अन्तरविचार– १
आध्यात्मिक सोच भएको व्यक्ति शासक हुनुपर्छ – पासाङ तेम्बा लामा
नेपालका चर्चित आध्यात्मिक बौद्ध धर्मगुरु पासाङ तेम्बा लामा लामो समयदेखि समाजसेवा एवम् राजनीतिमा समेत संलग्न हुनुहुन्छ । उहाँको पहलमा विभिन्न विद्यालयको स्थापना हुनुका साथै अनेक सामाजिक कार्यहरूसमेत सञ्चालित छन् । राजनीति गर्ने व्यक्तिमा आध्यात्मिक सोच भए उनीहरू स्वतः इमानदार हुने र यसले राजनीतिलाई सही मार्गदर्शन गर्दै देशमा शान्ति र विकासको मूल फुट्ने उहाँको धारणा रहेको छ । यस्तै–यस्तै सद्विचारका साथ समाजसेवामा लागिपर्नुभएका बौद्ध धर्मगुरु लामासँग हाम्रा विशेष संवाददाता बुद्धिप्रसाद शर्माले गरेको कुराकानी प्रस्तुत गरिएको छ ः
० एक आध्यात्मिक धर्मगुरुको कोणबाट मुलुकको वर्तमान अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
– नेपालको राजनीतिमा इमानदारिता भन्ने तŒव पटक्कै देखिएन । कसरी हुन्छ बिगार्ने प्रवृत्ति व्याप्त छ । राजनीति र सामाजिक क्षेत्रमा विकृति अति नै बढेको छ । अनावश्यक रूपमा जातीयताको मुद्दा उछालिएको छ । यो बेठीक मात्र नभई अत्यन्त हानिकारक पनि हो । राजनीतिमा इमानदार नहुँदा विद्रोहले जन्म लिन्छ र यसले समाजलाई तहसनहस पार्छ । त्यसैले देश र जनताको भलो गर्ने हो भने राजनीति गर्नेहरू इमानदार रहनु पहिलो सर्त हो भन्ने मलाई लाग्छ ।
० देशमा अशान्ति र अस्थिरताको अन्त्य भएको अनुभूति गर्न अझै सकिएको छैन, यस्तो अवस्थामा आमजनतालाई शान्तिको पाठ सिकाउन तपाईंजस्ता आध्यात्मिक गुरुहरूको भूमिका के हुन सक्छ ?
– केटाकेटीहरूलाई विद्यालयबाट नै आध्यात्मिक ज्ञान दिनुपर्छ । मेरो सन्दर्भमा कुरा गर्दाखेरि विद्यालय स्थापना गर्नेदेखि लिएर विभिन्न सङ्घ–संस्थामार्फत भगवान् बुद्धको सन्देशलाई सबैमाझ पु-याउने काम गरेको छु । नेता खराब भएर नै राजनीति दुर्गन्धित भएकाले मुलुकमा अस्थिरता र अशान्ति व्याप्त भएको हो । राजनीति सुध्रिनेबित्तिकै प्रायजसो समस्या हल हुन्छन् भन्ने लाग्छ । राजनीति सफाइको अभियानमा मेरोतर्फबाट के गर्नुपर्छ, परिस्थिति वा परिवेशअनुसार काम गर्न म त सधैँ तत्पर नै छु ।
० तपाईं एक आध्यात्मिक गुरुका साथै विभिन्न सामाजिक क्रियाकलापमा समेत संलग्न हुनुहुन्छ । हालसम्म के–कस्ता सामाजिक कामहरू गर्नुभयो ?
– सिन्धुपाल्चोकमा मेलम्ची ज्ञान मावि स्थापना गरेर करिब पाँच सय विद्र्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै आएको छु । त्यस विद्यालयमा विदेशीको सहयोगमा करिब चालीस करोडको लगानी भइसकेको छ । यो विद्यालय मध्यमाञ्चलकै स्तरीयमध्ये पर्छ । काठमाडौंको बौद्धमा शान्ति विद्यालय सञ्चालन गरेको छु । सरोकार नेपाल भन्ने संस्थाको वरिष्ठ उपाध्यक्ष भएर विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा संलग्न छु । ल्ुाम्बिनी विश्वविद्यालयको बोर्डमेम्बर भएर यस विश्वविद्यालयको उन्नतिको कार्य गर्दै आएको छु । अर्को कुरा, लुम्बिनीमा ठूलो बजेट ल्याएर विकास गर्ने भन्दै हङकङबाट सञ्चालित माओवादी नेता प्रचण्डसमेत उपाध्यक्ष रहेको ‘एपेक्स’ संस्थालाई मेरो नेतृत्वमा कडा विरोध भएको थियो । सो संस्थालाई नेपाल आउन नदिन मेरो पनि भूमिका थियो । उक्त संस्थाको भित्री उद्देश्य लुम्बिनीमा विकास गर्ने नभई देशमा अशान्ति फैलाउने थियो भन्ने भित्री चुरो कुरो बुझेर मैले विरोध गरेको हुँ ।
० तपाईं नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको एक वरिष्ठ नेता पनि हुनुहुन्छ । एकातिर तपाईं नेपालको राजनीति अत्यन्त दुर्गन्धित छ भन्नुहुन्छ, अर्कोतर्फ आफैँ राजनीतिमा संलग्न हुनुहुन्छ । यसलाई कसरी बुझ्ने ?
– कुहिएको घरमा नकुहिएको वस्तु राखिँदा त्यसले त्यो घरलाई केही न केही सुगन्ध दिन्छ । राम्रो गर्दै गए ढिलोचाँडो त्यसको सकारात्मक प्रभाव पर्छ । यही सोचेर म राजनीतिमा लागेको हँु । राजनीतिलाई समाजसेवा र देशको भलो गर्ने साधनको रूपमा प्रयोग गर्दै सबैलाई बुझाउने कोसिस पनि गर्दै आएको छु । म ०३६ सालदेखि नेपाली काङ्ग्रेसमा लागेको हुँ । राजनीतिबाट मलाई कुनै व्यक्तिगत लाभ छैन । पहिला आफू प्रजातान्त्रिक बनौँ त्यसपछि मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ भन्ने ठान्छु म । प्रजातान्त्रिक मूल्य–मान्यता र बुद्धदर्शन लगभग मेल खान्छ । यसकारण पनि म राजनीतिमा प्रवेश गरेको हुँ र समाजसेवा भयो भने राजनीति त्यसै सफा हुन्छ भन्ने मेरो धारणा छ । मेरो विचारमा राजनीतिको मुख्य उद्देश्य समाजसेवा नै हो र हुनुपर्छ ।
० आजभोलि मानिसहरू धेरै नै स्वार्थी र आत्मकेन्द्रित हुँदै गएका छन्, समाजसेवामा उनीहरूको ओठेलगाव मात्रै छ, यस्तो हुनुको खास कारण के होला ?
– सामग्रीहरूको सञ्चय गरेर शान्ति आउँदैन भनेर हामी आध्यात्मिक गुरुहरूले पनि आममानिसलाई अझै बुझाउन सकिरहेका छैनौँ । राजनीतिले सही किसिमले काम गरेर जनतालाई गाँस, बास र कपासको उचित व्यवस्था गर्न सकेको भएको भए समाजबारे अलि बढी सोच्न पुग्थे मानिस । गरिबीले गर्दाखेरि पनि मानिस आफूकेन्द्रित भएका हुन् । बुद्ध धर्मअनुसार दया, माया, क्षमा र करुणा भयो भने शान्ति स्वतः आउँछ । यसो हुनु भनेको मानिसहरू समाजप्रति वा अन्य मानिसप्रति सकारात्मक एवम् सहयोगी हुनु हो ।
० नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ । वास्तवमा राज्य र धर्मबीचको सम्बन्ध कस्तोे हुनुपर्छ ?
– राज्यले सबै धर्मलाई समान व्यवहार गर्नुपर्छ । सबै धर्मका मुख्य धार्मिक स्थलहरूलाई राज्यको पूर्ण सहयोगमा व्यापक विकास गरिनुपर्छ । व्यावहारिक गुरुयोजना बनाएरै काम थाल्नुपर्छ । मुलुकमा महात्मा गान्धी, नेल्सन मण्डेला र दलाई लामाजस्ता व्यक्तिहरू नेता भएमा शान्ति, स्थिरता, विकास र मेलमिलाप स्थापित हुन्छ । देशमा सबै धर्मले फैलने मौका पाउनुपर्छ । राज्य अधार्मिक बन्ने होइन कि सबै धर्मलाई समान रूपमा प्रवद्र्धन गर्ने हुनुपर्छ । आध्यात्मिक सोच भएको व्यक्ति शासक भयो भने राजनीति सफा हुन्छ र जनताले सुख पाउँछन् ।
० तपाईंले पटक–पटक बौद्ध धर्मगुरु दलाई लामालाई भेट्नुभएको छ । उहाँको नेपालप्रतिको धारणा कस्तो पाउनुभएको छ ?
– उहाँ नेपाललाई असाध्यै माया गर्नुहुन्छ । भगवान् बुद्ध जन्मेको ठाउँ र नेपाल–तिब्बतबीचको पुरानो सम्बन्धले गर्दा उहाँमा नेपालप्रति एकदमै सकरात्मक धारणा रहेको पाएको छु । नेपाल एक पवित्र एवम् आध्यात्मिक देश भएकाले यहाँका सबै नागरिक मिलेर बस्नुपर्छ भन्नुहुन्छ उहाँ ।
० मुलुक नयाँ संविधानका लागि छटपटाइरहेको छ, आगामी माघ ८ भित्र नयाँ संविधान बन्लाजस्तो लाग्छ तपाईंलाई ?
– नयाँ संविधान बन्ला जस्तो त लाग्छ, तर नेपालका नेताहरूको व्यवहार, सोच र प्रवृत्ति हेर्दा ढुक्क हुने अवस्थाचाहिँ छैन । नेपालका अधिकांश जनताले पनि नेतालाई विश्वास नगर्ने अवस्था पैदा भएको छ । यस्तो परिवेशमा त जे गरेर भए पनि समयमै संविधान ल्याउनैपर्ने हुन्छ । अन्यथा नेपालमा अशान्ति र अस्थिरता झन बढ्ने खतरा रहन्छ ।
अन्तरविचार–२
क्यान्सर पनि ठिक पार्छु– शिवतान्त्रिक गुरु बुद्धिकुमार
०२५ पुस १ गते टोखामा जन्मेर डेढ वर्षमा पिता गुमाई अनाथ हुनुका साथै आफन्तले सम्पत्ति हडपेर पाटीपौवाको बास गर्दै बाल्यकाल गुजारेका अनि बयस्क भएपछि दैवी शक्ति हासिल गरी हाल ललितपुर पाटनस्थित सौगाल चोकनजिकै आश्रम जमाएर अनेक रोगव्याधिले ग्रस्त आममानव मात्रको कल्याणमा तल्लीनरत दाबी गर्ने शिवतान्त्रिक गुरु बुद्धिकुमार खड्गीसँग गरिएको रोचक कुराकानी:
० तपाईंलाई दुनियाँले के भनेर चिन्नुपर्ला ? गुरु, तान्त्रिक, भविष्यवेत्ता, ज्योतिष वा वैद्य के भनेर चिनून् ?
– तान्त्रिक विद्याबाट चल्ने हुनाले मलाई तान्त्रिक भनेरै चिनून् । म शिवतान्त्रिक बनकाली शरणमा सिद्धी गरेको व्यक्ति हुँ ।
० आममानिसलाई तपाईंले के–के सेवा प्रदान गर्नुभएको छ ?
– अहिले क्यान्सर भएका व्यक्तिहरू, अनेक रोगव्याधिले निराश भएका व्यक्तिहरू, काम बिग्रेका या असफल भएका व्यक्तिहरूलाई मैले दुःख, कष्ट, पीडा, व्याधिबाट मुक्त तुल्याउने कर्तव्य गर्दै आएको छु । क्यान्सरबाट मुक्त भएका व्यक्तिहरू हामीसँग थुपै्र छन् ।
० तपाईंसँग अण्डामार्फत बिकार–बिगार निकाल्ने विधि छ रे † अण्डाबाट के–के निकाल्ने गर्नुभएको छ ?
– अर्काको भलो भएको देख्न नसक्ने इष्र्यालु, परपीडक, दुष्ट व्यक्तिहरूले अनेक प्रकारले मानिसलाई बिगार गरिदिन सक्छन् । बिगार्ने व्यक्तिहरू पराया मात्र होइन आफन्त र घरैभित्र पनि हुन सक्छ । यो हाम्रो समाजमा देखिँदै–भोगिँदै आएको यथार्थ हो । शत्रु त शत्रु नै भइगयो, मित्र बनेरै बिगार्न खोज्ने पनि हुन्छन् । आमा/बुबाबाट समेत आफ्ना छोराछोरी आफ्नै पासमा रहुन् भनी टुना–मुना लगाउने काम हुन्छ । त्यो पनि बिगार/बिकार बन्न सक्छ । यस्ता कुराको उपचार गर्दा अण्डामार्फत बिकार निकाल्ने हो । अण्डाबाट जिउँदा सर्पहरू पनि निस्केको छ, भ्यागुता पनि निस्कन्छन्, (मोबाइलमा अण्डाबाट निस्केको सर्पको भिडियो क्लिपिङ देखाउँछन्) ।
० यो सर्पको भिडियो क्लिपिङ कहिलेको हो ?
– एक महिना अगाडिको हो ।
० यसको साइज त निकै ठूलो छ नि ?
– यो पहिला अण्डाभित्र अट्ने थियो । बाहिर निस्केपछि तुरुन्तै ठूलो भयो । तपाईंले यहाँ देख्नुभयो नि, टाउको, आँखा जम्मै छन् र स्वास पनि फेरिरहेको छ ।
० यहाँ त नरिवलको टुक्रा पनि देखियो, यस्तो अरू के–के निस्केको छ अण्डाबाट ?
– कैयौँपटक केरा पनि निस्केको छ । पहिला सानै थियो, निस्कनेबित्तिकै अण्डाभन्दा ठूलो भयो । त्यस्तो केरा झण्डै–झण्डै १५–२० पटक निस्केको होला । (फेरि भिडियो क्लिपिङ देखाउँदै) यो गँगटो हो, अण्डाबाट निस्कँनेबित्तिकै झण्डै–झण्डै डबल साइजको भएको थियो । बाहिर निस्केको केही बेरपछि त्यो म-यो ।
० बाबाबाट भविष्यवाणी पनि हुन्छ ?
– कहिलेकाहीँ हुन्छ ।
० केही राजनीतिसम्बन्धी जिज्ञासा राखौँ कि ?
– खासै राजनीतिबारे बोल्ने गरेको त छैन, … हुन्छ नि त †
० नेपालमा नयाँ संविधान बन्ने प्रक्रिया चलिरहेको छ, तपाईंको दृष्टिमा बन्छ कि बन्दैन ?
– ०७१ सालभित्र त सम्भव देखिँदैन ।
० अर्को साल बन्ला त ?
– यहाँको राजनीतिको कुरा मात्रै हो, गाह्रो छ ।
० राजसंस्था र हिन्दू राष्ट्रको कुरा गर्छन्, यसबारे के छ नि ?
– सजिलै नियुक्ति त होइन, जनमतसङ्ग्रह भए मात्र यी कुरा सम्भव छ ।
० राजसंस्थाबारे पहिला भविष्यवाणी गर्दा तपाईंले दुव्र्यवहार व्यहोर्नुभएको थियो रे, हो ?
– राजसंस्थाको बाह्रौँ पुस्ताको ग्रहगोचर कमजोर थियो, जुन तथ्य बोल्दा ममाथि जे–जस्तो दुव्र्यवहार भयो, त्यसलाई मैले आफ्नो भाग्यको लेखोट ठानेको छु । जे होस्, कर्ममा लेखेको सबैले भोग्नै पर्दोरहेछ । त्यो भोगेर मलाई नराम्रो भएको छैन ।
० पत्थरी, मधुमेह आदि जस्ता नसर्ने रोगको उपचार पनि तपाईंबाट सम्भव छ ?
– सुगर, पे्रसर आदिको पनि मैले उपचार गरिराखेको छु ।
० यी रोगहरू साफ नै हुन्छन् त ?
– पूर्ण रूपमा साफ हुन्छन् ।
० पत्थरीको बारेमा नि ?
– पत्थरीको बारेमा पनि म क्लियर नै गरेर छोड्छु ।
० त्यो अपे्रसन गर्नु पर्दैैन ?
– पर्दैन । हाम्रो विधि र औषधिबाट क्लियर हुन्छ । तर, किड्नीको पत्थर मात्र म निकास गराउँछु ।
० पित्तको नि ?
– पित्तको होइन । तर, फोक्सोमा जमेको पानीका फोकाहरूको उपचारचाहिँ मैले गरेको छु ।
० त्यसोभए तपाईंको शरणमा आएपछि सबै सन्तुष्ट भएरै गएका छन् ?
– अहिलेसम्म मकहाँ आएका व्यक्ति मलाई निको भएन भन्ने भेटिएका छैनन् ।
० कहिलेदेखि यो सेवा दिन सुरु गर्नुभएको हो ?
– झण्डै २० वर्ष भयो ।
० अहिलेसम्म कतिजनाको उपचार भयो होला नि ?
– यहाँ उपचार गराउने वर्षकै होलान् झण्डै २० हजार । सुरु भएको २० वर्ष भयो, अब आफैँ अन्दाज लगाउनुहोस् ।
० तपाईंले मन्दिर निर्माणको पनि योजना गर्नुभएको छ रे ?
– मैले नगरकोटभन्दा वर कमलमसी भन्ने ठाउँमा १०८ रोपनी जग्गा लिई पञ्चतŒवको नामाकरण गरेर राखेको छु, जसमा कालीदेवी, कालीनाग, कल्पकुण्ड, कल्पेश्वर महादेव आदिको मन्दिर निर्माण गर्दै छु ।
० यो सेवा यहीँ सीमित राख्ने कि अझै व्यवस्थित गर्ने सोच छ ?
– अहिले यत्तिमै सीमित रहोस् । किनभने, कसको चाहना छ र यसलाई विस्तृत गर्ने ? म तान्त्रिक सम्मेलनमा सहभागी हुन ७–८ राष्ट्र गएँ । कहीँ पहिला, कहीँ दोस्रा, कहीँ तेस्रो भएर आएँ । जर्मनीमा मलाई आर्मी ब्याण्डसहित नेपालको झण्डा फर्फराएर रथारोहरण गराई बाजागाजा बजाएर राष्ट्रपतिलाई जस्तो सम्मान दिइयो नेपालको एकमात्र तान्त्रिक भनेर । तर, यहाँ फर्कंदा चरा–मुसो के आएको हो– केही मतलब भएन । मन्त्रीहरूले पनि तपाईं सुटुक्क आउनुहोस्, पछि जात्रा गरौँला भनेर टारे । विदेशमा तन्त्रविद्याको प्रचार नेपालबाटै भएको रहेछ । म नेपालबाट आएको भनेपछि त्यहाँ मेरो भव्य स्वागत/सम्मान भयो । यहाँ त तन्त्र र तान्त्रिक बुझ्ने व्यक्ति नै कति छन् र ?
० अन्यत्र कहाँ–कहाँ जानुभयो विदेश ?
– दुई वर्षअगाडि पहिलोपटक जर्मनी गएको थिएँ । त्यसपछि जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्याण्ड, चाइना, इण्डिया । त्यहाँका तान्त्रिकहरूले नेपालबाटै सिकेका रहेछन् । नेपाल नआईकन सिकेका व्यक्तिहरू कोही पनि देखिनँ ।
० खाना खान लाग्दा थालमा गाँसैपिच्छे ढुङ्गा निस्कने धादिङकी एउटी महिलाको घटनामा तपाईंबाटै उपचार भएको हो ?
– हो । उसको उपचार मैले नै गरेको हुँ, धेरै चुनौतीका बीच ।
० त्यस्तो के कारणले भएको होला ?
– त्यो वायु दोषका कारण हो । गर्ने/गराउने उनकै आफन्त थिए । ती महिलाको सुख देख्न नसकेर बिगार गरेका थिए । उनी काठमाडौंबाट श्रीमान्सहित घरमा पुग्ने बेला नेपत्थ्यबाट ढुङ्गा बर्सन्थे ।
० बिगार गर्ने दुष्ट शक्ति पनि त्यति शक्तिशाली हुने रहेछ है ?
– आम्मै … हुन्छ नि † कसरी व्याख्या गर्ने ?†
० बिरामीको उपचारका सिलसिलामा कुनै अविष्मरणीय घटना छ कि ?
– सबै घटना बिर्सनै नसकिने छन् । केएमसी सिनामङ्गलका डाक्टरहरूले उपचार गर्दा–गर्दा नसकेका पाठेघरको क्यान्सर भएर १६ दिनसम्म आईसीयूमा राखी मृत्युको मुखमा पुगेकी एक बिरामी महिलालाई दुई दिनमै निको पारेको छु । ती अहिले आफैँ मोटरसाइकल हाँकेर हिँड्छिन् । पहिला म उपचार गर्छु भन्दा मलाई छातीमा धक्का दिएर चुनौती दिने डाक्टरहरूले पछि धन्यवाद, बधाई भन्दै शिवजीको मूर्ति उपहार दिए । ती डाक्टरहरू पनि उपचार गर्न अहिले मैकहाँ आउँछन् । यो म कहिल्यै बिर्सन सक्दिनँ ।
० आम देशवासी दाजु–भाइ दिदी–बहिनीहरूलाई केही सन्देश ?
– सबैको जय होस् । सबैको भलो होस् । रोग निवारणका लागि निराश हुनुपर्दैन । एकपटक सेवा गर्ने अवसर दिनुहोस् ।
० उपचारको दस्तुर कसरी लिनुहुन्छ नि ?
– मैले कुनै दस्तुर तोक्ने गरेको छैन । भक्तजनहरूको भलो नै मेरो सर्वस्व हो । खुसीले जे चढाउने गर्नहुन्छ, मलाई खुसी नै मिल्छ ।
प्रतिक्रिया