किन डराए बाबा ? ? बबिता बस्नेत

किन डराए बाबा ? ? बबिता बस्नेत


चर्चित योग गुरु रामदेवका कारण अहिले भारतमा ठूलै हङ्गामा भइरहेको छ । एकजना योगीका कारण पूरै भारतवासी दुई पक्षमा विभाजित भइरहेका छन्, हरेक दिन अनेकौँ घटनाका बारेमा सूचना र जानकारी दिने मिडिया केही दिनदेखि रामदेवकै वरिपरि घुमिरहेका छन् । भारतमा व्याप्त भ्रष्टाचारका विरुद्ध उत्रिएका रामदेवलाई सरकारले भोक-हड्तालमा नउत्रनका लागि अनुरोध मात्र होइन अनुनयविनय नै गरेको थियो । प्रधानमन्त्रीकै स्तरबाट गरिएको अनुरोधलाई समेत इन्कार गर्दै रामदेव भोक-हड्तालमा बसेपछि कुनै न कुनै अनिष्ट हुन सक्ने आशङ्का सुरुदेखि नै गरिएको थियो, अन्ततः भयो पनि त्यस्तै नै । महिला, वृद्ध, वृद्धासहितका आफ्ना भक्तजनलाई लिएर भोक-हड्तालमा रहेका रामदेवलाई प्रहरीले अत्यन्त असहज रूपमा पक्राउ गर्‍यो । अचम्म त के भने प्रहरीले पक्राउ गर्न लाग्दा योगी रामदेव भागेर महिलाको हुलमा मिसिए र महिलाले लगाउने कर्ुता-सुरुवाल लगाए । यसरी महिलाको भेष धारण गर्नुको एक मात्र कारण थियो, प्रहरीको पक्राउबाट बच्नु । भनिन्छ, योगी बाबाहरूलाई मृत्युसँग भय हुँदैन, तर रामदेवले भने, ‘मेरो ज्यानमाथि खतराको सङ्केत पाएको थिएँ ।’ भाग्नुपर्ने कारणमा पनि उनले आफूलाई मार्ने योजना बनेको भन्ने कुरालाई नै अघि सारेका छन् । पक्राउ पर्नुबाट डराएर यसरी भाग्नुलाई अचम्म मानिएको छ । उनी भाग्दै महिलाको भीडतर्फलागेकाले महिला नै बढी प्रहरीको लाठीको सिकार भएका छन् । रामदेवले अघि सारेको अभियान वास्तवमै राम्रो थियो, यदि भ्रष्टाचारविरोधी अभियानका कारण भारतमा भ्रष्टाचारको अन्त्य भएको भए दक्षिण एसियाली सबै मुलुकका लागि त्यो अनुकरणीय कार्य हुने थियो । तर, रामदेवले चाहेर वा नचाहेर अब उनी र उनको आन्दोलन पूर्णतः राजनीतिक मुद्दा बनिसकेको छ । भारतीय जनता पार्टी ? भाजपा) लाई सत्तारुढ दल कंग्रेसलाई तह लगाउन एउटा गतिलो मुद्दा चाहिएको थियो, उनी प्रतिपक्षी दलका निम्ति राम्रो मुद्दा बने । स्वामी रामदेवको नाम भारतमा मात्र नभएर हिन्दू विश्वमै स्थापित भइसकेको र हुने क्रममा थियो, हिन्दू धर्मावलम्बीका बीच मात्र नभएर गैरहिन्दूहरूमा पनि योगको प्रभाव फैलाउन सक्षम उनी सबै धर्मावलम्बीहरूमा प्रसिद्ध थिए । मानिसको शारीरिक र मानसिक स्वास्थ्यसँग सम्बन्धित प्रवचन दिएर र योग अभ्यास गराएरै पनि एउटा मानिसले कतिसम्म ख्याति र सम्मान प्राप्त गर्न सक्छ भन्ने कुराको उदाहरण नै बनेका रामदेवलाई नाम र इज्जतका लागि अरू केही गरिरहनु आवश्यक थिएन । नेताले झैं कसैलाई गाली गर्नु या झुट बोल्नुपरेको थिएन, उनी त्यसै नै भारतका महान् नेताहरूभन्दा प्रख्यात थिए, र्सवसाधारणदेखि उच्च तहका मानिसहरूमा उनीप्रति गहिरो श्रद्धाभाव थियो । उनी र उनका अनुयायीहरूलाई जे लागेको भए पनि यो आन्दोलनले रामदेवलाई हेर्ने मानिसको दृष्टिकोणलाई विभाजित गरिदिएको छ ।
योगी, बाबाहरूले सकेसम्म कसैलाई बिझाउँदैनन् भन्ने मान्यता राखिन्छ । त्यसमा पनि रामदेवको एउटा राम्रो पक्ष के हो भने उनी महिलालाई सम्मान गर्छन्, आमाहरू नभए हामी हुने थिएनौँ भनेर उनी बारम्बार भन्ने गर्छन् । तर, यो प्रकरणमा उनले सोनिया गान्धीलाई जसरी गाली-गलौज गरे त्यो निकै अशोभनीय थियो । भारतीय जनता पार्टीका नेताहरूले बेलाबेलामा भन्ने गरेझैं उनले पनि सोनियालाई भारतमा राज गरिरहेकी विदेशी महिला भने, जसको छुट्टै प्रतिक्रिया कंग्रेसले दिन चाहेन । सोनिया गान्धी जसले आफ्नो परिवारका लागि धर्म, देश, राष्ट्रियता, आफन्त सबै त्यागेर भारतीय संस्कारलाई आत्मसात् गरिन्, लोग्ने-सासू सबै गुमाएर पनि साहसका साथ छोरा-छोरी हर्ुकाउँदै पारिवारिक राजनीतिक विरासत धान्नका लागि अघि बढिन्, जसले मुखैमा आएको प्रधानमन्त्री पद त्यागेर दक्षिण एसियाली राजनीतिमा पद प्राप्तिको हानाथापबाट मुक्त रहने प्रयास गरिन् । कसैले चाहेर वा नचाहेर, कसैलाई मन परे पनि नपरे पनि सोनिया गान्धी भारतीय छोरी नभए पनि भारतीय बुहारी, श्रीमती र आमा हुन् । भारतमा नजन्मिएकै कारणले यो कुरालाई प्रमाणित गर्न अन्य भारतीय महिलाले भन्दा उनले कैयन गुणा बढी परीक्षामा उत्तीर्ण हुनुपर्‍यो, पटक-पटक आफूलाई प्रमाणित गर्नुपर्‍यो । सारी-चोलो लगाउने र हिन्दी भाषामा कुरा गर्ने मात्र नभएर उनी प्रायः हिन्दू धर्म-संस्कारअनुरूप पूजा गरेर हातको नारीमा बाँधिएका विभिन्न रंगका डोराहरूसहित देखिन्छिन् । घरैमा ब्राह्मण आएर गरिने पूजापाठलगायत सोनिया आफैं पनि प्रत्येक बिहान योग, पूजालगायतका कार्यमा लाग्ने कुरा नसुनिएको होइन तर यी सबै संस्कार अपनाउँदाका बाबजुद उनले पटक-पटक ‘विदेशी नारी’को आरोप खप्नुपरिरहेको छ । इन्दिरा गान्धीको जीवनीमा सोनियालाई भारतीय संस्कार भएकी असल बुहारीको रूपमा चित्रण गरिएको छ । स्वयम् सोनियाले भनेकी छिन्, ‘म केवल गृहिणी भएर बस्न चाहन्थँे, परिस्थितिले मलाई राजनीतिमा धकेलिदियो ।’ यी तमाम कुराहरू बुझ्दाबुझ्दै महिलालाई असाध्यै इज्जत गर्ने बाबा रामदेवले कंग्रेस पार्टीकी शक्तिशाली नेत्री भएकै कारण सोनियालाई गाली-गलौज गर्नुलाई त्यति शोभनीय मानिएको छैन । आफ्नो अभियानबाट रामदेवलाई व्यक्तिगत रूपमा भएको घाटा के हो भने कुनै पनि राजनीतिक मान्यता राख्ने भारतीयले उनलाई हेर्ने दृष्टिकोण समान थियो तर अब त्यो समानता रहेन, उनलाई हेर्ने दृष्टिकोण विभाजित बन्यो । सबैका निम्ति उत्तिकै प्रिय रामदेव अब भाजपाका निम्ति बढी प्रिय बन्न पुगे ।
रामदेव घटनाले दिन प्रतिदिन अनेक नाटकीय रूप लिइरहेको छ । योगलाई भारतीय संस्कारको एउटा पाटो बनाउनुपर्छ भनेर रामदेव आफैंले गरेको अभ्यास र प्रचारका कारण अन्तर्रर्ााट्रय समुदायमा भारत र योग एक-अर्काका पर्यायवाचीजस्तै बनेका बेला अब यो घटनाले दिने सन्देश निश्चय नै फरक हुनेछ । योग, ध्यानको तपोभूमि नेपाल भए पनि हामीले रामदेवले झैं गर्न नसकेका कारण यसको श्रेय भारतले नै लिइरहेको थियो । योगी, सन्न्यासीबाट भएको क्रान्तिका रूपमा शायद यो घटना इतिहासमा रहनेछ । भ्रष्टाचारविरुद्ध सुरु गरिएको यो आन्दोलन विषयमै सीमित हुन सकेको भए धेरै राम्रो हुने थियो तर अब यो रामदेव स्वयम्को हातमा नरहनेगरी अगाडि बढिसकेको छ । सरकारी दमनले रुष्ट हुनेहरूको सङ्ख्या एकातिर बढ्दो छ भने अर्कोतिर योगीहरूले राजनीति गर्न हुँदैन भन्ने आवाज पनि व्यापक रूपमा उठिरहेको छ । जे-जे भए पनि आफ्नो देश, जनता, राष्ट्रियता भनेर समग्र हितको वकालत गर्दै स्वतन्त्र छवि बनाएर ख्याति कमाएका रामदेवले आफ्नै देशको सरकार, नेता, सुरक्षाकर्मीलगायतलाई गाली-गलौज गरेको भने त्यति शोभनीय देखिएको छैन । मिडियाको त झन् कुरै नगरौँ, धेरै भए चिनी पनि तीतो हुन्छ भन्ने कुरालाई रामदेव काण्डमा मिडियाले निर्वाह गरेको भूमिकाले चरितार्थ गरेको छ ।