नेपाल–बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक शुरु

नेपाल–बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक शुरु


नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि काठमाडौंमा शुरु भएको छ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक आयोजना गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ‘संयुक्त कार्य समूह’को बैठक बसेको हो । उक्त बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव दिनेश घिमिरे र बङ्गलादेशका तर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गरेका छन् ।

द्विपक्षीय संयन्त्रको बैठकमा प्रस्तुत हुने योजना संयुक्त कार्य समूहको बैठकले तय गरेको छ । सचिवस्तरीय संयन्त्रको बैठक मङ्गलबार बस्नेछ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार आइपुगेका थिए । मङ्गलबारको बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नेछन् । मन्त्रालयका अनुसार बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनाका साथै विद्युत् व्यापारका बारेमा द्विपक्षीय छलफल भएको छ ।

नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे छलफल भएको थियो । नेपाल र बङ्गलादेशबीच ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भइसकेको छ ।