कर्णालीका पाखामा अरबी नागरिक कामदार !

कर्णालीका पाखामा अरबी नागरिक कामदार !


-पिँडालीप्रसाद
अट्सठ्ठी साल आरम्भ भएको अवसरमा धेरैले शुभकामना आदान-प्रदान गरे । मैले चैं कसैलाई पनि शुभकामना दिने काम गरिनँ । अझ भनौँ लिन पनि लिइनँ । आखिर कसैको कामना मात्रले काम हुने होइन क्यार !
बरु यो वर्षको पहिलो दिन अनौठो सपना देखेँ । म २०५८ सालको फ्लासब्याकमा २०७८ सालमा तैरँदैरहेछु । ०५८ सालमा घरबारदेखि दरबारसम्म तरबार र रक्तपातले विक्षिप्त भएको मेरो मन ०६८ मा आइपुग्दा आँधी र असिनाबाट जोगिएको अङ्कुरण र ०७८ मा आइपुग्दा हिलोको बीचमा फुलेको कमलझैं प्रफुल्ल भएको रहेछ ।
कोसी, कर्णाली र गण्डकीमा ठूला विद्युत्गृह बनेछन् । कोसीमार्फत पूर्वी नेपाल र कर्णालीमार्फत पश्चिम नेपालका भूभागलाई- द्रुत रेल सेवाले जोेडिएछ । गण्डकी र नारायणीले यो रेलसेवालाई अझ गतिशील बनाएछ ।
काँकडभित्ताका कार्की काका र कञ्चनपुरका चौधरी चाचा काठमाडौंको अफिस घरबाटै धान्दा रहेछन् । नधानुन् पनि किन, नेपालको यो रेल सेवा विश्वको सबैभन्दा द्रुत गतिमध्येको एक हो । जापान र चीनको जस्तै प्रतिघन्टा पाँच सय किलोमिटरको दरले चल्ने । अनि त के भयो र ! देशको जुन छेउबाट पनि एक घन्टामा नै केन्द्रमा । आखिर देशको जम्मा लम्बाइ ८ सय ८५ किलोमिटर न छ । मुख्य केन्द्र काठमाडौं ०५८ र ०६८ को तुलनामा पत्याउनै नसकिने भएको छ ।
दस वर्षअघि, रत्नपार्कबाट उपत्यकाको कुनै भाग जान नै तीन-चार घन्टा लाग्थ्यो । जाम यस्तो हुन्थ्यो कि, काँडाघारीकी कान्छीको गाडीमा साडी च्यापिएर नै कति च्यातिए कति ? पछि अफिसले स्कर्टको व्यवस्था गरिदिएछ । पहिले साडी जोगाउन गाह्रो पछि शरीर । परेन त फसाद ! पाइन्टको व्यवस्थापछि मात्रै राहत पाइन् बिचरी कान्छीले ।
तर, अहिले अधिकांश ‘बिजुली साइकल’ चलाउँछन् । यो नेपाली उत्पादन हो । एक दुई घन्टा चार्ज गर्‍यो दस-बाह्र घन्टा चलायो । यसले उपत्यकालाई फराकिलो र स्वच्छ हराभरा बनाएको छ । पीएल सिंहको नाराजस्तै । काठमाडौंमा अत्यावश्यकबाहेकका मोटरलाई प्रतिबन्ध लगाएपछि यस्तो परिवर्तन भएको हो । हुन पनि पच्चीस अर्ब रुपैयाँ धुवाँमा उडाइरहँदा नेपालीको गाँसबासै उडिसकेको थियो ।
मोटर चढ्न मनलाग्नेले पहाड र हिमाली क्षेत्रमा ‘ड्राइभ टुर’ जान सक्छन् । त्यसका लागि तमाम ट्राभल एजेन्सीहरू छन् ।
यो दस वर्षको अवधिमा थपिएका विद्युत्गृह र रेल सेवाको सञ्जालले महँगी त नाटकीय ढङ्गले घटोत्तरी भयो । अनुदान भन्दै ऋण हिसाब गर्ने दलाली विकासे संस्थाहरू त अब उल्टो हाम्रै सहयोगमा चल्ने भएछन् ।
‘ह्वाइट डलर’ आर्जन गरेको जलस्रोत र बिजुलीका कारण सस्तो ढुवानी सेवा र उत्पादन मूल्य हुन गयो । यसैका कारण उद्योग व्यवसायको विकास पनि उत्पातै भयो ।
मासिक दुई लाखजना नेपाली कामका लागि बाहिरिनेमा अहिले त्यति नै सङ्ख्यामा विदेशी कामका लागि आउने भएका छन् । नेपाली विदेश जान्छन् तर धुमधाम र व्यापारका लागि ।
कास्कीको रूपातालमा आफ्नो रूप धोएर म मुगुको रारा तालमा तैरन जाँदै थिएँ ।
मदनकृष्ण श्रेष्ठ र हरिवंशलाई म्याग्दीमा मौरीको मह काड्दै हात चाट्दै गरेको देखियो । हरिवंश चैं बूढा मदनकृष्णको हात चाट्दै गर्दा टोकिदिँदा रहेछन् । हरिवंश भन्दै थिए, ‘नेता सप्रिएकाले व्यङ्ग्य गर्न नै सकिएन । अब दुनियाँ कसरी हँसाउने हो -‘
बाटामा मनाङ र मुस्ताङे स्याउका बरान्डेड पेय पदार्थ पिउँदै र कर्णालीको आलु र फापरका चिप्स तथा पिज्जा खाँदै हिँडियो । नखाऊँ पनि किन ? अन्तर्राष्ट्रिय बजारमा नै यी सामानले कोकाकोलाका उत्पादनलाई चुनौती दिइरहेका थिए ।
म डोल्पा र हुम्लाको पाखामा अरबी देशका नागरिकले कामदारको रूपमा यर्सर्ााम्बा टिपेको र चौंरी चराएको हेर्दै उक्लँदै थिएँ । अगाडि सुन्दर र एक हदमा विशाल ताल देखियो । लगभग एघार वर्गकिलोमिटर क्षेत्रमा फैलिएको त्यो ताल रारा ताल थियो । मेरो साथमा परिवार । अनि अवसरचैं नयाँ वर्षको पहिलो दिन । म राराको स्निग्ध पानीमा पाइला मात्र के राख्न लागेको थिएँ, मोबाइलको घन्टी बज्यो । घन्टी त सपनामा बजेको हो तर विपनामा पनि रहेछ । हेरेको साथीले ‘नयाँ वर्षको उपहार’ नामको फाइल पठाएको रहेछ । ठाने- छिल्लिएको चिज होला, तर त्यो त गीत पो रहेछ । बज्न थाल्यो ।
भाले बास्यो बिहानी भइसक्यो …
अमूल्य समय खेर गैसक्यो… ।