राजपालाई फेरि पनि उधारो आश्वासन

राजपालाई फेरि पनि उधारो आश्वासन


ओली सरकारले आफ्ना पुराना माग सम्बोधनप्रति बेवास्ता गरेको आरोप लगाउँदै राजपाका शीर्षनेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको दुई साता नाघिसकेको छ । तर, न मधेसकेन्द्रित दलको माग सरकारले सुनेको छ न त राजपाले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको छ ।

यही परिवेशमा आज राष्ट्रिय जनता पार्टीका नेपालका नेताहरुले प्रधानमन्त्रीसँग विशेष छलफल गरेका छन् । मंगलबार विहानैदेखि राजपाका नेताहरु प्रधानमन्त्री केपी ओलीसँग निर्णायक वार्ता गर्न जुटेका थिए । संविधान संशोधन, मधेस आन्दोलनका घाइतेको उपचारलगायत पुरानै माग अघि सार्दै वार्तामा बस्नुअघि नेताहरुले तत्काल माग सम्बोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा जाने धम्की दिएका थिए । मधेसी नेताहरुको मानसिकता बुझेका प्रधानमन्त्री ओलीले पनि आफू संविधान संशोधनको विषयमा सकारात्मक रहेको र त्यसका लागि एक हप्ताको समय आवश्यक पर्ने जवाफ दिएका बुझिएको छ ।

यसरी सातदिने म्याद माग्दै प्रधानमन्त्रीले थुम्थुम्याएपछि आजै अपरान्ह बैठक बसेर निर्णायक कदम चाल्ने चेतावनी दिएका मधेसी नेताहरु रित्तै फर्किएका छन् । तथापि, आज अपरान्ह राजपा केन्द्रिय कार्यालय बबरमहलमा सो पार्टीको अध्यक्षमण्डलको बैठक बस्दैछ । बैठकले सात दिनपछिको कदमबारे केही निर्णय लिने एक राजपा नेताले बताए ।