एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालन

एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालन


सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा चौंथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले असोज २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहबीच चौथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा गहन अध्ययन र परिश्रमबाट उक्त कार्षको प्रवेश परिक्षामा उत्तीर्ण भई सो कार्षमा छनोट भएकोमा परिक्षार्थी अधिकृतहरूले गर्व गर्नुपर्ने चर्चा गर्दै मेहनतका साथ उक्त कोर्ष सम्पन्न गर्नुपर्ने बताए ।

एपीएफ अधिकृतहरुको व्यावसायिक क्षमता र योग्यतामा अभिवृद्वि गरि भविष्यमा संगठनको नेतृत्व गर्नसक्ने सक्षम अधिकृत उत्पादन गर्ने उद्देश्यले सो स्टाफ कलेज स्थापना भएको स्मरण गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज आफ्नो उद्देश्य प्राप्तिको दिशामा प्रभावकारी ढंगले अगाडी बढिरहेको दाबी गरे ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय (मानविकी तथा समाजशास्त्र)का डिन शिवलाल भुसालले यस्ता कोर्षले एपीएफ अधिकृतको ज्ञान र क्षमतामा अभिवृद्धि हुने चर्चा गर्दै कोर्ष उपयोगी रहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक संयोजक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले पनि मन्तव्य दिएका थिए ।

१८ महिना अवधिको उक्त कोर्षमा कूल १२ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका छन् ।