वामपन्थीको भ्रम र हारजित -शोभाकर पराजुली

वामपन्थीको भ्रम र हारजित -शोभाकर पराजुली


वामपन्थी भन्ने शब्दको अपव्याख्या भइरहेको छ । कुनै समयमा सरकारको नीतिको विपक्षमा रहने र सभामुखको देब्रेतर्फ बस्नेहरू अहिले कम्युनिस्ट नामक वामपन्थीमा परिणत हुन सक्दैनन् । वामपन्थी भनेको सत्ताको कमजोरी देखाउन र सुधारका लागि काम गर्न उद्यत् शक्ति हो । कम्युनिस्टहरू न वामपन्थी हुन् न जनपक्षीय नै । उनीहरूले कहिल्यै सत्ताको कमजोरी देखाउन र सुधारका लागि काम गर्न सत्ताबाहिर बस्ने परिकल्पना नै गरेनन् । उनीहरूको शब्दकोशमा विपक्षीप्रति बहुलवादको आधारमा सम्मान गर्ने भन्ने शब्द नै छैन । सत्तामा नै जसरी पनि जानुपर्छ र सरकारमा गएर मात्र पनि पुग्दैन भन्ने सोचले सत्ताबाहिर रहेर सत्तालाई खबरदारी गर्ने कार्य र कहिले सरकारमा जाँदा विपक्षीको भावनालाई बुझ्ने कार्यलाई स्थायी लक्ष्य बनाउन नै सक्दैन ।
कम्युनिस्टहरूका लागि साम्यवादी दलहरूबाहेक अरूले गरेको सुधार र विकास तथा समानता समानता नै होइन । नत्रभने विश्वमा कम्युनिस्टहरूले सत्ताकब्जाका लागि किन लाखौँ-लाख मानिस मार्थे र ? उनीहरूले विकासका पूर्हाधारहरू नष्ट गर्ने थिएनन् । उनीहरूको लक्ष्य जनतालाई दु:ख दिनु र सिद्धान्तको ब्रेनवासिङ जनतालाई दिने र आफू भने तिनै जनतालाई दु:ख दिएर सत्तामा सर्वहाराको अधिनायकवादको नाममा रहने अवस्था आउने थिएन । त्यसैले वामपन्थ र सुधारको पक्ष लिने नीति कम्युनिस्टको हुँदै होइन । बरु यो कुनै लक्ष्यमा पुग्ने सिँढी बन्न सक्नेमा उनीहरू विश्वस्त भए रणनीति भने हुन सक्दछ । अर्को शब्दमा भन्दा वामपन्थी र कम्युनिस्टको गोरु बेचेको साइनो पनि छैन । पृथ्वीनारायण शाहले आफ्नो देशमा अरू देशलाई मिलाउन मीत लगाएर छक्याएजस्तो सम्म वामपन्थ र कम्युनिस्टको सम्बन्ध हुन सक्दछ- मीत अर्थात् समान । तर, पृथ्वीनारायण शाहले त्यस समयको परिस्थितिअनुसार गरिने कार्य गरेका थिए र त्यस समयमा केही गल्ती भएका थिए र समग्रमा उनको कार्य प्रसंशनीय थियो । त्यो हैसियत कम्युनिस्टहरूको छैन । कम्युनिस्टहरू आजभन्दा करिब १५० वर्षको इतिहासलाई वर्तमानमा उतार्न खोज्दै छन् । परिवर्तनको नियम अपरिवर्तनीय छ भन्दछन् र साथै परिवर्तनका लागि स्वाभाविक माध्यम बहुलवादजस्ता कुरालाई अस्वीकार गरिरहन्छन् । आफ्नो सिद्धान्तभन्दा राम्रो सिद्धान्त आए आत्मसात् गर्दछौँ पनि भनिदिन्छन् । अर्को बिचार जे जस्तो भए पनि प्रतिक्रियावादी र आफ्नो विचार नै सबैभन्दा सक्कली भन्ने गर्दछन् । आफ्नो विचारसँग असहमत हुनेलाई अस्वीकार गर्ने र आफ्नो विचारका लागि ज्यान लिने र दिनेसम्मको कार्य गर्नु वामपन्थ होइन ।
अहिले भारतको पश्चिम बंगालमा वामपन्थीको हारको बारेमा चिन्ता, कारण खोज्ने, निराश नहुन भन्ने, यसको ठूलो असर हुन्छ भन्ने आदि गरिएका छन् । कम्युनिस्टहरू पनि यसबाट निक्कै चिन्तित भएको पाइएको छ । प्रथमत: पश्चिमबंगालको सरकार वामपन्थीहरूको होइन कम्युनिस्टहरूको थियो । वामपन्थीले त सत्ता र सरकार, प्रतिपक्ष र विपक्ष सबैलाई आत्मसात् गर्दछ तथा सबै समयमा विकास र समानतालाई फ्युजन गर्ने कार्य गर्दछ । भारतमा काङ्ग्रेस, भाजपा आदि दलले बारम्बार हार्ने र जित्ने गर्दछन् तर विवाद र चिन्ताको विषय बन्दैन तर कम्युनिस्टहरूले हार्दा किन चिन्ताको विषय बन्यो ? यो स्वयम् कम्युनिस्टहरूको आफूहरूमात्र सरकारमा रहनुपर्छ भन्ने तानाशाही सोचको परिणति हो । अर्कोतर्फ किसानमाथि दमन गरेको तथा गरिब र मध्यम किसानको आधारबाट कम्युनिस्टले चुनाव जितेकोमा उनीहरूको हित नगरेको, बन्दुक र बुटले कुल्चने कार्यसमेत गरेकोले हारेको भन्ने आरोप कम्युनिस्ट विचारकहरूले पनि लगाउने गरेका छन् । उनीहरूको यो धारणा धेरै सञ्चारमाध्यमहरूमा आएका छन् । यो अझ अपरिपक्व र तानाशाही सोचको उपज हो ।
लोकतन्त्र हुँदासमेत कम्युनिस्टहरू बुट र बुलेटको आधारमा गरिब जनतालाई मार्नसमेत पछि पर्दैनन् भने एकदलीय कम्युनिस्ट व्यवस्था हुँदा उनीहरूको चरम बेइमानी कति बढ्ला भन्ने पनि हामीले बुझ्न आवश्यक छ । चीनमा पनि अहिले उब्जाउ जमिन र गरिब किसानका जमिन कमिसन खाएर कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताले उद्योगीलाई दिलाउने कार्य गरेकोमा गरिब जनता पीडित र दु:खी भएको सुन्नमा आउँछ । उनीहरू उपाय नलागेपछि प्रतिशोधमा कम्युनिस्टहरूका सन्तानहरू पढ्ने बोरि्डङमा गएर उनीहरूका अबोध सन्तानलाई गोली हानेर मारेको पनि जानकारी आउने गरेको छ । सुख-सुविधा सबै कम्युनिस्टहरूको भागमा पर्ने र अन्याय तथा गरिबी जनताको भागमा पर्ने भएपछि जनतामा उनीहरूप्रति वितृष्णा हुन्छ नै ।
कम्युनिस्टको सत्ता अर्थात् एकदलीय सर्वसत्तावाद आएको अवस्थामा जनता जति पीडित भए पनि बन्दुक र अन्य शक्ति नेपालजस्ता देशमा जस्तो जनताको हातमा नभई कम्युनिस्टहरूको हातमा हुने हुँदा जनताले सजिलैसँग विरोध गर्न सक्दैनन् । बंगालजस्ता देशमा सरकार मात्र कम्युनिस्टहरूको हातमा भएको सत्ता नभएको हुँदा अन्यायको पराकाष्टा भएपछि मतको आधारमा नै जनताले उनीहरूलाई गलहत्याउन सक्छन् । यो यथार्थलाई साथीहरूले राम्रोसँग बुझिदिनुपर्छ । बंगालसमेतले कम्युनिस्ट साथीहरूलाई यो चेतना हुनुपर्छ कि सत्ता बेइमान हुन्छ । यसलाई बहुलवाद आदिले नियन्त्रण गर्न आवश्यक छ । सर्वसत्तावादी सत्ता अझ बढी बेइमान हुन्छ त्यसैले यसलाई चाहेर पनि विरोध गर्न र गल्ती गरेमा हटाउन सजिलो हुँदैन । त्यसैले यसलाई आउन दिनबाट रोक्नुपर्छ । यो सत्य तथ्यलाई बंगालले कम्युनिस्ट साथीहरूलाई सजग हुन र विचारलाई बदल्न तथा परिस्कृत गर्न सहयोग पुग्नुपर्छ ।
गल्तीबाट वाक्क भएर नकारात्मक मत दिए पनि, अझ राम्रोको आशामा अर्कोलाई मत दिए पनि, झुटा आश्वासनको थुप्रो र ढाँटबाट अघाए पनि, नेताहरूले बेइमानी गरेको कारणले मत दिए पनि यसले के देखाएको बुझ्नुपर्छ भने मानिसलाई लोकतन्त्रले नै कमी-कमजोरी देखाउने बनाउँछ । पश्चिम बंगालमा ३४ वर्ष पहिला त्यो प्रान्त भारतको सबैभन्दा धनी अर्थात् देशको विकासमा १३ प्रतिशत भूमिका निभाउन सक्ने तर ३४ वर्षपछि भने त्यो भूमिका २ प्रतिशतमा झर्नुले कम्युनिस्ट भनेको विकासविरोधी पनि हो, यसले सरकारमा जाँदा विकासविरोधी कार्य गरेमा रोक्न सकिन्छ तर सत्ता कब्जा गरेपछि कठिन र कहिले त असम्भवप्राय: हुन्छ भन्ने सत्यलाई हामीले भुल्नु हुँदैन ।
उग्र कम्युनिस्टहरूले लोकतान्त्रिक व्यवस्थामा अन्याय देखिएकोले लोकतन्त्रलाई माध्यम मान्ने कम्युनिस्टहरूले बेइमानी गरेकोले हारेको सोचेका पनि होलान् । तर, यसो होइन, कम्युनिस्टहरू वा कोही पनि लोकतन्त्रमा काम गर्दा बेइमान भए जनताले सजिलैसँग देख्दछन् र प्रतिरोध गर्न सक्दछन्, सुधार सम्भव पनि हुन्छ भन्ने हो भने तानाशाही व्यवस्था आएमा सत्ता अझ बेइमान बन्छ तर विरोध गर्न र विकल्प खोज्न सकिँदैन भन्ने हो । यो तथ्यलाई सचेत जनसमुदायले बुझ्न आवश्यक छ । भ्रम भएकोमा भ्रमलाई हटाउन तयार पनि हुनुपर्छ । कम्युनिस्टहरूको हार हुनु भनेको लोकतन्त्रमा त्यसकारण पनि कम्युनिस्टहरू पनि मानिस हुन् र बेइमानी गर्न सक्छन् भन्ने देखिने हो । अर्कोतर्फ त्यही कारणले सर्वसत्तावादी सोच अझ हानिकारक हुन्छ भन्ने पनि हो । यति गल्ती र बेइमानी गर्दा जनताले बंगालमा कम्युनिस्टहरूलाई हटाउन सके तर सत्ता नै उनीहरूको भएको भए अझ बढी गल्ती गरे पनि हटाउन गाह्रो हुने थियो । बुझ्नुपर्ने विषय भनेको यही हो ।