यतिका वर्ष पानी बग्यो, हामीले के पायौँ ?

यतिका वर्ष पानी बग्यो, हामीले के पायौँ ?


antarbicharसपना प्रधान मल्ल (पूर्वसभासद् एवम् वरिष्ठ कानुन व्यवसायी)
० एक वर्ष त पूरै हराउनुभयो नि तपाईं, किन होला ?
– हराएको त होइन, नेपालमा चाहिँ थिइनँ म । केही समयका लागि कामबाट भागेकी थिएँ भन्नुपर्ला । जीवनमा लामो समयसम्म लगातारको व्यावसायिक व्यस्ततापछि खासमा म आफूलाई ‘रिफ्लेक्ट’ गर्न चाहन्थेँ । आफूले गरेका कामलाई र आफूलाई ‘रिभ्यु’ गर्न चाहन्थेँ । आफूलाई निखार्न चाहन्थेँ, फरक अनुभव र अनुभूतिहरूलाई बटुल्न चाहन्थेँ । त्यसै क्रममा पढ्नका लागि अमेरिकाको हावर्ड युनिभर्सिटी गएकी थिएँ । हावर्डबाट पब्लिक पोलिसी र लिडरसिपमा केन्द्रित रहेर मास्टर्स गरेर आएँ ।
० कस्तो रह्यो त पढाइको अनुभव ?
– २५ वर्षपछि कलेज गएँ, फेरि युवा अवस्थामा प्रवेश गरेको अनुभूति भयो । फेरि विद्यार्थी बनेँ, झोला बोकेँ, रातभर रातभर होमवर्क गरेँ, जाँचको तयारी गरेँ । गणित, अर्थशास्त्र सबै पढ्नुपथ्र्यो, म पूर्ण रूपमा आफ्नो सहज स्थान र सहज विषयबाट बाहिर बसेँ । तर, पढाइको हद हँुदैन रै’छ, पढ्ने उमेरको सीमा पनि हँुदैन रै’छ । मान्छेले चाह्यो भने जुनसुकै उमेरमा र जुनसुकै विषयमा पनि पढ्न सक्दोरहेछ । नवलपरासीको पवन प्राथमिक विद्यालयमा प्रारम्भिक शिक्षा लिएकी मैले हावर्डको डिग्री लिएँ । मेरै लागि पनि यो असम्भवदेखि सम्भवको यात्रा हो ।
० उक्त कोर्स गर्न कस्ता–कस्ता मानिस आउने रहेछन् ?
– ६३ देशका विभिन्न तहमा बसेर काम गरेका नेता थिए । विशेषगरी सरकारी तह र नेतृत्वमा बसेर काम गर्नेहरू थिए । प्रधानमन्त्री, राष्ट्राध्यक्षहरूसमेत जन्माउने ठाउँ रहेछ त्यो । मेरो कक्षामा पनि दुईजना पूर्वसभामुख, केही मेयर र थुप्रै पूर्वमन्त्री थिए । हरेक दिन विभिन्न देशका नेताहरूसँग बसेर सिक्न पाइन्थ्यो । अन्तर्राष्ट्रिय सम्पर्क र नेटवर्किङका लागि पनि महत्वपूर्ण ठाउँ हो त्यो । महिलाको सङ्ख्याचाहिँ करिब ३० प्रतिशत जति थियो, महिला थोरै भए भनेर मैले त त्यहाँ गएर पनि वकालत गरेँ ।
० तपाईं अहिले संयुक्त राष्ट्रसङ्घीय यातनाविरुद्धको समितिको सदस्यसमेत हुनुहुन्छ, यसले के गर्छ ?
– यो महासन्धिहरू अनुमोदन गर्ने समितिहरूमध्ये एक हो । हाम्रो मुलुकका लागि यो महत्वपूर्ण प्रतिनिधित्व हो । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव महसन्धि (सीड) मा जाने कि भन्ने कुरा थियो । त्यहीअनुसारको तयारी पनि गरेकी थिएँ, सोही समयमा यातनाविरुद्धको कमिटी (क्याट) मा प्रतिनिधित्व गर्ने कुरा आयो । सोचेँ, महिलाका विषयमा त सधैँ काम गरेकै हो, अलि नयाँ विषयमा काम गरूँ त्यही भएर म गएँ । यो मेरो मात्र कुरा होइन मुलुकको प्रतिनिधत्वको कुरा हो ।
० यसमा गएपछि मुलुकलाई के फाइदा हुन्छ ?
– जेनेभामा कार्यालय रहेको यो समितिमा जानका लागि मुलुकले प्रतिस्पर्धा गर्छ । यूएनका सदस्यराष्ट्रहरूले मतदान गर्छन् । जितेर प्रतिनिधित्व गरेपछि अवश्य नै त्यो मुलुकको जित हुन्छ, प्रतिनिधित्व हुन्छ । तर, जितिसकेपछि काम भने स्वतन्त्र विज्ञका रूपमा गर्नुपर्ने हुन्छ । अमेरिका, युरोप सबै देशका मुद्दा हेर्नुपर्ने हुन्छ । वर्षमा दुईपल्ट जेनेभा जानुपर्छ, ६ हप्ता जेनेभा बसेर काम गर्नुपर्छ । विश्वले क्याटमा नेपालको प्रतिनिधित्व छ भनेर भन्नु नै नेपालको इज्जतको कुरा हो । चाहे जोसुकै हुन्, अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालीको प्रतिनिधित्व नेपालका लागि गौरवको विषय हो ।
० सरकारले तपाईंलाई बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगका लागि पदाधिकारी सिफारिस समितिको सदस्यमा मनोनीत गरेको थियो, तर तपाईंले बस्न अस्वीकार गर्नु भो, किन ?
– म सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयलाई लिएर पूर्ण माफीको पक्षमा सुरुदेखि नै थिइनँ । विगतमा संविधानसभामा सदस्य हुँदा पनि यो आयोले सम्पूर्ण प्रक्रिया पूरा गरोस् भन्ने पक्षमा थिएँ । अहिले कानुनमा व्यवस्था भएबमोजिम सरकारले सिफारिस समिति गठनचाहिँ ग-यो, तर पूर्ण र वैधानिक बनाउन सकेन । मानवअधिकार आयोगमा पदाधिकारी नियुक्त नगरी यो सिफारिस समिति बनाउनै हुँदैनथ्यो । किनभने मानवअधिकार आयोगले सिफारिस गरेको व्यक्ति भनेर कानुनले नै तोकेको छ । म सधैँ पीडितको आवाज लिएर हिँड्ने मान्छे । पीडितको तर्फबाट सर्वोच्च अदालतमा रिट परेको छ । यस्ता केही कुरा छन् जहाँ प्रक्रिया नै पुगेको छैन । प्रक्रिया नपुगी बनेको आयोगले पीडितलाई न्याय दिने सुनिश्चितता गर्न सकिन्न ।
० भनेपछि सबै प्रक्रिया पुगेको अवस्थामा जानुहुन्छ ?
– पूर्ण र पीडितले विश्वास गर्ने गरी कानुन परमार्जित भएमा निश्चय पनि जान्छु ।
० पहिला संविधानसभामा हुनुहुन्थ्यो, अहिले हुनुहुन्न, संविधानसभा कसरी अघि बढिरहेको छ, संविधान बन्ला त ?
– विभिन्न समितिहरूले विगतमा भएका कामहरूलाई लिँदै अन्य कुरा अघि बढाएको देखिन्छ । मुख्य कुरा फेरि पनि पहिला बाँकी रहेका विवादित कुरा नै हुन् । शासकीय स्वरूपबाट सुरु गरी सङ्घीयतामा प्रवेश गरेर बाँकी विवादका विषयहरूमा सहमति खोज्नुपर्छ । चुनौती नभएका होइनन् तर तिनको सामना गर्न नेताहरूले दलभन्दा माथि उठी मुलुकको हित सोचेर काम गर्नुपर्छ । संविधान बन्ने कुरामा म आशावादी छु ।
० भारतका ठूला नेताहरूको भ्रमण भइरहेको छ । विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण भर्खरै सकियो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ, के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
– भारतीय विदेशमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धको परिभाषालाई बदल्ने क्रमको सुरुवात गरेको छ । निश्चय पनि वार्ताले सम्बन्धहरूलाई परिभाषित गर्नु आवश्यक छ । विगतमा सम्बन्धमा भएका शङ्का, उपशङ्काबाट माथि उठेर विश्वासका खम्बा खडा गर्न आवश्यक छ । विश्वासको खम्बाको आधार विकासको सम्बन्धबाट गाडिनुपर्दछ । नेपालका उत्पादनहरूले पनि भारतीय बजारमा ठाउँ पाउनेदेखि अन्य धेरै कुरामा नेपालले ठाउँ पाउने कुराको सुनिश्चितता हुनु आवश्यक छ । भारतसँग हाम्रा सांस्कृतिक सम्बन्धहरू जसरी मजबुद छन् त्यसैगरी एक–अर्कालाई सम्मान गर्दै अब विकासका सम्बन्धहरू अगाडि बढ्नुपर्छ । अहिले चर्चामा रहेको ऊर्जा सम्झौताले नेपाललाई विकासको क्षेत्रमा माथि उठाउने निश्चित छ । भुटानी जनताको वार्षिक आय ६ हजार डलर कसरी भयो ? ऊर्जाकै कारण भएको हो । पानी भनेको प्रयोग गर्ने कुरा हो, यतिका वर्ष हाम्रा खोलानालाका पानी त्यसै बगेर गए, हामीले के पायौँ ? त्यसैले आफूसँग भएको स्रोतसाधनको प्रयोग सही तरिकाले गर्नुपर्छ । आफ्नो ‘इन्ट्रेस्ट’लाई कसरी संरक्षित गर्ने भन्ने हाम्रो कुरा हो । आफ्नो देशको हितको संरक्षण गर्दै विकासको ढोका अब नेपालले खोल्नुपर्छ ।
० यतिबेलाचाहिँ तपाईं के गर्दै हुनुहुन्छ ?
– भर्खरै फर्किएकी छु । अमेरिकामा हुँदा अब घर फर्किएर केही समय बुबासँग बिताउँछु भन्ने सोचेकी थिएँ, तर, म फर्किनासाथ बुबाको देहान्त भयो । बुबाले यति चाँडै छोडेर जानुहोला भन्ने सोचेकै थिइनँ, म शोकमा परेँ । बुबाको मृत्युले मलाई जीवनमा एउटा ठूलो पाठ सिकाएको छ । हामी सधैँ आफ्नो काम भन्छौँ, व्यावसायिक दौडधुपले आफ्ना जन्म दिने बाबुआमालाई, परिवारलाई समय दिन पाइरहेका हुँदैनौँ । व्यावसायिक जीवनसँगै परिवार कति महत्वपूर्ण छ भन्ने कुराको अनुभूति भएको छ । अब के गर्ने ? भन्ने प्रश्न अहिले म आफैँसँग पनि छ । मलाई अलि फरक ढङ्गले काम गर्न मन छ । सार्वजनिक जीवनलाई कसरी नैतिक बनाउने भन्ने विषयमा काम गर्न मन छ । म नेपालमै बसेर काम गर्छु । कानुन मेरो क्षेत्र भएकाले कानुनी अभ्यासमै केन्द्रित भएर काम गर्छु ।
० सार्वजनिक जीवनलाई नैतिक बनाउने भनेको के हो ?
– विशेष गरेर नेतृत्व तहमा बसेर काम गर्ने व्यक्तित्वहरूसँग सम्बन्धित छ यो कुरा । आफूले गरेका कुरालाई कसरी उत्तरदायी बनाउने ? आरोप–प्रत्यारोपको राजनीतिबाट माथि उठेर मुलुकको विकासमा कसरी केन्द्रित हुनेलगायत यो कुरा मूलत: भ्रष्टाचार र जवाफदेहितासँग सम्बन्धित छ ।