रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoगर्भवती टुरिस्ट बेलायतलाई बोझ
जसरी व्यक्तिका जीवनमा विविध प्रकारका दुःखहरूले सताउने गर्छ त्यसरी नै देशका पनि आफ्नै प्रकारका दुःख हुन्छन् । सोच्दै नसोचेको विषय घाँडो बनेर देखापरेपछि देशलाई दुखाउँदोरहेछ भन्ने कुरा बेलायतले यतिबेला महसुस गरिरहेको छ । यसरी बेलायतलाई सताउने विषयचाहिँ गर्भ बोकेर बेलायत घुम्न आउने महिला पर्यटकहरू हुन् । गर्भवती पर्यटक किन यसरी टाउकोदुखाईको विषय बन्नपुगे भन्ने जिज्ञासा उठ्नु स्वाभाविक छ । कुरा के रहेछ भने ब्रिटेनमा व्यवस्था गरिएको नेशनल हेल्थ स्कीम (एनएचएस)अन्तर्गत महिलाले निःशुल्क डेलिभरी सेवा पाउने र प्रेग्नेन्सीपछिका स्वास्थ्यसम्बन्धी शुल्कमा पनि भारी छुट दिइएको हुनाले विदेशी महिलाहरू डेलीभरी हुने बेला मिलाएर बेलायतको यात्रा गर्न पुग्ने क्रम पछिल्लो चरणमा निकै बढेको रहेछ । यस प्रकारको ‘म्याटर्निटी टूरिजम’को कारण समस्या यतिसम्म बढ्न पुगेछ कि केही दिनअघि त लगभग तीन सयको सङ्ख्यामा प्रेग्नेन्ट महिलालाई बेलायतले एयरपोर्टमै रोक्नुप-यो । खासगरी यूरोपियन देशहरू रोमानिया, बुल्गेरिया तथा पश्चिमी अफ्रिकाली महिलाहरू यसरी रोकिने समूहमा रहेका थिए भने बेलायती अध्यागमन विभागको यस कार्यको सामाजिक सञ्जालहरूमा निकै चर्चा हुन पुग्यो । ३६ हप्ताभन्दा बढी समय भएका गर्भवतीलाई कुनै पनि एयरलान्सले यात्रा गर्न नदिने प्रचलन भए पनि कसरी त्यतिका सङ्ख्यामा गर्भवतीहरू बेलायतसम्म पुग्न सके भनेर खोजीनीति गरिँदा त बेलायतको उडान गर्न त्यस्ता महिलाले डाक्टरको नक्कली प्रमाणपत्र बनाएको पाइयो । बेलायती स्वास्थ्य विभागले आफ्नो देशको उक्त स्वास्थ्य नीति ‘राष्ट्रियस्तरको मात्र हो नकि अन्तर्राष्ट्रिय स्तरको’ भन्दै ‘म्याटर्निटी टूरिजम’ले ठूलो समस्या पैदा गरेको जनाएको छ ।

उल्लुले मालिक्नीलाई नै बनायो गुलाम
ढङ्ग पु-याएर काम गर्न नजान्ने हुस्सु प्रकृतिको व्यक्तिलाई विशेषण दिनुपर्दा हाम्रो समाजमा ‘उल्लु’ अर्थात् लाटोकोसेरो भनेर उल्ल्याउने प्रचलन छ । यसरी होस्ल्याङे व्यक्तिका निम्ति विशेषण बनेको उल्लुले मानिसलाई गुलाम बनायो भन्ने सुनियो भने यो कुरा कति पत्यारिलो होला, आफैंमा प्रश्न उब्जिन्छ । तर, एक युरोपियन महिलालाई एउटा एसियन मूलको उल्लुले आफूले चाहेअनुसार गर्न लगाएर गुलामतुल्य बनाएको छ । ‘मेट्रो’मा प्रकाशित समाचारका अनुसार उक्त पाल्तु उल्लुको नाम ‘हारु’ राखिएको छ भने त्यसलाई पालेर मालिक्नी बन्न चाहेकी तर प्रकारान्तरले गुलाम बन्न पुगेकी महिलाको नाम नताशा वेल्च हो । सो लाटोकोसेरोको उमेर सात महिना मात्र पुगेको नताशाको भनाई छ । यस छोटो अवधिमै हारुले आफूमा ठ्याम्मै मान्छेको जस्तो बानी–ब्यहोरा सिकेको छ । हारुले दिनमा दुईवटा मुसा र अन्य खानेकुरा खाने गरेको उल्लेख गर्दै सुरुदेखि नै आफ्नै बच्चाझैँ माया गरेर पालेकोले भोक लाग्दा उसले बच्चाले जस्तै रोएर खानेकुरा माग्ने गरेको अनुभव सुनाउँछिन् नताशा । वास्तवमा उक्त पाल्तु उल्लुले आफ्नो लोभलाग्दो हठमार्फत् नताशालाई पागल नै बनाइदिएको छ । उनी उसको हठप्रति यति नतमस्तक बन्न पुगेकी छिन् कि आफूलाई पटक्कै मन नपर्ने टेलिसिरियल र स्पोर्टसम्बन्धी लाइभ कार्यक्रम उनी उक्त लाटोकोसेरोकै कारण हेरिदिन्छिन् । भएछ के भने घरमा बसेर टिभी हेर्दाहेर्दै त्यस्ता कार्यक्रमहरूमा लाटोकोसेरोलाई लत बसेछ । जब नताशा आफूलाई मनपर्ने अन्य च्यानल खोल्छिन् अनि ‘हारु’ त्यो बन्द गरेर टेलिसिरियल वा खेलकुदका कार्यक्रम भएको च्यानल लगाउन घुक्र्याउन थाल्छ अनि आफूलाई मन नपरे पनि विवश भएर उनी लाटोकेसेरोको इच्छाअनुरूपको च्यानल लगाइदिन्छिन् । यसरी टिभी हेर्न पाएपछि मख्ख पर्ने हारुको स्वभाव बनेको छ भने नताशाचाहिँ उसको गुलामसरह बन्न पुगेकी छिन् ।

ताजा माछाका निम्ति यौन–दान !
अचम्म लाग्ने परम्पराहरूका कारण केन्या हरदम चर्चामा रहँदै आएको अफ्रिकी मुलुक हो । विभिन्न अनौठा प्रचलनमध्ये ‘ताजा माछाका निम्ति सेक्स’ परम्परा पनि केन्यामा एक विशेष प्रचलनका रूपमा रहेको छ । केन्याका तटीय (समुद्री या नदीकिनार) क्षेत्रमा रही ताजा माछाको व्यवसाय गर्ने महिलाहरू स्थानीय भाषामा ‘जाबोया’ भनिने यस्तो प्रचलनको सिकार बन्दै आएका छन् । पसलमा राखेर बिक्री गर्नका लागि जब स्थानीय माझीहरूकहाँ उनीहरू माछा लिन जान्छन्, माझीलाई यौन सम्पर्क राख्न दिएपछि मात्र सम्बन्धित महिलाले माछा हासिल गर्छिन् । तर, परम्पराकै रूपमा स्थापित यस प्रथामा पछिल्लो चरणमा तब धक्का लाग्न पुग्यो जब पश्चिमी केन्याको लेक भिक्टोरिया इलाकामा व्यापक रूपमा एचआईभी/एड्स फैलियो । एड्सको प्रकोप बढेपछि त्यहाँका महिलाले ‘जाबोया’बिरुद्ध कम्मर कसेका छन् । स्थानीय अखबारका अनुसार वास्तवमै माछाको निम्ति सेक्स प्रथाबाट उन्मुक्ति चाहेका छन् केन्याली महिलाले । भिक्टोरिया इन्स्टिच्युट फर रिसर्च एण्ड इन्भायरमेन्ट इन्टरनेशनल नामक संस्थाले माछाको व्यवसाय गर्ने महिलालाई निजी तवरमा माछा मार्ने एउटा नाउ उपलब्ध गराइदिने एक प्रोजेक्ट नै सुरु गरेको छ, ताकि ताजा माछाको निम्ति कुनै पुरुषलाई उनले आफ्नो यौन पस्किन नपरोस् । ‘जाबोया’ परम्परा समाप्त भएमा केन्यामा एड्सको मामलामा निकै कमी आउने विश्वास सो संस्थाले गरेको छ ।

नब्बे वर्षमा डाक्टरको उपाधि
उमेरले पचास नकट्दै बुढेसकाल लागेको सोच–व्यवहार प्रकट गर्नु–गराउनु हाम्रोजस्तो समाजमा साधारण कुरा हो । यस्तो समाजमा कुनै नब्बे वर्षका व्यक्तिले लेखपढ गरेर पीएचडी उपाधि हासिल गर्ने सोचै मात्र पनि राख्दैन । तर, लण्डनका एक नब्बे वसन्त देखिसकेका बुज्रुकले भने स्कूल छोडेको ७४ वर्षपछि पीएचडी गरेर संसारभरकै पाका व्यक्तिका निम्ति प्रेरणाको स्रोत बनेका छन् । दोस्रो विश्वयुद्धमा सहभागी भएका र त्यसपछि पनि स्कूलटिचर बनेर २० वर्ष गुजारेका एरिक वूफ लण्डनका एक मजदूर छोरा थिए, जसले जीवन गुजाराका लागि १६ वर्षको उमेरमै स्कूलको पढाई छोडेर मजदूरी सुरु गरेका थिए । पढाईमा अव्वल रहे पनि काम गरेर परिवारमा आर्थिक योगदान पु-याउन उनका बाबुले दिएको निर्देशन मान्दै उनी नोकरीमा लागे । ३९ वर्षको उमेरमा सेनाबाट अवकास पाएपछि उनले गणितका शिक्षकका रूपमा अर्को २० वर्ष गुजारे । त्यसपछि उनमा पढाई पूरा गर्ने धून सवार भयो । पढ्ने र पढाउने काममा अत्यन्तै आत्मसन्तुष्टि मिल्ने अभिव्यक्ति दिने एरिक वूफले सन् २००३ मा ईस्ट एन्जेलिया विश्वविद्यालयबाट एमए गरे । पुनः २००८ मा क्युम्बरिया विश्वविद्यालयमा पढाई सुरु गरेका उनले ल्यान्सेस्टर विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरे । यसरी नब्बे वर्ष पुग्दा पनि अझै पढ्ने र पढाउने अभिलाषा जगाइराखेका डा. वूफ आफू अत्यन्त स्वस्थ रहेको दाबी गर्छन् ।