– गोविन्द टण्डन (सदस्यसचिव, पशुपति क्षेत्र विकास कोष)
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डन दोस्रोपटक ०७० असार २५ गते यस पदमा नियुक्त भएका हुन् । यसअघि पनि ०४९ वैशाख १ देखि ०५० भदौ ४ सम्म उनी उक्त पदमा थिए । पशुपति क्षेत्रका समस्या, चुनौती, सुधारका कार्य एवम् भावी योजनाबारे गोविन्द टन्डनसँग घटना र विचारका लागि बुद्धिप्रसाद शर्माले गरेको कुराकानी :
० सदस्यसचिवको रूपमा तपाईंको नियुक्ति भएयता के–के सुधारका कार्य गर्दै हुनुहुन्छ ?
– मेरो नियुक्ति भएयता देखिने कामहरू धेरै नै भएका छन् । पशुपति क्षेत्रको वातावरण संरक्षण, सरसफाइ, स्थानीय बाँदर एवम् मृगहरूको उचित व्यवस्थापन, बत्ती जडान, डिस्प्ले बोर्डको व्यवस्था, विदेशी पर्यटकलाई समेत मध्यनजर गरेर एटीएमको व्यवस्थालगायत थुप्रै काम भएका छन् । गएको वर्ष पशुपति क्षेत्रले सरकारबाट २५ करोड रूपैयाँ सहयोग पाएको थियो । यो क्षेत्र राष्ट्रिय गौरवको योजनामा समेत परेको कारण त्यसअनुसार धमाधम कार्यहरू भइरहेका छन् । विश्वका करोडौँ हिन्दूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र भएको कारण कसरी यसलाई आकर्षक, पवित्र र सुविधासम्पन्न तुल्याउन सकिन्छ भनेर हामी काम गरिरहेका छौँ ।
० पशुपतिका भट्टहरूले माग गरेको ‘कमिसन’ले गर्दा पशुपतिनाथको छविमाथि धक्का पु-याएको चर्चा पनि चल्यो, यो विवाद कसरी समाधान गरियो
– पहिला त म के कुरा प्रस्ट पार्न चाहन्छु भने पशुपतिनाथका पुजारीले ‘विशेष पूजा’ गरेबापत पाउनुपर्ने भनेको दक्षिणा हो, त्यो कमिसन होइन । कतिपय मिडियाले बुझ्दैनबुझी ‘कमिसन’ शब्दको प्रयोग गरिदिनु उचित भएन । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्य पूजा गरेबापत पुजारीहरूले मासिक तलब पाउनुहुन्छ । विशेष पूजा गर्नुपर्ने बेलामा त्यसबापत थप केही दक्षिणा पाउनुहुन्छ । त्यसबापत मूलभट्टले ७.२ प्रतिशत र अन्य भट्टहरूले ३.२ प्रतिशतका दरले चार भट्टले १८ प्रतिशत रकम लिनुहुन्छ । विवाद भने पनि समस्या भने पनि यसैमा सहमति भएको छ ।
० तपाईं सदस्यसचिव भएर आएपछि भट्टहरूसँगको सम्बन्ध त्यति राम्रो रहेन भन्छन् नि ? खास कुरा के हो ?
– त्यस्तो होइन । सदस्यसचिव र भट्टहरूबीचको सम्बन्ध एकदमै राम्रो हुनुपर्छ । त्यो नभई यस क्षेत्रको विकास एवम् सुधार सम्भव पनि छैन । मैले मेरो जीवनकालमा पाँचपटक पशुपतिनाथको मूलभट्ट परिवर्तन भएको देखेँ । जो–जोसँग मैले काम गरेँ उहाँहरूसँग एकदमै राम्रो सम्बन्ध रह्यो । भेटी व्यवस्थापन गर्ने बेलामा उहाँहरूले २५ प्रतिशतसम्म भइदिए हुन्थ्यो भन्नुभएकै हो, तर पछि आपसी छलफल एवम् सबै कुरा अध्ययन गरेर १८ प्रतिशतमा सहमति जुट्यो ।
० नेपाली भट्ट पुजारी राख्नुपर्छ भनेर पनि बेलाबेलामा आवाज उठ्ने गरेका छन् नि, के भन्नुहुन्छ तपाईं ?
– कुनै बेला पशुपतिनाथका पुजारी नेपाली नै राखिनुपर्छ भनेर आवाज नउठेका होइनन् । यस कुराको बहसलाई नियमावली नै बनाएर टुङ्गो लगाइएको छ । एकप्रकारले अब यो कुराको अध्याय नै समाप्त भएको छ । नियमावलीमै दक्षिणभारतका तैलिङ ब्राह्मण हुनुपर्ने भन्ने व्यवस्था छ । शृङ्गेणी मठअन्तर्गतका कृष्ण यजुर्वेदी पुजारी हुनेछन् ।
० पशुपतिनाथ मन्दिरका भण्डारीहरूले भक्तजनप्रति गर्ने व्यवहार पनि त्यति राम्रो छैन भनिन्छ । पूजा गर्न आउने भक्तजनप्रति रुखो व्यवहार हुने गरेको कुरा सत्य हो ?
– यो सत्यभन्दा बढी आरोप नै हो । यसका लागि हामीले भण्डारीहरूलाई सुझाव पनि दिइसकेका छौँ । मन्दिर दर्शनका लागि आउने भक्तजनप्रति अत्यन्त नम्र एवम् सभ्य व्यवहार गर्नुपर्छ भनेका छौँ । कहीँकतै त्यस्ता सिकायत आए भने हामीकहाँ पु-याइदिनुहुन पनि म सम्बन्धित सबैमा अनुरोध गर्दछु । यसले अझ सुधारेर लैजान मद्दत पुग्छ ।
० पशुपतिनाथको आर्थिक पारदर्शिताको मामला पनि निकै विवादमा पर्ने गरेको छ, होइन ?
– त्यो पहिले उठ्ने गरेको थियो, अहिले हामीले व्यवस्थापन गरिसकेका छौँ । पूर्ण आर्थिक पारदर्शिता अवलम्बन गरेका छौँ । भट्ट र भण्डारीहरूलाई तलबको व्यवहार गर्नेदेखि लिएर सबै कुरामा पारदर्शिता कायम भएको छ । अब जो–कसैले पनि पशुपतिनाथ क्षेत्रमा कति भेटी जम्मा भयो भनेर थाहा पाउन सक्नुहुन्छ ।
० विद्युतीय शवगृहको निर्माणकार्यचाहिँ कहाँ पुग्यो नि ?
– भवन निर्माणतर्फको कार्य भर्खरै सकिएको छ । घाट निर्माणदेखि केही प्राविधिक कामहरू बाँकी छन् । सबै काम यही गतिले अगाडि बढ्यो भने आउँदो दशैँपछि विद्युतीय शवगृह सञ्चालनमा ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।
० पशुपति क्षेत्रका साधु–सन्तदेखि माग्नेहरूको व्यवस्थापनका लागि कस्तो व्यवहार गर्दै हुनुहुन्छ ?
– यो पनि यस क्षेत्रको पुरानै समस्या हो । साधु–सन्तलाई उचित सेवा–सत्कार दिने गरी काम भइरहेको छ । जहाँसम्म माग्नेहरूको कुरा छ, उनीहरूका लागि पनि कतिसम्म गर्न सकिन्छ भन्नेमा विचारविमर्शका साथ कार्य गरिरहेका छौँ ।
० स्वच्छ, सफा, पवित्र अर्थात् सुन्दरतम् पशुपतिनाथ क्षेत्र भक्तजनहरूले कहिलेसम्म देख्न पाउलान् त ?
– हामी रातदिन नभनी काम गरिरहेका छौँ । अबको दुई वर्षभित्र तपाईंहरूले हेर्नलायक पशुपति क्षेत्र पाउनुहुनेछ । सबैको सहयोग मिल्यो भने अरू बढी पनि गर्न सकिन्छ ।
० जताततै कर्मचारी युनियनले दु:ख दिए भन्ने सुनिन्छ, तपाईंलाई चाहिँ काम गर्न कत्तिको सहज छ ?
– मलाई कर्मचारी युनियनका साथीहरूको कुनै दबाब छैन । हामीले एकदमै मिलेर काम गरेका छौँ । छलफल–बहसबाट नै कार्य अगाडि बढाउँछौँ । पशुपतिनाथ क्षेत्रको संरक्षण एवम् विकास गर्नुपर्छ भन्ने कुरामा कर्मचारी साथीहरू उत्तिकै सकारात्मक र गम्भीर हुनुहुन्छ ।
० तपाईंले देखेका यस क्षेत्रका मुख्य चुनौती र भावी योजना के–के हुन् ?
– हाम्रा अपेक्षा धेरै छैन । गुरुयोजनाअनुसार नै कार्य अगाडि बढाएको छु । चुनौती त जहाँ पनि हुन्छन् । तर, यसलाई स्वीकार गरी रचनात्मक हिसाबले कार्य अगाडि बढाएको छु । सरकारलगायत सबै क्षेत्रको सद्भाव र सहयोग पाएको छुु । हामीले सबै काम योजनाबद्ध ढङ्गबाट नै गरिरहेका छौँ । सरकारको राष्ट्रिय गौरवको योजनामा समेत परेको कारण पशुपति क्षेत्रले धेरै नै प्राथमिकता पाएको छ । सरसफाइ, भवन निर्माण, पारदर्शिता अवलम्बन र अन्य कार्यहरू महŒवका साथ गरिरहेका छौँ । सरकारबाट प्राप्त बजेटको पूर्ण सदुपयोग हुने गरी काम अगाडि बढेका छन् । पशुपति सङ्ग्रहालय करिब २५ लाखको लागतमा निर्माण हुने भएको छ । यीलगायत तत्काल र भविष्यका लागि गर्नुपर्ने कामलाई उच्च महŒवका साथ बढाउने प्रयास गरिरहेको छु ।
प्रतिक्रिया