्त्रण गर्नभन्दा पनि हावा दिएर दन्काउन तपार्इंहरू लागेझैं देखिन्छ । यस स्थितिलाई नियन्त्रण गर्न तपाईंहरूबाट सत्ता छिनेर राष्ट्रिय एकताको प्रतीक राष्ट्रपतिलाई शासन गर्न किन नदिने ? उनी पनि तपाईंहरूले छानेको गणतन्त्रअन्तर्गतै आएका नेता त हुन् नि ।
७. आर्थिक रूपले असफल राज्य बनाउन लाग्नुभयो :
एडीबीले नेपालको आर्थिक विकासको गति चार प्रतिशत पनि नभएको ज्यादै टीठलाग्दो प्रतिवेदन हालै सार्वजनिक गर्‍यो । चीन र भारतको बीचमा बसेको नेपालको आर्थिक वृद्धिदर उनीहरूको तुलनामा ३० प्रतिशत पनि देखिएन । देश असफल राज्यतर्फ जाँदै छ भन्ने सुनिन्छ । कतै आर्थिक विकास हुने आशाको किरणसमेत छैन । उद्योगधन्दा राजनीति छिरेको मजदुर संगठनहरूले बन्द गराएका-गराई छन् । ठूला आयोजनाहरू समयमा चल्न सकेका छैनन्् । नयाँ आयोजनाको कल्पनै छैन । तपाईंहरूको पालामा भन्दा त राजाको शासनमै बरु केही विकास भएका थिए । हो, यस दौरानमा भत्काउने काम र बिगार्ने कामचाहिँ खुब भए तर जनताको जीवनस्तर झन्झन् तल गइरहेछ । यस्तो असफल आर्थिक स्थितिलाई रोक्न राष्ट्रपतिलाई शासन गर्न किन नदिने ?
८. शान्ति सुरक्षाको बिग्रँदो अवस्था छ :
हिजो राजाको शासनमा बरु मानिसहरू सुरक्षित थिए । पर्यटकहरू पैदल हिँड्ने क्रममा कुनै वृक्षमुनि निर्धक्कसँग निदाउन सक्थे । एक गोली चल्दा ठूलो समाचार हुन्थ्यो । आज तपाईंहरू सत्ता र संसद्मा पुगेपछि सशस्त्र समूह झनै बढेको छ, बम पड्केर निर्दोषहरू सार्वजनिक बसमै मरेका छन्, अपहरण र लुटपाटको हिसाब छैन । चन्दाआतङ्कले व्यवसायको रूप लिएको छ । गुण्डागर्दी राजनीतिको छत्रछायामा सुरक्षित बनेको छ । समाज त्रसित छ । हातहतियारको बिगबिगी बढेको छ । दुर्घटनाहरू बढेका छन् । मानिस न्युरोडमा नै सुरक्षित छैन । यस्तो अराजक स्थिति देखेर कोही लगानी गरेर उद्योगधन्दा खोल्न आँट गरिरहेका पनि छैनन् । सुरक्षाको स्थिति यसरी बिग्रनुमा विभिन्न विचार राख्ने राजनीतिक पार्टीका आफ्नै सशस्त्र समूह हुनुले पनि महत्वपूर्ण भूमिका निभाएको छ । जब यस्तो स्थिति छ र कोही कसैलाई मान्ने पक्षमा छैन भने कसरी शान्ति सुरक्षा हुन्छ त ? बरु सबैले यस्तो अवस्थामा अभिभावकका रूपमा रहेका राष्ट्रपतिलाई स्थिति ठीक गर्न सत्ता किन नदिने ?
९. रोजगार बढेन :
आज लाखौँ युवा खाडी मुलुकमा शौचालय सोर्न र मजदुर हुन बाहिर जान बाध्य छन् । घर छोड्न बाध्य छन् । परिवार छोड्न बाध्य छन् । तपाईंहरू सत्ता र शक्तिमा आएपछि रोजगार प्राप्तिका अवसर बढ्नुका सट्टा झन् तल झरेको छ । आफ्नै मुलुकमा स-सम्मान काम गरेर दुई छाक खान पाउनेसम्मको काम दिन पनि तपाईंहरू असफल हुनुहुन्छ । केवल तपाईंहरूलाई प्रधानमन्त्री र मन्त्री चाहिएको छ तर गरिबलाई खाना र बास चाहिएको छ । मुखिया, खरदारसम्मको भए पनि जागिर चाहिएको छ । तपाईंहरूले उर्लंदो नेपालीको जनताको सङ्ख्यालाई खानेसम्मको जुगाड गर्ने कामधन्दा पनि दिन सक्नुभएको छैन भने तपाईंहरूबाट शासन छिनेर राष्ट्रपतिलाई किन नदिने ?
१०. तपार्इंहरूको परराष्ट्रनीति ठीक भएन :
तपार्इंहरू सबै छिमेकीहरूसँग असल सम्बन्ध कायम गर्न असफल भइरहनुभएको छ । सीमा मिचिएको रोक्न सकिरहनुभएको छैन । छिमेकी मुलुकसँग मिलेर विकास गर्न सकिरहनुभएको पनि छैन । कुनै दल एउटा देशसँग र अर्को दल अर्को मुलुकको स्वार्थसँग सम्बन्धित रहेर काम गरिरहेको आरोप तपाईंहरूमाथि छ । चेकोस्लोभाकियाजस्तो सानो भूपरिवेष्ठित मुलुकले हिटलरको पालादेखि शीतयुद्धबाट समेत देशलाई जोगाई आज नाटोको सदस्य भई राजनीतिक-आर्थिक रूपले सबल हुन सफल छ भने नेपाल किन भएन ? नेपालको असफलता तपाईंहरूले राम्रोसँग कूटनीतिक सम्बन्ध कायम गर्न नसकेका कारण पनि आएको हो । कोही दक्षिणसँग नमिल्ने र कोही उत्तरसँग नमिल्ने नीति बनाएकै भरमा देश सुरक्षित र विकसित हुँदैन । तपाईंहरूको दिमागमा पहिल्यैदेखि खास नीति बज्रझैं जमेर बसेको छ जुन परिवर्तन हुने लक्षण पनि देखिँदैन । स्वाभाविक छ, यो स्थितिमा छिमेकीहरूसँग सद्भाव सम्भव छैन र त्यसको कारणले आएको समस्याको मार जनतालाई परेको छ । अत: छिमेकीसँग सम्बन्ध राम्रो बनाउन र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग लिन राष्ट्रपतिलाई अगाडि किन नबढाउने ?
११. कर्मचारीतन्त्र ध्वस्त भयो :
अहिले कर्मचारीतन्त्रका माथिल्ला सचिव तहका मानिसहरू पनि जागिर छोडेर दिक्क भएर जाने स्थिति छ । सेना, प्रहरीको मनोबल एकदमै गिरेको छ । कर्मचारीतन्त्रमा काम गरेरभन्दा पनि पार्टीको झन्डा बोकेर मात्र प्रगति हुन्छ भन्ने विश्वास बढेको छ । कुनै पनि कार्यालयले स्वतन्त्र भएर काम गर्न पाएको छैन । अहिले तपाईंहरूको शासनमा स्थायी सरकारलाई राजनीतिक हस्तक्षपबाट टाढा राखी पद्धतिमा चल्न दिने अवस्था छैन । यसको सुधारका लागि पनि राष्ट्रपतिलाई शासन गर्न किन नदिने ?
राष्ट्रपतिले शासन लिनुपर्ने अरू पनि धेरै कारण छन् । चुरे नष्ट हुँदै छ । जङ्गल सखाप हुँदै छ । बाटाघाटा खाल्डैखाल्डा पर्दै छन् । नदीनाला कुरूप हुँदै छ । उद्योगपति व्यापारीहरू निराश छन् । समाजमा अराजकता बढेको बढै छ । कृषिको उत्पादन न्यून हुँदै छ । वातावरण सास फेर्न लायक छैन । पिउनलाई पानी छैन । हरेक घरमा रोगीहरूको सङ्ख्या निरोगीभन्दा बढी छ । युवाहरू बिदेसिँदै छन् । अध्ययन गर्न बाहिर जानुपर्ने अवस्था छ । ट्राफिक व्यवस्था भद्रगोल छ । पर्यटक आउन डराउँछन् । मजदुर आन्दोलनका नाममा उद्योगधन्दा बन्द हुँदै छन् । देशमा संस्कृति परम्पराको धरोधर नास हुँदै छ । धारि्मक सहिष्णुता बिग्रँदो छ । बडो दु:खसाथ भन्नुपर्छ कि मैले माथि औँल्याएका दु:खद् परिस्थितिहरू यो मुलुकको अहिलेको यथार्थ हो र यस्तो अवस्थामा देशलाई पुर्‍याउने समूह तपाईं, सत्ता र सत्तावरिपरि बसेका राजनीतिक पार्टी र नेताहरू नै हुनुहुन्छ । अब तपाईंहरूले यो बिग्रेको मुलुकको स्थितिलाई लिकमा ल्याउने सम्भावना पनि देखिन्न किनकि तपार्इंहरू मेलमिलापभन्दा अर्कोलाई होच्याउने व्यस्त हुनुहुन्छ । तपाईंहरूको यस्तै हर्कतले सबैभन्दा बढी दु:ख हिजो तपाईंहरूलाई सत्तामा पुर्‍याउन ज्यान दिने जनतारूपी हामीले नै भोग्नुपर्छ । अत: यो स्थितिमा सुधार ल्याउन राष्ट्रपतिलाई सबैले अनुरोध नै गरेर शासन गर्न किन नलगाउने ?