किन उठे क्षेत्री-बाहुन ? -बबिता बस्नेत

किन उठे क्षेत्री-बाहुन ? -बबिता बस्नेत


इतिहासको विभिन्न कालखण्डमा यो मुलुकमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका क्षेत्रीहरू अब आफ्नै हकअधिकारका लागि अघि बढ्ने क्रममा बन्द-हडतालमा समेत उत्रिएका छन् । क्षेत्रीहरू मात्र नभएर सबैभन्दा उपल्लो जात र राज्य संरचनाका विभिन्न तहमा सहभागिता र पहुँच भएका मानिएका ब्राह्मणहरूसमेत आफ्नो अस्तित्व-रक्षाका लागि एकजुट हुन थालेका छन् । गत आइतबार क्षेत्री समाजले गरेको उपत्यका बन्द, त्यसअघि गरिएका सङ्घर्षका विभिन्न कार्यक्रमहरू, ब्राह्मण समाजले पोखरालगायत अन्य स्थानमा गरेका कार्यक्रमहरू र त्यसक्रममा उनीहरूले उठाएका आवाजलाई जातजातिका नाममा यो मुलुकमा तीन वर्षसम्म भएका विभिन्न गतिविधि र जातियताका अभ्यासको निरन्तरता मात्र मान्न मिल्दैन । इतिहासमा सधैं देश र जनताका नाममा लडेका क्षेत्रीहरूले कुनै बेला यो मुलुकमा आफ्नै लागि लड्नुपर्ला भन्ने शायदै सोचेका थिए । समय यस्तो आयो कि विज्ञता, ज्ञान, सीपलगायतका कुराको भन्दा जातजातिको आधारमा व्यक्तिगत अवसरहरू जुट्न थालेका मात्र नभएर जातजातिकै आधारमा मुलुककै भागबण्डा गर्न थालिएपछि देश बचाउनका लागि स्वाभाविक रूपमा यो समुदाय अघि बढ्नुपरेको हो । राज्य एकीकरणदेखि नै आफ्नो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र अखण्डताजस्ता कुरा गर्दै आएका क्षेत्रीलाई आफू, आफ्नो जात भन्दै अत्यन्त सीमित र सङ्कुचित दायरामा रहेर आफ्नो कुरा गर्नु र आफ्नो समुदायको हितका लागि भन्दै केही माग्नु वास्तवमा त्यति सहज छैन । जतिसुकै गरिब भए पनि आफू बाँच्नका लागि मात्रै काम गर्नुपर्छ भनेर क्षेत्रीका छोराछोरीलाई हर्ुकाइएको हुँदैन । त्यसो त मानिस हो, प्रवृत्तिहरू फरक-फरक हुन सक्छन् तर व्यक्तिगत स्वार्थलाई सर्वोपरी ठान्ने क्षेत्रीहरू कमै हुन्छन् । पृष्ठभूमिकै कारण हुन सक्छ सामूहिक हित र स्वार्थमा उनीहरूको रुचि बढी देखिन्छ । यही प्रवृत्तिले गर्दा कहिलेकाहीँ क्षेत्रीहरूले ठूला-ठूला कुरा गर्दै हिँडेजस्तो पनि लाग्छ । यस्ता कुराले दु:ख अरूलाई होइन आफ्नो परिवारलाई मात्र पुर्‍याएको हुन्छ, त्यसैले त कतिपय गृहणीहरू आफ्नो श्रीमान्लाई प्राय: भनिरहेका हुन्छन्- कुरा भने ठूलो-ठूलो गर्‍यो घरमा यो छैन त्यो छैन आदि ।
संविधानसभाको चुनावअघि र पछि यो मुलुकमा धेरै कुरा भए । विज्ञता, योग्यता र क्षमतालाई नभएर जातलाई अघि सारियो । नेपालीबीच सदियौंदेखिको सौहार्दतालाई मेट्ने कोसिस मात्र गरिएन, एक-अर्कामा दरार ल्याउने क्रियाकलापसमेत भए । नेपालीको विविधताबीचको एकतालाई खल्बल्याउन केही पश्चिमा मुलुकका दाताहरूको ठूलो भूमिका रह्यो । जनजाति, दलितलगायतका वर्गको हितका नाममा अन्य समुदायलाई हिलो छ्याप्ने कुरालाई उनीहरूले ठूलो रकम खर्चिएर प्रायोजन गरे । नेपालमा आउने दाताहरूको सहयोग सबै राम्रो उद्देश्यले मात्रै आएको नहँुदोरहेछ भन्ने कुरा यसबीचमा प्रमाणित नै भयो । कतिपय सहयोग देखावटी रूपमा एउटा शीर्षकमा भए पनि भित्री उद्देश्य भने अर्कै भइरहेको हुन्छ । विशेषगरी गरिबीका नाममा धार्मिक आस्था परिवर्तन गराउने काममा त्यसप्रकारका सहयोगहरू खर्च गरिएका हुन्छन् । नेपाललाई अकस्मात् धर्मनिरपेक्ष राज्य घोषणा गर्न लगाउनुका पछाडि दाताहरूको धेरै ठूलो गिरोह लागेको थियो भन्न सकिन्छ । नेपाली नागरिकता लिएका सभासद्हरूले त बाहिरै बनेको ‘डिजाइन’लाई संविधानसभाभित्र अनुमोदन मात्रै गरेका हुन् । नेपालको जातीय आन्दोलन र धर्मबीचमा राम्रै अन्तरसम्बन्ध छ । विश्वमा एक मात्र हिन्दूराष्ट्र नेपाल विश्वमानचित्रमा ‘युनिक’ थियो । हिन्दूराष्ट्र भनी घोषणा गरिएको भए पनि धार्मिक सहिष्णुतामा धेरै अगाडि, अन्य कुनै पनि धार्मिक समुदायको भावनालाई सम्मान गरिएको थियो । बौद्ध, मुस्लिम, जैन कुनै पनि धार्मिक समुदायलाई हिन्दूराष्ट्रप्रति आपत्ति थिएन तर खुल्लमखुल्ला धर्म परिवर्तनका लागि प्रचारमा लागेका क्रिश्चियनहरूलाई भने हिन्दूराष्ट्र हुँदा बाधा थियो । उनीहरू जसरी हुन्छ गरिब मुलुकमा क्रिश्चियन धर्मावलम्बीहरूको संख्या बढाउन चाहन्छन्, नेपालमा मात्र होइन विश्वमै, त्यसैले ठूलै गिरोहले हाम्रा बिकाउ नेताहरूलाई दबाब दियो, परिणमत: मुलुक हिन्दूराष्ट्र रहेन । नेपाललाई धर्मनिरपेक्ष बनाउनका लागि त्यसप्रकारको गिरोहले केही जनजाति र दलित संस्थालाई पनि प्रयोग गर्‍यो । तिनको एक मात्र उद्देश्य धर्म परिवर्तन भएकाले उनीहरूले सबैभन्दा पहिला नेपालको विविधतामा भएको एकतामा प्रहार गरे । जुन कुरा नगरी धर्मनिरपेक्षताको कुरा सम्भव नै थिएन, हिन्दू धर्मका नाममा कसैलाई दु:ख, मर्का पर्ने काम नभएकाले के कुरामा टेकेर हान्ने र कसलाई हतियार बनाउने भन्ने कुराको पहिचान गर्नु आवश्यक थियो । त्यसका लागि केही जनजाति र दलित -सबै होइन, यो मुलुकप्रति इमानदार राष्ट्रवादी दलित र जनजातिको सङ्ख्या ठूलो छ) सङ्गठनमा भएका मानिसहरूलाई हतियारका रूपमा प्रयोग गरियो र क्षेत्री-बाहुनमाथि प्रहार सुरु भयो । यसका लागि वषौर्ंंदेखि भएका भेदभावलाई अगाडि सारियो, जहाँ होइन भन्ने ठाउँ थिएन तर हामीकहाँ मात्रै त्यस्तो हो भन्ने अवस्था पनि थिएन । यस अभियानका लागि क्षेत्री-बाहुनले भन्दा बढी अवसर पाएका, धेरै पढेका मानिसलाई प्रयोग गरियो जो दिनलाई होइन घन्टालाई डलरमा परिणत गर्छन् । त्यस्ता व्यक्तिहरूले क्षेत्री-बाहुनलाई गाली गरेबापत धेरै पैसा कमाए, आफ्ना छोराछोरीलाई अन्तर्रर्ााट्रय मापदण्डका स्कुलमा पढाए र अरू जनजातिका छोराछोरीलाई तिनको मातृभाषामा शिक्षा दिनुपर्छ भनेर उनीहरू जहाँ छन् त्यहाँभन्दा अझ पछाडि धकेल्नका लागि भूमिका निर्वाह गरे । भेदभावको कुरा उठाउँदै आन्दोलनलाई प्रायोजन गर्नेमा गाउँगाउँमा लाहुरेका नाममा जनजाति र क्षेत्री-बाहुनबीच धेरै अगाडिदेखि विभेद खडा गर्नेहरू नै थिए ।
संविधानसभाको निर्वाचनमा जातजातिका नाममा जसरी आरक्षणको व्यवस्था गरियो त्यसले क्षेत्री-बाहुनलाई आफूमाथि विभेदको महसुस गरायो । क्षेत्री-बाहुनमाथि विभेद गर्नका लागि व्यक्ति, समूह या सङ्गठन होइन राज्यलाई नै यहाँ प्रयोग गरिएको थियो । क्षेत्री-बाहुनबाहेक अरूका कुरा जातीय जनसङ्ख्याको आधारमा भए ता कि सबैभन्दा बढी सङ्ख्या उनीहरूकै थियो । उनीहरूले राज्यमा गरेको योगदानलाई दबाउने कोसिस गरियो । समयक्रममा यस्तो व्यवहार गरियो कि मानौँ यो मुलुक र यहाँको सभ्यता निर्माणमा क्षेत्री-बाहुनको कुनै भूमिका नै छैन, यो मुलुकमा उनीहरूले ओगटेको जनसङ्ख्याचाहिँ मानिसको सङ्ख्या नै होइन । राज्यको संरचना र सङ्घीय राज्यको सवालमा उनीहरूको आवाज र भूमिकालाई गौण ठानियो । त्यसैले आफ्नो अस्तित्व मात्र नभएर जातीय सङ्घीयताका नाममा मुलुकको अस्तित्व नै जोखिममा पर्ने अवस्थाको सिर्जना भएपछि क्षेत्री-बाहुनले आवाज बुलन्द गरेको देखिन्छ । यसमा बुझ्नुपर्ने कुराचाहिँ के छ भने यो आवाज प्रायोजित नभएकाले यसको अर्थ अरूको भन्दा फरक छ र उनीहरूबीचमै फुट ल्याइएन भने दिगो रहन सक्छ ।