अख्तियारले खुट्टा किन कँपायो ? -वसन्तराज कुँवर

अख्तियारले खुट्टा किन कँपायो ? -वसन्तराज कुँवर


अमेरिकाबाट नेपाल र्फकने क्रममा हङकङमा दुई दिन त्यहाँका नेपालीलाई ड्रग्सबाट जोगाउने केही योगदान दिने उद्देश्यले जापानबाट आएका एक नेपाली भाइसँग भेट भयो । जापानमै विवाह गरी व्यापार व्यवसाय चलाउँदै आएका ती युवक अब नेपाल र्फकन चाहँदा रहेनछन् । नेपाल अब बस्नलायक नै नरहेको उनको ठहर थियो । उनले नेपालको लोडसेडिङदेखि लिएर अस्तव्यस्त सहर, प्रदूषित वातावरणदेखि धेरै क्षेत्रमा देखिएको अराजकताको कुरा गरे । हङकङमा नेपाली पत्रपत्रिका पनि जाँदा रहेछन् । उनले एक नेपाली पत्रिका देखाउँदै मलाई भने, ‘यी सुडानमा यसरी करोडौँ भ्रष्टाचार गर्ने सिटौलाजस्ता नेतालाई कारबाही नहुने देश कहीँ उँभो लाग्छ ?’ उनले अगाडि भने, ‘राज्य-व्यवस्था समितिले अपराध ठहर गरी राय पठाउँदा पनि मुद्दा चल्दैन भने यो मुलुकलाई अब नेता भनाउँदाहरूले बेच्नबाट कसैले जोगाउन सक्दैनन् ।’
वास्तवमै होकारडोमा बस्ने चितवन घर भएका ती युवकले निकैबेर मसँग जापानले गरेको प्रगतिको राज बताए । त्यसमध्ये उनले एक महत्त्वपूर्ण कुरा भने कि त्यहाँका नेतामा नैतिकता छ । उनले एक उदाहरण दिँदै भने- त्यहाँ एक मन्त्री -सायद परराष्ट्रमन्त्री भनेझैं लाग्यो) जनतामा ज्यादै लोकप्रिय थिए । उनलाई जनताले भावी जापानको प्रधानमन्त्री मान्न थालेका थिए । तर, उनीमाथि धेरै वर्ष पहिले एक साथीसँग चुनावताका पाँच सय डलर (करिब पैंतीस-चालीस हजार नेपाली रुपैयाँ) ग्रहण गरेको आरोप लाग्यो । उनले त्यो आरोप स्वीकार गर्दै राजीनामा दिएछन् । अहिले ती नेता राजनीतिबाट कताकता हो हराएका छन् रे ।
उनले यो कुरा भन्दा म भने नेपालका सिटौलाजस्ता नेताको अनुहार सम्भिmरहेको थिएँ जसलाई जति बढी करोड भ्रष्टाचार गरेको आरोप लाग्छ तिनको राजनीतिक उचाइ झन्झन् त्यति नै बढ्ने गर्दछ । उदाहरण पनि आँखैअगाडि देखिएको छ । ती युवकसँग मैले बिताएका केही घन्टा मेरा लागि आफ्नो मुलुकलाई विश्लेषण गर्ने महत्त्वपूर्ण पलहरू थिए । सुडानकाण्डमा सिटौलाजस्तामाथि कारबाही हुन नसकेको घटनाले उनलाई आफ्नो जन्मथलोप्रति नै वितृष्णा जागिरहेको थियो । उनी नेपाली भएर अर्का नेपालीका अगाडि आफ्नै मुलुकको अव्यवस्थाप्रति खुलेर कुरा गर्न बिल्कुलै हिचकिचाइरहेका थिएनन् ।
वास्तवमै प्रहरीमा भएको सुडानकाण्ड नेपालको भ्रष्टाचारको इतिहासमा अमीट अक्षरले लेखिने घटना हो । अख्तियारले संसद्देखि जनता र पे्रससम्मको चासो भएको यो घटनामा मुद्दा चलाउन किन ढिला गरिरहेको छ- त्यो बुझन सकिएको छैन । तर, कारबाही अगाडि बढाउन नसक्दा अख्तियारप्रति नै प्रश्नचिह्नहरूचाहिँ देश-विदेशमा खडा भएकै छन् । हुन त अख्तियार बाहिर देख्दा र भित्र देख्दा अलग प्रकृतिको छ । यो कुरा मैले सूर्यनाथ उपाध्यायको नेतृत्वमा रहेको अख्तियारलाई भित्रैदेखि छामेर बुझेको हुँ । मैले यो कुरा पटकपटक दोहोर्‍याउँदै आएको छु कि सूर्यनाथ उपाध्यायको कार्यकालमध्ये एक चरणमा अख्तियार निकै चर्चामा आयो । तर, उनको पूरै कार्यकालमध्ये थोरै चरण मात्र सूर्यनाथ किन जागे ? पूरै समय किन जागेनन् ? यो कुराको रहस्य आज जनतालाई थाहा नहोला तर म त उनको समय त्यही कार्यालय पुगेर आफैंले देखेका कारण अनुमान गर्न सक्छु । सूर्यनाथ जागे किनकि तत्कालीन राजा ज्ञानेन्द्रलाई अख्तियार जगाएर प्रजातान्त्रिक नेता र कर्मचारीलाई बर्बाद गर्नु थियो । ज्ञानेन्द्रले आफू राजामा सम्मानित भएर बस्नका निम्ति जनताको जीवनस्तर उकास्ने योजनाहरू अघि सार्नुपर्छ भन्ने कुरामा विश्वास राख्नुभन्दा पनि आफ्नो एकलौटी शासनलाई च्यालेन्ज गर्नेहरूलाई बर्बाद गर्नुपर्छ भन्ने कुरामा विश्वास थियो । यही विश्वासका कारण सम्पत्ति आयोग बनाइयो र सूर्यनाथलाई अमेरिकाको राजदूत दिने लोभमा प्रयोग गरियो । राजाको धाप पाएका सूर्यनाथले भुइँमा न भाँडामा भएर खरदार-मुखियाका घरमा छापा मार्ने र तिनका वृद्ध आमाबाबुलाई पानीसमेत पिउन नदिएर डेरामा बन्धक पार्ने काम गरे । त्यो समयमा प्रहरीमा र अर्थ मन्त्रालयमा राम्रा अधिकृतहरूलाई सूर्यनाथमार्फत मासेर प्रतिद्वन्द्वी समाप्त गर्न धेरै षड्यन्त्रकारी सफल भए । सूर्यनाथको यो स्प्रिट राजाको शासनको पतनसँगै पतन भयो । दन्त्यकथामा कुनै राक्षसको प्राण चरामा भएझैं सूर्यनाथको शक्तिको स्रोत दरबारमा थियो । तिनले केही क्षण खुब मनमानी गरे, धेरै आयोजना रोकेर बर्बाद गरे, धेरैको अनाहकमा जागिर खाए । उनले गरेका लापरबाहीयुक्त कामहरू अदालतबाट झुटा सावित हुँदा पनि तिनले कठघरामा उभिएर क्षतिपूर्ति दिनुपरेन । माफी माग्नु पनि परेन । उनले गरेका गैरजिम्मेवार कामले टेलिकमलगायत धेरै आयोजनामा बढेको खर्चको भर्पाई पर्नुपरेन । राजाको पालामा लाउडा केसमा गिरिजालाई कारबाही गर्छु भन्दै कुर्लने र अन्तर्वार्ता दिने त्यही सूर्यनाथ गिरिजा शक्तिमा आउनेबित्तिकै बालुवाटारमा पुगेर त्यो केसमा सफाइ दिइएको बताउन फाइल लिएर आफैं पुगे रे । त्यसपछि सूर्यनाथ कता हराए कता । उनी हराउनुको एउटै कारण के थियो भने उनी रिमोट कन्ट्रोलबाट चल्ने अख्तियार प्रमुखबाहेक अरू केही थिएनन् । म त्यसको जिउँदो साक्षी हुँ । उनले प्रहरी अधिकृतहरूविरुद्ध षड्यन्त्रमूलक ढङ्गले कारबाही चलाउँदा मलाई आफैं भनेका थिए ‘यो केसमा मुद्दा चल्छ किनकि माथिबाट यस्तै आदेश छ ।’ यो कुरा म सूर्यनाथलाई सँगै राखेमा कुनै पनि टेलिभिजन, रेडियो र सार्वजनिक कार्यक्रममा उनको अगाडि नै भन्न सक्छु । किनकि सूर्यनाथको असली चेहरा षड्यन्त्रकारीबाहेक अरू केही थिएन ।
हुन त सूर्यनाथपछि आएका अख्तियारप्रमुख लिम्बूमाथि केही गम्भीर आरोप लागेका छन् तर म पनि एउटा अनुसन्धानमा उच्च अध्ययन गरेको पूर्वअधिकृतको नाताले यो भने ठोकेरै भन्न सक्छु कि अख्तियारको अनुसन्धान प्रणाली उनको समयमा सूर्यनाथकोभन्दा राम्रो थियो । लिम्बूपछि कर्मचारीबाट आउनुभएका काफ्ले वास्तवमै राजनीतिज्ञको कृपा र मोलतोलबाट त्यस पदमा नपुगेको हुँदा उनको समय अघिल्ला प्रमुखहरूको भन्दा प्रभावकारी हुने विश्वास लिइएको थियो । उनको पालामा राम्रा कामहरू पनि भए तर सुडानकाण्डमा उनी किन अघि बढ्न सकिरहेका छैनन् ? यो भने सबैको चासोको विषय बनेको छ । यसमा कुनै शङ्का छैन कि कृष्णप्रसाद सिटौलालाई जोगाउन नै यो प्रक्रिया ढिला भएको हुनुपर्छ किनकि सिटौला भनेको कोइराला परिवारसँग आन्द्रा जोडिएका व्यक्ति हुन् । सिटौलाको मुखबाट छिरेको कुरा कोइराला परिवारको पेटमा पुग्ने कुरा सबैलाई थाहा छ । मेरो विचारमा सचिव काफ्लेले सुडानकाण्डलाई अपराधको रूपमा अदालतमा पठाउन खुट्टा कँपाउनु हुँदैन । सूर्यनाथको समयको अख्तियार केवल राजाको शासन जोगाउन प्रयोग भएको कठपुतली कार्यालयको समय थियो । लिम्बू आयुक्तहरूमा राजनीतिक कृपा थियो । तर, सचिव काफ्लेले निजामती सेवाको उच्च पदमा पुग्ने सौभाग्य पाइसक्नुभएको हो र उहाँ कसैको कृपाले त्यो पदमा हुनु हुँदैन । काफ्लेले अख्तियारले विगतमा गरेका अन्यायहरू पनि आफ्नै आँखाले देख्ने मौका पाइसक्नुभएको छ । उहाँजस्तो व्यक्तिले नेतृत्व गरेको समयमा यदि यो काण्ड अदालतमा पुग्न सकेन भने भोलि अख्तियार पुनः सूर्यनाथकै समयको झैं आलोचित हुनेछ । मलाई लाग्छ भोलि आउने आयुक्तहरूले पनि यो मुद्दा चलाउनैपर्नेछ ।
अख्तियारलाई संवैधानिक बनाइएको बिनाअपराधका राजनेता, कर्मचारी र सर्वसाधारणलाई दुःख, हैरानी र अपमान गर्न नभई न्याय गर्न हो । सय अपराधी छुटून् तर एक निर्दोष अख्तियारबाट कारबाहीमा पर्नुहुँदैन । राज्यले नागरिकमाथि अन्याय गर्नुहुँदैन । किनकि राज्य सबैको अभिभावक हो । आज सिटौलाजस्ता नेता कर्मचारी मात्र भएका भए तिनीमाथि यो कार्यमा कतिचोटि मुद्दा चल्थ्यो होला तर यदि सिटौलाले अहिलेको सरकारको सार्वजनिक रूपमै समर्थन गरेकै भरमा मुद्दा अदालत नगएको हो भने अख्तियारजस्तो कार्यालय भङ्ग गरे हुन्छ । त्यसलाई त्यति सम्मानित बनाएर शक्ति दिनुपर्ने कुनै औचित्य रहँदैन ।
सुडानकाण्डमा मुछिएका धेरै कर्मचारी निर्दोष छन् । ओमविक्रम राणाको आदेशमा सही गर्ने तल्ला कर्मचारीउपर कारबाही हुनु अन्याय हुनेछ । उनले गरेको निर्णयलाई पछि पालना गर्ने कार्य अपराध मान्न सकिन्न । लापरबाही वा अज्ञानता हुन सक्छ । तर, यो काण्डका सक्कली दोषी तत्कालीन मन्त्री सिटौला, आईजी ओमविक्रम राणा र सचिव उमेश मैनाली नै हुन् । तिनीहरूमाथि मुद्दा चल्नुपर्छ होइन भने अख्तियारले अब कसैमाथि पनि मुद्दा चलाउनु हुँदैन । केवल निरीह कर्मचारी र राजनीतिज्ञहरूलाई बिगार्ने, फसाउने काम मात्र अख्तियारको हो भने त्यसलाई संवैधानिक किन बनाउने । कर्मचारीहरूले श्रीपेचमा लागेको एक मोती निकाल्न सक्लान् तर श्रीपेच नै नक्कली राखी सक्कली बेच्न सक्ने महासयहरू नेताहरू नै हुन् । सुडानकाण्डका सक्कली अपराधीहरू सिटौला, ओमविक्रम र मैनाली नै हुन् । तिनीहरूमाथि कारबाही गर्न नसकेर अख्तियार विदेशमा पनि आलोचित भइरहेको छ । त्यसैले अख्तियारलाई पंक्तिकारको पनि सल्लाह छ कि सुडानकाण्डका असली अपराधीहरूमाथि कारबाही अघि नबढाएर अख्तियार किन आलोचनामा गर्ने ?