प्रहरी महानिरीक्षक भन्छन्– गल्ती गर्ने प्रहरीलाई कारबाही हुन्छ

प्रहरी महानिरीक्षक भन्छन्– गल्ती गर्ने प्रहरीलाई कारबाही हुन्छ


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी संगठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिने बताएका छन् ।

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज राजधानीमा आयोजित समापन कार्यक्रममा खनालले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकाले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । ‘संगठनभित्र गल्ती गर्नेलाई कारबाही नगरेसम्म प्रहरी संगठन राम्रो हुँदैन,’ उनले भने ।

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउन सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताए । ‘लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,’ उनले भने ।

महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकुद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पारे । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्ज्वल रहेको उनको भनाइ थियो ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरू बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताए । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उनको भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो ।

कुल १० टोली रहेको उक्त खेलमा ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई रु. ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु. ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु. दश हजार नगद प्रदान गरिएको थियो ।