चन्द्रागिरि हिल्स नेपालको उत्कृष्ट गन्तव्य पुरस्कार

चन्द्रागिरि हिल्स नेपालको उत्कृष्ट गन्तव्य पुरस्कार


नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

नयाँ दिल्लीमा गत शुक्रबार आयोजित १४औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री केजे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गरेका कम्पनीले जनाएको छ । पुरस्कार वितरण समरोहमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाह र सेल्स विभाग प्रमुख विख्यात विक्रम राणाको पनि उपस्थिति रहेको थियो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी यो ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकोले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवाक्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौंमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको संख्यामा आउने भारतीय पर्यटकहरु चन्द्रागिरिमा भालेश्वरको दर्शनका लागि पनि जाने गरेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिए ।