० नेपालको संविधानसभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको सम्बोधनलाई तपाईंले कसरी लिनुभएको छ ?
– लामो समयपश्चात् भारतका प्रधानमन्त्रीबाट भएको नेपाल भ्रमणले राजनीतिक तहमा संवादको जुन वातावरण निर्माण भएको छ, यो यसै पनि सकारात्मक थियो । यसमाथि नेपालको व्यवस्थापिका संसद्÷संविधानसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै महत्वपूर्ण कुराहरू प्रस्टसँग अभिव्यक्त गर्नुभएको छ । शान्तिप्रक्रिया, संविधान निर्माणका विषय मात्र नभई मूलत: विकास–निर्माणमा दुई देशबीचको साझेदारीका सन्दर्भमा उहाँले गर्नुभएको कुरा निकै सकारात्मक छ भन्ने मैले ठानेको छु । यसले हामीलाई महत्वपूर्ण सन्देश दिएको छ भन्न सकिन्छ ।
० प्रधानमन्त्री मोदीको ‘हिट’ फर्मुला (हाइ–वे, आइटी र ट्रान्समिसनमा सहयोग गर्ने)बारे तपाईंको प्रतिक्रिया के छ नि ?
– छिमेकी भारतसँग नेपालले जुन सम्बन्ध राख्दै आएको छ, यसका बाबजुद आर्थिक रूपमा हामीले खासै लाभ लिन सकिरहेका छैनौँ भने हामीबीचको व्यापार सम्बन्ध पनि अत्यन्तै घाटामा गइरहेको छ । निर्यातभन्दा हाम्रो आयात आठ गुणाले बढी छ । यसलाई न्यूनीकरण गरेर नेपाली अर्थतन्त्रलाई विकासको तहमा पु-याउनका निम्ति भारतसँगको व्यापार घाटा छिटोभन्दा छिटो कम गर्ने दिशामा हामीले सोच्नु अत्यावश्यक भइसकेको अवस्था छ । यसैका लागि उहाँले ‘हिट’ फर्मुलाका रूपमा यातायातको सुविधा, सञ्चार–प्रविधिको सुविधा र प्रसारण लाइनको सुविधा विस्तार गरेर व्यापारलाई बढावा दिने जुन कुरा गर्नुभयो यसलाई पनि निकै व्यवहारपरक तथा सकारात्मक रूपमा मैले लिएको छु । हामीले यहाँनेर के पनि ध्यानमा राख्नु जरुरी छ भने नेपालको तुलनामा भारत एउटा निकै ठूलो बजार भएकाले समान किसिमको प्रतिस्पर्धाभन्दा पनि नेपालले अलिक सहुलियतपूर्ण सुविधा पाउनुपर्छ । यस विषयमा छिमेकी मित्रदेश भारतसँग हामीले आगामी दिनमा कुराकानी अघि बढाउने र उसलाई सहमत गराउने दिशामा लाग्नुपर्छ ।
० सन् १९५० को सन्धि पुनरावलोकन र खारेजीको मुद्दा उठाउँदै आउनुभएका तपाईंहरूकै माझ भारतीय प्रधानमन्त्री मोदीले ‘तपाईंहरूले यसबारे कस्तो संशोधन या के चाहेको हो, प्रस्टसँग मस्यौदा दिनुहोस्, हामी तपाईंहरूको चाहनामाथि छलफल गरी निर्णय लिन तयार छौँ’ भनी प्रस्टसँग भनिदिनुभयो, अब तपाईंहरू के गर्नुहुन्छ ?
– हो, भारत र नेपालबीच एउटा जुन शङ्का सम्बन्ध देखिएको छ, यसमा १९५० को सन्धिले नकारात्मक भूमिका खेलिरहेको छ । नेपालको राष्ट्रिय हितमा आँच पु-याउने प्रकारका केही प्रावधान उक्त सन्धिमा रहेकाले यस्तो भन्नुपरेको हो । तर, हामी यसमा पनि प्रस्ट छौँ कि त्यो असमान सन्धि एउटा बेग्लै सन्दर्भमा भएको थियो । तत्कालीन राणाशासन ढल्नै लागेको बेलामा राणाहरूले आफ्नो शासन टिकाइराख्नका लागि अलिकति झुकेर त्यो सन्धि गरेका थिए । ब्रिटिस भारतले सन् १९२३ मा गरेकै सन्धिको करिब–करिब निरन्तरतामा त्यो थियो भन्ने हाम्रो बुझाइ हो । तर, अब युग बदलिएको छ, भारत पनि स्वतन्त्र भएर नयाँ ठाउँमा आइपुगेको छ, विकसित भएको छ भने नेपाल पनि राजनीतिक परिवर्तन पछ्याउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ । त्यसैले नयाँ सन्दर्भमा दुवै देशको हित हुने गरी समानतामा आधारित नयाँ सन्धि गरिनुपर्छ भन्ने नेपाली जनताको पहिलेदेखिकै चाहना र भनाइ हो । यस परिवेशमा प्रधानमन्त्री नरेन्द्र मोदीले रात्रिभोजका अवसरमा जुन रूपले समाधान गर्ने खाका आफ्नो अभिव्यक्तिमार्फत प्रस्तुत गर्नुभयो, त्यसलाई पनि मैले सकारात्मक रूपमा लिएको छु । यस विषयमा एक पक्षभन्दा पनि दुवै पक्ष बसेर ठण्डा दिमागले छलफल गरी टुङ्ग्याउनुपर्छ भन्ने मेरो धारणा छ । यसबारे म प्रधानमन्त्री भएकै बेला पनि दुवै देशका सरकारका साथसाथै सरकारबाहिरका विज्ञ समूहका मानिससमेत राखेर सन् १९५० लगायत अन्य सन्धि–सम्झौतामाथि खुला छलफल गरेर एउटा प्रस्ताव तयार पार्नुपर्छ भन्ने कुरा राखेको थिएँ । यसमा अब अहिले सकारात्मक वातावरण बनेको छ । यस अवसरको लाभ उठाउँदै त्यस्ता विवादित सन्धि–सम्झौतालाई समयानुकूल हुनेगरी बदल्नु हितकर हुन्छ । यसनिम्ति दुवै पक्ष छलफलमा बसिहाल्नु आवश्यक देख्छु म ।
० तपाईंको बुझाइमा यस्ता विवादित सन्धि–सम्झौताका कारण भारत र नेपालबीच रहलपहल असमझदारी या अविश्वास चिर्न नरेन्द्र मोदीको नेपालयात्राले भूमिका निर्वाह गरेकै हो त ?
– हो । नरेन्द्र मोदीले व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने क्रममा र पछि रात्रिभोजको अवसरमा पनि जसरी खुलस्त ढङ्गले कुराहरू राख्नुभयो, यसले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा निश्चित रूपमा नयाँ ढङ्गले अगाडि बढ्छ भन्ने कुराको एउटा राम्रो सङ्केत दिएकोे छ । अब हामी नेपालीले पनि राष्ट्रहितलाई केन्द्रमा राखेर आत्मविश्वासका साथ भारतीय समकक्षीहरूसँग कुराकानी गर्नुपर्छ । दुवै देशको हित अब आपसी विकास र समृद्धिमै छ । दुवै देशले आ–आफ्ना प्राकृतिक र मानव संसाधनको अधिकतम् सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । अब दुई देशबीचको हेराइ विश्वास र विकासको नजरबाट हुनुपर्छ । यस्तो सोचको विकास गरिनुपर्छ । नेपाल र भारतबीचको मात्र नभई नेपाल र चीनबीचको सम्बन्धलाई पनि अब आर्थिक विकासको दृष्टिबाट नयाँ ढङ्गले विकास गरिनुपर्छ । यी कुरा मैले पहिलेदेखि नै विभिन्न फोरममार्फत राख्दै आएको हुँ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उहाँले दिनुभएका अभिव्यक्तिले यसमा निकै आशा जगाएको या सकारात्मक सन्देश प्रवाहित गरेको मैले ठानेको छु ।
प्रतिक्रिया