महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टीभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार टीभी गरिद गरी ल्याइदिन र त्यसको बिलबापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टीभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै रु. एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो । यस्तै, आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गा हालसाबिक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहानामा सेवाग्राहीसँग रु. २५ हजार घुस माग्दामाग्दै गरेको अभियोगमा आयोगले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो । आयोगले नापी सर्वेक्षक कुँवरविरुद्ध रु. २५ हजार बिगो कायम गरी कैद सजायको माग गरेको छ ।
यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी जवान मानसिंह रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा व्यवसायीसँग रु. पाँच हजार घुस मागेको अभियोग उनीहरूमाथि लागेको छ ।
यस्तै आयोगले साबिक जिल्ला विकास समितिको कार्यालय रुपन्देहीअन्तर्गत गजेडी गाउँ विकास समितिमा सचिव पदमा कार्यरत तत्कालीन शाखा अधिकृत राजकुमार श्रेष्ठ र कुञ्जी प्वाकल माध्यमिक विद्यालय, काठमाडौंका शिक्षक लक्ष्मण सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया